कविता : कात्रो

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

जिवन
खाली ह्याड्गर जस्तै वर्षों देखी
कात्रो ओढ्ने पर्खाईमा !

विभिन्न चरित्र बोकेका पात्रहरू
आ आफ्नो चरित्रको अभिनय गर्दै
शत्रुतापूर्ण बैभव बोकेर
घमण्डको श्रिपेच पैरीएर
राजनैतिक प्रतिशोध साँधेर
घृणा द्वेष भाव पालेर
वरीपरी बाँचेकाहरू !

या त
श्रद्धा माँया ममता
मित्रताको सामीप्यता
आशा भरोषा र उमंग बाँड्नेहरू
अझ अन्तरमनका काहानीहरू
पिडा,दर्द, आँशु र खुशी बाड्दै
वरीपरी बाँचेकाहरू !

यो ध्रुवसत्य हो !
जुन दिन जिवनको
खाली ह्याड्गरमा गेरू पोतीएको
वस्त्र फिंजाएर सुकाईने छ
तनक्क तन्क्याएर
त्यो दिन समाजका तत् तत् का पात्रहरू
नाटकमा सक्रिय सहभागी हुँदै
आ आफ्नो अभिनय मन्चन गर्दै
एक साथ उपस्थिति जनाउने छन्

वर्षों देखी कात्रोको पर्खाईमा
खाली ह्याड्गर सरी व्यतीत
जिवन सार्थक बन्ने छ
र जिवन वाट मुक्ति प्राप्त गरेको
मृत आत्मा पर बाट मुस्कुराउने छ
कात्रोले तय गरेको
सामाजिक एकताको परिदृश्य देख्दा !

बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.