लघुकथा : राष्ट्रियता

~एकदेव अधिकारी~Ek Dev Adhikari

राष्ट्रियता उसको नशा-नशामा रगत बनेर दौडिरहेथ्यो।

देशकै एक प्रतिष्ठित नेताको नजिकको आफन्तको रूपमा उसकै प्रत्यक्ष निगरानीमा ऊ हुर्केको थियो। अझ भनौँ राष्ट्रियताको मामिलामा ऊ साना ठूला सबैलाई सम्झाउन समेत भ्याउँथ्यो।

सीमा मिचाईको बिरोधमा होस् या बुद्ध जन्मभूमीको विषयमा होस् विद्यार्थी नेताको रूपमा उसको नेतृत्वमा युवाहरूको सागर उर्लने गर्थ्यो।

अध्ययनशील भएको कारणले अनेकानेक देशहरूको बिदेश नीतिको बारेमा जानकार थियो साथै व्यक्तिगत शैक्षणिक योग्यतामा पनि अव्वल थियो।

कलेजमा शिक्षकहरूको आँखाको तारा थियो। देशको उज्ज्वल भविष्य झैँ थियो।

केही महिना अघि भएको कलेज स्तरीय राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा राष्ट्रियता शीर्षकको उसको निबन्ध देशैभरिका हज्जारौँ विद्यार्थीहरूमध्येबाट प्रथम घोषीत भएको थियो।

उच्च शिक्षाको छात्रवृत्तिको लागि निवेदन दिएको थियो स्वीकृत भयो। स्वीकृत पनि किन नहोस् आखिर होनहार थियो, पहुँच राम्रो थियो। अमेरीका जाने भयो अध्ययनका लागि।

उसका मित्रहरूले सोचे पक्कै पनि उज्ज्वल भविष्यका साथ फर्कनेछ, र राष्ट्रले एउटा सही व्यक्ति पाउनेछ।

उसका शिक्षकहरूले सोचे ऊ भावी पुस्ताको लागि उदाहरणीय व्यक्तित्व बन्नेछ। देशको एक शिक्षित, राष्ट्रभक्त, इमान्दार व्यक्तिको रूपमा चिनिनेछ।

अमेरिका गएको एक महिनामै खबर आयो कि ऊसले छात्रवृत्ति पाएको कलेज छोड्यो।

अहिले उसको बाबु उसैको लागि छद्मनाममा राजनैतिक शरणार्थीको प्रमाण जुटाउन दौडधुप गरिरहेछन्।

सौराहाद्वार, रत्ननगर
२०७४ श्रावण २८ (१२ अगष्त २०१७)

(स्रोत : रचनाकार स्वयम्ले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *