एकाङ्की : परिवर्तन

~नन्दलाल आचार्य~

पात्रहरू : सूत्रधार, देवराज, गङ्गाप्रसाद र पुष्पराज

(सामान्य घरको बैठककोठा । बस्ने प्रयोजनका लागि टेबल, कुर्सी, डेक्स र बेन्चहरू राखिएका छन् । भित्तामा विश्व प्रसिद्ध राजनीतिज्ञ, कलाकार, साहित्यकार, दार्शनिक एवं धार्मिक व्यक्तित्वका तस्बिरहरू झुन्ड्याइएका छन् । त्यहाँ महामानव गौतम बुद्ध, महाकवि लक्ष्मीप्रसाद देवकोटा, ओशो, माओत्सेतुङ, सेक्सपियर जस्ता व्यक्तित्वका महावाणी पनि लेखिएका छन् । पिर्लिकपिर्लिक पल्टाउन मिल्ने पाटी पनि त्यहाँ राखिएको छ । पाटीका दुवै पाटामा भिन्नभिन्न तस्बिर छन् । अहिले देखिरहेको पाटोमा २५ वर्ष अघिको मानेगाउँ देख्न सकिन्छ । गाउँको बीचमा ठूलो चौडाइ भएको तर खाल्टाखुल्टी परेको बाटो छ । बाटोको उत्तरतिर फराकिलो धानखेत । फाट्टफुट्ट झुप्राझुप्री घर अनि फराकिलो उखडबाखड बाटो । त्यसपछि घना जङ्गल । दक्षिणतिर पनि विशाल खेतको फाँट । खेतभित्र फाट्टफुट्ट तर भीमकाय सखुवाका रूखहरू । डोकोमा दाउराको भारी बोकेर हिँडिरहेका मानिसहरू । कतै डोकोमा बिरामी बोकेर स्वास्थ्य चौकी लगिरहेका मान्छेहरू । कतै गधाघोडामा सामान लादेर हिँडिरहेका मान्छेहरू । कसैकसैले आफैले ढाकरमा सामान बोकेर हिँडेका । समग्रमा भन्नुपर्दा आफ्नै धुनमा शान्तिपूर्वक बाँचेको सरल गाउँले जीवन ।)

सूत्रधार : (तस्बिरलाई सानो छडीले देखाउँदैै) महानुभावहरू ! नहुँदा पनि दु:ख, हुँदा पनि दु:ख । सन्तोष लिने ठाउँ कहाँ छ र ? मान्छेकोे जिउने कला के हो ? हाम्रा वरपर मनग्य प्रश्नहरू घुमिरहेका छन् । हामी तिनको उत्तर पाउन सकिरहेका छैनौँ ।

देवराज : प्रश्नैप्रश्नले बेरिएर बाँच्नु नै मानवीय जीवन हो । हामी परिचयविनाका छैनौँ । जस्तो परिस्थिति आउँछ, त्यस्तै भोग गर्नुपर्छ । अनुकूल परिस्थिति भित्र्याउने या प्रतिकूल ? हाम्रै हातमा छ । परिस्थितिलाई स्विकार्दिनँ भनेर उम्किन कहाँ पाइन्छ र ?

सूत्रधार : प्रश्नमाथिको अर्को प्रश्नको जवाफ सीधै नखोतली एकक्षण यस दृश्यतर्फ ध्यान केन्द्रित गरौँ । (सानो छडीले तस्बिर देखाउँदैै) यो २५ वर्षअघिको मानेगाउँको तस्बिर हो । गाउँको बीचमा ठूलो चौडाइको खाल्टाखुल्टी परेको बाटो थियो । साइकल गुडाउन पनि हम्मेहम्मे पर्थ्यो । मानिसहरू सोझा थिए । शिक्षितका नाममा अशिक्षितहरू थिए तर हातमा सीप थियो । सीप भएकोले गरेर खान्छौँ भन्थे । चित्त लगाएर काम गर्थे । आफ्नातर्फबाट कसैको चित्त नकुडियोस् भन्नेमा बडो हेक्का राख्थे । बीच गाउँको बाटोदेखि उत्तरतिर ठूलो क्षेत्रफलमा फैलिएको धानखेत थियो । त्यसपछि फाट्टफुट्ट झुप्राझुप्री घरहरू देखिन्थे । मानिसहरूको जनसङ्ख्या कम थियो । घरहरूपछि फराकिलो उखडबाखड बाटो थियो । अनि चारकोसे घना जङ्गल सुरु हुन्थ्यो । बाटोदेखि दक्षिणतिर विशाल तर फाट्टफुट्ट भीमकाय सखुवाका रूखहरूसहितको खेतको फाँट थियो । मान्छेहरू डोकोमा दाउराको भारी बोक्थे । डोको या झोलुङ्गोमा बोकेर बिरामीलाई स्वास्थ्य चौकी लग्थे । कतैकतै कसैकसैले गधाघोडामा सामान लादेर हिँड्थे । धेरैजसोले आफैँले ढाकरमा सामान बोक्थे । समग्रमा भन्नुपर्दा आफ्नै धुनमा शान्तिपूर्वक बाँचेको सरल गाउँले जीवन थियो । छक्कापञ्जा कुन चरीको नाम हो ? कमैलाई थाहा थियो । बिरामी पर्दा घरेलु जडिबुटी र धामीझाँक्रीको भर पर्थे । कुनै उपाय नचले पछि मात्र अस्पताल लैजान्थे । अस्पताल पनि नजिक थिएन ।

गङ्गाप्रसाद : त्यो त हो । गाउँमा कुनै समस्या आइपरे चौतारीमा भद्रभलादमी बसेर कुनै पनि समस्याको निदान खोज्थे । मर्दापर्दा सहयोग गर्न गाउँ नै उल्टिन्थ्यो । कसैको घर बनाउनुपर्यो भने गाउँका युवा प्रौढ जम्मै भेला हुन्थे । क्षणभरमै काम तमाम हुन्थ्यो ।

पुष्पराज : त्यतिमात्र कहाँ हो र ? सबैसँग आआफ्नै खाले सीप हुन्थ्यो । ऐँचोपैँचोबाटै सबैको काम बन्थ्यो । पैसाको कारोबार कमै हुन्थ्यो ।

देवराज : र पनि मान्छे हृष्टपुष्ट र बलियाबाङ्गा थिए । प्राय: युवाहरू पाँच कक्षा पास गरेपछि नागरिकता बनाई प्रहरी वा सेनामा भर्ना हुन जान्थे । गएका जति बिरलै फर्किन्थे । दृढ इच्छाशक्ति र तन्दुरुस्त शरीर भएपछि हार खानु पर्दो रहेनछ ।

सूत्रधार : मैले भन्नुपर्ने धेरै कुरा आइसके । गाउँमा प्रा.वि. तहको विद्यालयमात्र थियो । बाँकी शिक्षा पूरा गर्न टाढा जानुपर्थ्यो । शिक्षामा लगानी गर्न कोही चाहँदैनथे । यसलाई अनुत्पादक क्षेत्र मानिन्थ्यो । कसैकसैले पढे पनि एस.एल.सी. उत्तीर्ण गरी प्रा.वि. तहको शिक्षक भइहाल्थे । घरपायक पर्ने ठाउँमा जागिर मिलाउँथे । बिहानबेलुका घरको काम गर्न भ्याउँथे । छोरीचेलीलाई शिक्षा दिनुपर्छ भन्ने चेतना सबैतिर छरिएको थिएन । छोराले पनि दुईचार अक्षर चिन्यो, घरायसी हिसाबकिताब मिलाउन जान्यो भने भइगयो नि भन्ने भावना थियो । कक्षाकोठा पनि छात्रहरूले नै भरिएका हुन्थे । एकाध छात्रामात्र पढ्न आउँथे । वर्णन गर्दै जाँदा ठूलो ठेली तयार हुन्छ ।

(पाटी पर्लक्क पल्टिन्छ । अहिले देखिरहेको पाटोमा २५ वर्षपछिको मानेगाउँ भने देख्न सकिन्छ । परिवर्तित तस्बिर छ । गाउँको बीचमा चौडाइ कम भएको तर खाल्टाखुल्टी नपरेको बाटो । बाटोको उत्तरतिर ठूलो क्षेत्रमा फैलिएको खबटा र टिनले छाएका ठूल्ठूला घर । फाट्टफुट्ट खेतका गरा अनि बाटोविहीन उजाड र उराठ लाग्दो जङ्गल । ससाना पोथ्रापोथ्रीहरूमात्र । अव्यवस्थित गोरेटो र घोरेटो बाटो जताततै । वन मिचेर बनाइएका खेतका गराहरू । दक्षिणतिर पनि धेरै घर र थोरै खेतको फाँट । खेतभित्र पनि फाट्टफुट्ट घरहरू । रूखहरूको नामोनिसान छैन । ठेला, साइकल, ट्याक्टरमा दाउरा र अन्य सामानको भारी बोकिएका दृश्य । कतै एम्बुलेन्सले बिरामी बोकेर स्वास्थ्य चौकी लगिरहेको; कतै बस, मोटरसाइकल, साइकलमा सवार भएका मान्छे । चारैतिर बिजुली र टेलिफोनको सुविधा । मान्छेहरू आआफ्नै धुनमा । कोही मोबाइलमा कुरा गरिरहेका, कोही खुल्लमखुल्ला मादक पदार्थ सेवन गरिरहेका । छोरा मान्छेले कपाल पालेका । छोरी मान्छेले चाहिँ कपाल काटेका । दश ठाउँमा प्वाल परेको कपडा लगाएर मुस्किलले लाज ढाकेका । अनेक रङ्गरोगनले रूप विरूप परेका । जताततै गाइँगुइँ बाजागाजा बजेका । समग्रमा अशान्त अवस्था । आधुनिकताको नाममा मानवता बिर्सिंदै गएको, आफ्नै स्वार्थमा बाँचेको कपटपूर्ण र आधुनिकताको दुरुपयोग गरिएको गाउँले जीवन ।)

सूत्रधार : (सानो छडीले तस्बिरलाई देखाउँदैै) ल हेर्नुस्, २५ वर्षपछिको मानेगाउँ । सडक त बन्यो तर साँगुरिएर बन्यो । यो उत्तरतिरको वनको नामोनिसान मेटिन लागिसक्यो । त्यहाँ बाटो छैन । बाटो बन्न लाग्यो कि रातारात मिचेर जग्गा बनाइन्छ । थोरैथोरै गरेर ढाट उत्तरतिर सार्दासार्दै सयौँ विघा वन खेतमा परिणत भइसक्यो । बुट्टाबुट्टीमात्र छन् । यस पुस्तालाई त जे गरे पनि पुग्ला तर आउँदो पुस्ताका लागि यहाँ वन क्षेत्र थियो भन्नुपर्दा एकादेशको कथा हुने भयो । चिन्ता लिनपर्ने शिक्षित पठित व्यक्तिहरू नै मौन छन् । उनीहरू नै यस्ता काममा जीउज्यान छाडेर लागेका छन् । अब के हुन्छ ?

देवराज : उत्तरतिर मलिलो माटो छ । यहाँ मान्छेलाई वर्ष दिनसम्म खान पुग्दैन । वनजङ्गलले नै मलिलो माटो ओगटेको छ । वनजङ्गल त भविष्यका लागि हो । जीवन बचे पो भविष्य आउला । वर्तमान नै नरहे भविष्य कसरी आउला ? मानिसहरू यही सोच्तछन् ।

सूत्रधार : प्रश्नमाथिको अर्को प्रश्न । हामी प्रश्न होइन उत्तर खोज्दै छौँ ।

गङ्गाप्रसाद : घरघरै जाँडरक्सी नखाने मानिस पाउनु लसुन प्याज नखाने बाहुन पाउनु जस्तो गाह्रो भइसक्यो । बाहुन होस् या मतवाली, सुँगुर होस् या राँगा कुनै फरक नपर्ने भो । सुरुसुरुमा लुकीचोरी हुँदाहुँदै अहिले त हाकाहाकी घरमै ल्याएर पो खान्छन् बा ! हाम्रा कुरा खाँदैनन् । जाँडरक्सीचाहिँ पेट फुटुन्जेल खान्छन् । के भन्नु ? बाहुनकै घरमा सुँगुरको खोर हुन्छ । बाहुनक्षेत्री नै पाल्न थाले । कसको के लाग्छ ?

देवराज : राम्रो कामको पनि विरोध गर्ने हो भने प्रशंसा गर्ने कामकुरो रत्तिभर रहँदैन । बाहुनक्षेत्रीले सुँगुर पाल्नु असल नै हो । आम्दानी बढ्ने कामलाई नराम्रो भन्न मिल्दैन । हामी २५ वर्षअगाडिको क्षणमा छैनौँ । पेट फुटुन्जेल जाँडरक्सी खानुचाहिँ नराम्रो काइदा हो । यसले हित गर्दैन ।

गङ्गाप्रसाद : संस्कार भनेको संस्कार हो । बाहुनक्षेत्रीले आआफ्नो थान्कामा बस्नुपर्छ, नखाई नहुनेले लुकेर खाए त भइ गयो नि । दमाई कामीजस्तो गर्न मिल्दैन । समाजमा अनुशासन हुनु जरुरी छ । सबैले सराबरी काम गर्ने हो भने त मर्यादाहीन अवस्था नआउला भन्न सकिन्न ।

पुष्पराज : अनुशासन ! यो अनुशासन भन्ने चीज नै खराब रहेछ । कडा अनुशासनभित्र राखिएका आजका नानीहरू बुबाआमा र शिक्षकका अगाडि नुन खाएको कुखुरो बन्छन् । पछाडि भने चुरोट उडाउँदै र अशिष्ट व्यवहार प्रदर्शन गर्दै हिँड्छन् । के यही हो अनुशासन ?

गङ्गाप्रसाद : हो, यसैलाई संस्कार भुलेको भनिन्छ ।

देवराज : आजका युवायुवतीहरूको उछितो काड्नुपूर्व आफैँतिर फर्केर हेरौँ त ?

गङ्गाप्रसाद : आफूतिर के हेर्नू ? आफैँले कमाउनुपर्या छ । परिवारको लालनपालन गर्नुपर्या छ । भएभरको टेन्सन बोकेर जिउनुपर्या छ । एक सर्को चुरोट तान्दा र दुई गिलास घरेलु रक्सी पिउँदा दिनभरिको टेन्सन हट्छ । त्यो पनि लुकीछिपी । हामीले हद्दै गर्र्यौं भने त्यतिमात्र गरेका छौँ । यी टेन्सनमुक्त आजका नानीहरूले केका लागि बदमासी गरेका ?

पुष्पराज : ठूलाबडाले जे गर्दा पनि टेन्सनमुक्तिका लागि भन्ने र आजका नानीहरूले थोरै बाटो बिराउँदाचाहिँ प्रश्नचिह्न लगाउने ? यो काइदा नै गलत छ ।

देवराज : हो, बाटो बिराउने ठूलाबडा तर दोष भने आजका नानीहरूलाई ?

गङ्गाप्रसाद : कसरी ?

पुष्पराज : कसरी भन्ने र ? तपाईं बाहुनको छोरो हैन ? टेन्सनका नाममा रक्सी पिउनुहुन्छ, थोरै हुँदा त सतर्क हुनुहुन्छ, अलिक चढिसकेपछि के गर्दै छु भन्ने कुरामा हेक्का नै राख्न सक्नु हुन्न । अशिष्ट कुरा फलाक्दै समाजको अनुशासन र अमनचयन मिच्नुहुन्छ । कि ठूलाबडाले मर्यादाबाहिर निस्किँदा पनि हुन्छ ?

सूत्रधार : हो, हामीले नै समाजको अमनचयन खोसेका छौँ । हामी कसरी ठूला र बुद्धिमान् भएछौँ भन्ने कुराप्रति नानीहरूले विचार गरिरहेका हुन्छन् । जाँडरक्सी चुरोटबिँडीकै कारण ठूलो हुँइदो रहेछ भन्ने धारणा आजका नानीलाई हुन्छ र त्यसकै सिको गर्छन् उनीहरू ।

देवराज : पछि हामी कज्याउन खोज्छौँ । सक्दैनौँ । आजका नानीहरू अमर्यादित भए भन्छौँ । अमर्यादाका गुरु आफूहरू भएको भुसुक्कै भुलिदिन्छौँ ।

गङ्गाप्रसाद : (केही लज्जित हुँदै) उसो भए निकास के त ?

पुष्पराज : पहिले त हामी ठीक हुनुपर्यो । टेन्सनमुक्तिको अन्य उपाय अवलम्बन गर्नुपर्यो । दोस्रो कुरो, आजका नानीहरूलाई अनुशासनको साटो विवेक सिकाउनुपर्यो । तेस्रो, बदलिँदो परिस्थितिले उब्जाएका कुराहरू पारदर्शी हिसाबले बुझ्नु र बुझाउनुपर्यो ।

देवराज : अझ मलाई त लाग्छ, प्रचलित नियमकानुनको दायराभित्र रही मान्छेले स्वतन्त्रताका साथ पाइला चाल्न पाउनुपर्छ । संसारमा आफ्नो गुरु आफै बन्न पाउनुपर्छ । आफ्नो तर्फबाट कसैलाई कुप्रभाव पर्न दिनु हुन्न । अर्कालाई चाहिँ आदर्शको भारी बोकाउने र आफूचाहिँ मादक पदार्थको पछि लाग्दा आफूसँग भएको पनि नासिन्छ । अर्थोक केही पाइन्न ।

गङ्गाप्रसाद : आफूले आफैँलाई सर्वशक्तिमान ठान्ने प्रवृत्ति हावी भइदियो भने अहम्को साम्राज्य स्थापित हुन्न र ?

पुष्पराज : हुन्छ, विवेकलाई विक्री गरी गरिएको व्यवहार पाखण्ड हुन्छ । विवेकले कामकुरो गर्न पो भनिएको हो त । फेरि विवेकले अरूका कुरा नसुन, आफ्नोमात्र हित चिताएर काम गर भन्दैन क्यारे । भनी नै हालेछ भने त्यो विवेकपूर्ण काम नभएर पाखण्डपूर्ण काम हुन्छ ।

सूत्रधार : उसो भए आजका नानीहरूलाई कडा अनुशासनमा राख्नुको साटो विवेकी बनायौँ र हामी अग्रजहरूले पनि सही बाटो पक्रियौँ भने समाजमा देखिएका विकृति नाश हुने रहेछ । हामी यही निष्कर्षमा पुग्यौँ, हैन ?

बाँकी तीनैजना : (एकै स्वरमा) हो-हो, हाम्रो निष्कर्ष यही हो ।

सूत्रधार : लोभानी पापानी किन बढेको त ? आजका मान्छेहरूले किन अरूलाई विश्वास गर्न नसकेका त ? वनजङ्गल मासिएको किन त ? जान्नेबुझ्ने मान्छे नै किन विनाश र विध्वंसका अनुयायी भएका त ? के भन्नु ? निरङ्कुशताको कैद पनि स्वीकार्य छैन हामीलाई र लोकतन्त्रको स्वतन्त्रता पनि मान्य छैन हामीलाई । उन्नतिको बाटो थुनिएको र पतनको बाटो बनेको हेक्का राख्ने समय छैन हामीसँग ।

गङ्गाप्रसाद : समस्यामाथि समस्या थुपार्नु निष्कर्ष होइन । समाधान निकाल्नु पो हाम्रो बसाइको अभीष्ट हो त ।

पुष्पराज : समस्या नबुझीकन निकालिएको निष्कर्ष सही नहुन सक्छ । समस्याका हाँगाबिँगा छिमलेर काम छैन । जरो नै पत्ता लगाएमा मात्र पूर्ण निदान गर्न सकिन्छ । निदानका लागि नियमसंगत ढङ्गले चल्नुपर्छ । धाकधम्कीले विचार परिवर्तन हुन सक्दैन । प्रेमपूर्ण बाटोबाट दुई दिनमै मान्छेको मन फर्काउन सकिन्छ । त्यही काम गर्न अन्य बाटो समात्दा दुई वर्ष लाग्न सक्छ र पनि त्यो क्षणिक हुन्छ ।

गङ्गाप्रसाद : ए बाबा, खुलस्त भन्दा भइगयो नि ।

देवराज : कुरा खुलस्त छ । राजनीतिक पार्टीहरू उदाए । अभीष्ट एउटै छ, मुलुक र जनताको भलो चाहने । बाटाहरू भिन्न-भिन्न छन् । जनताको विचारधारामा विभाजन ल्याउने प्रयत्न गरिएको छ । पार्टीगत विचारधाराका रूपमा कोही कसैका नजिक छन्, कोही मनग्य टाढा छन् । भ्रष्टाचार गरेर अकुत सम्पत्ति जम्मा गर्दा पनि राजनीतिक पार्टीहरूले संरक्षण गर्दिनाले मति बिगार्नेहरूले खति बेहोरेका छैनन् ? (पुष्पराजलाई बोल्न सङ्केत गर्छन् ।)

पुष्पराज : तराई र भित्री मधेसको जीवन सरल हुन्छ भनी पहाड/हिमालबाट बसाइँ सर्नेहरूको होडबाजी नै चलेको थियो । घडेरी जोडे पनि सबैले भात खाने जग्गा जोड्न सकेनन् । फलस्वरूप वनजङ्गल फडानी सुरु भयो । भोकै मर्न सकिएन, गरेर खानै पर्यो । गर्ने ठाउँ खोज्दा वनजङ्गल मासियो । सरकारी वन कार्यालय कानमा तेल हालेर बस्न थाल्यो । उल्टै गाउँका केही टाठाबाठालाई आफ्नो हातमा लिएर घूस उठाउन रेन्जरहरूले नै खटाएको रहस्यसमेत खुल्न थाल्यो । कथंकदाचित् कोही पक्राउ परिहाल्यो भने पनि राजनीतिक पार्टीको दबाबमा वा घूसमा छुटिहाल्ने प्रथा चल्यो । अब मर्दापर्दा पार्टीहरूको संरक्षण चाहिने सोचको विकास भयो । जताततै दण्डहीनताको साम्राज्य कायम भयो ।

गङ्गाप्रसाद : असन्तोषजनक कुरामात्र छैनन् । सडक बन्यो, बिजुली बल्यो र टेलिफोन आयो । कृषिमा आधुनिकता भित्रियो । शिक्षितहरूको सङ्ख्या बढ्यो । सूचनाप्रविधि भित्रियो । धामीझाँक्रीको स्थान स्वास्थ्य चौकी र अस्पतालहरूले लिए । यी सन्दर्भ पनि भुल्न मिलेन ।

पुष्पराज : विज्ञान र प्रविधिको जति विकास भए पनि मान्छेमा सही जागरण भित्रिन सकेको छैन । थोरै भए सुखैसुख धेरै भए दु:खैदु:ख भन्ने कुरा नबुझी घरभरि छोराछोरी पारेपछि उचित लालनपालन गर्न सकिन्न । छोराछोरीका चाहना र आवश्यकता पूरा गर्न असमर्थ भएपछि अनियन्त्रित हुनु अस्वाभाविक हैन । अर्को कुरा, मिहिनेत नगरी सुख खोज्ने प्रयत्न गर्दा पनि असन्तुलित अवस्थाको सिर्जना भएको हो ।

सूत्रधार : अब हामी समस्याको निदान खोजौँ । व्यक्तिव्यक्तिको मनमा क्रान्ति ल्याउन सके सम्पूर्ण समस्याको निदान हुन्छ । प्रत्येक व्यक्तिले गल्ती ठम्याई त्यसलाई सच्याएर बाँच्नेतिर लाग्नु जरुरी छ । स्वतन्त्र जीवन बाँच्ने दृष्टिकोण बनाउनु अर्को महŒवपूर्ण कुरो हो । आफ्नो जीवनको उद्देश्य ठम्याउनु आशा, आस्था र प्रेम उमार्नु साथै हाँसखेल र उत्सव मनाउनु विकृतिनासक उत्तम उपाय हो । सही भोजन र नियमित व्यायाम गर्न सके जीवनको सार्थकता भेट्न ठूलो कहर काट्नु पर्दैन ।

देवराज : यी त भए व्यक्तिका कुरा । राजनीति नसुध्रिए केही हुनेवाला छैन ।

सूत्रधार : अवश्य, राजनीतिक दलहरू देश र जनताप्रति पूर्ण समर्पित हुनुपर्यो । नेतृत्व वर्गले कार्यकर्तालाई परिस्थितिअनुरूप प्रशिक्षण दिनुपर्यो । जसलाई पायो त्यसलाई पार्टी प्रवेश दिनु भएन । एउटा पार्टीमा रहेर खराब काम गरी अर्को पार्टीमा प्रवेश गर्नेको लामो लाइन छ हामीकहाँ । पार्टीको नाममा आफ्नो स्वार्थको घैला भर्नेहरूलाई छानबिन गरी उचित दायरामा ल्याउनुपर्यो । सरकारले कुशल र प्रभावकारी प्रशासन चलाउनुपर्यो । कसैको धाक र धम्कीबाट हैन, विवेकसम्मत तवरले मुलुकको स्वार्थबमोजिम चल्नुपर्यो । कर्मचारीहरूले पनि जनताको तलबभत्ता खाएर जनतालाई नै तड्पाउने कृतघ्नता देखाउनु भएन । नियम मिची काम गर्नेहरू कानुनी दायरामा आउनुपर्यो । जनतामा पनि परिश्रममा विश्वास राख्ने, स्वाबलम्बी हुने र विवेकी बन्ने जागरण फैलाउनुपर्यो । व्यक्तिको विवेक र स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्ने कुराहरू सर्वसाधारणको पहुँचभन्दा बाहिर हुनुपर्यो । सकिन्छ त्यस्ता कुराको उत्पादनमा पूर्ण प्रतिबन्ध लगाउनुपर्यो, सकिन्न भारी कर लादेर अर्थतन्त्र बलियो बनाउने काम गर्नुपर्यो । यसको अर्थ त्यस्ता वस्तुप्रति निरुत्साहित गर्ने कदमहरू चाल्नुपर्यो ।

देवराज : म त भन्छु, सबै कुराको जड धन कमाउने लालच हो । नेतानेतृहरूमा धन सोहोर्ने र कुर्सीको मज्जा चाख्ने चाहना मार्नका लागि विशेष व्यवस्था हुनुपर्यो । जिल्ला, क्षेत्र र केन्द्र स्तरीय नेतानेतृको धन पार्टीकरण हुनु जरुरी छ । सबै शीर्षस्थ नेतानेतृहरूको ध्यान खिचिन जरुरी छ । सबै पार्टीमा आफ्नो ठाउँको विकासका लागि श्रमदान दिने चलन हुनु नितान्त आवश्यक छ । जनताको साँचो नेतानेतृ हुन जनताको घर बनाउन सक्नुपर्छ । नेतानेतृको जीवन व्यक्तिगत हुनु हुन्न, जनताको अघोषित धन हुनुपर्छ ।

सूत्रधार : (सबैतिर हेर्दै) सबैको यी कुरामा सहमति छ त ?

बाँकी तीनैजना : (एकै स्वरमा) हो, त्यसै हुनुपर्छ । अब बाटाहरू साँगुरिनु हुन्न । बाटाहरू फराकिला हुनुपर्छ । सजिलै जँघारसम्म पुग्ने हुनुपर्छ । जँघार तर्न पुल बन्नुपर्छ । अब भने विवेक सम्मत परिवर्तन हुनै पर्छ ।

(पर्दा खस्छ ।)

नन्दलाल आचार्य
तपेश्वरी-१, गल्फडिया, उदयपुर
हाल: लिट्ल फ्लावर मा.वि., राजविराज-९, सप्तरी
(२०६६/०६/१६)

(स्रोत : रचनाकारको नाटक/एकाङ्की सङ्ग्रह “युग उचाल्ने अक्षरकर्मीको अवसान” बाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *