बाल कथा : सडक र विद्यार्थी

~रञ्जुश्री पराजुली~Ranjushree Parajuli

रीता चार कक्षामा पढ्दथी । उसको स्कुल घर नजिकै भएकोले हिडेरै जान्थी । घर नजिकै भएका सबै केटाकेटी हिँडेरै स्कुल जान्थे । उनीहरुलाई स्कुलमा गुरुमाले अनि घरमा अभिभावकले “चारै तिर हेरेर मात्र बाटो काट्नु है” भनेका थिए । त्यसैले स्कुल नजिकै पुगेपछि जेब्राक्रसिङ्गबाट होशियारीकासाथ बाटो काट्दथे । रीतालाई बाबाले जेब्राक्रसिङ्गवारे सबैथोक बताएका थिए । “जेब्राक्रसिङ्ग भनेको बाटो काट्ने ठाउँ हो । सडकमा कालो र सेतो मोटो धर्साले चिन्ह लगाएर बनाएको ठाउँलाई संसारभरि जेब्राक्रसिङ्ग भनिन्छ । जेब्रा एकप्रकारको चारखुट्टे जङ्गली जनावर हो । यो जनावरको शरीर कालो र सेतो रौंको धर्साले ढाकिएको हुन्छ । बाटो काट्ने ठाउँको सडकमा त्यस्तै रङ्ग लगाएको हुन्छ भनेर ।

धेरै सवारी साधन गुड्ने सडकमा बाटो काट्नको लागि ठाउँ ठाउँमा जेब्राक्रसिङ्ग चिन्ह कोरिएको हुन्छ । त्यहाँबाट यात्रुहरु सजिलैसँग सडकपार गर्न सक्छन् । रीताका बाबाले आफ्नी छोरीलाई “जेब्राक्रसिङ्ग पुगेपछि रोकिनुपर्छ । त्यसपछि दायाँवायाँ हेर्नुपर्छ । कतैबाट गाडी आउँदैछ कि भनेर आवाज पनि सुन्नुपर्छ । सडक खाली भएपछि जेब्राक्रसिङ्गबाट बाटो काट्नुपर्छ । मान्छे बाटो काट्न जेब्राक्रसिङ्गमा उभिएको देखेपछि चालकले पनि गाडी रोक्नुपर्छ ” भनेर सिकाएका थिए ।

बाटो काट्नको लागि संसारभरी नै यही नियम चलेको छ । विकसित मुलुकमा जेब्राक्रसिङ्गको ट्राफिक चिन्हमा आवाज सहित हरियो रङ्गको सानो बत्तीको मान्छे उभिएको देखिन्छ । त्यो देखिएपछि यात्रुहरु सुरक्षित तरिकाले बाटो काट्छन् । त्यो आवाज सुनेर सेतो लठ्ठीको मद्दतले हिड्ने दृष्टिविहिन पनि सजिलैसँग सडक काटेर पारि पुग्छन् । आवाज थामिएपछि हरियोको ठाउँमा आवाज बिनाको रातो आकृति देखिन्छ । त्यो बेला पैदल यात्री पर्र्खिएर अर्को हरियो बत्तीको आकृति र आवाजको प्रतिक्षा गर्नुपर्छ ।

रिता स्कुल जाँदा सँधै बाबाले सिकाएको तरिकाले जान्थी । उसले आफ्ना साथीहरुलाई पनि त्यो सिकाएकी थिई ।

सडक ठूलो बनाउँने क्रममा रिताको स्कुल जाने बाटो खनेको धेरै भैसकेको थियो । बाटो तयारी गर्ने काम चाँहि ज्यादै सुस्त थियो । सफा स्कुलको पोशाक, पालिस लाएर टल्काएको कालो जुत्ता, सफा सेतो मोजा लगाएर केटाकेटीलाई त्यही बाटो स्कुल जानुपर्दथ्यो । तर स्कुल पुग्नुभन्दा अगाडि नै उनीहरुको सेतो मोजा र टल्कने जुत्ता फोहोर भैसक्दथ्यो । स्कुलमा “फोहोरी भएर आएको” भनेर गुरुमाको गाली खानु पर्दथ्यो । कहिले त सजायँ पनि ! त्यतिमात्र नभई कहिले त पानी भरिएको खाल्डोमा खुट्टा परेर जुत्ता भिज्दथ्यो । दिनभरी चिसो जुत्तामोजा लगाउँदा बेलुका खुट्टा दुख्दथ्यो । कसैलाई त आमाले बेलुका मनतातो तेलले मालिस नै गरिदिनुपर्दथ्यो । बिहान घरबाट सफा भएर स्कुल गएका केटाकेटी दिउँसो घर फर्किदा लुगा र जुत्तामात्र नभई टाउको र अनुहारमा पनि सवारी साधनले छ्यापेको हिलोको छिटा लिएर आउँथ्ये । आमाहरुलाई सँधै हिलोको कडा दाग बल गरेर धोएर सफा गर्नुपर्दथ्यो । धारामा पुग्ने पानी आउँदैन थियो । झरी पर्ने सिजन भएकोले धोएको लुगा सुकाउन पनि समस्या थियो । बिजुली बत्ती चाहिएको बेलामा नहुनाले चीसो लुगालाई इस्त्री लगाएर सुकाउन पनि मिल्दैन थियो ।

जताततै भत्काएको अस्तव्यस्त खाल्डा खुल्डीमा पानी भरिएकोले बटुवालाई हिड्न कष्ट भएको कुरा सडकले बुझेको थियो । सडक पनि स्कुल जाने केटाकेटीलाई माया गदथ्यो । सकेसम्म केटाकेटीको खुट्टा पानी भरिएको खाल्डोमा नपरोस्, केटाकेटी अल्झिएर नलडुन् भन्ने उसलाई लाग्दथ्यो तर आकासबाट परेको मुसलधारे पानी खाल्डा खुल्डीमा जम्दथ्यो । त्यो देखेर सडललाई दुःख लाग्दथ्यो । “कुनैचाँहि केटाकेटी खाल्डोमा टेकेर लड्छ, हरे शिव नलडे पनि हुन्थ्यो ।” भन्ने उसलाई लाग्थ्यो ।
एकदिन सँधै झैँ ताजा मनस्थिति लिएर स्कुलको सफा पोसाक र त्यस्तै सफा जुत्ता–मोजा लगाएर केटाकेटी स्कुल जाँदै थिए । उनीहरुको अगाडि हिलाम्मे खाल्डो थियो । केटाकेटी त्यसमा पर्लान् भनेर सडकलाई चिन्ता लागिरहेको थियो । त्यसैले सडकले आफ्नै भाषामा “केटाकेटी हो तिमीहरुको अगाडि पानी जमेको खाल्डो छ है विचार गरेर हिड” भन्यो तर उसले भनेको केटाकेटीले कसरी सुन्न सक्दथ्ये र । नभन्दै रीताको खुट्टा त्यही हिलो जमेको खाल्डोमा पर्यो । ऊ हिलोमा नराम्रोसँग पछारिई । उसको झोलाबाट पुस्तकहरु छरिएर हिलोमा तितरवितर भएर कामै नलाग्ने भए । उसको अनुहार हिलाम्मे भयो । हिलोले भिजेर लुगा निथ्रुक्क भयो । साथीभाई र अरु यात्रुले हत्त न पत्त उसलाई उठाए । रिताले खुट्टा टेक्न सकिन । उसको खुट्टा धेरै दुख्यो । उसका बाबा आमा अफिस जान घरबाट निस्केका मात्र थिए उनीहरुले त्यो दुघर्टना देखे । को हिलोमा पछारिएछ भनेर नजिकै गएर हेर्दा त आफ्नै सानी छोरी पो दुघर्टनामा परेकी रहिछ ।

सडकको दुरावस्था, केटाकेटीलाई त्यही बाटोबाट विद्यालय जानुपर्ने वाध्यता, सडक बनाउने निकायको मर्मत कार्यमा ढिलासुस्तीले गर्दा सबैलाई ज्यादै मर्का परेको थियो । रीता खाल्डोमा अल्झेर दुर्घटनामा परेको खबर स्कुलमा पनि पुग्यो । हेडसर र अरु केही स्टाफ आए । सबैजना मिलेर रीतालाई अस्पताल लगे । उसको खुट्टाको एक्स रे भयो । खुट्टा नराम्रोसँग भाँचिएको रहेछ । फलामको किला ठोकेर हाड जोडेर अपरेसन गर्नुपर्ने रहेछ । पैसा पनि धेरै लाग्ने रहेछ । रीताका बुबाआमा धनी थिएनन् । आफ्नी सानी छोरीले धेरै पढेर ठूली मान्छे होस् भनेर उनीहरुले दुःख गरेर काम गर्दै छोरीलाई बोर्डिङ्ग स्कुलमा पढाएका थिए । त्यो दुर्घटनाले उनीहरु विचलित भए । उनीहरुलाई अब के गर्ने भन्ने चिन्ताले सतायो ।

वर्षौदेखि शरिरमा खाल्डाखुल्डी परेर घाइते बनाएर अलपत्र पसारिदिएको सबैको लागि अति आवश्यक यातायात गुडाउने माध्यम आफूलाई (सडकलाई) वेवास्ता गरेर अपाङ्ग बनाएर छोडिदिएकोमा उसलाई साह्रै दुःख लागेको थियो । त्यस्तो खाल्डोमा भविष्यमा देश हाँक्ने अभिभावकरुपी बालबालिका दुघर्टनाको शिकार भएकोमा सडकलाई पनि धेरै दुःख लाग्यो । सानी निर्दोष बालिका रीताको शीघ्र छिटो स्वास्थ्य ठीक होस् कामना सडकले पनि आफ्नै भाषामा ब्यक्त गर्यो ।

This entry was posted in बाल कथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *