कविता : तिम्रो मोहनीमा

~निर्मोही व्यास~Nirmohi Vyas

तिमी मेरी घाम–जून, तिमी मेरी ऊर्जा
तिमीविना जिन्दगी यो खालि कलपुर्जा

सितारकी तार मेरी ! रुन्झुनाऊ नित्य
तिम्रो स्वरै सुन्दा पनि हुन्छ मन मत्त

खडेरीले आँत सुक्यो सिँचिदेऊ रस
अमृतकी घडा ! आऊ छातीभित्र बस

तिम्रो गाउँभन्दा प्यारो छैन कुनै ठाउँ
पवित्र छ ऋचाहरूभन्दा तिम्रै नाउँ

ढुक्ढुकीमा तिमीलाई सुनिरहन्छु म
हृदयको पिँजरामा थुनिरहन्छु म

फाल हाल्दै आउँछु म, छङ्छङाऊ तिमी
दुवै मिली बगाइदिऊँ अर्को नारायणी

सप्तरङ्गी सम्झनाका पाना फर्फराई
सत्ते सत्ते ! बिर्सिदिन्छु म संसारलाई

कलेजीमा यसैगरी सधैँ फुलिराख
यो मुटुको बगैँचामा भुली डुलिराख

घाम लागिरहोस् मेरो मनको आँगनीमा
हराऊँ म जुनीजुनी तिम्रो मोहनीमा

(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९ – पृष्ठ ६१)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *