बाल कथा : नाक

~सुधा रिसाल शर्मा~

रमा धेरैबेर आफ्नो अनुहार ऐनामा हेर्ने गर्थिन् । उसको यो बानी देखेर घरका सबै जना वाक्क भएका थिए । रमाकी आमा त सधैँ ऐना रमाले नभेट्टाउने ठाउँमा लगेर लुकाउँथिन् । रमा भने ऐना जसरी भएपनि खोज्थिन् । रमाको यो

रमा धेरैबेर आफ्नो अनुहार ऐनामा हेर्ने गर्थिन् । उसको यो बानी देखेर घरका सबै जना वाक्क भएका थिए । रमाकी आमा त सधैँ ऐना रमाले नभेट्टाउने ठाउँमा लगेर लुकाउँथिन् । रमा भने ऐना जसरी भएपनि खोज्थिन् । रमाको यो बानी देखेर घरका सबैजना उसलाई कहिले गाली गर्थे भने कहिले हाँस्ने गर्थे ।

स्कुलमा पनि रमा सधैँ झ्यालको छेउमा बस्ने गर्थिन् अनि घरीघरी झ्यालको सिसामा आफ्नो अनुहार हेर्ने गर्थिन् । यसरी आफ्नो अनुहार ऐनामा हेर्न थालेपछि उसलाई वरिपरि के भइरहेछ थाहा नै हुँदैनथ्यो ।

एकदिन सधैँझैँ रमा झ्यालको सिसामा आफ्नो अनुहार हेरेर बसिरहेकी थिइन् । यही मौका छोपेर रमाकी साथी राधाले रमाको ब्याग खोलिन् । अनि रमाको खाजाको बट्टा खोलेर खाजा खाइदिइन् । रमाले आफ्नो खाजा चोरी भएको पत्तै पाइन तर टाढाबाट भने हरिले देखिरहेको थियो ।

हरि कराउन थाल्यो – “राधाले रमाको खाजा चोरेर खाई । खाजा चोर ! खाजा चोर !” हरि कराएको सुनेर सबैजना कक्षा वरिपरि भेला भए ।

मिस पनि आइपुग्नुभयो र राधालाई गाली गर्दै भन्नुभयो – राधा ! हेर त्यसरी चोर्नु हुन्छ ? अब तिम्रो नाक काटियो नि ! तिमी मात्र हैन तिम्रा बा आमाको पनि नाक काटिन्छ नानु, चोर्नु हुँदैन ।

नाक काटिने शब्द सुन्नेबित्तिकै रमा दङ्ग परिन् । ओहो ! कसैको सामान चोरेदेखि त नाक काटिने रहेछ भनेर उनी दङ्ग परिन् । सबैजना झुम्मिएर राधालाई गाली गरिरहेका थिए । रमा हरिको ब्यागनिर गइन् अनि सुटुक्क हरिको पेन्सिल चोरिन् । आफ्नो ब्यागमा राखिन् र दौडिँदै घर पुगिन् । अनि तुरुन्त ऐना अगाडि बसेर आफ्नो नाक काटियो कि भनेर हेर्न थालिन् ।

उनको नाक त काटिँदै काटिएन । आज त उनलाई आफ्नो नाक हिजो अस्तिको भन्दा पनि नराम्रो लाग्यो, अनि … कहिले उनले आफ्नो नाक ऐनामा मोटो हात्तीको जस्तो देखिन् भने कहिले आफ्नो नाक सारसको जस्तो चुच्चो लाग्यो । कहिले भने खरायोको जस्तो सानो लाग्यो ।

त्यही नाकको कारण नै उनी घण्टौँ ऐनामा आफ्नो मुख हेर्ने गर्थिन् । त्यो कुरा कसैलाई थाहा थिएन । उनको नाक मिसले भनेझैँ काटिँदै काटिएन । स्कुलमा मिसले त कसैले कसैको सामान चोर्‍यो भने नाक काटिन्छ भन्नुभएको थियो । उनी यही कुरा सोच्दै आफ्नो नाक हेरिरहिन् । राति अबेरसम्म बस्दा पनि नाक काटिएन । त्यो दिन त उनलाई आफ्नो नाक अरू धेरै मन परेन । हातमा ऐना लिएर रमा निदाइन् ।

भोलिपल्ट स्कुल सुरू हुनभन्दा पहिला नै रमा स्कुलमा पुगिन् र सिधै मिसकहाँ गएर भनिन्- “मिस किन झुट बोल्नुभएको मेरो नाक त काटिएन नि !”

मिसले कुरै बुझ्नुभएन । उहाँले रमालाई माया गर्दै सोध्नुभयो- “किन र नानु ! तिमी यति राम्री छौ नाक पनि राम्रै छ ! किन काट्नु पर्‍यो तिम्रो नाक ?”

रमाले दिक्क मान्दै भनिन् – “तपाईंले राधाले मेरो खानेकुरा चोर्दा नाक काटिन्छ भन्नुभएको हैन ?”

मिस छक्क परेर रमाको मुख हेर्न थाल्नुभयो । उता रमा भन्दै थिइन् – “मलाई मेरो नाक नै मन पर्दैन । त्यसैले मेरो पनि नाक काटिन्छ कि भनेर मैले हरिको पेन्सिल चोरेर घर लगेँ तर मेरो नाक नै काटिएन ।”

बल्ल मिसले रमाले घरीघरी कक्षा कोठाको झ्यालमा आफ्नो अनुहार हेर्ने गरेको कारण बुझ्नुभयो । उहाँले हाँस्दै भन्नुभयो- “नानी कसैले नराम्रो काम गरेमा नाक काटियो भनिन्छ, साँच्चिकै त नाक काटिने हैन नि ! साँच्चिकै नाक काटियो भने त बिरामी भै हालिन्छ नि ! तिमीलाई बिरामी हुन मन छ ?”

रमाले झट्ट आफू बिरामी भएर अस्पतालमा बसेको सम्झिन् र भनिन्- “अहँ मलाई त बिरामी भएको मनै पर्दैन । मलाई डाक्टरको इन्जेक्सनदेखि साह्रै डर लाग्छ ।”

“उसो भए अब नाक काट्ने कुरा नगर । हामी बाँचेकै त यो नाकको कारणले हो । यसैको सहायताले सास फेर्न सकिन्छ । अनि नाक भित्रका रौँहरूले बाहिरका धूलो, कीटाणुलाई नाकभित्र छिर्न दिँदैनन् । नाकले त राम्रो हावा मात्र शरीरभित्र पठाउँछ । अनि थाहा छ नाककै सहायताले धेरै चिसो हावा एकैपटक हाम्रो शरीर-भित्र पस्न पाउँदैन,” मिसले सम्झाउनुभयो ।

मिसले भन्नुभयो- “कसैको सामान चोर्‍यो भने नाक काटिन्छ भनेको त इज्जत जान्छ, बेइज्जत हुन्छ, अरूको अगाडि लाजमर्दो हुन्छ, फलानाका छोराछोरी चोर भनेर कसैले भन्यो भने उनीहरूको बाबुआमाको पनि इज्जत जान्छ, त्यसैले बाबुआमाको पनि नाक काटिन्छ पो भनेको त ।”

रमा वाल्ल परेर मिसको कुरा सुन्न थालिन् । त्यो दिन पनि उनले कक्षाको झ्यालको ऐनामा आफ्नो अनुहार हेरिन् । नाक आफ्नै ठाउँमा चिटिक्क थियो । ठूलो सानो भएको थिएन । रमा चुपचाप घर पुगिन्, ऐना अगाडि उभिइन् । उनलाई आज आफ्नो नाक राम्रो लाग्यो । विस्तारै हातले नाक समाइन् । विस्तारै सास लिइन् अनि दङ्ग पर्दै भनिन्- “आहा ! मेरो नाक कति राम्रो ! मेरो नाक कति राम्रो !” विस्तारै हातले नाक छोपिन् ।

हत्तपत्त हात नाकबाट हटाइन् अनि लामो सास फेरिन् । अनि खुसी हुँदै भनिन् । आहा ! मेरो नाक कति राम्रो छ । म यही नाकले गर्दा त राम्री भएकी छु ।

(स्रोत : मुना २०६६ असार)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.