कथा : पोलिस

~प्रतिभा गौतम~

पार्किङलटबाट निस्किंदै गर्दा ऑंखाहरु हातको घडीसम्म पुगे । घडीले सधैंझैं बिहानको ६:४० बजाएको थियो । काम सात बजेबाट सुरु भएपनि २०-२५ मिनेट पहिला पुग्नु, कफी पिउँदै एकछिन फोनमा अल्मलिनु, कहिले-कहिले बैंककै बगलमा रहेको पार्कमा बरालिनु अनि एकछिन साथीहरुसँग गफिनु मेरो दैनिकी नै हो ।

पार्किङलटबाट कार्यालयको ढोकातिर लम्कँदै गर्दा आप्रवासी झैं देखिने एउटा भलादमी मान्छेले ढोका खोलेर पर्खिरहेको देखें । उस्का ऑंखा ठुला र फिक्का खैरा थिए । कपाल न त पुरै खैरो थियो न त पुरै कालो नै । उचाई मध्यम थियो । उतिर फर्केर मुसुक्क मुस्कुदाउँदै पाइला अली छिटो बढाएँ । मुस्कानसँगै बिहानी अभिवादन पनि आपसमा दुवैले साट्यौं । ढोकाबाट निस्किएपछी फेरी भेटौंला तपॉंईको दिन शुभ रहोस भन्दै त्यहॉंबाट बाहिरियर छुट्टीयौं । म अगाडी र उ पछाडी नै छुटेकोले उ कता मोडियो मैले हेक्का राखिन । किनकी हाम्रा पाइला समानान्तर अघि बढेका पनि थिएनन् । र, मैले पछाडी फर्केर हेरेकी पनि थिइन ।

अनि उस्को लवजले उ हेर्दा कुनै आप्रवासी झैं लागेपनि अमेरिकन नै हो रहेछ भन्ने बिश्वासलाई बल मिल्यो । अनि आफ्नै मनले उसका पिता पुर्खाहरु धेरै नै पहिले एसियाबाट वा युरोपको कुनै भागबाट अमेरिका बसाईं सरेका हुनुपर्छन भनेर अड्कल काटें ।

म भर्खरै मात्र काममा लागेकी थिएँ ।

नयॉं मान्छेहरु, नयॉं परिवेश, नयॉं तरिका नयॉं माहौल मन अलीअली आत्तिने नै भयो । यस्तोमा कसैले बोलाए /बोलीदिए मात्र पनि पैतालादेखि शिरसम्म खुसीको संचार हुन्थ्यो एकसाथ ! त्यो फरकखाले माहौलमा आफुलाई सबैभन्दा अलग लाग्थ्यो । कुनै चित्रकारको कुचीले भुलबस भेट्दै नभेटेको कुनै एउटा भागजस्तै । म आफुलाई त्यस्तो लागेपनि माहौलभने त्यस्तो थिएन । सँगै काम गर्ने सबै साथीहरु सिनियरहरु सहयोगी, सहृदयी र मिलनसार थिए ।

अचेल दिनहरु उज्याला र घमाइला छन् । भर्खरै दिनहरु तात्ने क्रम बिस्तारै बढ्दै छ । यो सुदुर भू-भागको पहिलो गृष्मकालीन (समर) देख्न मन खुसीले यसै पुलकित थियो। पार्किङदेखि बैंकसम्म नपुगुन्जेल छिचोल्नुपर्नी एउटा सानो पार्कमा पुगेसी मन यसै अड्किन्छ संधैंजसो ! मिलाएर लस्करै राखिएका हेर्दा ढुंगाका जस्ता लाग्ने बस्ने फलैंचाहरु ! बिचमा पानीका फोहोराहरु ! अनि छेउ-छेउमा ठुला-ठुला रुखहरु र बिचमा अनेक जातका घॉंस दुबो र फूलहरु ! अनि त्यहॉं चर्न आउने बिभिन्न प्रजातिका चराहरु !

पूर्वतिरको आकाश थोरै पहेंलो मात्र देखिन थालेको थियो । त्यसैले त्यहॉंका फूलपात र भुँई अझै ओसिलै थिए । पातहरुमा शित मोतिझैं टल्केको देख्न सकिन्थ्यो । म त्यही बाटो हिंड्दै गरेको चाल पाएर एकजोडी मैले नाम नजानेका चराहरु भुर्र उडे । त्यसै छेउमा भर्खरै फुल्दै गरेको बैजनी रंगको फूलमाथी एउटा सेतो रंगको पुतली बसेको दृश्य सॉंच्ची नै मनमोहक लाग्यो । अनि हतार हतार मोवाइल फोन झिकेर क्यामरा अन गर्दा नगर्दै त्यो पुतली त अघि नै कतिबेला हो उडिसकेछ मन खल्लो भयो । भित्रभित्रै झनक्क रिस उठेझैं भो । तर रिस न पुतलीसँग हो न फोनसँग हो न आफैसँग हो त्यसमा भने आफैं अष्पस्ट रहेरै अगाडी बढें । अलि पल्तिर ८-१० जोडी परेवाहरु थिए । उनीहरु सबै कुरा बेवास्था गरेर चुपचाप चारो टिपीरहेका थिए । तर मभने तिनीहरुलाई वास्ता गरिरहेकी थिए । त्यसकै छेउमा एउटी अधबैंसे गोरी महिला एउटा सानो कुकुरको छाउरो डोराउदै थिइन । त्यसरी डोर्याउँदै गर्दा तिनी बेला-बेला परेवाहरुको समुहमा चारो पनि छर्ने गर्थिन् ।

यसरी आकाश खुलेको र धर्ती हॉंसेको बेला परपरसम्म कार्पेट ओच्छ्याएझैं देखिने फराकिलो भू-बनौट देखेर म वास्तवमै अचम्मित हुन्छु । अनि बेला-बेला यताको यस्तो बिशाल भू-बनौटसँग आफ्नो माइती देशको भू-बनौटको तुलनात्मक बहस गर्ने गर्छु आफ्नै मनसँग ।

आज कतै टहलिने मन भएन सिधै कार्यालयकै घुमाउरो ढोकातर्फ बढें । बिस्तारै घुमाउरो ढोकाबाट घुम्दै-घुम्दै आफ्नो कार्यालय भित्र पसें । भित्र पस्नेबितिक्कै ठुलाठुला गमलाहरुमा लहरै राखिएका प्राकृतिक जस्तै लाग्ने कृत्रिम बनस्पतिहरुले मुसुक्क हॉंसेर स्वागत गरेको आभास मिल्छ ।

छेउमै रहेको चमेनागृह (क्याफेटेरिया)मा बसेर सधैंझैं कफीको सुरुपसँगै साथीहरुसँग एकछिन गफिएँ । त्यसपछी आफ्नो फोन-पर्स लगायतका सबै आफ्ना सामानहरु लकरमा राखेर आफ्नो कार्यस्थलमा प्रवेश गर्न भनेर देब्रेतर्फ अगाडी बढें । प्रवेशद्वारमा आफ्नो कार्ड सधैं स्वाएप गर्नैपर्छ । त्यसपछी बल्ल आफ्नो लागि कार्यकक्षको ढोका खुल्छ । ढोका खुल्यो अनि सरासर कार्यालयको सबैभन्दा माथी तिरको देब्रेतर्फ राखिने हाँजिरी खातामा हाँजिर गरें । कार्यालय प्रवेशको समय लेख्न ऑंखा भित्तामा राखिएको घडीतर्फ बढ्यो । घडी चुपचाप एकनास सधैंजस्तै उस्तै सरिरहेको थियो । टिक-टिक-टिक ! र, अहिले बिहानको ६ बजेर ५८ मिनेट गएको छ भनेर घडीले संकेत गरिरहेको थियो । त्यसपछी हाँजिरी खाताको छेउमै राखिएको कालो कलमको कालै मसिले ६:५८ लेखेर हाँजिरी जनाएँ ।

सातै दिन तिनै सिफ्ट उस्तै काम हुने यो ठाउँमा बिहान सात बजे घर फर्कनुपर्नेहरु निस्किंदै थिए । सात बजे काममा पुग्नुपर्नेहरु आइरहेकै थिए । यसक्रमा सबैहरु सबैसँग मुसुक्क हॉंसेर बोलिरहेकै हुन्थे । प्रभातकालिन अभिवादनसँगै सबैले सबैलाई तपाईं आज कस्तो हुनुन्छ ? तपॉंईको दिन सुखद रहोस ! फेरी भेटौंला है त भनेर बिदा हुन्थे।

यसरी बिहानी अभिवादनको साटासाट पछी दिनभरीको कामको लागि अति आवस्यक पर्ने कलम बिभिन्न किसिमका व्याच टिकेटहरु स्टेपल रिमुभर ,रबर व्यान्ड तथा पेपर क्लिपहरु, बिभिन्न साइजका वाइन्डरहरु, टेप प्लास्टिक ट्रयास व्याग लगायतका सबै सामान बोकेर आफ्नो डेक्समा जानु ! पुरा ८ घण्टा बिभिन्न कम्पनीका पेमेन्टहरु डिपोजिट गर्न मिल्ने डिपोजिट गर्नु र नमिल्नेलाई कम्पनिमै पठाउनु लगायतका धेरै किसिमका कामहरु गर्नुपर्थ्यो । यो सबै कैले सिकुँली होला भनेर मेरो आत्मा घवराएको थियो ।

दिनभरीको लागि अति आवश्यकीय सामानहरुसँगै थोरै खस्किएको आत्मवल बोकेर म आफ्नो डेक्समा बस्नै आँट्दा अघि भर्खर पार्किङलटमा भेटेको मान्छे हाम्रै तलामा देखेर चकित भएँ । अनि सोचें त्यो मान्छे पनि यहीं पो काम गर्ने रहेछ । तर पहिले कहिलै देखेकी थिइन सायद नयॉं होला भनेर भन्ठॉंने । अनि आफ्नै काममा व्यस्त हुन थाले ।

उ सबैको डेक्समा पालैपालो पुग्दै गरेको र उसका ओठहरु पहिला थोरै तन्किएका र पछी बिस्तारै चल्दै गरेको म टाढाबाट देख्न सक्थें । ठ्याक्कै म्युट गरेको टेलिभिजन जस्तै।

ति सबै कुरामा मैले किन ख्याल गर्नु भनेर म आफ्नै सुरले भर्खरै ल्याएका व्याच टिकेटहरु आफ्नो डेक्सको छुट्टै कुनामा राख्न व्यस्त भएँ । एकैछिनमा “एक्सक्युज मी” (मलाई माफ गर्नुहोला) भन्ने एउटा मोटो तर मधुर, पुरुष आवाजले म झस्किंए । अनि बसिरहेकै कुर्सिदेखि आफ्नो मुन्टो थोरै पछाडी फर्काएँ । एक्कासी सुनिएको त्यो आवाजले थोरै झस्किएकी भएर मेरा ऑंखाहरुमा त्यतिबेला थोरै डरसँगै मुस्कान मिसिएको हुनुपर्छ । उ त अरु कोही नभएर अघि भर्खर पार्किङलटमा भेटेको र भर्खरै आफ्ना कार्यालय सहकर्मीहरुसँग बोल्दै गरेको त्यही मान्छे थियो । उसले मलाई थोरै अचम्म सँगै खुसी भरिएको उत्सुक ऑंखाले हेर्दै थियो । अनि उसले बडो आत्मविश्वासको साथ मलाई भन्यो “तपॉंई यहाँ नयॉं हुनुन्छ होला”। मेरा थोरै तन्किएका ओठहरुले अलिकती असहजतामा जवाफ फर्काए “हो” ।

त्यसपछि उसले मसँग हात मिलाएर भन्दै गयो “मेरो नाम जाकोव !। जाकोव Nowak । एकछिन रोकिएर फेरी थप्यो म यहॉं ३ वर्षदेखि काम गरीरहेको छु । तर बिचमा निकै बिरामी परेकाले छुट्टीमा थिंए र आजदेखि फेरी काममा फर्किएको छु । तपॉंईसँग भेटेर धेरै खुसी लागेको छ”। त्यसपछी मैले पनि उसलाई आफ्नो छोटो परिचय दिएँ । अनि हामी आपसमा शुभदिनको कामना गरेर छुट्टियौं । त्यसपछी उ मभन्दा थोरै अगाडीतर्फको कुर्सीमा गएर बस्यो । त्यसैबेला मेरी सुपरभाईजर र एक जना सिनीएर आएर जाकोवसँग कुरा गरिरहेको देखें । ति आवाजका ध्वनीहरु बेलाबेला मेरो कानसम्म आएर ठोक्किए पनि ति अस्पष्ट थिए । एकै छिनमा तिनीहरु मतर्फ अगाडी बढे र मुस्कुरॉंउदै भन्दै गए “तपॉंईले नजानेका कुरा जाकोवलाई सोध्न सक्नुहुन्छ । या हामी पनि यतै हुन्छौं ।आज टावना आउँदिनन् । अप्ठेरो नमानी सोध्नुस । तपॉंइलाई काम सिकाउन हामी सबै उत्सुक छौं”। त्यति भनेर उनीहरु लाखापाखा लागे । टावना मलाई काम सिकाउने त्यहीं काम गर्ने अर्की एउटी अफ्रो अमेरिकन महिला थिइन ।

काम गर्न सुरु गरेपछी कति त सामान्य डकुमेन्ट्स र चेक मात्र भेट्थें । त्यस्तो त म सजिलै प्रेसेस गर्न सक्थे । तर संधै यस्तो हुँदैनथ्यो । कैले चेक डकुमेन्ट्स र साथमा लामो-लामो पत्र हुन्थ्यो दौडेर जाकोवलाई गुहार्न पुग्नुपर्थ्यो । कैले चेक र डकुमेन्ट्सको साथमा नगद हुन्थ्यो । कैले केही पनि उल्लेख नगरिएका खाली चेकहरु ऑंउथे डकुमेन्ट्सको साथमा । कैले क्रेडि कार्डको नम्बर मात्र उल्लेख गरिएका डकुमेन्ट्स आउथे । कैले सबै थोक उल्लेख गरिएका तर उस्को मुख्य पेयी भने उल्लेखै नगरेका चेक आउथे त कैलेकॉंही च्यातिएका र बिग्रिएका स्क्यान लाइन भएका चेक र डकुमेन्ट्स आउथे । ति सबै कुरामा मलाई जाकोवको सहयोग चाहिन्थ्यो । किनकी यी सबै प्रोसेसका प्रकृया अलग-अलग हुन्थे । पुरै दिनभरी उनले थोरै पनि दिग्दारी नमानीकन मलाई सहयोग गरिरहे । बरु ति सबै प्रकृयाबारे उनी मलाई बिस्तारमा बताइदिन्थे ।

कामको साथसाथै व्रेक हुने समय । त्यसबेला आफुले ख्याल राख्नुपर्ने कुराहरु । त्यहॉंका सबै साथीहरु तिनको स्वभाव, सिनियरहरु र उनीहरुको स्वभाव लगायतका कुराहरुबारे पनि उनले मलाई बताईदिए । स्न्याक्स र लन्च समयमा सम्म पनि उनी मसँगै निस्किए । अनि हामी सँगै बसेर खायौं । त्यति मात्र हैन घर जानुभन्दा लगभग आधा घण्टा जस्तो पहिलेदेखि आफ्नो काम राम्ररी थन्क्याउन । आफुले दिनभरी प्रयोग गरेका सामानहरु व्यवस्थित रुपमा राख्न । आफ्नो डेक्स राम्ररी सफा गर्न र दिनभरी जम्मा भएका नचॉंहिने सबै किसिमका कागजपत्रहरु फालिएको ट्र्यास व्याग लगेर त्यही छेउको ठुलो भॉंडोमा (dumster)फाल्नसम्म पनि सघाए । कुनै पनि छोरामान्छेको यत्रो धेरै नम्रता र सहयोग देखेर म वास्तवमै अचम्मसँगै खुसी र धन्य भएँ । अचम्म यस अर्थमा भए कि म जहॉं जन्मेकी र आफ्नो जीवनको पुरा २६ वर्ष बिताएकी थिंए मैले कहिल्यै पनि त्यति नै धेरै नम्र सहयोगी र हार्दिक कुनै पुरुष भेटेकी थिइन । त्यहाँ भेटेका अपवादमध्ये अधिकांश पुरुषहरु धेरै रुखा र उनीहरुभित्र म त पुरुष पो हुँ त भन्ने घमण्ड हुन्थ्यो । उनीहरुमध्ये धेरैले छोरीहरुलाई उनीहरुको कमजोरीमा उपहास गर्न पाउँदा चोक-गल्ली र एकान्तमा जिस्क्याउन पाउँदा आफुलाई सफल र बहादुर ठान्थे। त्यसैले म सॉंझ बिहान बाहिर निस्केर हिंड्दा डराउनुपर्थ्यो । धेरै संयमित हुनुपर्थ्यो । खुसी र धन्य भने आफु महिला भएकैले त्यति धेरै सम्मान ईज्जत र सहयोग पाइरहेकी थिंए।

आफ्नो काम सकिएपछि आफ्नो डेक्स सफा पार्न र ट्र्यास व्यागको सानो थैलो फाल्न उनले मलाई मात्र हैन मसँग काम गर्ने सबैजसो महीला मित्रहरुलाई सघॉंउथे। र, यो सबै उनले मात्र हैन अरु पुरुष मित्रहरुले पनि सघॉंउथे ।

अलिक दिनपछी मात्र थाहा पॉंए यस्को रहस्य ।

अमेरिकन पुरुषहरुले आफ्नै छेउमा कुनै महिलाले काम गरिरहेका देखेर पनि चुपचाप टुलुटुलु हेरेर बस्नुलाई असभ्य मान्ने रहेछन । त्यसैले उनीहरु देखेसम्म र सकेसम्म महिलाहरुलाई र अशक्तहरुलाई सहयोग गर्न हरदम तयार हुने रहेछन ।

यी दिनहरुमा जाकोव मेरो देश, मेरो संस्कृति, मेरो रहनसहन, मेरो भूमी, हावापानी, राजनीति, महिला र बालबालिकाहरुको अवस्था बिषयमा कुरा गर्न मन पराउँछन् । उनी आफैं इन्टरनेटबाट पनि अध्ययन गर्छन । चित्तै नबुझेका कुराहरु भए भने “यस्तो किन हुने गर्छ त्यहाँ” भनेर मसँग प्रश्न गर्छन त्यसको जवाफ मसँग पनि हुन्न । सकेसम्म म उनका सबैजसो प्रश्नको जवाफ दिने कोसिस गर्छु।

त्यसबाहेक मैले उनको बारे पनि धेरै कुरा थाहा पाएकी छु । उनका पिता-पुर्खाहरु युरोपियन मुलुक पोल्यान्डदेखि धेरै पहिले अमेरिका बसाईं सरेका । उनीहरु अमेरिका आए पनि उतैका संस्कार संस्कृतिहरु उस्तै कठोरताको साथ यहॉं अपनाइरहेका । उनको नाम पनि पोल्यान्डमा हुने कमन नामहरुमध्येमा पर्नेरहेछ । उनीहरुको आफ्नो थर भने पेशाको आधारमा, उत्पति भएको ठॉंउ, रुख या बनस्पति आदीको आधारमा धेरै पहिलेदेखि नै रहदैं आएको रहेछ भन्ने पनि थाहा पाएँ ।

यसैगरी ६ महिना बितिसकेको थियो । अब त मैले पनि कामहरु निकै सिकिसकेकी थिएँ । अचेल जाकोव मसँग उनका सबै कुराहरु निर्धक्क भन्ने गर्छन। केटी साथीहरु र उनीहरुसँगको सम्बन्ध । जागिरको असन्तुष्टी । पढाई उनको मुलुक र त्यहॉं रहेका आफन्तहरु । सबै जसो कुराहरु मलाई सुनाउँछन् । कैले-कैले सुझाव पनि माग्छन म जानेसम्म भनिदिन्छु । सॉंच्चै भन्ने हो भने उनका हरेक कुराहरु सुन्ने बानी नै लागिसक्यो ।

अलिक दिन भो उनी काममा यता उता सबैतिर पठाइन थालेको छ। हामीबीच गफगाफ थोरै पातलिएको छ रै पनि छुट्टी हुने बेलातिर र लन्च टाइममा भने भेट भैरहन्छ। कहिलेकाहीं उनी हामीसँगै बसेर लन्च खान मन गर्छन । कैले भने कता कता पुगिरहेका हुन्छन् ।

आज पनि म उसैगरी चमेनागृहको हामी सधैं बस्ने टेबलमा बसें मेरी अर्की नेपाली नै साथी कुरेर । एकछिनमा उनी पनि आइन मसँगै बस्न । केही बेरमा जाकोव पनि आए अनि पर अर्कै टेबलमा बस्दै गरेको देखें उनले पनि मलाई देखे र मुस्कुराए । मैले पनि मुस्कानको जवाफ फर्काइदिएँ ।

म झ्यालछेउको टेबलमा थिएँ । बाहिर घाम लागिरहेको थियो । खाजाको लागि पिज्जा र जुसमा म प्राय क्रसलाई ग्राह्ययता दिन्छु। त्यही लिएर आएँ । त्यसदिन मेरी नेपाली साथी बिदा बसेकी रहेछिन देखिन । म फोन चलाउँदै क्रस पिउन खोज्दै थिंए । यस्तैमा जाकोव ऑंउदै रैछन। एकैछिनमा म छेउ आईपुगे र मलाई सोधे “म पनि तपॉंईसँग बसेर खान सक्छु होला” मैले अनुमति दिएँ ।

म भन्दा ठिक अगाडीको कुर्सिमा आमने-सामने हुनेगरी उनी बसे । सुरुमा थोरै मुस्कान । सन्चो बिसन्चोका कुरा अनि एकछिनको हठात मौनता। मैले एक घुड्की क्रस मुखमा लिएकी थिएँ तर निलिसकेकी थिइन । उनैले मौनता चिर्दै भने “म खासमा यो कुरा धेरै पहिले नै भन्न चाहन्थें, तपॉंइका पति वास्तवमै धेरै भाग्यमानीहरुमा पर्नुहुन्छ” मैले तत्काल सोधें “किन र” ? उनले थप्दै गए “मैले तपॉंईजस्तै सरल, बुद्दीमान, साहसी, उत्प्रेरक र बिश्वास गर्न लायक महिला मेरो जीवनको यति लामो अबधीमा एकदमै कम भेटेको छु । अझ स्पष्ट भन्नुपर्दा तपाईंभन्दा पहिले कोही भेटेकै थिंइन । तपाईं जो कसैसँग छिटो झ्याम्मिएर बोल्नुहुन्न यस्तो बानीले गर्दा अरु अरु मान्छेहरुले तपाईंलाई घमन्डी जस्तो देख्लान तर तपाईं भित्र घमन्डको एकथोपा पनि छैन भन्ने कुरा तपाईकै संगत गरेपछि मात्र थाहा हुन्छ। स्पष्ट रुपमा भन्नुपर्दा तपाईं हेर्दा जति सुन्दर लाग्नुहुन्छ नि त्यसको सयौं गुणा धेरै सुन्दर तपाईंको आत्मा छ । म तपाईंको स्वभाव र व्यक्तित्वसँग असाध्यै धेरै प्रभावित छु । मैले यसो भनिरहँदा तपाईंलाई लाग्ला म तपाईंलाई फुर्क्याउन या प्रभावित गर्न यसो भनीरहेको छु। कुरो त्यसो हैन, तपाईंलाई फुर्काउन पर्ने फकाउन पर्ने र प्रभावित गर्न पर्ने मसँग कुनै कारण छैन। म सत्य बोलिरहेछु । बिश्वास गर्नुस। तपाईं समग्रमा बास्तबमै धेरै सुन्दर महिला हुनुहुन्छ”। अनि मैले मुस्कुराउदै भने, “तपाई अलि धेरै नै मेरो तारिफ गरिरहनु भएको छ । रै पनि यहॉंलाई धेरै धेरै धन्यवाद ।” अन्तिममा उनले मलाई एभागार्डो भन्ने फलसँग तुलना गरेर भने” तपाईं ठ्याक्कै एभागार्डो झैं हुनुहुन्छ र तपाईंसँगको संगत पनि त्यस्तै हो । मैले किन एभागार्डोसँग तुलना गरें भनेर चाहीं तपाई आफैं पत्ता लगाउनुस”। म अचम्मित भएर पनि किन भनेर सोध्न सकिन । किनकी लन्चको लागि भनेर छुट्याएको समय र लन्च दुबै सकिई सकिएका थिए। र, उसले मलाई आफैं पत्ता लगाउनु भनेर अलिक दिनको लागि दिमागलाई व्यस्त बनौनुपर्ने पार्ट टाइम तर डलर नफल्ने जागिर दिएका थिए। ठिकै छ पछी आफैं सोचौंला नत्र उनैलाई सोघौंला नि त कुनै दिन भन्ने सोच्दै उनीसँग बिदा भएर म निस्किएँ ।

त्यहॉंबाट निस्के पनि त्यसदिन दिमागभरी उनका शव्दहरु घुमिरहे एकोहोरो!मैले जीवनमा आफुप्रति धेरै धेरै गुनासाहरु सुनेकी थिंए । असन्तुष्टीहरु सुनेकी थिएँ । यति लामो जिन्दगी बाँचिसक्दा पनि कसैको मुखबाट मैले यस्तो किसिमको प्रशंसा भनौं या तारिफ सुनेकी थिंइन । मलाई पहिले कहिल्यै नभेटेको, मेरो बाल्यकाल किशोराव्स्था र म हुर्केको वातावरण माटो हावापानी र परिवेशसम्बन्धी एकदमै अनभिज्ञ एउटा बिदेशी जस्ले मैलेभन्दा फरक भाषा बोल्छ, जस्को रगतमा मेरो भन्दा बेग्लै संस्कृति र सोच बग्छ उसैले अलिक दिनकै संगतमा कसरी मेरो आत्माको बारेमा जान्यो ? म आफै पनि प्रष्ट नभएको बिषयमा उ कसरी त्यस्तो दृढ र ढुक्क भएर भनिरहन सकेको छ ? मेरा कोही आफन्त कोही साथीभाई मेरा आफ्नै पति र म आफैंले पनि गम्भीर भएर नसोचेको बिषयमा आज यो बिदेशीले टक्कर दिएको थियो । सोच्नको लागि बिचमा धेरै खाली ठॉंउ राखिदिएको थियो । सबैभन्दा चर्को चुनौति त के थपिएको थियोभने मलाई आफुले सधैं हेर्ने ऐनाले नै आज मेरो फरक आकृति देखाएको थियो र तेरो वास्तविक रुप यो चाही हो भनेर जबरजस्ति गरिरहेको थियो । मभने यो सबैलाई बिश्वास या अबिश्वास के गरौं त भन्ने दोधारमा थिएँ । मैले यसबाहेकका धेरैखाले तारिफहरु सुनेकी थिएँ तर अधिकांश ति तारिफहरुको आयु निकै छोटो हुन्थ्यो । त्यस्ता तारिफहरु तारिफ गर्नेहरुको मसँग को काम सकिएको भोलिपल्टदेखि प्राय सकिन्थे ।

सधैं तीन बजे छुट्टी हुने भए पनि २ बजेपछी आँखाहरु ५/५ मिनेटको फरकमा घडीतर्फ पुगिरहन्छन् । २:३० तिरदेखि कामको खासै चाप हुन्न । त्यतिबेला गर्ने काम भन्या यसो यता-उता गर्यो बाथरुमतिर गयो । सहकर्मीहरुसँग गफियो । दिनभरी गरेको कामको विवरण लेखिएको एउटा हरियो रंगको कागज १० मिनेटभन्दा पहिले नै लगेर सुपरभाईजरको डेक्समा राखिदियो यस्तै-यस्तै ।

आज पनि त्यसै गरें र घडीले २:५७ देखाए पछी हतार हतार निस्केर आफ्नो लकरतर्फ बढें । लकरको नम्बर मिलीसकेको थियो । खोल्न भनेर झट्ट तान्दै गर्दा आएको आवाजसँगै मेरो कुमभन्दा थोरै पछाडीबाट एउटा पुरुष आवाज पनि सुनियो । एक्स्क्युज मि ! त्यतिबेला मेरा हातहरुले लकरको ढोका आधा खोलिसकेका थिए भने आँखाहरुसँगै मुन्टो पनि उक्त आवाज आउदै गरेको दिशातर्फ फर्किसकेका थिए। थाहा पाएँ उनी जाकोव नै थिए । उनलाई देखेर मेरा आँखा र मन दुबै अचम्मित भए । किनकी उनी यसरी यसबेला पहिले कहिल्यै मेरो लकर छेउ आएका थिएनन् । छुट्टी पछी सबैजना घर जानैमा हतारिन्थे । यस्तो बेलामा उनीभने आफ्नो हैन मेरो लकरछेउमा उभिएका थिए र अझै गफिने मुडमा थिए ।

यतिबेलासम्ममा मैले मेरो पर्स-फोन लगायत सबै सामान लकरदेखि निकालीसकेकी थिएँ । उनले हतास भएर सोधे “कामपछी तपाईं कता जानुहुन्छ ?” यो प्रश्न सुनेर झनक्क रिस उठे पनि सम्हालिएर हाँस्दै उत्तर दिएँ “मन त समुन्द्र ताल वा पार्कतिर बरालिने थियो नि तर घर जानुपर्छ ।” उनले फेरी सोधे “के म आज तपाईंसँग बसेर कफी पिउन सक्छु होला ?” उनको यो प्रश्न अति नै सामान्य थियो तर मलाई एकदमै असहज लाग्यो र अचम्म पनि ! तर, मैले मुहारमा थोरै पनि असहजता र अचम्म आउन नदिकन नै भने, “मलाई पनि तपाईंसँग बसेर कफी पिउन एकदमै मन छ । तर मलाई मेरी ४ वर्षकी छोरी र श्रीमानले कुरिरहेका हुन्छन्, कामदेखि छुट्टी भैसक्दा कतिबेला घर पुग्नुझैं हुन्छ, हजुरको आग्रहलाई म अति उच्च सम्मान गर्छु तर माफ गर्नुहोला मसँग तपाईंसँग बसेर कफी पिउन समय नै हुँदैन”। त्यसो भनेर म फटाफट ८-१० पाईला परको elevator तर्फ अगाडी बढें ! elevator भित्र पस्नुअघि मेरा ऑंखाहरुले एकलट उनीतिर फर्केर हेरेका थिए । उनका उदास आॉंखाहरु म हिंडेको बाटोतर्फ नै फर्किरहेका थिए एकनास । उनका ओठहरुमा अझै पनि उस्तै मुस्कान थियो तर त्यहॉं प्राण थिएन ।

त्यसको केही दिनसम्म पनि उनलाई काममा उसै गरी देख्थें । उनी उस्तै मुस्काउँथे। उस्तै अभिवादन गर्थे । म पनि उसै गरी जवाफ फर्काउथें । अनि एक्कासी मैले उनलाई हाम्रो बैंक र उसको आसपास निकै दिनसम्म पनि देखिन । त्यसपछी साथीहरुलाई सोधें जाकोव किन काममा आउदै छैनन अचेल ? उनीहरुले जवाफ दिए उस्ले त काम छोडीसक्यो नि तिमीलाई थाहा थिएन ? । त्यतिबेला कानैछेउमा अर्को एउटा आवाज आयो “काम छोड्नुभन्दा अघिल्लो दिन उसले हामी सबैलाई भेटेको थियो र बिदा भएको थियो, तिमीलाई भेटेको थिएन र ?”

त्यति सुनिसकेपछि मन एकाएक चिसो भयो । मनको कता हो कता दुखेजस्तै भयो तर मैले ऐया भन्नसम्म पनि सकेकी थिइँन । आत्मा धेरै चिच्याएर रोयो तरआँखाहरु चुप रहे । उसैसँग म पनि मौन रहें । अहिलेसम्म पनि म जब-जब पोल्याण्ड भन्ने देशको नाम सुन्छु ! फेरी नोस्टाल्जीक हुन पुग्छु ! मसँग त्यति धेरै मिल्ने मेरो पोलिस साथी जाकोव ! जस्ले जाँदा-जाँदै मलाई जान्छु/जाँदैछु भनेर पनि किन भनेन होला ?। कुनै ठेगाना फोन नम्बर या अन्य कुनै सम्पर्क सूत्र भन्न पनि किन जरुरी ठानेनन् होला ?।

(हुन त जाकोव अमेरिकन नै थिए फेरी पनि म उनलाई मेरो सबैभन्दा प्रिय पोलिस साथी भनेर नै सम्झन मनपराउँछु ।)

पेन्सिलभानिया, संयुक्तराज्य अमेरिका
१६ अगष्ट २०१७ १२:१० बजे

(स्रोत : नेपालीपोष्ट डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.