संस्मरण : घर एउटा कविता

~राजव~Janardan Pudasaini Rajab

तिनताक म राष्ट्रिय वाणिज्य बैंकको बुढानीलकण्ठ शाखामा प्रबन्धक थिएँ । शुक्रबार आधा दिनमात्र चल्ने भएकाले म बैंकको दैनिक कारोबार बन्द गर्ने तरखरमा भएकै बेला ईश्वरबल्लभ दाइको फोन आयो । उहाँले घरमा आउने निम्तो गर्नुभयो, त्यही दिन ।

किन डाकेको होला ? पिलाउन पो हो कि ? उहाँले एकपटक यसैगरी डाक्नुभएको थियो र हामीले भोड्का पिउँदै तीन घन्टा बिताएका थियौँ ।

२०५३ सालको जेठको महिना थियो त्यो । तालु डढाउने चर्का घाममा म मोटारसाइकलमा थापाथलीस्थित ईश्वर दाइको घरतिर कुदेँ । दाइ ढोकैमा मलाई पर्खेर उभिनुभएको देखेँ । उहाँको अनुहार चिन्तित र तनावपूर्ण देखिन्थ्यो । स्वर पनि पहिलेजस्तो काव्यमय थिएन । हामी भित्र गयौं । बस्यौं ।

‘बेसै होइन भाइ ?’ बसिसकेपछि उहाँले फेरि सोध्नुभो । त्यतिन्जेल भाउजू पनि हाम्रो कुरो सुन्न आइपुग्नुभएको थियो । उहाँको अनुहार झन् अँध्यारो देखिन्थ्यो । अनि पो मलाई कुरो गम्भीर त छैन भन्ने लाग्यो ।

दाइले भाउजूतिर पुलुक्क हेर्नुभोे र भन्नुभो ‘भाइलाई यसो केही …’

कुरो कानमा खस्नेबित्तिकै भाउजू भित्र पस्नुभो । उहाँले असजिलो मान्दै फेरि सोध्नुभो, ‘बेसै होइन त भाइ ?’

मैले फेरि पनि भनिदिएँ, ‘बेसै हो ।’

‘वाणिज्य बैंकको भोटाहिटी शाखाको म्यानेजरलाई चिन्नुहुन्छ ?’ लगत्तै सोध्नुभो ।

‘चिन्छु ।’

‘को हो ?’

‘भद्रकाली दाहाल’

‘भाइले राम्रै चिनेको हो ?’

‘साथीजस्तै हो ।’

अब दाइको अनुहार अलि उज्यालियो । भाउजू फेरि ढोकामा आइपुग्नुभएको थियो । उहाँ हामीबीचको कुरो सुन्न नछुटोस् भन्ने ध्येयमा हुनुहुन्थ्यो । दाइले फेरि उहाँतिर पुलुक्क हेर्दै इसाराजस्तो केही गरेपछि भाउजूको जवाफ आयो, ‘पाक्दै छ ।’

त्यतिन्जेलको कुरोपछि मलाई ईश्वर दाइलाई ऋण लिने सिफारिस चाहिएको रहेछ भन्ने लागेको थियो । तर लिन होइन लिएको ऋणले पार्न लागेको आपत टार्न मलाई डाक्नुभएको रहेछ ।

‘ज्वाइँले व्यापारका लागि यो घर धितो राखेर ऋण लिनुभएको थियो तर बेलैमा तिर्नसक्नु भएन,’ भन्नुभो, ‘बैंकले लिलामी सूचना निकालेको छ…।’

भाउजू फेरि भान्छाबाट ढोकामा आउनुभो । उहाँका आँखा आँसुमा डुबेका थिए ।

‘म्यानेजरसँग कुरा गर्नुभयो त दाइ ?’

‘ज्वाइँ जानुभएको थियो । पहिले पनि दुईपटक लिलामी रोकेको हुनाले अब रोक्न सकिन्न भने रे । एकपटक कोसिस गरिदिनुपर्‍यो भाइ ।’

यतिन्जेलमा भाउजूले खाजा ल्याउनुभो । प्लेटमा आलुको तरकारी, चिउरा र अम्लेट थियो । त्यो साँझ ईश्वर दाइले कविता, साहित्य र एकेडेमीबारे केही बोल्नु भएन । भेट हुादा उहाँ अक्सर यिनै विषयका गफ निकाल्नुहुन्थ्यो । कविताबारे धेरै सुस्वादु गफ गर्नहुन्थ्यो । वेदका मन्त्रदेखि इसाई र यहुदी पुराणसम्मका मिथकका कुरा उहाँको गफमा मिसिन आइपुग्थे । विशेषतः उहाँका गफ तरल र अमूर्त हुन्थे । एक किसिमको लयमा बााधिएका हुन्थे वाक्यहरू । तर त्यस साँझ उहाँको बोलीमा काव्यको त्यो बहाव थिएन ।

बरु एउटै चिन्ता थियो घर डुब्ला भन्ने । त्यसकारण उहाँ मलाई सुनाइरहनुभएको थियो, ‘घर पनि एउटा कविता हो, यी भित्ता, यी ढोका पनि त कविता हुन् । यी जोगिएनन् भने यो ईश्वरबल्लभका कविता कसरी जोगिन्छ ? कहाँ राख्ने कविता ?’

‘चिन्ता नगर्नुहोस् दाइ जसरी पनि लिलामी रोकाउाछु,’ भनिदिएँ ।

‘भाइबाट यही सहयोग खोजेको मैले,’ भन्नु भो, ‘एउटा कविको घर लिलाम भयो भने देशकै बेइज्जत हुन्छ, कविहरूकै बेइज्जत हुन्छ, भाइहरूकै बेइज्जत हुन्छ ।’

‘धन्दै नमान्नुस्…’ आश्वासनको यस्तो वाक्य बोलेर म बिदा हुन खोज्दै कुर्सीबाट उठेको थिएा । बिदा गर्न कम्पाउन्डको ढोकासम्म उहाँ आउनुभएको थियो । पछिपछि भाउजू पनि हुनुहुन्थ्यो ।

आइतबार म मित्र दाहाललाई भेट्न गएँ । केही तर्कविर्कपछि उनले छ महिनासम्मका लागि लिलामी रोकिदिने वचन दिए ।

यो खुसीको खबर लिएर म फर्किएा र दाइलाई फोन गरेा । कुरो सुनेपछि धेरै पटक धन्यवाद भन्नुभो । ऋण पनि छिट्टै चुक्ता गराउने कुरा गर्नुभो ।

त्यसपछिका दिनमा धेरै पटक ईश्वर दाइसँग भेट भइरह्यो । तर मैले त्यस ऋणबारे फेरि केही सोधिनँ किनभने मलाई त्यो कुरो कोट्टयाउनु उहाँलाई अपमान गर्नुजस्तै लाग्यो । उहाँले नै एक पटकको भेटमा भन्नुभो, ‘ज्वाइँले ऋण चुक्ता गर्नुभो । भाइको सहयोग सम्झेको छु ….’

त्यस साँझ हामी चियापसलमा अलमलिएका थियौं ।

ईश्वर दाइसँग मेरो पहिलो भेट कुरिया गाउास्थित उहाँको पुख्र्यौली घरमै भएको थियो । सायद दुई हजार चौँतीस सालको कुरो थियो त्यो । उहाँ भर्खर दार्जिलिङ छोडेर आउनुभएको थियो । त्यसबेला भूपि शेरचन, मोहन कोइराला र ईश्वरबल्लभका कविताले मेरो मस्तिष्क रन्थनिन्थ्यो । तिनै कविहरूको अभिव्यक्तिले मलाई अलौकिक र अनौठो संसारको सोचमा पुर्‍याउँथ्यो । दुई हजार तीस सालको समय थियो त्यो । भूपि, मोहन, ईश्वरबल्लभ, द्वारिका श्रेष्ठ, पोषण पाण्डे आदि मेरो अध्ययनका काव्य नायक थिए । तीमध्ये मेरो निकट ईश्वर दाइ हुनुहुन्थ्यो । चिनेको साँझदेखि नै मैले उहाँको सहज र आत्मीय व्यवहार पाउन थालेा । त्यही भएर मलाई सधैँ दाइसँग फुर्सद भयो कि भेटौा भेटौा भइरहन्थ्यो । त्यही उत्प्रेरणाले कति पटक मैले उहाँलाई फोन गरेको छु । र, सोधेको छु, ‘दाइ आज घरमै ?’

‘फुर्सदमै छु भाइ, आउनुभए हुन्छ…। ’ धेरै पटक उहाँले भन्नु भएको छ । र म पुगेको छु थापाथलीको भित्रीबस्तीमा उभिएको उहाँको घरमा । त्यो सानो कोठाका तिनै कर्सीमध्ये एउटामा बसेर घन्टौा ईश्वर दाइको काव्यचिन्तन सुनेको छु । तर, त्यस साँझको कुरै अर्कै थियो । पछि पसलमा भेट हुँदा उहाँले त्यसबारे अरू कुरा पनि सुनाउनुभएको थियो । त्रासले भाउजू र दाइलाई असंख्य रात अनिादो पारेको रहेछ । त्यस साँझ चिया पिउादै बल्लभ दाइले तिनै अनिादा रात सम्झनुभएको थियो र भन्नुभएको थियो, ‘अब मेरा निद्राहरू फर्किए भाइ ।’

हाल – अमेरिका

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *