नियात्रा : भूकम्प ओछ्याएको भूगोल

~भेषराज रिजाल~

‘यस्तरी पनि भत्किँदो रहेछ घर’, भूकम्प भोगेदेखि आजपर्यन्त कत्तिचोटी उर्ले होला मनको वह । कसलाई सुनाउनु खोइ मनको वह ? त्यो वह शूल नबनोस् भनेर पोखेँ हूँला मैले– आफूले टेकेका पाइलाहरूसँग, अन्तरकुन्तरका भग्न उद्वेगहरूसँग ।

बहत्तर सालको असारको पहिलोसाता दोलखालाई गन्तब्य बनाएर एकाबिहानै काठमाडौं छोड्यौँ हामीले । मेरो साथमा खटिएका थिए ईश्वरी पन्थी र गंगाराम महर्जन । रहरले हाम्रो पछि लागेका थिए श्रीराम क्षेत्री र प्रबिन महर्जन ।

त्यसरी हुइँकिएका थियौँ हामी जसरी भूकम्पले हल्लाएको रुख छाडेर बतासिन्छन् चराहरू । त्यसरी बतासिएका थियौँ हामी जसरी भूकम्पको कम्पन उछिन्दै जमिन बाहिर निस्किन्छन् मुसा, दुम्सी, लोखर्के र सर्पहरू । तर कहाँ जानु ?, फर्कनु छ हल्लिरहेको त्यही बतासे रुखको पाते गुँडमा । गुँड कमजोर हुँदा दिनको भोक न रातको निद्रा भएको छ अचेल । मापन गर्नै नसकिने स्केलमा कम्पन फैलाएर बेतोडले हल्लिएको छ भूकम्प मनभरि निरन्तर ।

‘घाम, पानी र हावाहुरी मात्र छल्ने घर बनायौँ तर भूकम्पको जोखिममाथि उभिएर भूकम्प बिर्सियौँ हामीले ।’

‘तलेघर बनाएर माथिल्लो तलामा आफू बस्ने, तल्लो तला भाडामा दिने, पुस्ता दरपुस्ता केही कामै नगरी आनन्दले खाने, यस्तै सोचले भोग्नुपरेको हो यो सबै ।’

‘आफ्नो मात्र घर सुरक्षित भएर पुगेन, अस्पताल, विद्यालय, कार्यालय, सडक, दोकानबजार सर्वत्र हुनुपर्‍यो सुरक्षित र मजबुत ।’

‘बनाउन भएन अनावश्यक र कमजोर गेट, पर्खाल र संरचनाहरू ।’

भूकम्पबारे भइरहेथ्यो चर्चा–परिचर्चा अनि भौतिक संरचनाका चर्काइ, मर्काइ हेर्नमा व्यस्त थियौँ हामी । कहाँ पुगियो, कति समय बित्यो, थिएन हेक्का रत्तिभर !

‘दोलालघाट आइपुगियो’ साथीको आवाजले झ्यालतर्फ फर्केँ म । बर्खा नलाग्दै धमिलिएका थिए इन्द्रावती र सुनकोशी । दोलालघाटका अधिकांश घर भूकम्प थेग्न नसकी चर्किएका थिए । नजर अन्त लगाउन नपाउँदै फेरि भूकम्प छिर्‍यो मनभित्र ।

सिन्धुपाल्चोकको चौतारा जाने बाटो छुट्टियो वनदेउको चोकैमा । ‘छुट्टिनु भेट्टिनु संयोग मात्र होइन, एउटा दृढ इच्छाबिना कहाँ हुन्छ र मिलन वा विछोड ?’ अरु केही गर्न नसके पनि भूकम्पले हल्लाएका गाउँ बस्तीप्रति हार्दिक सहानुभूति लिएर कुदिरहेथेँ ।

बलेफी–दोभानको मन्दिरछेउमा बगेका खोलासँग रमाएँ एकछिन । मेरो खुसी क्षणिक भयो, बाटोमा भर्खरै खसेको थियो र खसिरहेको थियो पहिरो । निरन्तर आइरहेको पराकम्पनको प्रवाह नगरी निर्भयपूर्वक पहिरो सफा गर्दै थिए केही मान्छेहरू । कर्ममा अभ्यस्त ती काम बहादुरहरूको नाम पनि बहादुरै हुनुपर्छ, म निर्धक्क अनुमान गर्छु ।

खाडीचौरबाट अरनिको लोकमार्ग छोडियो । नदी तरेर पहाडी भित्तो उक्लिरह्यौँ ।

मकै बारीमा देखिए भर्खरै बनेका छाप्राहरू । केही त्रिपालले टालेका त केही जस्ताले ढाकिएका थिए । छाप्रा बनाएर सन्तोष बाँचेका ती गाउँबस्ती सिमेन्टको जङ्गल बनाउने सहरभन्दा सम्पन्न लागे मलाई । भत्केको माटो पन्छाउने तिनको आफ्नै बारी छ । नयाँ छाप्रो बनाउन छिमेकीसँग गर्छन् अर्मपर्म । केही दिनपछि आफ्नै बारीमा पाक्छ आफैले लगाएको बाली । झरी परेपछिको आकासझैँ भएका छन् भूकम्पले जागृत गराएका ती गाउँबस्ती । बरु, सहरिया राहतभन्दा गाउँघर सुन्दर बनाउने योजना चाहिएको छ गाउँलाई यतिखेर । एकदुई पोका खिच्रिङ मिच्रिङ र एकाध जस्ता पाता दिएर स्वघोषित दानी हुनेहरूप्रति हाँसो लागेर आउँछ ।

उता सहर आफैले बनाएका अव्यवस्थित संरचनाले दुखी छ । न पाल हाल्ने एकबित्ता जमिन छ आफ्नो, न पर्दा भाग्ने खुला ठाउँ छ कतै । चर्केका बिग्रेका घर भत्काउन पनि लाग्छ लाखौँ खर्च । जहाँ फाल्यो त्यहीँ मरुभूमि बनाउने सिमेन्ट र बालुवाको कुडाकर्कट कहाँ मिल्काउने ? सहर पो गरिब हुन पुग्यो गाउँभन्दा यसपाली ।

लामो साँघु पुगिएछ दुई घण्टामा काठमाडौंबाट ।

वरपर फराकिला हुँदै गएका डाँडापाखाका गाउँबस्तीहरू आफ्नो गर्भको भूकम्प बिर्सेर आफ्नो सिर्जनामा रमाइरहेथे । कतै जङ्गल फाँडेर त कतै खेतबारी मासेरै भए पनि बसाइएका बस्तीमा टल्केका अनेक रङका त्रिपाल र जस्ताको रङ अधिक उज्यालो लागेथ्यो । त्यसले शनैशनै मेरो मनको अँध्यारो पनि मेटाउँदै गएथ्यो । बिहानीको कलिलो सूर्य रश्मी मेरो खुसीमा रङ भर्दै पोतिएथ्यो तिनै गाउँघरमा । ती दृश्यले मनमा उर्लेथे खुसीका उन्मादी लहरहरू ।

सानो पखरा, ठूलो पखरापछि मुडे आइपुग्यो । काठमाडौंले यसैको नाम बेचेर आलु व्यापार गर्छ । म मनमनै मुस्कुराउँछु, ‘मुडेको आलु’ । बजारको एककुनामा गाडी रोके गंगाले ।

घर भत्केर ढुङ्गा, काठपात बाटोमै असरल्ल छरिएको भए पनि वा आफन्तको वियोगले दुःखमा परेको भए पनि आगन्तुकलाई हार्दिक स्वागत गरिरहेथ्यो मुडेले । वरपरका चुचुराको चहक फैलाएर एउटा विजयी भावमा हाँसिरहेथ्यो र भनिरहेथ्यो, ‘स–साना भूकम्प त के प्रलय आए पनि केही हुँदैन, केबल मान्छेले प्राकृतिक नियम मिच्न हुँदैन’ ।

भर्खरै बनाएको जस्ताको एकतले पसलमा चिया, चना र मालपुवा खाँदै पसले दिदीसँग गर्छु भूकम्पबारे संक्षेप सम्वाद मैले ।

‘बैशाख बाह्र गतेको धक्काले चर्केर बस्न नमिल्ने भए पनि सुरक्षाकर्मीलाई घर भत्काउन दिएनौँ, काठपात भाँचिन्छ भनेर । बैशाख उनन्तीस गतेको भूकम्पले भत्किइदियो र सजिलो भयो ।’ नवनिर्माणको उत्साहमा विध्वंशले पनि खुसी हुँदोरहेछ मान्छे, दिदीको अनुहार हेरेर थाहा पाएथेँ मैले । आफ्नो नवसिर्जनाप्रतिको गर्व र नयाँ जिन्दगीको उत्साही सुरुवातको उज्यालो छरिएको थियो तिनको अनुहारमा ढपक्कै ।

बरु चिन्ता थियो त आफूले लगाएको बालीको, ‘भूकम्पले हल्लाइरहँदा आलु र मकैका सबै बोट मर्न थाले ।’

सैलुङ जाने बाटो दायाँ छोडिए पनि त्यसको मायाले हल्लायो भित्रैसम्म, कुहिरोको अर्धपारदर्शी पर्दा उठाएर नजर लगाउँछु, ‘माथिमाथि सैलुङेमा चौरी डुलाउनेलाई’, अनि भट्याएँछु, ‘जान्छु म सैलुङ लेकैमा घामले पहिला देखेको …’ ।

अग्लाअग्ला महाभारत लेकको धमिलो आकृति मात्र देखिए पनि म पुलकित हुन्छु, धन्य मेरो प्रिय मातृभूमि जसका हरेक पत्रमा छ स्नेहिलो स्पर्श र, हृदयमा छ आशक्त वात्सल्य ।

खरीडुङ्गाको खानीमा पुगेथ्यौँ हामी । जहाँ डाँडाहरू आकाससँग आत्मालाप गरिरहेथे, खुलाचौरका कसिला तरेलीहरू आफ्ना असङ्ख्य चाहना विछ्याएर नागबेली सडकसँग लम्पसार परिरहेथे, क्षितिजमा टाँगिएका बुट्यानहरू कसैको उन्मुक्त हाँसो पर्खेर चुपचाप झोक्राइरहेथे । हो त्यहीँ, केहीबेर रोकिने इशारा गरेथेँ मैले साथीहरूलाई ।

मलाई पनि ती श्वेत, स्निग्ध र मुलायम खरीढुङ्गा छोएर लर्कँदो उमेरलाई जिस्क्याउँदै कखरा सिक्दाको आफ्नै बालवयको स्मरण गर्नुथियो । ढुङ्गेनी शितल स्पर्शले लहसिँदै ती क्षणलाई स्मृतिका स्लेटहरूमा कोर्नुथियो । कोरिएका समयका ती डोबहरूलाई मोबाइल र क्यामराका पर्दामा साँचेर तृप्त हुनुथियो ।

एकाध खरीढुङ्गाका टुक्रा खोकिलामा हालेथेँ मैले, मानौँ थाहै नपाई मबाट छुटेको त्यो मेरै प्यारो बाल्यकाल थियो ।

खरीढुङ्गा प्रशोधन भइरहँदा यही ठाउँमा करिब तीनसाता बिताएको विगत स्मरण गर्दै थिए गंगा ।

‘मुलुकको ढुङ्गा, माटो र हावापानीसँग घनिष्ट सम्बन्ध छ हाम्रो, आखिर यिनैको योग न हौँ हामी’ निष्कर्ष निकालेथ्यौँ हामीले ।

अनगिन्ति तेर्पाएँ घुम्तीहरू पार गर्दै चरिकोटको बाटो समातेका थियौँ हामीले जहाँ हरिया लेकाली पहाड, थुम्का र बस्तीहरूको सुन्दर संयोजन थियो । घरि उत्तिसका रुखले आकास छेड्छन्, घरि गुराँसका पोथ्राले धर्ती सजाउँछन्, घरिघरि भने भुइँचालाले थचारेका घरहरू बिझाउँछन् नजरमा । अपलक हेरिरहेथेँ अनायास भेटिएका जिन्दगीका आकस्मिकताहरूलाई । मैले पनि त यस्तै अनेक स्वाद, कलेवर, रङ, क्यानभासमा भोगिरहेछु जिन्दगी ।

भूकम्पले चर्केको, मर्केको, भत्केको, विदीर्ण चरिकोटे अनुहार अनायासै देखेर तर्सेको थिएँ म । यत्रो दिनपछि देख्दासमेत सातो उडिरहेछ मेरो, अप्रत्याशित त्यो भोग्दा कति भक्कानिए होलान् दोलखाबासीहरू । भूकम्पमा भाग्दा र पालमा सुत्दादेखि दुख्न थालेको मेरो ढाड झन् चस्किन थाल्दछ ।

तर, मेरो अत्यास रोकिएथ्यो एकैछिनमा, भत्केका घरमुन्तिर मान्छेहरूको निश्चिन्तता देखेर । सोचेथेँ, ठूलो भूकम्प त मान्छेको मनभित्र हुँदोरहेछ । त्यसको सदुपयोग गर्नुपर्दोरहेछ, खराब प्रवृत्ति मास्न र विपद्देखि सतर्क रहन ।

दोलखामा भेटेथ्यौँ देवेन्द्र लामिछाने, रेशमलाल कँडेल, नारायण उपाध्याय, औलखबहादुर आले, देवी पाण्डे, लेखबहादुर बस्नेत आदि अधिकारीहरूलाई कामकै दौरानमा । अनायास भेटिएथे, मानव कल्याण खातिर घरटहरा बनाइरहेका केही भारतीयहरू । सिध्राको व्यापार गर्न जाँदा पशुपतिको जात्रामा सामेल भएझैँ पुगेथ्यौँ दोलखा भिमेश्वर पनि ।

चरिकोटै थर्काएर गर्जेको मेघ र आकासै प्वाल परेजसरी खनिएको वर्षात्‍ले रौँचिरा झार्नेवाला थिएन हामीलाई । एकातिर हामी सुरक्षित पालमा थियौँ, अर्कोतिर भूकम्पलाई दुत्कार्दै निरन्तर विजयी रहेको पहाडी जनजीवन देखेर साहसले उचालिएको थियो हाम्रो छाति पनि । बरु, भूकम्प ओछ्याएको भूगोलमा एउटा रोमाञ्चक अनुभूति साँच्न आतुर थियो मन, ‘मुहानको भू–तरङ्ग कस्तो हुँदो हो ?’

सुतेपछि निश्चिन्त निद्रामा पुगिहाल्ने आफ्नै बानीले अनुभूत गर्न पाइएन भूकम्प । साथीहरू भन्दै थिए भोलिपल्टबिहान, ‘निकै हल्लायो नि हिजो राति पनि !’

दिनको मिर्मिरे सुरुवात हुनासाथ मकैबारीमा टाँगेको पालबाट निस्केर लेकाली ओस स्पर्श गर्दै चरिकोटलाई हात हल्लाएथ्यौँ हामीले । धुम्मिएको आकास हिजो राती जसरी खनिए कतै पहाडै खसेर रोक्छ कि हाम्रो बाटो, एउटा त्रासद छटपटी थियो भित्रभित्रै ।

ग्राभेल र पक्की सडकसँगै निरन्तर ओर्लिरहँदा देखियो फराकिलो पहाडी पाखामा निदाइरहेको बस्ती । टाँगिएका पालले ‘पर्ख र हेर’ को रणनीतिमा दोब्रिएका मान्छेको उपस्थिति सङ्केत गर्दथ्यो । त्यसै भनिएको होइन रहेछ, ‘अनिकालमा बीउ जोगाउनू, हूलमूलमा जीउ जोगाउनू’ ।

एउटा सदीक्षा राखेँ, ‘अब तिनले स्थानीय सामग्री प्रयोग गरी कम खर्चमा बनाउनुपर्छ, भूकम्पको जोखिमरहित सुन्दर घरहरू’ ।

पिपलबोटपछि किरातीछाप आयो । धानको बीउ उमारेर असार पर्खेका साँघुरा ग¥हाहरू छोडिए । एकैछिन रमाउन नपाउँदै फेरि सुस्केरा हालेथेँ मैले, घरहरू त भत्कायो भत्कायो, खडेरी खेपिरहेको रात्माटे खेतबारीमा खनिएर सखापै पारेछ भूकम्पले मकै र आलु । त्यही गाउँबीचको सुन्दर जङ्गलमा किन लागे होला डढेलो, ‘जहाँ गाह्रो, त्यहीँ साह्रो भने जसरी’ ।

मन्थली र जिरी जाने बाटोको सङ्गममा तामाकोशी भेटियो । चिया खाने बहानामा त्यसको धमिलो प्रवाह हेरेर रमाउन खोज्यौँ एकैछिन ।

‘चिया किन पीरो ?’ दिग्दिगो मानिरहेथेँ, खप्नै नसकेर सोधेँ मैले । बाक्लो बनाउन सकिँदैन, पातलो बनाउँदा मिठो हुँदैन भने पनि निकै मिठो थियो मुडेको चिया, यस अघि नै सम्झिरहेथे साथीहरू ।

‘कराइमा पकाएको’ पसल्नी दिदीले साँचो कुरा बोलिन् । पीरो चिया त्यसै छोडी पैसा तिरेर लाग्यौँ जिरीतिर । जिरीको बाटो हुँदै रामेछाप झर्ने योजना थियो हाम्रो ।

‘जिरी अठ्तीस किलोमिटर’ पुल तरेपछि उक्लिन थाल्छ बाटो सालघारी छिचोल्दै ।

ठाडो पुच्छर लाएर बेँसी झर्दै गरेका बहर गोरुको फूर्ति, छाप्रा हाल्दै गरेका, खेती स्याहार्दै गरेका गाउँलेहरूको चहलपहल देख्दा लाग्थ्यो, यो सुन्दर गाउँ छिर्ने आँट गरेनछ भूकम्पले । तर, छेउमै विरूप भई ढलेका घरका खण्डहर देख्दा अमिलिन्थ्यो मन ।

चरिकोटे अनुहार झन् खुल्यो वल्लो पाखोबाट । भिमेश्वरदेखि चरिकोटसम्म हत्केला फैलाएर विदाइको हात हल्लायो त्यसले ।

नाम्दुपछि देखिएका सुन्दर गाउँघर हेरेर मनमनै शुभकामना राखेँ, भूकम्पले भत्काएको सहर छोडेर बल्ल गाउँ पसेका छन् मान्छेहरू । अब तिनले सुन्दर बनाउनुपर्छ आफ्नो गाउँ । मैले पनि सानैमा छाडेको आफ्नो गाउँघर सम्झेँ ।

दुईवटा झड्का महसुस गरियो, काठमाडौंले सुनायो खबर ।

मुलुकको सबै चिज एकैठाउँ थुपारेर गाउँलाई कङ्गाल बनायो काठमाडौंले । अहिले मुलुक विपद्‌मा फस्दासमेत अनेक फोहोरी खेलमा व्यस्त छ काठमाडौं । एउटा मनोकामना उर्लियो अन्तरहृदयमा, सर्वत्र आवोस् भूकम्प– फोहोरी राजनीतिमा, भ्रष्टाचारमा, कुशासनमा, अन्याय अत्याचारमा । मैले काठमाडौंका अङ्गप्रत्यङ्गमा थप झड्काको आवश्यकता ठहर्‍याएँ । होइन होइन– फेरि दुहाइ मागी रहेथ्यो अन्तरहृदय, जहाँ सजाएको छु हृदयका अनमोल टुक्रा । नआवोस् भूकम्प फेरि नेपालमा ।

काब्रेपछि मैनापोखरी आयो । अनेक कुइनेटामा चोइटिए पनि गर्वसाथ अटल रहेको महाभारत पहाड उक्लिसक्दा खावा टुप्लुक्कियो । एउटै बाँकी नरही भत्केका घरहरूको खण्डहर दृश्य र फैलिएको धैँसोको कडा गन्ध छिर्‍यो अन्तरहृदयभित्र । काँचो पिडालु खाएझैँ पर्परायो निल्नु न ओकल्नु जसरी ।

भकारी बुनिरहेका बृद्धहरू, स्कुल गइरहेका बच्चाहरू, अनेक धन्दामा मस्त गाउँलेहरू …, त्यो सब पर्वाह नगरी कुदिरहेथे मान्छेहरू, भूकम्प बिर्सन यत्ति काफी थियो मेरा लागि ।

सुस्तसुस्त ओरालो ओर्लँदै मोडिइरहेथ्यो गाडी, अनायास ठूलै आवाजसहित रफ्तार घट्यो, टायर पञ्चर भएको रहेछ । खावा क्रस नहुँदै हावा गयो भन्नथाले साथीहरू । कसरी पडक्यो हाइलेक्स गाडीको ट्युबलेस टायर, आश्चर्य मान्दै गंगाले टायर फेर्न झिक्नथाले औजार र मिलाउन थाले प्रपञ्च ।

खर्सुङ र ठिम्रे सल्लाका रुखहरू सजिएको पाखामा लागेको थियो मधुरो घाम र चलिरहेथ्यो सिर्सिर बतास । ढल्दै गएको पहाडी थुम्काहरूको तरेलीमा बयली खेलिरहेथ्को मन । श्रीरामले आफ्ना पुर्खाको थातथलो चिनाउँदै थिए । कोइली सोधीरहेथ्यो को हो को हो ? शायद त्यसले चिनेन वा पर्यटक डुल्ने पथमा उभिन आइपुगेको नौलो नेपालीलाई नचिनेको स्वाङ गर्‍यो । प्रकृतिसँग राम्ररी चिनापर्ची गर्ने मन भए पनि साथीहरूले बोलाइहाले गाडीमा । अधूरो चिनजान लिएर गाडीतिरै बुर्कुसिएँ म ।

पातल, खर्क र वनको सुन्दरताले तानिरह्यो । बाटो किनारको हरियो दुबोले लोभ्याइरहेथ्यो । सल्लेरी स्पर्शले मुग्ध बनाइरह्यो । औधि सुन्दर देखिन थाले डाँडाकाँडा । घरिघरि देखिने राता गाला औधि सुहाए ती गाउँबस्तीमा ।

चर्चा हुन थाल्यो, जिरी र स्वीस सहयोगबारे । कसैले भने, जिरीलाई स्वीट्जरल्याण्डको जुरिकजस्तो बनाउन वा सगरमाथालगायत हिमाल आरोहणमा सहजता ल्याउन थालिएको हो जिरी विकास कार्यक्रम । तेञ्जिङ शेर्पा र एडमण्ड हिलारी सगरमाथा आरोहणमा यही बाटो गएकोले पनि जिरीको चर्चा बढेको हो भन्दै थिए कसैले ।

पहाडको काखमा लेकाली सुन्दरता समेटेको जिरी दृश्यमा बदलियो । टाढाबाट हेर्दा मोहक सुन्दरता छर्ने त्यो नजिकै पुगेपछि जिर्ण, रोगी र ख्याउटे देखिन पुग्यो । तथापि तस्वीर र हृदयका पानासँग साटेर दुरुस्त बनाएँ त्यसलाई मैले । अनि लेकाली चिज, छुर्पी र घ्यूका स्वादमा हराउन थालेँ म ।

पर्यटक कहिले आउँछन् भन्ने जिज्ञासामा शेर्पिनी दिदी ढुक्कसाथ बोलिन्, ‘भदौपछि आउँछन्’ । तिनका अनुहारमा भूकम्पले हल्लाएको कुनै अवशेष बाँकी थिएन ।

बाम्तीभण्डारा जाने बाटोतिर नजर लगाउँदै फेरि पिचैपिच फर्कियो तामाकोशीतिरै, गाडीमा जगेडा टायर बाँकी नरहेकोले रामेछाप हेर्दै छोटो बाटो फर्कने इरादा भत्किएको थियो भूकम्पले ढलाएको धरहराजसरी ।

सम्झन्छन् आफन्तहरू । विपद्‌मा झन् गाढा हुँदोरहेछ माया । शायद फेरि हल्लायो भूकम्पले ।

बैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनहरू सम्झेँ मैले । आफूले टेकेको धरा नै बेस्सरी हल्लिँदा कहाँ जाने भागेर ? अहो कति भयावह हुँदो रहेछ भूकम्प ! फेरि एकपटक होइन सयौँपटक ।
बैशाख २९ गते दोलखाको सुनखानी केन्द्रबिन्दु भई गएको भूकम्पले यति बिध्न विनास गरेको रहेछ यस क्षेत्रमा ।

बिहानको साढे नौ बज्दा तामाकोशीबाट मन्थलीतर्फ लाग्यौं हामी । पक्की छ सडक तर ठाउँठाउँमा बगिरहेछ पहिरो । तामाकोशीको घरि बायाँ त घरि दायाँ कुदिरहेछौँ त्यसकै प्रवाहतिरै समानान्तर । सडक माथितिर फर्केर हेर्दा देखिन्छ ढुङ्गेनी पहाड र कतैकतै बस्ती । माझी गाउँमा देखिए भर्खरै नयाँ जस्तापाता धारण गरेका झुप्राहरू । सुन्दर घर देखिए पनि वा चर्केमर्केका घर देखिए पनि भूकम्प नै ठोक्किएको छ मनभरि ।

जङ्गलमा पलाएको घाँस देखेर अन्तरकुन्तरको विगत सल्लबलाउन थाल्छ आफैभित्र । कसले छिटो भारी पुर्‍याउने भन्दै बर्खे पानीमा रुझ्दै भिज्दै घाँस काटेको किशोरवयको सम्झना आउँछ । सोच्छु, अन्तरहृदयका सबै तन्तु शिथिल भइसकेका रहेनछन् ।

तामाकोशीको प्रवाह देख्दा लाग्छ, मुलुक उज्यालो बनाउने तागत त यसमै छ ।

शितली बेँसी र देवीटार पार भए । खिम्ती जलविद्युत योजनास्थल छोडियो । ठूलो पहरोको फेदमा ढुङ्गा खसेर सडकमा परेका चोट र थुप्रिएका ठूल्ठूला ढुङ्गा देख्दा लाग्थ्यो भाग्यले बाँचिरहेछौँ हामी ।
मन्थली सीमा प्रारम्भ हुनासाथ देखिएको स–सानो झरनाछेउमा पुग्दा प्रबिनलाई सुझाउँछु मैले, ‘तिमी फोटो खिच, म शब्द खिच्छु’ । अनि एउटा उत्साहको निश्वास लिन्छु, देखेर तामाकोशीमा बनिसक्न लागेको नयाँ पक्की पुल ।

खसिरहेको खहरे, भत्किरहेका पाखामुन्तिर तामाकेशी र रणजोर खोलाको सङ्गममा बगर भएर पल्टिरहेको रहेछ मन्थली । २०४५ सालमा रामेछापबाट सदरमुकाम झारेर शासन चलाउन थाले पनि सम्पन्न मान्न सकिन मैले उजाड मरुभूमितुल्य त्यसलाई । बरु, खुइलिएको त्यसको उष्णतामा वाफिँदा गुल्जार चरिकोट सम्झन पुगेँ । तुलना गर्न नपाई हुँदोरहेनछ यथार्थ जानकारी । त्यो त्यस्तो यो भने यस्तो, हुनुपर्ने त्यस्तो, … ।

साहित्यकार जगदीश घिमिरेको घर सोध्दै थिएँ डा. चक्र पाणि आचार्यले एकरात उनकै घरमा सुतेको सुनाउँदै हामीलाई लैजानुभयो । जगदीश घिमिरेको घर प्राङ्गणमा बितायौँ धेरैबेर । मलाई एउटा ठूलै तीर्थस्थल पुगेझैँ भयो ।

पुर्कोट निस्केर मिसियौँ विपी मार्गमा । आफू पहिले टेकिसकेको ठाउँ फेला पर्दा एउटा सन्तोषको सुसेली निस्कन्छ अन्तरहृदयबाट । चिनजान भइसकेको गाउँबस्ती सुरक्षित हुँदोरहेछ मेरो मुटुको एककुनामा पनि, देखेर ती बस्तीका चहलपहल भूकम्प बिर्सँदै निश्चिन्त मुद्रामा छातिमा हात राखेर निर्धक्क निदाउँछु म ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *