अनूदित निबन्ध : साहित्य : संघर्ष र साधनका दुई रूप

~फैज अहेमद फैज~

प्रत्येक साहित्कार कुनै न कुनै रूपमा समाजको एक एकाइ हुन्छ । साहित्यकारको आफ्नो समाजसित दुई किसिमको सम्बन्ध हुन्छ । एउटा व्यक्तिगत सम्बन्ध र दोस्रो साहित्यकारको सम्बन्ध । यी दुई सम्बन्धले साहित्यकारमा दोहोरो जिम्मेवारी सिर्जना गर्छ । एउटा सामान्य जिम्मेवारी, जुन कुनै समाजको सबै व्यक्ति या कुनै देशको नागरिकहरूका निम्ति एकैप्रकारको हुन्छ । दोस्रो विशेष जिम्मेवारी, जुन साहित्यकारहरूको आफ्नो कला या पेशासित जोडिएको हुन्छ । यी दुई सम्बन्ध र यसबाट उत्पन्न हुने जिम्मेवारी एकआपसमा बेग्लाबेग्लै होइनन्, बरू अन्तरसम्बन्धित हुन् ।

चिन्तकहरूको केही जत्था यो मान्यतासित सहमत छैनन् । एउटा स्कुलको मत के रहेको छ भने जब कुनै समाज अन्याय र अनौचित्यको बाटोमा अगाडि बढ्छ भने त्यस बेला साहित्यकारमात्र होइन, कुनै पनि व्यक्तिको त्यस समाजप्रति कुनै जिम्मेवारी हुँदैन । त्यस हालतमा प्रत्येक व्यक्तिको कर्तव्य हुन आउँछ, त्यस समाज सुधार या बदला । त्यस समाजको अस्तित्वलाई नै नकार्दै सबै सामाजिक संस्था र सबै सामाजिक मूल्यमान्यताबाट टाढा रहेर आफ्ना सबै कार्यलाई उक्त समाजको विघटनका निम्ति केन्द्रित गर्नु अराजकतावादी, हिप्पी आदि सम्प्रदायहरू यही विचारधाराका समर्थक हुन् । अर्को जत्थाको दृष्टिकोण के रहेको छ भने साहित्यकारको काम केवल साहित्यको सौन्दर्यशास्त्रीय मूल्यको विकास गर्नु हो† समाजको सुधार वा समाजको विघटनसँग उसको कुनै सरोकार छैन । यसप्रकारको असाहित्यिक तथा असौन्दर्यशास्त्रीय विचार, कलाधर्मितासँग असम्बन्धितमात्र होइन, बरू यसको बाधक पनि हो ।

यी दुवै दृष्टिकोण आमरूपमा असन्तुलित र हसोन्मुख समाजमा जन्मिएका हुन् । यस्तो समाजमा केही भावुक व्यक्ति, व्यवस्थाका नेता र सत्ताको भागवन्डा गर्नेहरू अगाडि आपूmलाई नितान्त विवस र असहाय सम्झन्छन् र वस्तुस्थितिको सुधार एवं परिवर्तनको जिम्मेवारीबाट पलायन भएर व्यक्तिगत “विद्रोह” को झन्डा उठाउन पुग्छन् । केही व्यक्ति यही कारणले सत्तासित सम्झौता गर्न पुग्छन् र विरोधमा उठाइएका हरेक किसिमका सुधारवादी तथा क्रान्तिकारी प्रयत्नलाई साहित्यकारको मर्यादानुकुल नभएको अडान लिन्छन् । यी दुवै दृष्टिकोण सचेतन वा अचेतनरूपले जीवन र साहित्यको कठिन जिम्मेवारीबाट पलायन हुने वहानामात्र हुन् ।

पहिले नै भनिसकियो, कुनै समाजको एउटा जिम्मेवार अथवा कुनै देशको एउटा जिम्मेवार नागरिक भएको नाताले साहित्यकारको स्थिति कुनै अन्य सामाजिक व्यक्ति वा नागरिकभन्दा बेग्लै हुँदैन । यसकारण समाजमा हुने सुधार र विकास र परिवर्तनको सन्दर्भमा साहित्यकारको जिम्मेवारी बिल्कुलै त्यही हुन्छ, जुन कुनै असाहित्यकारको हुन्छ । यहाँ कुनै “कवि सुलभ छुट” जस्तो कवितात्मक प्रमाणपत्रले उसलाई ती जिम्मेवारीहरूबाट मुक्त गर्न सक्दैन ।

अब साहित्यकारको रूपमा उसको जिम्मेवारी के छ त ?

साहित्यको कुनै सर्वसम्मत र साङ्गोपाङ्गोरूपबाट सन्तोषजनक परिभाषा दिनै अप्ठेरो छ, तर छोटकरीमा भन्ने हो भने साहित्य शब्दको माध्यमबाट मानवीय अनुभूतिको प्रभावकारी एवं रूचिको अभिव्यक्तिको नाम हो ।

अभिव्यक्तिको दुई पहलु छन्— पहिलो वर्णन र दोस्रो मूल्याङ्कन । वर्णन भन्नाले ती सम्पूर्ण मानसिक घटनाको चित्राङ्कन, तिनका सवाङ्गिण पक्षहरूको रूपान्तरणको नाम हो । यो चिन्तन, दृष्टिकोण, अध्ययन र अनुविक्षणको फलस्वरूप मनमष्तिष्कमा प्रतिबिम्वित हुन्छ र ती तत्वहरूको संयोजनलाई मूल्याङ्कन भनिन्छ, जसद्वारा प्रस्तुत वस्तुको गुण, दोष, सौन्दर्य–असौन्दर्य, महत्व–अमहत्व आदिको अन्दाज गर्न सकिन्छ ।

अनुभूतिका दुई पक्ष छन् । पहिलो भावना र दोस्रो विवेक अर्थात् ती सारा प्रभाव, भावना र मानसिक स्थितिहरू सिधै व्यक्तिगत अनुभवको रूपमा व्यक्तिको मष्तिष्कमा प्रकट हुन्छन् । दोस्रो बौद्धिक प्रभावबाट मनुष्य आफ्नो परिवेश, समाज र समकालीन मानवीय भाइचाराको सामुहिक अनुभवबाट, चेतन या अचेतनरूपले आफूभित्र ग्रहण गर्दछ । यो सामुहिक अनुभव भावना र कल्पनाको अनुभवबाट व्यक्तिगत अनुभूतिमा परिवर्तन हुन जान्छ ।

विवेकका दुई कार्यहरू छन्— विश्लेषण र संश्लेषण । बाह्य र आन्तरिक घटनाहरू र भावस्थितिको निर्माणकारी तत्वहरू अथवा तिनलाई वास्तविक तथ्य, सम्बन्ध र सञ्चारक नियमहरूमा स्पष्ट गर्नु ।

अनुभवको सत्यताद्वारा त्यसको महत्व या महत्वहीनताको परीक्षाबाट यथार्थको गहिराइ र व्यापकतासित अनुभवको गहिराइ र विस्तारको सम्बन्ध छ ।

यथार्थ हाम्रो जगतको समस्त बाह्य तथा आन्तरिक तथ्यहरू र तिनको पारस्परिक सम्बन्धको समुच्चय हो । जगतका दुई भाग छन्— एउटा चेतन मानव समाज र दोस्रो अचेतन र विवेकशुन्य पशु तथा जङ्गल, जसलाई प्रकृति भनिन्छ । मानवमात्र यो भौतिक जगतका विभिन्न तत्वहरूलाई प्रयोगमा ल्याएर आफ्नो आवश्यकतालाई पूरा गर्न प्रयत्नशील रहन्छ । उत्पादनको प्रक्रियालाई अधिक सफल र सुचारू बनाउन विभिन्न मानव समाज आपसमा सामाजिक सम्बन्ध स्थापित गर्दछन् । आफ्नो यसप्रकारको सम्बन्धअनुसार उत्पादन प्रक्रियामा श्रम विभाजनलाई निर्धारित गर्दछन् । यस परिस्थितिमा हेरफेर हुने वा कुनै अरू कारणबाट यो सम्बन्ध र श्रम विभाजन असन्तोषजनक सिद्ध भएमा सामाजिक सामञ्जस्यताको सुविधाको लागि त्यसमा परिवर्तन र सुधार आवश्यक हुन जान्छ ।

यथार्थ जगतको जुन मानव क्षेत्र छ, त्यसका तीनवटा परिधि छन् । पहिलो व्यक्तिको आफ्नो परिधि† दोस्रो उसको समूह वा समाज र तेस्रो समकालीन मानवीय भाइचारा । यसरी नै काल तीनप्रकारका छन्— भूत, वर्तमान र भविष्य । प्रत्येक परिधिले साहित्यकारको मानसमा केही न केही हलचल उत्पन्न गर्दछ । त्यसैको लहरले अर्को परिधिको हलचलमा मिलेर भावावेश वा घटना वा अनुभूतिलाई जन्म दिन्छ । आफ्ना व्यक्तिगत भावना, भावदशाहरू दुःख–सुख, आनन्द, राग–विराग आदि आफ्नो युगीन सामाजिक वातावरण र त्यसलाई निर्माण गर्ने तत्व शान्ति र वैभव यस्तै अर्कोतिर, जनताको असमान अधिकार, उद्वार भावना र दूरदर्शिता र दोस्रोतिर दैन्य र दुर्दशा, दासता र आतङ्क, अज्ञान र सङ्कीर्ण दृष्टि, शोषण र दमन† आफ्नो समयको संसारको वास्तविकता र त्यसको आधारभूत पक्ष—शान्ति वा युद्ध र मारकाट† भाइचारा र मित्रता वा पुँजीवादी लुटखसोट—यी सबैको सामुहिक अध्ययन र जाँचपडतालबाट साहित्यकारको व्यापक अनुभव सञ्चित हुन्छ । यसैबाट साहित्यकारको रचनाले विभिन्न आयामहरू यथार्थको उद्घाटन गर्दछ ।

साहित्यिक अभिव्यक्तिका दुई उद्देश्य छन्— एक स्वान्त सुखाय, दोस्रो यथार्थको उद्घाटन । यथाथृको उद्घाटन आफ्नो समाज र आफ्नो युगको गम्भीर विश्लेषण र साँचो चित्रणको नाम हो । जसले गर्दा यसबाट समाजको झञ्झट र समस्याबाट र समस्याबाट ती समस्याहरूको चरित्र र समस्याहरूको कार्य कारण सम्बन्ध र राम्रो किसिमले उद्घाटित हुन सकोस् ।

यथार्थको प्रत्येक स्पष्टीकरण र विश्लेषणले जनसामन्यको मानसलाई प्रभावित पार्दछ र त्यसले आफ्नो समाज या आफ्नो समकालीन सञ्चारलाई एकप्रकारको विशिष्ट रङ्गमा हेर्नका लागि प्रवृत्त गराउँछ । यो प्रवृतिबाट खास किसिमको कार्यशैलीतिर आकर्षण पैदा गर्दछ । यसकारण यथार्थको स्पष्टीकरण र विश्लेषणको प्रतिक्रिया प्रचार वा प्रोपोगन्डा हो । यस्तो कुनै पनि कार्यले जनताको बौद्धिक चेतनामा परिवर्तन निश्चितरूपमा सुधार वा विघटनको क्रिया हो । यो बिन्दुका साहित्य र राजनीतिबीच कुनै फरक पर्दैन ।

राजनीतिका पनि दुईवटा परिधि छन् । पहिलो, राजनीतिको व्यापक परिधिले समाजको सम्पूर्ण बाह्यान्तरलाई आवद्ध गरेको हुन्छ । यस दृष्टिबाट हेर्दा ती पहलकदमीहरू धामिृक, नैतिक, साहित्यिक, सांस्कृतिक, कानुनी, आर्थिक, सामाजिक आदिले सामन्य जनजीवनलाई प्रभावित गर्दछ । यो नै व्यावहारिक राजनीतिको अभिन्न अङ्ग हो । दोस्रो राजनीतिको सीमित घेरा हुन्छ, जसको सम्बन्ध समाजको संवैधानिक, कानुनी र सामाजिक व्यवस्थातन्त्रसित मात्र हुन्छ । आमरूपमा “राजनीति” शब्दको प्रयोग यही सीमित परिभाषिक अर्थमा गरिन्छ ।

राजनीतिक कार्यकलापका दुई रूप हुन्छन् । एउटा, व्यावहारिक अर्को, सैद्धान्तिक । सिद्धान्तपरक विश्वास, साहित्य, संस्कृति, मूल्य, नीति, आचार आदि सबैको परोक्ष सम्बन्ध राजनीतिको सैद्धान्तिक पक्षसँग हुन्छ । समाजको वौद्धिक चेतनालाई संस्कार दिनु, समाजको युगीन समस्याहरूको बोध गराउनु, त्यसको विवेकपूर्ण समझदारी, त्यसको विषयमा युक्तियुक्त दृष्टिकोण र कार्यनीतिको निर्धारण यही सैद्धान्तिक अभिव्यक्ति र प्रचार प्रसारको माध्यमबाट सम्भव हुन्छ । प्रत्येक साहित्यिक अभिव्यक्ति—जसको शैली, रूप या विषयवस्तु जुनसुकै होस्—सैद्धान्तिक प्रचारको साधन हो । युगीन समस्याहरूको ठम्याइ र त्यसप्रतिको विवेकपूर्ण बुझाइमा जोड दिनु प्रचारको एउटा पक्ष हो, साथै त्यही समस्याप्रति उदासिन र पलायन प्रचारको अर्को पक्ष हो । असल साहित्य सफल प्रचारको प्रमाण हो भने निकृष्ट साहित्य असफल प्रचारको नमुना हो ।

व्यावहारिक राजनीतिमा सैद्धान्तिक प्रचार र निष्ठाले सामुहिक कार्यहरूको रूपधारण गर्दछ । जस्तो कि माथि उल्लेख गरिएझैँ प्रत्येक साहित्यकार, सामाजिक सुधार वा विघटन, यथार्थको विवेकपूर्ण समझ या त्यसको उपेक्षा, युगीन समाजहरूसित सरोकार या त्यससित पलायन आदि कुराहरूकै प्रचार गर्दछ । यो प्रचार आफैमा सङ्घर्ष र साधनाको प्रयोग हो ।

सङ्घर्ष र साधनाका दुई रूप हुन्छन् । एउटा लेखनको सङ्घर्ष अर्थात् सिद्धान्तको सङ्घर्ष, अर्को कर्मक्षेत्रको सङ्घर्ष । लेखनको सङ्घर्षको प्रभावकारिताको आधार अभिव्यक्तिको क्षमताका साथै अनुभूतिको इमान्दारी र सच्चाइ हो । अनुभूति कर्मको रूप पनि हुन्छ र कल्पनाको रूपमा पनि । कर्मबाट प्राप्त अनुभूतिलाई चेतनामा ल्याउने कार्य हो र यो प्रयोग यथार्थबाट नितान्त रूपमा असम्बद्ध हुने दिशाबाट सफल हुन सक्दैन ।

युगीन समस्याहरूको बारेमा कर्म अनुभूति व्यावहारिक सङ्घर्षको माध्यमबाट मात्र प्राप्त हुन सक्छ ।

लेखनको सङ्घर्ष र कर्मको सङ्घर्षको जोड (योग) भएपछि अनुभव र अभिव्यक्ति दुवै आफ्नो पूर्णताको शिखरसम्म पुग्न सक्दछन् र सही साहित्यको उद्देश्य पनि यही हो । अनुभव र विवेक, ज्ञान र कर्म, अनुविक्षण र उद्देश्यपूर्ण सङ्घर्ष यिनै विशेषताहरू नै साहित्यकारको स्वामित्व र उसको महानतालाई नाप्ने मापदन्डहरू हुन् ।

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १४ – Feb. 08, 2012 – २०६८ माघ २५ गते, बुधबार)

This entry was posted in अनूदित निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *