कविता : तस्वीर

~भीष्म उप्रेती~Bhishma Upreti_1

तिमीले भन्यौ –
म तिम्रो तस्वीर खिच्न चाहन्छु ।

मसँग त
दुःखका कोर्राले निर्मम पिटेको
उदास र थकित अनुहार पनि छ
भोकको नङ्ग्राहरुले त्रुूरतापूर्वक चिथोरेको
क्लान्त र गलित अनुहार पनि छ
तिर्खाएको यात्रुले बाटामा भेटेको पानीजस्तो
डेरा सरिरहनुपर्ने मान्छेको अस्थायी ठेगानाजस्तो
मौसमी खुशीले धोएको अनुहार पनि छ
अनेकौँ प्रयत्नहरुपछि भेटिएको थोरै सफलताको रङले
धोएको रङ्गीन अनुहार पनि छ
लड्दालड्दै पाएको हारैहारले निराश पारेको
फुस्रोधुस्रो रङ्गहीन अनुहार पनि छ ।

तस्वीरै खिच्नेजस्तो
खोइ के देख्यौ तिमीले मेरो अनुहारमा
आजसम्म जतिचोटि हेरे पनि आफ्नो अनुहार
आफ्नो एउटै सग्लो अनुहार हेर्न नपाएर
दिक्कै मात्र लागेको छ मलाई त !

रङ न रोगनका
अनुहारैअनुहारका थुप्रोबीचमा
छक्क लाग्छ
तस्वीरै खिच्नुपर्ने गरी
खोइ के भट्यौ तिमीले मेरो अनुहारमा

शनिश्चरे, झापा
हालः काठमाडौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *