नियात्रा : रारा तालको सौन्दर्य र मुगुको कठिन भूगोल

~विमल पोखरेल~

सिंजा उपत्यकामा स्याउका बगैंचाहरू अनगिन्ती भए पनि सबै बगैंचामा स्याउ फलिसकेका छैनन् । सिंजा हुँदै मुगु जोड्ने बाटो डोजर लगाएर खन्ने काम जारी छ । मुगुतिरबाट पनि खनिएको छ । यही वर्ष मुगु मोटरबाटो पु¥याउने लक्ष्य लिइएको छ । भीर, पहरा र चट्टानहरूले बाटो खन्ने कामलाई कठिन बनाइरहेका छन् । खलंगातिरको तिलाखोलाभन्दा सिंजाको हिमाखोलामा खेतका ठूलाठूला फाँटहरू छन् । त्यहाँ बाजागाजासहित रोपाईं भइरहेको थियो । कुनै घरमा छोरा जन्मेको वा छोराको विवाह भएको भए चोपाईं गरिंदो रहेछ । चोपाईं भनेको बाजा बजाउने, नाच्ने, विवाह भएको भए छोराबुहारी र बच्चा जन्मेको भए बच्चालाई बेठी (फूलको आकारमा बाक्लो गरि रोपिएको) वरिपरि घुमाउने गरी गरिने रोपाईं हो । एकातिर बाजा बजिरहेका हुन्छन्, अर्काेतिर दुलहादुलहीसहित उसका नातेदारहरूलाई रोपिएको खेतमा लडाइदिने गरिंदोरहेछ । ती दृश्यहरू अत्यन्तै रमाइला देखिन्थे । वर्षभरि खाने अन्नको रोपाईंसँगै कृषकहरूले रमाइलोको आनन्द पनि लिइरहेका थिए ।

कर्णाली अञ्चलभरि माटोले ढलान गरिएका घरहरू बनाइने रहेछ । म पुगेका कालीकोट, जुम्ला र मुगुका अधिकांस घरहरू माटोेले बाक्लो ढलान गरिएका देखिए । तल्लो तलामा गाईभैंसी बाँध्ने र माथिल्लो तलामा मान्छे बस्ने गरी बनाइएका घरमा होचो ढोका राखिएका छन् । हिउँदको समयमा हिउँ परेपछि अधिक जाडो हुने भएकाले त्यसो गरिएको हो । माथिबाट हेर्दा एउटै छत देखिन्छ तर एउटै छानोमुनि ४ परिवारसम्म बस्दारहेछन् । त्यहाँका कतिपय घरहरू दियार (एकप्रकारको सल्लो)को Çल्याकले पनि छाइएका छन् । दियारको Çल्याक ६०–७० वर्षसम्म टिक्ने स्थानीय बूढापाकाहरूले बताए । शहरबजारमा जसरी ढलाइ गरिएको हुन्छ त्यसैगरी माटोले ढलाइ गरिएका घरका छतहरूमा घाम ताप्ने र गहुँ, जौं बनाउने गरिन्छ । केही घरका छतहरूको छेउमा त भान्टा, काउलीलगायत तरकारीको खेती गरेको पनि पाइयो । कतिपय गाउँहरूमा यति धेरै बाक्लो बस्तीहरू छन् कि २०–३० वटा घर देखिन्छन् तर त्यहाँ १ सय भन्दा बढी परिवार बसोबास गर्दछन् । पाँच मिनेटको दूरी छैन, दुईवटा वडा रहेको अवस्था छ । जुम्लाको विराट, पान्डवगुफा, कनकासुन्दरी, मुगुको रारा, गमगडी, कार्कीबाडा, कालीकोटको स्युना, सिपखाना, फुकोट गाउँहरू केही उदाहरणमात्रै हुन् ।

सिंजाका केही विद्यालय तथा गाउँ इकाई समिति गठन गरेपछि जेठ २६ गते पान्डवगुफाको कोटघरमा अखिल (छैठौं)को प्रथम जुम्ला जिल्ला भेला सम्पन्न भयो । त्यही दिन जिल्ला समितिको पहिलो बैठक बसालेर हामी मुगुको लागि प्रस्थान ग¥यौं । जुम्ला सदरमुकामबाट ३ दिन लाग्ने भए पनि एक दिनको बाटो हामीले पार गरिसकेका थियौं । जुम्लाका ३० वटा गाविसमध्ये सिंजा उपत्यकामा पर्ने ११ गाविसहरू महावैपातरखोला, कालीकाखेतु, बड्की, सनिगाउँ, नराकोट, धापा, पान्डवगुफा, विराट, कनकासुन्दरी, मालिकाबोता, बुम्रमाडीचौर हुन् । जुम्लाका दुर्गम गाविस चाहिं घोडेमहादेव, मालिकाठाँटा, ताम्ती र पटमारा हुन् । अरू सबै गाविसहरू भौगोलिक हिसावले सुगम छन् । हामी सिंजाको पान्डवगुफाबाट हिंडेर उकालो काट्दै विराट गाविसको बुडु भन्ने गाउँमा बास बस्यौं । उक्त गाउँमा अत्यन्तै बाक्लो बस्ती छ । साँझपख हामी त्यहाँ पुग्दा एउटा घरको छत (३ वटा परिवारको घर)मा ८० जनाभन्दा बढी साना केटाकेटीहरू खेल्दै थिए । ती बढीमा २–३ मिनेट दूरीभित्रै घर भएका केटाकेटी हुन् । विराटको माथिल्लो भेग मुगुसँग जोडिएको छ । २७ गते विहानै सिमसिम पानी परिरहेको थियो, हामी उकालो लाग्यौं । लुमकाँधको डाँडोमा पुग्दा नपुग्दै पानी मात्रै होइन, कुहिरोले ढपक्कै ढाक्यो । लुमकाँध पुग्ने उकालो बाटो चिप्लो त थियो नै दायाँबायाँ घुम्ती पनि थिएनन्, सीधा उकालो । २ घण्टाजति सीधै उकालो र १ घण्टा तेर्साे उकालोपछि लुम्काँध पुुगियो । त्यहाँबाट ओरालोे झर्नुपर्ने, फेरि उकालो चढ्नुपर्ने छ, भोक लागिसक्यो ।

विहान पानी पनि नपिइकनै हिंडेका थियौं, तिर्खा पनि त्यत्तिकै लागेको थियो । जंगलमा कतै न कतै त पानीको मूल होला भनेर त्यत्तिकै हिंड्यौं तर भेटिएन । डाँडाकाँडामा भने पग्लिसकेको भए तापनि लुमकाँधबाट हामी झरिरहेको खोल्सा नजिक जमेको हिउँ अझै पग्लिसकेको थिएन । हामी त्यही हिउँबाट हिंडिरहेका थियौं । गौरी र मैले हिउँका डल्ला फुटायौं र चपाउँदै खाँदै हिंड्यौं । हिउँका डल्ला समाउँदा हातमा ठिरौटो लाग्यो । गौरीलालले हिउँले शरीरमा पानीको मात्रा पूरा गर्छ तर प्यास मेटाउँदैन भन्दै हुनुहुन्थयो । अधिक चिसो भए पनि दुवैजना हिउँका डल्ला चपाउँदै हिंड्यौं । त्यति चिसो हिउँ एकैचोटी धेरै चपाउन त के सकिन्थ्यो, अलिअलि गर्दै चपाउने, एकछिन पछि मुख तातो हुन्छ, फेरि चपाउने गर्दै हिंड्यौं । हामी अब रारा राष्ट्रिय निकुञ्ज प्रवेश गरिसकेका थियौं । निकुञ्जभित्रको सानो खोल्सीजस्तो ठाउँमा एउटा होटल भेटियो । हामीले त्यही होटलमा खाना खायौं । जुम्लाको गोठीज्यूलाबाट ५ घण्टा लगाएर दालचामल बोकेर ठूलो जंगलको बीचमा होटल चलाउनु चानचुने कुरा थिएन । एकजना महिलाले त्यो होटल चलाएकी थिइन् । उनका श्रीमान्ले गमगढीमा होटल नै गर्दारहेछन् । छोराछोरीलाई गमगढीकै बोर्डिङमा पढाएका रहेछन् । गोठीज्यूलाबाट उनका देवरले दालचामल, नुनतेल ओसार्ने गर्दछन् । राती पाहुनालाई त्यही नजिकै रहेको ओढारमा सुताउने व्यवस्था गरिएको थियो, त्यो दिन पनि १० जना खच्चड ग्वालाहरू ओढारमै सुतेका रहेछन् । जुम्ला–मुगु सामान ओसार्ने खच्चडका ग्वाला र बाटो हिंड्नेहरूले खाना र खाजा खाने गर्दछन् । खच्चड ग्वालाहरूको भोजनै ठूलो । १० लिटरको कुकरमा पकाएको मोटो चामलको भात ८ जना ग्वालाहरूले हाम्रै अगाडि खाएर सिध्याए । उनीहरू भन्दै थिए, अब खाना खाने साँझै हो, टन्न खानैप¥यो । हिउँदमा भने अत्यधिक हिउँ पर्ने कारण बाटो र होटल बन्द हुँदारहेछन् । हामी खाना खाएपछि करिब डेढ घण्टा उकालो चढेर चुचामारेको डाँडोमा पुग्यौं । चुचामारेबाट बाजुरा, कालीकोट, हुम्ला, जुम्ला र मुगुका धेरै डाँडाकाँडा र गाउँहरूमात्रै होइन, सेताम्मे हिमालहरू पनि देखिन्छन् । त्यो दिन बादलले ढाकेको कारण हिमाल जति देखिनुपर्ने हो त्यति देखिएन । त्यहाँबाट आँखाले जति टाढासम्म देख्न सक्छन्, त्यति टाढासम्म हेर्न सकिन्छ । कुनै डाँडाकाँडाले छेक्दैनन् । नेपालका डाँडाकाँडा र हिमालका दृश्यहरूको सुन्दरताले कतिसम्म मन खिच्छ भन्ने कुरा चुचामारेको डाँडाबाट पनि अनुभव गर्न सकिन्छ ।

चुचामारे रारा राष्ट्रिय निकुञ्जभित्रै पर्दछ । त्यहाँको खुला चउरमा निकुञ्जको जंगलभित्रबाट आएको बँदेल देखियो । त्यो हामीभन्दा २० मिटर अगाडिबाट हिंडिरहेको थियो । उकालो भएको कारण हामीले त्यसलाई भेट्न सकिएन, ऊ हामीभन्दा छिटो हिंड्यो र जंगलभित्र पस्यो । रारा राष्ट्रिय निकुञ्जमा सल्लाका प्रजातिहरू नै अत्यधिक छन् । सल्ला, धुपिसल्ला, गोब्रे सल्लो र दियारका रूखहरू अधिक छन् । त्यसको अलाबा गुराँस र भोजपत्रका रूखहरू पनि छन् भने नियालो (सानो बाँस)का हजारौं घारीहरू छन् । फुलेको सेतो गुराँसले राराको सौन्दर्यलाई प्रस्फुटन गराइरहेको थियो ।

चुचामारेको पल्लो डाँडोबाट मैले पहिलोपटक राराताल देखें । त्यसको करिब २ घण्टापछि मात्रै तालको किनारमा पुग्न सकियो । त्यो अनुभव शब्दमा व्यक्त गर्न त सकिन्न, किनकि त्यसको बनोट र सौन्दर्यलाई शब्दले वर्णन गर्नु कठिन लाग्दैछ । तालकोे वरिपरि होंचा डाँडाहरू छन्, हामी त्यो भन्दा पारी र टाढाको डाँडोमा थियौं । त्यही डाँडोमै उभिएर १५ मिनेट तालमै आँखा केन्द्रित ग¥यौं । त्यति धेरै अग्लो ठाउँमा, वरिपरि होंचा डाँडाले घेरिएको ताल कसरी बन्यो होला ? साँच्चै अचम्म छ । त्यो ठाउँबाट हेर्दा त तालको पानी गमगढीतिर जान्छजस्तो देखिन्छ किनकि गमगढीतिरको भाग झनै होंचो देखिन्छ । ताल देखे पनि हामी टाढा थियौं । अब हामीलाई ओरालो झर्नु थियो । खच्चडले बाटो यति हिलाम्मे बनाएका थिए कि त्यो खच्चडको लागि पनि कम उपयुक्त थियो । तर त्यसमा खच्चड ग्वाला र अन्य मान्छेहरू पनि हिंड्नैपथ्र्याे, हामी पनि हिंडिरह्यौं । हिलाम्मे ओरालोपछि हामी खत्याडखोला झ¥यौं । खत्याडखोलाको मुहान राराताल हो भने त्यस खोलामा अन्य सहायक सानातिना खोलाहरू पनि मिसिएका छन् । खत्याडखोला तरेपछि हामी माझघट्ट पुग्यौं । अब आधा घण्टामा रारा ताल पुगिन्थ्यो । त्यहाँ अर्काे अचम्म के देखियो भने देशकै ठूलो रारातालबाट एउटा पानीघट्ट चल्नेजति मात्रै पानी बगिरहेको छ । तालबाट दक्षिणपश्चिम बग्दै गरेको खोलाबाट जब जब हामी राराको नजिक आयौं, त्यतिबेलाको अनुभव पहिलोपटक राराले हामीलाई दिंदैथियो । हामी राराको छेउँ हुँदै अगाडि बढ्यौं । लम्बाइको बीच नपुग्दै राराबारे लेखिएको जानकारी बोर्ड पढ्यौं । ५.१ किलोमिटर लामो, २.७ किलोमिटर चौडाई र १६७ मिटर गहिराई भएको तालको किनारमा थियौं । नेपाली सेनाको गण अगाडि तालको पानीमाथि प्रतिक्षालयमा बसेर ताल हेर्दा यस्तो लाग्छ हामीले यो भन्दा बढी प्राकृतिक सौन्दर्यको अनुभव लिन सक्दैनौं । जोडसँग हावा चल्दा ताल वारिपारिका रूखहरू त हल्लिन्छन् नै तालमा हजारौं छालहरू दौडिरहेका हुन्छन् । जमेर रहेको त्यही पानीले हजारौं वर्षदेखि त्यसरी छालहरू बनाइरहेको छ । सङ्लो पानीभित्र माछाहरू पौडिरहेका छन् ।

फेवातालको केही धमिलो पानी देखेको मैले रारातालको त्यति धेरै सङ्लो पानी देख्न पाउँदा बेग्लै आनन्दको अनुभूति गरिरहेको थिएँ । तालको सीधा लम्बाई ५.१ किलोमिटर भए पनि किनारको बाटो लगभग डेढगुना बढी छ । हामी तालको वरिपरि घुम्दा पनि सानातिना सीमबाहेक केही देखिएन । एकातिर डाँडोको खोल्सासम्म थोरै हिउँ जमेको देखिन्थ्यो । तर उक्त हिउँको पानी तालमा आएको देखिएन । त्यो त्यसरी आउने जति पनि थिएन । त्यति ठूलो तालमा त्यति धेरै पानी कसरी जम्मा भयो र भइरहेको छ ? तालको वरिपरि रहेका होंचा डाँडाबाट ठूलो पानी पर्दा सानातिना भल त आउँछन् होला तर त्यसले त्यहाँको पानीको मात्रा थप्न केही सहयोग गर्दैन । एक त त्यसरी भल बग्ने ठाउँ नै देखिएन, भल बग्ने ठाउँहरू नभएपछि ताल पुरिएर साँघुरो हुने पनि छैन । बरू कतिपय ठाउँमा पानीको छालले हिंड्ने बाटोसमेत झारेर साँघुरो बनाएको छ । त्यस्ता ठाउँहरूमा ढुंगा उठाएर बाटो बनाइएको छ । रारातालको वरिपरि सल्लाजातिका धुपीसल्ला, सल्ला, गोब्रेसल्लाले घेरिएको जंगलैजंगल छ । त्यहाँ अरू रूखविरूवाहरू अत्यन्तै कम छन् ।

तालभित्र नुहाउन, धुन मनाही गरिएको भए पनि त्यसका कतिपय छेउहरूमा २–४ जना पौडी खेलिरहेका देखिन्थे । ताल हेर्न आउने आन्तरिक वा बाह्य पर्यटकहरू सून्य थिए । सेनाको गणअगाडि २ वटा प्लाष्टिकका बोट र ३ वटा काठका डुंगाबाहेक केही छैनन् । राष्ट्रिय निकुञ्जको कार्यालयनजिकै एउटा मात्रै होटल छ । त्यो पनि त्यति सुविधासम्पन्न होइन । हामी त्यहाँ पुग्दा खाजाको नाममा चाउचाउबाहेक केही थिएन । उक्त होटलले १५ जनालाई पनि राम्रोसँग सुविधा दिन सक्दैन ।

रारातालबाट मुगुको गमगढी जान ३ घण्टा र ताल्चा विमानस्थल पुग्न २ घण्टा लाग्छ । गमगढी जान ओरालो झर्नुपर्छ भने ताल्चा जान तेर्साेओरालो हिंड्नुपर्छ । गमगढी मुगुकर्णालीको तिरमा अवस्थित छ । सदरमुकाम भएकाले बजार बसाइए पनि त्यो त्यति बलियो ठाउँ होइन । माथिबाट हेर्दा बजारको दायाँतिरको भाग पहिरो जानेजस्तै देखिन्छ । अलिअलि तर सानातिना पहिराहरू गएका पनि छन् । बायाँतिरको भाग भने कम भिरालो छ । थुप्रै घरहरू निर्माण गरिंदैछन् । बजारको पल्लोछेउमा महाकाली उच्च माध्यमिक विद्यालय छ, जसले केही फराकिलो ठाउँ ओगटेको छ । मुगुको रारा क्याम्पस भने बजारबाट केही माथि छ । जहाँ शिक्षाशास्त्र संकाय मात्रै पढाइ हुन्छ । ३० गते हामी गमगढीबाट पुनः रारा ताल जाने क्रममा ताल्चा विमानस्थल आयौं । ताल्चा विमानस्थलमा १०–१५ मिनेटको फरकमा त्यही दिन ७ वटा विमान अवतरण र उडान भए । विमानको धावनमार्ग सानो मात्रै होइन, कच्ची पनि छ ।

एक पटकमा २ वटा भन्दा बढी विमान अवतरण गर्न सकिंदैन । एउटा विमान १५–२० मिनेटसम्म मात्रै त्यहाँ बस्छ । विमान अवतरण गर्ने, मान्छे र सामान झार्ने, मान्छे चढाउने र उडाउने, त्यो काम २० मिनेटसम्ममा भइसक्छ । त्यहाँ विमान पार्किङ गरिंदोरहेनछ । वरिपरि प्रहरीले गाईवस्तु र मान्छेलाई रोकेर विमान अवतरण र उडान गरिन्छ । एउटा सानो जहाजले ९ क्वीन्टल मात्रै चामल वा अन्य सामान बोकेर त्यहाँ पुग्छ भने अलि ठूलो जहाजले १८ क्वीन्टलसम्म मात्रै । १ किलो चामल बोकेको ८० रूपैयाँ भाडा लाग्ने गर्दछ । सरकारले उक्त पैसा बेहोरेर मुगालीहरूलाई चामल उपलब्ध गराइरहेको छ । मुगुमा त्यहाँ उत्पादन हुने चिनो (एकप्रकारको चामल), फापरलगायतका स्थानीय खाद्यान्न बालीहरू लगाउनै छोडेका छन् भने कोदो, जौं, गहुँ लगाउँदैछन् । सरकारले बाँड्ने कुहिन थालेको चामलको आसमा त्यसरी खेती गर्न छोडिएको केही स्थानीय बासिन्दाहरू आफैले भन्छन् । नेपाल खाद्य संस्थान मुगुमा केही गीतहरू लेखिएका छन् ः जसले त्यहाँको केही वास्तविकता झल्काउँछन् ।

कोदो गोडौं, धान रोपौं, लगाउँ काउली
जौंका रोटी, गहुँका रोटी मीठो मानी खाउली
कोदो, काउनी, चिनो, फापर अति राम्रा अनाज
खाद्य चामल मुख ताकेर विग्रे हाम्रा समाज
–नेपाल खाद्य संस्थान, मुगु
कति ढुक्ने खाद्यभित्र घर काम रैगयो
ढिंडो सिस्नो घरै खाउँला जाउँ अब भैगयो
खाद्यले दिंदैन साध्य पैसा नभएर
अनिकाल हटाउनुपर्छ खेतबारी धाएर
दिनभरी खाद्यमा भुल्यो बेलुकी पाँच केजी
पाँच केजीले केही पुग्दैन गर्नुपर्छ खेती
–असल छिमेकी नेपाल, मुगु

भौगोलिक रूपमा मुगु अत्यन्तै विकट छ । मुगुको जमीन खेतीयोग्य पनि त्यति छैन । हुन त जौं, गहुँ, आलु, फापर, कोदोलगायतका खेतीहरू हुन्छन् तर माथि उल्लेख गरिएजस्तै कतिपय खेतीहरू गर्न छोडिएको अवस्था छ । मुगुका माथिल्ला गाउँहरूमा गतवर्ष भदौमा छरेको जौं असारको पहिलोे हप्तासम्म पनि काट्ने बेला भएको थिएन, अझै हरियो अवस्थामै थियो । त्यहाँ जौं पाक्न ठ्याक्कै एक वर्ष लाग्छ । २४ वटा गाउँ विकास समिति रहेको मुगुको सदरमुकाम गमगढी सबैको माझमा नै अवस्थित छ । चंखेल्ने डाँडो (हिमाल भनिए पनि अहिले हिउँ थिएन) गमगढीबाट ३ घण्टाभन्दा बढीको दूरीमा अवस्थित छ । एक रूपैयाँको नोटमा चंखेल्ने डाँडो राखिएकोले स्थानीयहरू त्यसलाई गौरवकै रूपमा लिंदारहेछन् । गमगढीसम्म यदि मोटरबाटो पुग्ने हो भने पनि त्यहाँबाट सुर्खेत आउन कम्तीमा तीन दिन लाग्नेछ भने भाडा पनि त्यत्तिकै महंगो लाग्नेछ । अहिले नेपाल वायु सेवा निगमले ताल्चा–नेपालगञ्जको करिब २६ सय भाडा लिन्छ, बस पुगेपछि तीन दिन लाग्ने दूरीको बसभाडा पनि त्यत्तिकै पर्नेछ । मुगुमा गाईभैंसी पाल्ने चलन त्यति देखिएन । कतिपय घरहरूमा गाई पालिएका थिए, भैंसी त अत्यन्तै कम । गाईंभैंसी नै नपालिएपछि त्यहाँका मान्छेले दूध खान पाउने त कुरै भएन । पालिएका गाईभैंसीहरू पनि दूध दिन छोडेपछि वनतिर लगेर छोडिंदोरहेछ । त्यसरी छोडिएका धेरै भैंसीहरू हामीले रारा राष्ट्रिय निकुञ्जको जंगलभित्र भेटेका थियौं ।

जेठ ३० गते अलि चर्काे घाम लागेको थियो । हामी ताल्चामाथि रारा निकुञ्जहुँदै पुनः राराताल गयौं, पहिलो दिन फन्को मार्न नपाएको आधा भाग त्यस दिन पूरा ग¥यौं । जति हेरे पनि धित मार्न सकिंदैनथ्यो । रक्षामन्त्री विष्णु पौडेल सेनाको हेलिकोप्टरमा आए, लाइफप्रुफ ज्याकेट लगाएर केहीबेर बोटमा चढेर तालमाथि तैरिए, अनि उडे । हेलिकोप्टरबाटै पुनः राराको फन्को मारे । हामीले पैदलै हाम्रो दूरी पूरा ग¥यौं र साँझ गमगढी नजिकैको भामबाडामा राष्ट्रिय जनमोर्चा मुगुका अध्यक्ष राजबहादुर भामको घरमा बास बस्यौं । हामी मुगु पुगेपछि नै विद्यार्थीको भेला तयारी गरिरहेका थियौं । असार १ गते अखिल (छैठौं) मुगुको दोस्रो जिल्ला भेला सम्पन्न भयो, साथीहरू उत्साहित भए ।

अब भने कालीकोट, जुम्ला र मुगेको १ महिनाभन्दा लामो संगठनात्मक अभियान सम्पन्न भयो । यो अवधिमा कुनै दिन ४ घण्टामात्रै पनि हिंडियो भने कुनै दिन १०–१२ घण्टासम्म पनि हिंड्नु सामान्यजस्तै लाग्न थाल्यो । सुरूका दिनमा ठूलाठूला उकाली र ओराली झर्दा खुट्टामा फोरा पर्थे, आफै फुट्थे, फेरि पर्थे, फेरि फुट्थे । पछि त बानी नै प¥यो फोराहरू ठेलामा परिणत हुन थाले । थोरै हिंडेको दिन त केही कामै नगरेजस्तो लाग्न थाल्यो । जति विद्यालयहरूमा पुग्न सक्यौं, संगठनहरू निर्माण र प्रशिक्षणहरू भए । कालीकोट, जुम्ला र मुगु तीनवटै जिल्लामा अखिल (छैठौं)का जिल्ला भेलाहरू सम्पन्न भए । हामी जति दूरी पार ग¥यौं, त्यो पर्याप्त होइन, हामी धेरै गाउँहरूमा पुग्न सकेका छैनौं । गाउँहरूमा राजनीतिक चेतना कमजोर बन्दै गइरहेको छ । थुप्रै एनजीओ र आइएनजीओहरूले युवाहरूलाई परनिर्भर बनाउँदै लगेका छन् । जनताको दिमागमा थुप्रै भ्रमहरू छर्ने काम भएको छ । एनजीओ आइएनजीओहरूले राजनीतिक दलहरूप्रति वितृष्णा जगाउने अभियान नै चलाएका छन् । वास्तवमा कर्णालीको लागि एनजीओ आइएनजीओ मन्दप्रकारका विषहरू हुन् । एकातिर राज्यले बेवास्ता गरिरहेको छ, त्यही कारण त्यहाँको समाज पिछडिएको अवस्था छ, त्यही अवस्थाबाट एनजीओ आइएनजीओहरूले फाइदा उठाइरहेका छन् । सिंगो नेपालमा विकासनिर्माण, शिक्षा, स्वास्थ्य र रोजगारको जुन दुरावस्था छ, त्यसभन्दा बढी नेपालकै कर्णालीलगायत अन्य दुर्गम ठाउँहरूमा बढी भएकै कारणले दुर्गमको जनजीवन कठिन छ । कठिनाइका बीचमै सयौं वर्षदेखि दुःख, सुखले बाँचिरहेका छन्, आम जनता ।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३३ – २०६८ असार २९ गते, बुधबार)

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *