कविता : राधाकृष्ण रिसाउँदा ‌. . . . .

~निर्मोही व्यास~Nirmohi Vyas


यतै तिमी, उतै तिमी, जताततै तिमी तिमी
हरेक कोणमा तिमी, हरेक मोडमा तिमी
तिमी हरेक फूलमा र पातपातमा तिमी
तिमी दिवा र रातमा, प्रभातमा तिमी तिमी ।


तिमी त पाइलैपिछे र धड्कनैपिछे तिमी
हरेक तिर्सनापिछे र सम्झनैपिछे तिमी
उदास हुन्छ यो जगत् फगत् तिमी उदासिँदा
झपक्क फुल्छ सिर्जना तिमी मुसुक्क मुस्किँदा ।


सुहासिनी ! सुवासिनी ! तिमी शरद्–वसन्तिका
तिमी त्रिलोकमोहिनी, तिमी त पूर्णचन्द्रिका
निशुम्भ–शुम्भमर्दिनी तिमी प्रचण्ड कालिका
तिमी निहारिका, तिमी सहस्र दीपमालिका ।


प्रिया ! तिमी समुद्र हौ, म एक व्यग्र निर्झर
बगीरहेछु बेगिँदै भएर मिल्न आतुर
मिली तिमीसँगै स्वयम् बनूँ म आज सागर
म फैलिऊँ अनन्तमा कृपालु हे ! कृपा गर ।


‘तिमी त पत्थरै’ भनी प्रिया ! नपार लाञ्छित
म फूलको थुँगा, सदा छु पाउमा समर्पित
अहो ! कठोर मौन यो सहूँ कसोगरी ? भन
म प्यारदेखि दूर भै जिऊँ कसोगरी ? भन


प्रिया ! सबै कुरा छ छूट प्रीति–संविधानमा
यही त रीति प्रीतिको, यही त हो नि जीवन
रिसाउ, किन्तु प्यारले, झिकेर नक्कली रिस
खुसाउ सक्कली खुसी, नराख चित्तमा तुस ।


सकिन्छ प्यारले जुनै सकित्र खड्गधारले
वसुन्धरा हराभरा छ प्यारकै बहारले
रिसाउने खुसाउने चलीरहन्छ प्यारमा
छ प्यारमै त जिन्दगी, कहाँ छ जीत–हारमा ?


अदम्य प्यार–ज्वारमा मडारिँदै र उर्लिँदै
उमङ्गको तरङ्गमा तरङ्गिँदै तरङ्गिँदै
अनन्त कालसम्म नै तिमी भनेर धाउँछु
म स्वप्नमा यथार्थमा सदैव भेट्न आउँछु ।


बसूँ, उठूँ, हिँडूँ, डुलूँ, घुमूँ, फिरूँ तिमीसँगै
कुरा गरूँ, गरूँ म पूर्ण चाहना तिमीसँगै
म भूल नै गरूँ कुनै भने गरूँ तिमीसँगै
जिऊँ तिमी–तिमीसँगै,मरूँ तिमी–तिमीसँगै ।

१०
हरेक याम होस् शरद्, हरेक रात पूर्णिमा
फिँजार चाँदनी तिमी, चुमीरहूँ म चन्द्रमा
निदाउँ नीँद तृप्तिको प्रगाढ अङ्कमालमा
न ब्यूँझिऊँ, र ब्यूँझिऊँ त फेरि अङ्कमालमा ।

(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९ – पृष्ठ १०१—१०३)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *