कथा : सानी

~रजित ओझा~Rajit Ojha

उसले आफ्नो व्यस्त समयवाट आफ्नो कपाल मिलाउन लाई फुर्सद निकाली। किन किन उसले कपाल कान पछाडी छिराएको भन्दा मलाई उसको गालामैँ झुण्डिएको मन पर्छ। कानको झुम्का विस रुपैँया पर्ने हो त्यो । सानीलाई नै दिनुपर्ला भनेर हटियामा मैले पनि हेरेको थिएँ। त्यहि दिन मोरीले पनि किनिछे। मैले आफ्नो कोठामा पुगेर किनेर ल्याएको झुम्कालाई आफ्नो सिरानी मुनी हालेँ, दिन पाइन भनेर । त्यो त्यहि सिरानी मुनी गुम्सियो , मेरा मनका कुराहरु मनमैँ गुम्सिएजस्तो।

“पाक्यो, तरकारी पनि ,अहिले नै खानुहुन्छ कि सेलाए पछि? अहिले त धेरै नै तातो हुन्छ”

” मेरो जिब्रो खुइलिन्छ भन्ने साह्रै नै चिन्ता छ है तँलाई?” मैले उसलाई जिस्क्याएँ।

“खुइले पनि खुइलियोस् , जत्ति खेर पनि जिस्क्याउने वानी त जान्थ्यो होला नी!”

उसले थाल पखाल्दै जवाफ फर्काई ।म पाँच वजे अफिस सकिएपछी त्यहिँ गएर वस्थेँ।सरुवा भएर आएको करिव एक वर्ष भयो।अरु होटेल भन्दा यहाँ खाना महँगो छ भन्ने गुनासो छ मेरा अरु साथीहरुको।त्यो यहाँ जाँड नपाइने हुनाले उनीहरुले लगाएको दोष पनि हुन सक्छ।म भने दुइवटा अरु ठाउँमा खाएपछि पछील्लो दश महिनादेखी यसैमा खाँदै छु।मेरो मन वसेको छ उनीहरुको खानामा। उनीहरु रक्सी वेच्दैनथे। वेच्न छोडेका थिए भनौँ, एउटाले एक वर्ष अघि जाँड खाएको सुरमा सानीको हात समातेको थियो, त्यसपछि त्यहाँवाट जाँड हट्यो रे। सानी का वाउलाई के थाहा मात जाँडले मात्र लाग्दैन भन्ने।

“के हेर्नु भएको त्यसरी?” मेरो एकटक नजरमा उसले बिराम लाउन चाहि।मेरो नजर मान्दैन भनेर उसलाई कसरी भनौँ। टाढा हुँदा उसको आकृती सँग बोल्न चाहन्छु, नजिकै हुँदा उसको सुवाष सँग बोल्न चाहन्छु अनि शब्दहरु हराएको बेला नजरवाट वोल्न चाहन्छु, कसरी विराम दिउँ मेरा नजरलाई?

“अचम्म लाग्यो तैँले स्कुलको ड्रेस नखोली ,खाना पकाउन थालिछस् आज भनेर!” मैले उसको सेतो शर्ट र निलो फ्रक नियाल्दै भनेँ।

“एसएलसी आउँदैछ नि त,ट्युसन पढ्दै छु, घर छिरेर लुगा फेरेर आउन पाइन!”

“ठूली हुने भइस,अव त तँलाई सानी भन्न पनि नमिल्ने भो,एसएलसी पछी त!”

“के भन्नुहुन्छ त?” उसले पस्केको भात मेरो टेवलमा राख्दै सोधी।मैले उसलाई हेरेँ,खोइ के भनौँ म उसलाई । नाम दिन सक्दिन, सम्वन्ध दिन सक्दिन। उसका प्रश्नहरुमा नाजवाफ भएर खिस्स हाँस्न सक्छु, अनी लुकी लुकी उसलाई हेर्न सक्छु।

“के भनौँ आँफै सिका न त!” मैले फेरि पनि फैसला उसको हातमा सुम्पे। कहिले काहिँ आफू हारेर अरुलाई जित सुम्पिनु जस्तो रमाइलो केहि हुन्न । विशेषत: जव बिजयी मुस्कानहरुले आफुलाई हार्न वाध्य वनाउँछन् ,सँधै हारीदिउँ जस्तो लाग्छ।

“पछि भन्छु ल!” उ खित्का छोडेर हाँसी।

” अनी आज वुवा खोइ त तेरो?”

” काकाको घर जानु भएको छ , आउँदै हुनुहुन्छ होला!” उसले वाटो तिर आँखा डोर्याउँदै जवाफ फर्काई।

“तँलाई एक्लै हुँदा डर लाग्दैन ?”

“म एक्लै कहाँ छू र ? तँपाई पनि त हुनुहुन्छ ,हिहि…” उ फेरी हाँसी।म सँग जवाफ छैन त्यसको। खुशि लाग्यो उ जव म सँग हुन्छे , आफुलाई एक्लो ठान्दिन। तर मैले भन्न सकिन, कहिले काहिँ त उ नभएको बेला पनि उ म सँगै हुन्छे।

” सानी तैँले वनाए जस्तो कालो दाल त कसैले वनाउँदैन होला!” मैले आज पनि खाना सिध्याएको बेला औँला चाट्दै उसलाई जिस्क्याएँ।

“हुन्छ , तँपाइ मेरो वाले बनाएको बेला पनि त्यहि भन्नुहुन्छ होला!” उसले पत्याइन ।मैले ढाँटेको थिइन, तर पनि उसले पत्याइन।मेरो सत्य विवश भएको छ उसको अघी, धेरै जसो लुक्छ, जव जव उ वाहिर निस्किन्छ उ परिचय विहिन हुन्छ।

**************** ******************* **************** ****************

“सवै तिमीले ध्यान नदिएर हो ” म फोनमैँ झर्किएँ । नझर्किउँ पनि किन ! साना साना कुराको लागि किचकिच सहनुपर्छ। अव छोरोको टेष्टमा राम्रो नम्वर आएन ,म अफिस वाट के गरौँ? सरला पनि त्यस्तै छे, कम्तिमा विहान बेलुका ध्यान त दिनु पर्छ।मैलै फिस , घर खर्च सवै पुर्याइदिएकै छु। उ छोरा सँग छे त, छोराको जिम्मा उसको नै भएन र! जागिर नै यस्तै छ, कहिले कुन कुना ,कहिले कुन कुना पुग्नु पर्छ।

“खोइ पढ त भन्छु नि म, साँझ विहान स्कुल नभएको बेला किताव त हेरीराखेकै हुन्छ! जाँचमा चाहिँ अलि अत्तालिन्छ जस्तो लाग्छ। आएकै कुराहरु पनि विगारी राखेको हुन्छ । नअत्तालिइकन दे भनेर त सँधै भन्छु, खोइ जाँचको बेला के हुन्छ त्यसलाई।” सरलाको स्वर मसिनो भयो।उ सँधै छोराको वचावट नै गर्छे। अलि अलि त गालि पनि गर्नुपर्छ केटाकेटीलाई , नत्र पुलपुलिन्छन् ।

“फोन देउ,त्यो गधालाई ,किताव हेर्छ कि के हेर्छ!” मलाई झन पारो तात्यो।

“अहिले त साथीको मा गएको छ!”

“यहि भएर हो , चाहिने ,नचाहिने संगत छ, रात बेरात कुदेको छ। तिमी किताव हेर्छ भनी राख न, हैन म यति टाढा वाट सँधै गाली गरी राख्न त सक्दिन नी सरला,तिमीले नै हो ध्यान दिनुपर्ने।एउटा छोरा छ त्यो पनि नालायक नै हुने भयो!”

यसपाली सरला केहि बोलिन, सुँक्क सुँक्क आवाज आयो। आइमाई हरुको यहि वानी मन पर्दैन मलाई आँशु धाराको पानी भन्दा चाँडै झर्छ।

” अव के भयो?”

“केहि हैन!” मैले सोचेकै उत्तर आयो।

“ल ल भोली त्यो भएको वेला मलाई फोन गर ! अनि म केहि भनौँला!!” मैले फोन राखिदिएँ । केहि वेर रिमोट घुमाएँ।विस्तारै निदाएको थाहा नै भएन।

म वसिरहन सकिन। वाहिर गएर फेरि शुन्य वाटो हेरेँ।वाटो उस्तै शुन्य र निरस थियो। परको क्षितिजमा सुर्य अस्ताउँदै थियो। कहिलेकाहिँ सोच्छु आकाश जति सुकै गर्जियोस् ,प्रकाश क्षितिजको मात्र हो, जव जव उ क्षितिजको अँगालोमा वेरिँदै जान्छ तव तव उसको राप हराउँदै जान्छ । उ लजाउँदै जान्छ , रंग गुलावी हुँदै जान्छ।
आज सानीको वाउ खाना वनाउँदै थियो।गर्मिले होला गन्जी मात्र लगाएको थियो। आगोको राप उसलाई सेक्दै थियो।एउटै आगो कसैलाई राप र कसैलाई प्रकाश किन दिन्छ । हो संसार तटस्थ छैन। हेर्ने आँखाहरु तटस्थ छैनन् । यहाँ सम्म कि निर्जीव आगो पनि तटस्थ छैन, त्यहि आगोमा सानी उज्याली देखिन्छे,त्यहि आगोमा सानीको वाउ पसिनाले लतपत गनाउने देखिन्छ ।

” हैन सर , कोहि आउँदैछ कि के हो?” उसले आफ्नो आधा फुलेको दाह्री कनाउँदै मलाई सोध्यो। मलाई दिक्क लागेर आयो। हैन, कस्तो खाले वाउ हो यो? तरुनी छोरी घर आउन ढिलो भयो, मतलव छैन, मोवायल होला सानीको फोन गरे पनि हुने हो? किन गर्दैन उ?? त्यति राम्री छे जसको पनि आँखा लाग्ने, छुँदा मैला लाग्ने जस्ती….

“हैन ढाड तन्काएको,अफिसमा वस्दा वस्दा ढाड दुख्न थालेको छ!” मैले प्रसंग वदलेँ, सानी नआएर दिक्क लागेको भन्न सकिन।

“काम धेरै हुन्छ अफिस मा सर, विहान विहान हिँड्ने गर्नुहोस्, अलि वजन पनि कम हुन्छ!” उ खिस्स हाँस्यो आफ्ना काला दाँत देखाउँदै। सानीको मिलेको हाँसोको अभ्यस्त मलाई उसको हाँसो पटक्कै चित्त बुझेन। मैले आफ्नो पेट हेरेँ । मनमा च्वास्स बिझेर आयो। त्यहि कुरा राम्ररी पनि त भन्न सकिन्छ । घोच्ने गरी नै किन? भोलि नै देखि विहान विहानै हिँड्ने गर्छू। मन मनै विचार गरेँ।

************* **************** ************* ************ *************** ****************** ************ ************** *************** **************

” किन ढिलो सानी?” उ छिर्दै गर्दा सानीका वाले उसलाई प्रश्न गरे। मैले पनि सोध्नु पर्ने त्यहि नै थियो।म सक्दिन , मेरो प्रश्न भन्दा पनि मेरो प्रतिक्षा महत्वपुर्ण थियो मेरो लागि। म हुँदै सानी आई, त्यहि ठूलो उपलव्धी थियो मेरो प्रतिक्षाको!

” आज टिउसन अलि धेरै वेर भयो!” उ खुशी थीई। उज्यालो अनुहारले अघि भर्खरै अस्ताएको सुर्यलाई जिस्क्याए झैँ लाग्यो।
वुढो चुप लाग्यो ।अनि मलाई खाना पस्किन थाल्यो।किन उसले अरु प्रश्न सोधेन? अलि छिटो आउनु भनेन? मलाई वुढो देखि रिस उठ्यो।

” आज पनि कालो दाल मिठो छ ?” उसले मलाई हेरेर आँखा झिम्क्याई।मैले उसको वाउलाई हत्तपत्त हेरेँ । उ भान्छा मैँ व्यस्त थियो।

” अहँ!” मैले टाउको हल्लाएँ

“चिप्ल्याउन त कसैले तँपाई बाट सिकोस् !”

” मैले साँच्चै भनेको सानी तँ पत्याउँदै पत्याउँदिनस् !”

“खोइ त कचौरा हेरौँ !” उ नजिकै आई । मैले थोरै उसको रेशमी कपाललाई महसुस गरेँ।मनलाई यता उता डुलाउन खोजेँ, अहँ सकिन, लामो कपालको सवै भन्दा ठूलो वेफाइदा , बेलगाम उडिरहन्छन् ,उत्ताउलो भइ अरुलाई स्पर्श गरेर जिस्क्याइरहन्छन् । म विचरोको के दोष , मन चंगा भएको वेला, वतास जता लाग्छ त्यतै उड्ने न हुँ!!!

” सवै सिध्याउनु भएको छ त , अलिकति अरु थपिदिन्छु पर्खिनु !”

“पर्दैन , तेरो वाले अघि म धेरै मोटाएँ भनिसके!” मैले वाउको रिस छोरीलाई पोखेँ।हुन त म सानी सँग रिसाउन सक्दिन।तर गुनासो त पोख्न सक्छु। अथवा गुनासो को भाकामा म कस्तो देखिएको छु भनेर सोध्न त सक्छु!!

” नचाहिने, कति राम्रो देखिनु भको छ! फेरि दालले पनि कोहि मोटाउँछ , कहिँ नसुनेको कुरा!”

भित्र वाट उसले फेरी अलिकति दाल लिएर आई । उसको कुरा ठीकै लाग्यो। हो दालले कोहि मोटाउँदैन। साँच्ची नै उसको वाउले बनाएको कालो दाल पनि मिठो भएको छ। खाना खपाखप खाएर आफ्नो वाटो लागेँ।

**************** ***************** ***************** ************* ********** **

“यसपाली पहिलेको भन्दा राम्रो गरेछ !” सरला खुशी थिई।मैले खुशी फोन वाटै महसुस गरेँ।

“म्याथ्स त बिगारी हालेछ , के राम्रो गरेको भन्नु!” नम्वर सुनेपछि म भने खुशी थिइन। स्कुलको म्याथ्स राम्रो भएन भने गाह्रो हुन्छ ।

” छोडीदिनु न त, पढ्दै छ , धेरै गाली गर्यो भने थेत्तरो हुन्छ!” सरलाले फेरी पनि छोराकै साथ दिई।

“अनि के छ त अरु घरतिर?” मैले प्रसंग वदलेँ।

” ठिकै छ ! कहिले आउनुहुन्छ ?”

उसले नराखोस् भनेको प्रश्न म तिर आयो। मलाई घर जान खासै मन लागेको छैन।

” अफिस मा धेरै काम छ अहिले, अलि पछि मात्र हुन्छ होला!” मैले टार्न खोजेँ।

” नआएको धेरै भयो,त्यहि भएर!” सरलाले सुस्तरी बोली।

“अव काम छ त म के गरौँ , काम छोडौँ भने पाल्छ कसले?”

म फेरि झर्किएँ । मलाई थाहा छ , साना साना कुरामा झर्किनु हुन्न । तर आइमाईहरु कुरै बुझ्दैनन्,एउटा मनले सोचेँ । अर्को मनले नझर्किएको भए पनि हुन्थ्यो भन्यो ।म आजकल मनको दोसाँधमा छु।

” आज बा हुनुहुन्न म भ्याउँदिन के, खाना वनाउनु छ!”

अर्को तिरको मोवाइलको आग्रह मैले सुन्न पाइन । तर सानीले हाँसी हाँसी आग्रहलाई टारेकी थिई । उसको अनुहार वाट सानी वास्तवमै भ्याउँदिनथी वा नभ्याएको देखाउन चाहन्थी मैले पढ्न खोजेँ । मैले खासै पढ्न सकिन । मनले केहि भन्यो , अनि मेरो दिमागले केहि। मन र मष्तिष्कको लडाईँ मा मेरो निर्क्यौल हरायो,मात्र प्रश्नहरु रहे।

” तिमी पनि, खाली जिस्किइरहन्छौ!!!” यसपाली उ जोडले हाँसी ।मेरो ध्यान लाँदिन भन्दा पनि त्यसैमा गयो। मेरो प्रश्नहरुको ठाउँ इर्ष्याले लिए जस्तो लाग्छ। मन साह्रै कमजोर ढोकाको हुन्छ। जसलाई पनि छिर्न दिन्छ । अघि प्रश्न छिराएको थियो,अहिले इर्ष्या छिर्दैछ। म रोक्न सक्दिन।विवश छु आफ्नै मनको अघि। मैले सानी हाँसेको नियाँले। त्यहि हाँसो मेरो वारेमा भएको भए म खुशी हुन्थे होला। मलाई लाग्छ आजकल म निरिह भएको छु । मेरो खुशी, मेरो रिस, मेरो इर्ष्या मेरो भन्नु मात्रै छ,हर्ताकर्ता अरु नै छन् । म त अरु ले हँसाउँछन हाँसीदिन्छु, अरुले रिस उठाउँछन् रिसाइदिन्छु खोइ त मेरो आफ्नो ?? म भित्र नै पनि मेरो आफ्नो केहि छैन। टुक्रा टुक्रा अरु जोडेर म वनेको छु।

“भयो अव राख , मेरो काम छ यहाँ!” सानीले फोन राखिदिई!

“को हो सानी ?” मैले अनुहार मा हाँसो ल्याउन प्रयास गर्दै सोधेँ।

“साथी!!!” उसले हाँस्दै जवाफ फर्काई ।साथी भन्ने शव्दलाई उसको शव्दकोषले कस्तो व्याख्या गर्छ थाहा छैन । मेरो शव्दकोशले भने साथी शव्दको जटिलता केलाउन खोज्यो। केटो साथी, केटी साथी, नजिकैको साथी, टाढाको साथी, साह्रै नजिकैको साथी, साथी भन्दा अलि वढी नै नजिकको साथी !! सवै मेरो परिभाषा भित्र साथी नै थिए! कस्तो साथी मैले सोध्ने आँट गर्न सकिन।

” आज मैले कालो दाल वनाको छु !” उसले म तिर मुख मिठ्याएजस्तो गरी मलाई जिस्क्याउँन। म खिस्स हाँसे।विषय परिवर्तन भएको थियो।अचम्म छ , सानी सँग विषय मात्र परिवर्तन हुँदैन विषय सँग सँगै मौसम परिवर्तन हुन्छ ,रितु परिवर्तन हुन्छ। अहिले उ मलाई जिस्क्याउँदै थिई । आफू भन्दा दोव्वर उमेरको मान्छेलाई उ केटाकेटीलाई ललिपप देखाए जस्तो गरेर जिस्क्याउँछे। म पनि ताते ताते गर्दै ठक्कर खाँदै उ तिरै डोरिन्छु। उसले म भित्रको वालक लाई जिवित राखेकी छे , जो जव जव उ जिस्क्याउँछे खिस्स हाँस्छ।

” हाँस्न पनि आउँदैन !” उ ठूस्किए झैँ गरी।

” सिका न त हाँस्न !” मैले उसलाई नै हाँस्न आग्रह गरेँ।

“हाँस्न पनि कसैले सिकाउँछ ? नचाहिने !! मन वाट आउँछ ,खोलेर हाँस्नुपर्छ बुझ्नुभो!”

सानीलाई के थाहा , अघि भख्खरै इर्ष्याले भरिएको मलाई उसैले हाँस्न सिकाएकी थिई । उसको सवै कुरा मान्छु तर हाँस्न लाई सिकाउनु पर्दैन भन्ने कुरा म मान्दिन किनकी मलाई हाँस्न सिकाउने म सँगै छे।

************* **************** **************** *************** ***************** ************** ************ ************** ****************** *************** ***

“एक दिन पनि फुर्सद निकाल्न सक्नुहुन्न ?” सँधैको सरलाको उहि गुनासो, सँधैको मेरो उहि जवाफ । मानौँ जीवन जीवन नभएर दिनहरुको परावृत्ति बनेको छ। दोहोरिएको जीवन कुनै वेभ जस्तो, उहि कुराहरु मानौँ म एकै दिनलाई भिन्न भीन्न दिनको नाममा जिउँदैछु। कसैले मलाई ढाँटिदिन्छ कुनै भिन्न मिती हो भनेर, म पनि पत्याइदिन्छु लाटो मान्छे वनेर।

“कोशिष गर्नुस् न!” उसले फेरि आग्रह गरी।

” जाउ न एक्लै तिम्रा साथीहरु छँदै छन् !” मैले फेरि रुखो जवाफ फर्काएँ ।

” अरुका सवै वुढा वुढी नै आउँछन् , म मात्रै एक्लै के जानु ?” उसले फोनवाटै गुनासो पोखी।

” अव तिम्रो त्यो सानो ग्यादरिंगको लागी म अफिसको काम कसरी छोडौँ?” मलाई कहिले काहिँ आफुले वनाएको बहाना आफैलाई विश्वास लाग्दैन। आफिसको काम भन्दा पनि सरला को साथ यान्त्रिक लाग्न थालेको मलाई थाहा छ। म उसलाई ढाँट्छु , त्यति सम्मको झुटको परिधि ठिक छ, त्यो झुटले मलाई पोल्दैन । तर त्यहि वहाना देखाएर म आफुलाई पनि ढाँट्न खोज्छु।मनलाई चित्त बुझ्दैन , सानी मन पर्छे त मन पर्छे त्यसमा मैले आफुलाई नै ढाँट्न खोज्नु किन?

“सक्नुहुन्छ भने!” उसले अन्त्यमा हार मानी।

” हेरुम्ला!” मैले फोन राखेँ।फोनले ५५ सेकण्ड देखायो, लामो लागेको थियो कुरा गर्दा!!

****************** ********** ************** ************** ************** *****

” हैन तपाईँकी छोरी कता गई , आजकल देखिन्न त!” तिन दिन सम्म सानी नदेखिएपछि मैले खप्न सकिन। आजकल सानी मेरो लत वनेकी छे । उसले हाँसी दिँदाको मेरो मन भित्रको खुशी र उ रिसाएजस्तो गर्दाको मेरो मन भित्रको मिठो पिडा हुन त सानीलाई पनि थाहा छैन होला ! तर पनि उसको वाउलाई मुख फोरेरै सोधेँ।

“मावल!”

उसको वाउले छोटो उत्तर दियो।जाँच छ जस्तो लागेको थियो ,थाहा नपाई नै सिद्दिएछ।भात खेलाइरहेँ , खासै खान मन लागेन। मेरो स्वाद,भोक सानीले आफै सँग लगेकी छे। अलिकति खाना छोडेर नै उठेँ।

“डाइटिंगमा हुनुहुन्छ जस्तो छ सर !” छेवैको साथीले जिस्क्यायो।

“हैन ! खाना नरुचेर ” अव खाना नरुच्नु को कारण सोध्यो भने के भन्ने , मन मनै खेलाएँ । कहिलेकाहिँ प्रश्नहरु नसोचेको ठाउँवाट, नचाहेको वेलामा आउँछन् ।अनाहक बिझाउँछन्।

“साँची, अघिको कुरा थाहा नभएर नै सोध्नु भएको हो त?” उसले फेरि प्रश्न राख्यो।

“के कुरा?” उसका प्रश्नको उत्तर म सँग छैन ।बरु थपिएको एउटा अरु प्रश्न थियो। संसारमा मलाई थाहा नभएका धेरै विषयहरु छन्।शायद उसले अर्को विषय थपेको थियो।

“सँगै पढ्ने एउटा केटा सँग भागिछे, हल्ला त त्यहि छ!” उसले एउटै वाक्यमा मलाई चकनाचुर पारेर हिँड्यो , मन अमिलो भएर आयो। को भनेर सोध्ने आँट आएन ।किन भने उत्तर मैले नहोस् भनेर प्रार्थना गरेकै हुनेछ। म प्रश्नको वारेमा गलत थिएँ ,प्रश्न कहिल्यै विझाउँदैन , प्रश्न त अँध्यारो माथी थपिएको कुहिरो हो जो जव प्रकाश पर्छ अनि मात्र अस्तित्व मा आउँछ। बिझाउने त उत्तर हो , कुहिरो देखाउने प्रकाश हो। अँध्यारो मा वानी परेको मलाई आज प्रकाश बिझाएको छ , अनि खप्न नसकेको मेरो आँखा फेरि चिम्लिन खोज्दैछ , फेरी त्यहिँ अँध्यारोको खोजीमा!!!

धेरै वेर सम्म चुठ्न दिएको जग समातेर टोलाईरहेँ ।अनि आफ्नो मुख समेत धोएर आफ्नो वाटो लागेँ। हो मन कठोर हुन्छ कसै कसैको, त्यो भन्दा पनि यथार्थ कठोर हुन्छ।शायद मैले यथार्थ बुझ्न सकिन!किन किन हात त्यत्तिकै गोजीमा भएको मोवायलमा लम्कियो!!मैले धेरै वेर सम्म मोबायल त्यहि खल्तिमा खेलाइरहेँ । अनि धेरै वेर पछि उसलाई पनि न्यानो प्रकाशमा ल्याएँ।

” सरला म पर्सी विहानको गाडीमा आउँछु, अनि तिम्रो साथीहरुसँग जाउँला!” शायद धेरै पछि सरला खुशी भएकी छे!!

समाप्त ।।।।।

09-29-12 2:28 AM

(स्रोत : साझा डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *