संस्मरण : एउटी अनुत्तीर्ण सरस्वती

~हरिहर तिमिल्सिना~

‘यसका आँखा लाटोकोसेरोका जस्ता छन्, ए लाटो !’ पाउरोटीजस्ता पुक्क गाला भएको हेर्दैमा डरलाग्दो एउटा केटो बोल्यो। ‘होइन, हेर् न यसका आँखा बिरालाका जस्ता छन्, ए लोर्के बिरालो !’ अर्को बोल्यो।’होइन होइन यसको टाउकोमा सिङ उम्रिएको रहेछ, ए बाख्रा !’ त्यसपछि केके केके। सरस्वती मावि थाकलमाथ भक्तपुरको कक्षा ३ मा छिरेको पहिलो दिन साथीहरूले मेरो दस न्वारान गरे।

पुच्छर हालिदिने, चिमोट्ने, घुच्याउने त कति कति। मेरा आँखा चिसा भइसकेका थिए। रुवाइ घाँटीमा आएर बसिसकेको थियो। मेरा कान्छा अंकल जसलाई म सानाबा भन्थेँ, मलाई कक्षामा हुलेर कता हराउनुभयो कता। सायद उहाँ त्यस्तै ४, ५ कक्षा कतिमा पढ्नुहुन्थ्यो। चिडियाघरमा ल्याइएको नयाँ जनावरझैं सैको नजर मैतिर। न मास्टर आउँछन् न आफूले चिनेको कोही । सबैले ताली पिट्दै बाँदर… बाँदर… भनेर मेरो वरिपरि घुम्न थाले। आफूलाई हालेको पुच्छर झिकेर डल्लो पार्दै फालिदिएँ मैले । परिस्थितिले सीमा नाघेपछि मेरो मुख उघ्रियो— सानाबालाई भन्दिन्छु। ‘ए रुन्चे जा जा अहिले गएर तेरो बाउलाई भन्दे। केको सानोबालाई भन्दिन्छु भन्छस् नि।’ अर्को खतरा दादा केटो करायो। ‘ए तेरो नाउँ के हो एकचोटि फेरि भन् त?’ -हरिहर। ‘हरिहरमात्र हुन्छ ? हरिहर के ?’ ‘हरिहर तिमिल्सिना’। सायद मेरो आवाज ब्याट्री सकिएको रेडियोझैं धिमा थियो । मेरो नाउँ सुन्नेबित्तिकै कुनामा बसेको केटो जुरुक्क उठेर आई मेरो कपाल लुछ्दै जाथाभावी भकुर्न थाल्यो । म बेन्चमा अल्झेर लडेँ।

सहाराविहीन भएर रुन थालेँ।

अर्को बेन्चबाट एउटी केटी उठेर आइन् । तिनी कक्षाकी मोनिटर रहिछन् । सबैले ‘फस केटी’ भन्दा रहेछन्। म रोइरहेको थिएँ। मलाई उठाएर तिनले धुलो झारिदिइन्। आफू पनि रुम्ला-रुम्लाजस्तो गरेर ‘नरोऊ अब म सरलाई भन्दिन्छु’ भन्न थालिन्। तिनका आँखा मलाई घरमा माया गर्ने मेरी हजुरआमाका जस्तै प्यारा थिए।तिनको बोली मलाई अप्ठ्यारोमा ढाडस दिने मेरी आमाको जस्तै भुवादार थियो। मेरी हजुरआमा मेरो कपालमा हात राखेर कहिलेकाहीँ आशीर्वाद दिनुहुन्थ्यो, ‘सरस्वती माताले तिम्रो रक्षा गरून्।’ मलाई उठाएर माया गरी अरू केटालाई हप्काउने केटीको नाउँ मैले मनमनै राखिदिएँ, ‘सरस्वती’।

सरस्वतीले मलाई उठाएर बेन्चमा लगेपछि मैले चिन्ने दुईजना केटाहरू कक्षाभित्र छिरे। विदुर र नीमप्रसाद। विदुर कक्षाको सेकेन्ड ब्वाइ । ऊ खाइलाग्दो र हाइते हुइते नै थियो। नीमप्रसाद असाध्यै मिलनसार र सिनेमाको जोकरजस्तो सबैलाई हँसाउने खालको थियो। अहिले सम्झिँदा मलाई एउटा विरोधाभासले चिमोट्छ, ‘सानैदेखि ‘मह’जस्तो मीठो बानीव्यवहार र बोली भएको व्यक्तिको नाउँ ‘नीम’ प्रसाद थियो।’ सरस्वती, विदुर र नीमको साथ पाएपछि मेरो रुवाइको भोलुम बढ्न थाल्यो।

टिलिक्क दाँत, धपक्क अनुहार र तेजिला आँखा भएका अनि सफा र चिटिक्क मिलेका लुगा लगाएका एकजना सर हातमा चक, रजिस्टर र लामो छडी बोकेर शानले हाम्रो कक्षातिर आउँदै हुनुहुन्थ्यो । ‘भिउँसिन सर’… ‘भिउँसिन सर’। सब विद्यार्थी सास रोकेर आआफ्नै ठाउँमा बसे। सबै निर्जीव भए। एकछिन अगाडिको त्यो कोलाहल शान्त वातावरणमा बदलियो। एउटा केटो सुँकऔसुँक नगरेको भए कक्षा पूरै ‘पिन ड्रप साइलेन्स’मा बदलिएको हुने थियो। एकछिन अघिका दादा त सब भुसुना भइसकेको थिए।

हाम्रो स्कुलमा त्यतिखेर शिक्षक कक्षामा छिरेपछि ‘गुड मोर्निङ’ सर भन्नु नपर्ने रहेछ। बसेको ठाउँबाट चुपचाप उठे पुग्ने रहेछ। साँगामा केही वर्षअघि ठडिएको ठिंगेश्वर महादेवको मूर्तिझैं सबै चुपचाप आ–आफ्नो ठाउँमा ठिंग उभिए। त्यतिखेरको चर्चित हिरो मिथुन चक्रवर्तीलेझैं सनक्क आँखा घुमाएर सरले कक्षामा चारैतिर हेर्नुभो। ए… तँ किन रुँदै छस् ? यता आइज…। मेरो मुटु भटक-भटक गर्न थाल्यो।

कन्चट टनक-टनक भो । कान ताता भए । ‘भन् किन रोइस् ?’ बोली फुटे रामोराम । दबेको आवाजमा पछाडिबाट सरस्वती बोलिन्, ‘सर हरिहरलाई हरिहरले कुट्यो।’ ‘हरिहरले हरिहरलाई कुट्यो रे ? होइन के भन्छे यो?’ ‘हो सर यी दुवैजनाको नाउँ हरिहर तिमिल्सिना। किन मेरो नाम तैंले राखिस् भनेर त्यो हरिहरले यो हरिहरलाई मुड्की मुड्कीले हानेको।’ ‘ए कुरा त्यसो पो? ए हरे गधा ! तैंले कुट्या हो? दुइटा मान्छेको नाउँ एउटै हुँदैन र बदमास ? मेरो नाम भीमसेन थापा हो । तँलाई थाहा छ ? हाम्रो देशको प्रथम प्रधानमन्त्रीको नाउँ पनि भीमसेन थापा नै हो । अब ती भीमसेन थापा वा अरू कसैले आएर मलाई पिट्न मिल्छ?’

भीमसेन सरले सबै केटालाई सजाय गर्नुभो । कतिलाई सम्झाई बुझाई गर्नुभो। त्यसमाथि भीमसेन सर भनेपछि सरस्वती स्कुुलका भुुराहरू सबैको सातो जाने। भीमसेन सरका अनेक रोचक कथा र किंवदन्ती सुनेका थियौं हामीले। हामीलाई यस्तो परेको थियो कि भीमसेन सर भनेका संसारका सबभन्दा कडा सर हुन् । भीमसेन सरले जस्तो गणित कसैले पनि पढाउन सक्दैन। कथाको मूल पात्रझैं, सिनेमाको हिरोझैं हामीमाझ भीमसेन सरको चर्चा हुन्थ्यो।

‘एक दिन गाउँको बिहेभोजमा जन्तीले खाना नमीठो भो भनेर निहुँ खोज्यो रे। भीमसेन सरले कान्छी औंलाको नङले जन्तीको कानमा हान्दा त कानै भुइँमा खस्यो रे। त्यसपछि भुइँमा खसेको कान टिपेर गोजीमा हाली जन्ती टाप।’ यस्तै कुराहरू सुनाउँथे साथीहरूले। भीमसेन सरको कान्छी औंलामा हेर्दैमा डरलाग्दो लामो नङ सधैं देख्थ्यौं हामी । भीमसेन सरले बोलेपछि समाजमा कसैले चुँ गर्दैन रे। अब स्कुलका भुराको के हिसाब। जेठो मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती।

त्यो दिन सरले के पढाउनु भो मलाई केही पत्तै भएन । घन्टी बज्यो । कोठाबाट निस्कनुुअघि सरले भन्नुुभएका कुुराले भने मलाई सिस्नुुको आँठाले जसरी झमझमी पोल्न थाल्यो। ‘एउटै कक्षामा दुईजनाको नामथर एउटै भो भने कापी जाँच्न र रिजल्ट बनाउनचाहिँ अप्ठ्यारो पर्छ। त्यसैले तिमीहरूको नाउँ म फेर्दिन्छु। तँ ठूलो हरिहर, तँ सानो हरिहर।’ आखिर मलाई मुक्याउने हरिहरको भन्दा त मेरो जीउ पो ठूलो रहेछ।

थुइक्क ! ठूलो भएर पनि कुटाइ खाइयो । कुटाइ खानुभन्दा पनि चिन्ता अर्कै कुरामा थियो। म सानैमा ‘ठूलो’ भएँ । मेरो नाउँअगाडि ठूलो शब्दको गलगाँड झुन्डियो। मलाई ठूलो हरिहर भनेको पटक्कै चित्त बुझेन। प्रतिवाद गर्ने पनि हिम्मतै थिएन। रोऊँ-रोऊँ लाग्यो। हरिहर नाम राखेकोमा बाआमासित रिस उठ्यो। तिमिल्सिना थरदेखि त झन् कति रिस उठ्यो कति। सबैभन्दा बढी रिस त अर्को साथीसित उठ्यो । मोरो त्यसको नाम पनि हरिहर तिमिल्सिना नै हुनुपर्ने।

ठूलो हरिहरबाट म ‘ठूले’मा बदलिएँ । स्कुल जाँदाआउँदा मलाई बाटामा कहिलेकाहीँ सानो बाले समेत ए ठूले भन्न थाल्नु भो। साथीहरूले पनि ठूले नै भन्न थाले। मेरो वास्तविक पहिचान गुम्यो । सरहरूले हाजिर कापी र अभ्यास पुुस्तिकामा मेरो नाउँ ठू. हरिहर तिमिल्सिना लेख्न थाल्नुभयो। ठूलो, ठूले हुँदै अब म ठू.मा आइपुगेँ। राजाराम, पुरुषोत्तम, आत्मारामलगायतका केही सिनियर ठट्टाबाज दाइ र केही बदमास केटाहरूले त ‘ठू’को आगाडि ‘जाँ’ उपसर्ग लगाएरसमेत बोलाउन थाले।

हे सरस्वती माता, म कहाँबाट कहाँ फस्न पुगेँ। त्यो वर्षको मेरो अधिकांश समय आत्मग्लानि, लज्जा र क्षोभमा बित्यो। म एक्लै पिल्सिन्थेँ, रुन्थेँ। स्कुल जान मन लाग्दैनथ्यो। कसैलाई केही पनि भन्न सक्दैनथेँ । घरपरिवार र छिमेकबाट ज्ञानी छोरोको पगरी पाएको थिएँ। स्कुल नगई सुखै थिएन। आत्मालाई धुरुधरु रुवाउँदै खुरुखुरु जान्थेँ।

देवीदेउताको थर के हो? ब्रह्मा, विष्णु, महेश्वरको थर के? लक्ष्मी, दुर्गा, सरस्वतीको थर के? यसु र अल्लाहको थर होला कि नहोला? देवीदेउताको कुनै थर छैन, सायद त्यसैले तिनीहरू पूज्य छन्। यो थर भन्ने कुरा बडो लफडा रहेछ।

मंसिरमा अन्तिम परीक्षा हुन्थ्यो। त्यसलाई हामी ठूलो जाँच भन्थ्यौं। राजाको जन्मोत्सव परेर हो कि अन्य कुनै कारणले हो, पुस १४ गते नै रिजल्ट हुन्थ्यो। ठूलो जाँचमा सानो हरिहर फेल भएछ। स्कुल जाँदा बाटैमा थाहा पाएँ। असाध्यै खुसी लाग्यो। थुइक्क मेरो काँचो बुद्धि, साथी फेल हुँदा पनि खुसी मनाउने ! यसबाहेक खुसी हुनुपर्ने अर्को एउटा कारण थियो। अब मेरो नाउँको आगाडि झुन्डिएको गलगाँड ठू. हट्ने भो। कहाँ टेकेर स्कुल पुगेँ पत्तै भएन। स्कुलमा बधाई र स्याबासीको ओइरो लाग्यो। म प्रथम भएको रहेछु।

माथिल्लो कक्षामा पुगेपछि नाउँको झन्झटबाट मुक्त भएँ। त्यसपछि मेरा रमाइला दिन सुरु भए। भीमसेन सरको छोरा गणेश र मेराबीच मितेरी साइनो गाँसियो। अब म कक्षाको फस्ट ब्वाइ, सरस्वतीको विश्वास पात्र, घगडान गणित शिक्षक भीमसेन सरको मीत छोरो। कल्ले छुने मलाई ! पहिलाका दादा केटाहरू मेरो इसारामा चल्ने भए अब। तर पनि कहिलेकाहीँ मेरो मन खिन्न हुन्थ्यो।

नामको चक्करबाट मुुक्त भए पनि थरको चक्करले मलाई छोडेको थिएन। अहिले पनि मेरो थरकै कारणले मैले धेरै हैरानी भोग्नु परिरहेको छ । यस्तो लाग्छ, मेरो थरले लखेटिरहेको छ, टोकिरहेको छ, गिजोलिरहेको छ मलाई। थरलाई लेख्दै नलेख्न मिल्छ कि मिल्दैन होला? लेख्नै परे पनि एउटै देशका सबै मान्छेको थर एउटै लेख्न मिल्ला कि नमिल्ला? बुद्धिसागर र भुपिनले सायद यस्तै हैरानी भोग्नु परेर थर लेख्न छाडेका त होइनन्? देवीदेउताको थर के हो?

ब्रह्मा, विष्णु, महेश्वरको थर के ? लक्ष्मी, दुर्गा, सरस्वतीको थर के ? यसु र अल्लाहको थर होला कि नहोला ? देवीदेउताको कुनै थर छैन, सायद त्यसैले तिनीहरू पूज्य छन्। यो थर भन्ने कुरा बडो लफडा रहेछ। हेर्नुस् न, मेरो एउटै थरभित्र कति धेरै दुुर्गमताहरू छन् । तिम्सिना, तिउसिना, तिमल्सेना, तिमिल्सिना, तिमिल्सेना, तिमिल्सैना, तिमल्सिना…। उफ्, एसएलसीदेखि एमएसम्मका बोर्ड परीक्षाका मार्कसिट र सर्टिफिकेटमा थर सच्याउनका लागि धेरै लफडा झेल्नु परेको छ मैले।

सरस्वती गणित विषयमा ज्यादै तेज थिइन्। मलाई नआएको गणित सिकाउने उनै थिइन्। कक्षाको पढाइमा विदुरको, उनको र मेरो टक्कर पथ्र्यो। हाम्रो स्कुलनजिकै सरस्वतीको मन्दिर छ। चोभारबाट पानी कटाएर पठाएपछि मञ्जु श्री यही डाँडोमा आएर बास बसेका थिए रे भनेर बूढापाकाले सुनाउने गर्थे। यस ठाउँलाई हाल सरस्वती थान भनेर चिनिन्छ। यो भक्तपुरको नगरकोट नगरपालिकामा पर्छ।

कवि एवं लेखक मित्र अभय श्रेष्ठको गतिमा हिँड्ने हो भने यहाँबाट नगरकोटको टावरसम्म पुग्न आधी घन्टाजति लाग्छ। सरस्वतीको मन्दिरमा सिंहमर्मरको आकर्षक मूर्ति छ । तिनै देवीको नाउँबाट स्कुलको नाउँ सरस्वती उमावि राखिएको हो। मन्दिरभित्र रहेकी नबाल्ने सरस्वतीभन्दा मेरा लागि कक्षाकी सरस्वती विशेष अनुराग, श्रद्धा र आस्थाकी प्रतीक थिइन्। तिनी प्रतिभासम्पन्न, सुशील र सहयोगी थिइन्। कक्षा ६ मा पुग्दा उनी एकाएक गायब भइन्।

एकदुई महिनापछि आउँदा उनको सिउँदोमा सिन्दूरको मसिनो धर्को देखियो। उनी चारपाँच वर्षकी हुँदैमा उनका बुवा बित्नुभएको रहेछ। कसको के स्वार्थ र प्रलोभनले हो, उनको बिहे आफूभन्दा छिप्पड एउटा मगज बिग्रिएको केटासित भएको रहेछ। त्यति राम्रो पढाइ भएकी उनी त्यस वर्ष फेल हुन पुगिन्। हामीभन्दा एक ब्याच जुनियर हुँदा पनि उनी स्कुल आउन भने छाडिनन्।

बिहे भए पनि पढ्न पाऊँ भनेर उनी सासूससुरासित खुब रोइन् रे। उनी माइतै बसेर पढ्न थालेकी रहिछन्। हामी १० मा पढ्दा तिनी ९ मा पढ्थिन् । ९ र १० कक्षा सँगै जोडिएका थिए। हुँदाहुँदा हामी कस्तो दृश्य देख्न बाध्य भयौं भने उनीसित लोग्नेको नाता जोडिएको मानिस फुक्काफाल शैलीमा अर्धनग्न अवस्थामा स्कुलमा आएर कक्षावरिपरि घुम्न थाल्यो। स्कुलमा कम्पाउन्ड थिएन। कसैले केही भन्यो भने ढुंगो टिपेर बजाइहाल्थ्यो। उसलाई देख्दा मलाई असाध्यै पीडा हुन्थ्यो। सरस्वतीलाई कस्तो हुन्थ्यो होला ? तिनी हाफ टाइममा पनि लाल लाल आँखा पार्दै कक्षाको बेन्चीमा घोप्टिएर बसेकी हुन्थिन्।

सरस्वतीले कहिले मलाई ‘तिम्सिना बाजे’ भनेर जिस्क्याउने गर्थिन, कहिले ‘भाइ’ भनेर। साइनो र उमेरले भाइ भए पनि कक्षाले म उनको दाइ भइसकेको थिएँ। परिस्थितिले उनलाई मभन्दा धेरै कुरामा पछि धकेलिसकेको थियो। हामी एसएलसी दिएर हिँड्यौं । त्यसपछि आजका दिनसम्म तिनीसित भेट भएको छैन । मैले पछि सुनेँ, सरस्वतीको पढाइ छुट्यो रे। उनको लोग्ने पनि मर्यो रे।

बालविवाहको पीडा छँदै थियो। यो समाजले उनलाई बालविधवा पनि बनाएछ। एउटा फुल्दोफल्दो अनि जल्दोबल्दो प्रतिभालाई समाजले कलिलैमा निमोठ्यो। सुन्दर फूललाई अँगार बनायो। सानैदेखि राम्ररी पढ्न पाएको भए तिनको क्षमताको उडानले क्षितिजको कुन बिन्दुलाई छुन्थ्यो होला? जब सरस्वती पूजाको दिन आउँछ या जब म सरस्वती स्कुलमा पुग्छु, तब समाजले असफल बनाएकी, कुसंस्कारको जराले जेलिएकी एउटी सरस्वतीको स्मृतिविम्बमा बिलाउन पुग्छु।

२०७२ फाल्गुन १ शनिबार

This entry was posted in संस्मरण and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *