अनूदित लघुकथा : अँध्यारो नगरी

~खालिल जीब्रान~Khalil Gibran
अनु : मनोज न्यौपाने

राजमहलमा रात्रिभोज थियो ।

एउटा मान्छे त्यहाँ आयो र राजालाई दण्डवत् गरेर लम्पसार पर्यो । भोजमा आएका सबैले उसलाई हेर्न थाले । उसको आँखा निकालिएको थियो र त्यहाँबाट रगत बगिरहेको थियो ।

राजाले उसलाई सोधे, ‘तिम्रो यो अवस्था कसरी भयो ?’

उसले भन्यो, ‘महाराज ! पेसाले म एक चोर हुँ । आैंसीको राति म एक धनी पसलेकहाँ चोरी गर्न गएँ । झ्यालबाट भित्र जाने हुँदा झुक्किएर जुलाहाको पसलमा पसेछु । अँध्यारोमा म त्यहाँको चर्खामा ठोक्किन पुगेँ र मेरो आँखा निस्कियो । अब, हे महाराज ! त्यो जुलाहाबाट मलाई न्याय दिलाई पाउँ ।’

राजाले जुलाहालाई बोलाएर ल्याउन सिपाहीलाई आदेश दिए । ऊ आयो र उसको आँखा झिक्ने निर्णय सुनाइयो ।

‘हे, महाराज !’ जुलाहाले भन्यो, ‘ तपाईंले एकदमै उचित न्याय सुनाउनु भयो । मेरो आँखा निकाल्नै पर्ने हो । तर दुुक्खका साथ मैले के निवेदन गर्नै पर्छ भने कपडा बुन्दा मैले दुवैतिर हेर्नपर्छ । यसकारण मलाई दुवै आँखाको खाँचो छ । तर एउटा आँखा त जसरी भए पनि चाहिएको छ । मेरो छिमेकमा एउटा मोची बस्छ । उसका पनि दुइटा आँखा छन् र उसको पेसालाई दुइटा आँखाको खाँचो पनि पर्दैन ।’

राजाले मोचीलाई बोलाउन सिपाही पठाए । ऊ आयो र उसको एउटा आँखा निकालियो ।

न्याय सम्पन्न भयो ।

(स्रोत : चारतारा न्यूज डट कम )

This entry was posted in अनूदित लघुकथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *