संस्मरण : आँसुले भिजेका पाइलाहरू

~भेषराज रिजाल~

अस्पतालमा कुरुवा बस्न थालेको आठौँदिन पूरा भइसकेको थियो । ती आठदिनले मलाई जीवन र मृत्युको अर्थ सिकाइरहेका थिए । मातृ सघन उपचार कक्षमा राखिएकी जीवन सङ्गिनीको हेरचाहका लागि बाहिरपट्टिको लामखुट्टे लाग्ने चिसो भुईंमा गुडुल्किएर अस्पतालका कहर र पीडाहरूको प्रत्यक्ष्यदर्शी भएको थिएँ म । अप्रेशन गरेपछि उनलाई ब्लड र स्लाइन चढाइएको थियो । उनको सुस्केरामिश्रित नबुझिने बोली हरक्षण मेरा कानमा ठोक्किइरहेझैँ लाग्थ्यो । अप्रेशनपछि केहीदिन ज्वरो आएकोले उनको शरीर शिथिल देखिन्थ्यो । दुईरात मसँगै अस्पताल बसेकी सानी छोरीलाई आमा आएर घर लैजानुभएको थियो । असीवर्ष पार भएका बुवा बिरामी हुनुहुन्थ्यो घरमा । बिरामी बुवा र घरका अरू सारा परिस्थिति आमाले नै सम्हाल्नुपर्ने भएकोले आमालाई घर जानुपरेको थियो । ममी दाने भन्ने छोरीको जिद्दी कम गर्न सम्झाएपछि छोरीले भन्ने गरेका शब्द सम्झेर फेरि आफैँ मर्माहत हुन्थेँममीलाई तन्त हुन्त अनि घल दाने । यस्ता बिरामी त बोल्दाबोल्दै जानबेर हुँदैन भन्ने डाक्टरहरूको भनाइ सम्झेर र आजपर्यन्त आफ्नी आमासँग एकछिन पनि नछुट्टिएकी छोरीले गरेको छटपटीपूर्ण रुवाइले मलाई बेस्सरी घोचिरहन्थ्योममीलाई तन्त हुन्त अनि घल दाने । आफ्नी आमालाई देखी भने उसैसँग बस्न र बुबु खान जिद्दी गर्छे कि भनेर बिरामीसँग लगेको थिइनँ छोरीलाई । एकदिन त छोरीलाई हेर्छु भनेर उसकी आमाले नै आँसु बगाएपछि लुकेर हेर्न भन्दै छोरी लिएर गएको थिएँ एकैछिन । आमा चाहिँले आफ्नी छोरीलाई देखे पनि छोरीले यताउता हेरेर खोजे पनि भेटिन आफ्नी आमालाई । अबोध बच्चीलाई उसकी आमासँग भेट्न पनि दिन नपाएकोमा मेरा आँखा रसाएका थिए ।

घरि बिरामीको मान्छे भन्दै त घरि मेरो नाम लिँदै कति बेला नर्स आउँछन् भनेर कुरीबस्दा झकाएका आँखाले देखेको तन्द्राबाट झल्याँस्स हुँदा पीरहरूको भुङ्ग्रोमाथि उछिट्टिएझैँ हुन्थ्यो । घरि औषधिघरि पानीघरि जाउलोघरि रिपोर्ट गर्दागर्दै एकदिनमा कम्तीमा पचासपटक तलमाथि गरिँदो हो अस्पतालमा । दौडाउँदै ल्याएका बिरामीहरूरगताम्मे बिरामीका चित्कारहरूबिरामी कुरुवाहरूभर्खरै जन्मेका शिशुहरूव्यथा बल्झिएका बिरामीहरूडिस्चार्ज भएर जाँदै गरेका बिरामीहरू‚ … दिनभर पुनरावृत्त भइरहने यस्तै दृश्यहरूले दिएको सम्वेदना र चोटले बढी थकित बनाउँदोरहेछ अस्पतालमा । बिरामी कुर्न आएकाहरू हाँसीखुसी खाएकाबोलेकाहिँडेका देख्दा यस्तो पनि हुन्छ र यो दुनिँयामा भनेजस्तो लाग्थ्यो । रसाएका आँखाका डिल अर्कोपट्टि फर्केर पुछ्दा भक्कानो फुटेर आउँथ्यो । आफ्नो मान्छेसँग लुकाउनुपर्ने पीडा झन् असह्य हुँदोरहेछ । दुःख पीरमा भावुक भएर होइनमस्तिष्कले सोचेर काम गर्नुपर्छ भन्दै घरिघरि मन दह्रो गर्न खोजे पनि कहाँ कहाँबाट भेल उर्लेर आफैँलाई बगाउन खोज्दथ्यो ।

सम्बत् २०६८ साल जेठ २५ गते दिउँसो म नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा सेवाकालीन तालीममा रहँदा उनले फोन गरेकीथिइन्मलाई अलि सञ्चो नहोला जस्तो छ ।

म निर्वाचन आयोग पुगी कार्यालय समय सकिएर फर्कनै लाग्दा उनले फेरि फोन गरिन्मलाई फेरि चक्कर लाग्यो ।

आयोगबाहिर आएर निस्कनै लागेका गाडीहरूलाई सोधेँसबै सोह्रखुट्टेको रूट भएर आयोगकै एकजना कर्मचारीको छोराको बिहेको भोजमा जाँदै थिए । मलाई रत्नपार्क गएर थानकोटको बसमा चढ्नुपर्ने भयो । म हतारिँदै रत्नपार्कतिर दौडिएँ । म यति छिटो रत्नपार्क पुगेँ कि शायद म गाडीमा चढेको भए ढिलो पुग्दो हूँ । छिटै कुदिरहेको बस पनि ढिलो गरेझैँ लागिरहेको थियो मलाई । बाटोबाट मैले उनलाई कम्तिमा पाँचसातपटक फोन गरेँ हुँला । उनले केही सञ्चो हुँदै गएको बताए पनि मलाई विश्वास लागेको थिएन । म घर पुग्दा उनले स्वाभाविक मुस्कान देखाउने प्रयास गरे पनि अनुहार पीडाले थिल्थिलिएर पहेँलो र फुस्रो देखिन्थ्यो । दिनभर चक्कर लागेकोले केही नखाई अझ छोरीलाई समेत दूधबाहेक केही नखुवाई बसेकी रहिछन् उनी । मैले केही खुवाएँ उनीहरूलाई । त्यसपछि उनी झन् ठूलो चक्कर लागेर ढलिन् । मैले उठाएर डोर्‍याउन खोजेँ तर सकिनँ । म ट्याक्सीको खोजीमा चोकमा पुगेँ ।

ट्याक्सी त्यति नभेटिने गुर्जुधारामा ट्याक्सी नपाइए कसो गर्ने होला भन्दै अत्तालिँदै गर्दा एउटा ट्याक्सी आइपुग्यो । मेरो अनुनय विनयका बीच उसले सोध्यो– कति दिनुहुन्छ ?

मैले भनेँ– तपाइँले मागेजति । उसलाई गाडी फर्काएर राख्न भन्दै म कोठामा आएँ ।

मैले फेरि उनलाई डोर्‍याउन खोजेँ । उनले भोलि जाने भनेर बिहोशीमा बर्बराएपछि म आत्तिएँ । उठाउन खोज्दा झन् चक्कर लागेर मानिनन् उनले । बाटोमा राखेको ट्याक्सी पनि फर्केर गयो भने के गर्ने भन्दै मैले जबरजस्ती उठाउन खोज्दा उनको टाउको फुत्केर छाँट्टियो भुईंमा तर पनि ऐय्या दुख्यो केही छैन । म झन् चिन्तित भएँ । अन्त्यमा नमान्दा नमान्दै जबरजस्ती बोकेर उठेँ । आपतमा घरभेटीलगायत कसैको सहयोग लिनेसमेत होश भएनछ । कोठाको ढोकासमेत नलगाई म बाहिर निस्किएँ । डोर्‍याएकी छोरी रून थाली । आमालाई पिठ्युँमा र छोरीलाई काखमा च्यापेर ट्याक्सीसम्म पुगेपछि अब त केही उपाय लाग्छ कि भनेर मनमा अलिकति साहस आयो । उनी हातखुट्टा र शरीर छोडेर पूरै लल्याकलुलुक भएकी थिइन् ।

सतुङ्गलस्थित बागेश्वरी नामक उपचारकेन्द्रमा स्लाइन दिँदै औषधि गरेर दुईघण्टा बिताए पनि कुनै सुधार भएको थिएन । रातको दश बजिसकेको थियो । छोरी भोक लागेर रून थालेपछि खानेकुराको खोजी गरेँ वरपर । उपचारकेन्द्रका एकजना सहयोगी भाइले मैले किनेर ल्याएको चाउचाउ पकाइदिए । छोरीले चाउचाउ खान लागी । बिरामी आमाको प्रवाह नगरेकी दुधे बच्चीको अबोध चालामाला देखेर मन फेरि भरियो ।

मैले अब बिरामी त्यहाँ धेरैबेर राख्न नहुने निधो गरेर उपचारकेन्द्रका कर्मचारीलाई एम्बुलेन्स बोलाइदिन भनेँ । कोठाको ढोका लगाइदिन घरभेटीलाई फोन गरेँ ।

एम्बुलेन्स आयो । खुम्चिन र फर्कन नहुने गरी उनको पेट दुखिरहेको थियो । एकहातले आमा छोरीका लुगा कपडाको सानो झोला र छोरीलाई तथा अर्को हातले आमालाई सम्हाल्दै एम्बुलेन्समा बसेँ म । जीवनमा पहिलोपटक एम्बुलेन्स चढेका थियौँ हामी । एम्बुलेन्स बाटामा निस्केपछि छोरी जोडले रून थाली । बेस्सरी हल्लाउँदै कुदेको एम्बुलेन्सले बजाएको साइरन सुनेर रोएकी होली भन्ने सोचेको थिएँ । भर्खरै हातबाट खसेको पानीको सानो बोतलतिर देखाएपछि उठाएर हातमा राखिदिएँ । त्यसलाई जोडले छातीमा टाँस्दै समाती र छोरी रून छोडी । दुईवर्षे अबोध छोरीको रूवाइप्राप्ति र अनभिज्ञता देखेर मलाई हाँसो उड्यो । फुट्लाजस्तो भएको टाउको केही हल्का हुन्छ कि भनेर आँसु पुछ्ने कोसिस गरेँ तर झन् रूवाइको डाँको छुट्न खोज्यो । तलाउमा पौडिरहेको डुङ्गाजस्ता भएका मेरा आँखा अरुलाई नदेखाउन बल गरिरहेको थिएँ । घाँटीमै भासिएको बोली अरुलाई नसुनाउन पनि बल गरिरहेको थिएँ । म कमजोर भएको देखेमा बिरामीले झन् कसरी सहन सक्ली पीडा । मैले छोरीको पानीको बोतलको खेलसँग जोडेर उसँग कुरा गर्दै रूञ्चे डाँको लुकाएको थिएँ । कलङ्कीकालीमाटीत्रिपुरेश्वर कतिबेला कटिसकिएछ थापाथली आइपुग्यो । परोपकार प्रसुति गृहभित्र प्रवेश गर्नासाथ एकजना अलि मोटीमोटी डाक्टरले चेक गरेपछि भनिन्ब्लड जम्मा गरिहाल्नुस्तुरून्तै अप्रेशन गर्नुपर्छ ।

छोरीलाई काखमै समातेर अस्पतालको ब्लड बैंकमा पुगेँ । ओ पोजेटिभ ब्लड दुईपोका मात्र उपलव्ध हुनसक्ने भयो । मलाई भृकुटी मण्डप वा भक्तपुर गएर तुरून्त चारपोका अरू ब्लड ल्याउन भनियो । छोरी च्यापेरै म ट्याक्सीमा भृकुटीमण्डप पुगेँ । फर्केर आउँदा डाक्टर र नर्सहरूले सबै तयारी गरिसकेका रहेछन् । विदेश जान आएकी राधाकी भाइबुहारी विष्णुलाई फोन गरेँ । केहीबेरमा विष्णुले भाइ राजुलाई समेत लिएर आइन् ।

राधालाई स्टेचरमा लिएर अप्रेशन थिएटरतिर लैजाँदै थिए नर्सहरू । म राधा नजिक गएँ । उसले मलाई कता लान थालेका हुन् ? भनेर हातको हाउभाउले सोधी । मैले नआत्तिऊभनेर सान्त्वना दिने प्रयास गरेँ । उसले पानी माग्दै फेरि सोधी– मेरो पेटको बच्चा त ठीक छ ? म झूटो बोलेँ– सब ठीक छ । पानी दिन हुन्छ कि भनेर नर्सलाई सोध्दा थोरै दिनुस् भनेपछि मैले एकदुई घुट्को पानी खुवाइदिएँ । शिथिल भएको शरीरआवाज राम्ररी ननिस्कने बोलीपीडाले थकित अनुहार देख्दा मलाई पनि आशै मरिसकेको थियो । वियोगै लेखेको रहेछ भने पनि कम्तीमा एकघुट्का पानी त खुवाउँछु भन्नेसम्म सोचेको थिएँ त्यो क्षण । एकैछिन बाटो हिँड्दा भेटिएका सहयात्रीसँग त कति आत्मियता गाँसिएको हुन्छमन मुटु साटिएका प्रियजन आफूबाट विछोडिन लाग्दा मान्छेलाई कति गहिरो चोट लाग्दोरहेछ भन्ने थाहा पाएँ जीवनमा ।

राधालाई अप्रेशन थिएटरभित्र पुर्‍याउँदा रातको एक बजीसकेको थियो । काखमा राखेर थुम्थुम्याउँदासमेत छोरीलाई पटक्कै निद्रा लागेको थिएन । उसले आफ्नी आमालाई नै खोजीरहेकी थिई । शायद अरूको लाख आमाको काख भनेको यही होला ।

फेरि ब्लड चाहिने भयोराजु कुदे । ल्याबको रिपोर्ट चाहियोम कुदेँ । अप्रेशन भइसक्यो कि भन्दै ढोकामा बसेर भित्रबाहिर गर्ने नर्स र डाक्टरहरूलाई धेरैचोटी सोधेको थिएँ मैले । हुँदैछ भन्थे उनीहरू । रातको साढेदुई बजेतिर बल्ल एकजना डाक्टर थिएटर रूमको बाहिर आइन् । चितवनको भरतपुर अस्पतालमा समेत धेरैवर्ष काम गरेकी उनी रहिछन् डा. सरोजा । उनले भनिन्– अप्रेशन सफल भयोबधाइ छ । एकआधा घण्टा मात्र ढिलो ल्याउनुभएको भए बचाउन असम्भवै हुन्थ्यो ।

मैले उनलाई धेरैकुरा राम्ररी सोध्न पनि सकिनँ । धेरै धेरै धन्यवाद डाक्टरयहाँहरूले एउटा ज्यान मात्र होइनयो सानी दुधे बच्ची र हाम्रो परिवारलाई पनि बचाउनुभयो, भन्न खोजेको पूरै वाक्य आएन होला मेरो मुखबाट । जब मुटु भरिएर आउँछ तब आवाज निःशब्द बन्दछ भनेको साँचै रहेछ । मेरो घाँटी केही चिजले थिचेजस्तो भइरहेको थियो ।

रोदनमिश्रित अस्पष्ट आवाजमा फेरि सोधेँ– भेट्न जान सक्छु ? अनुमति दिँदै उनले भनिन्– जानुस्होश आउन समय लाग्छ ।

म हतारिँदै मातृ सघन उपचार कक्षमा पुगेको थिएँ ।

आँखा चिम्लिएर उत्तानो सुतेकी थिई राधा । नाकबाट अक्सिजनहातबाट ब्लड र स्लाइन दिइरहेको थियो । बेसार दलेजस्तो पहेँलो भएको थियो अनुहार । मैले उसको अनुहार हेरिरहन सकिनँ । उनी कति खतराबाहिर छन् भनेर नर्ससँग सोध्न पनि सकिनँ । मातृ सघन उपचार कक्षको स्तब्धतालाई मेशिनका आवाजहरूले मात्र तोडिरहेका थिए । अप्रेशन सफल भयो भन्ने डाक्टरको वाक्य कानमा गुञ्जँदा मेरो अन्तर्मनमा आशाको एउटा मधुरो किरण धिपधिप गरिरहेको थियो । एकशब्द पनि बोल्न नसकी म बाहिर आएँ । बेञ्चमा सुतिरहेकी छोरीलाई हेरेँ । उसलाई छातीमा टाँसेर रोउँजस्तो लाग्यो । रातभर अनिदै रहेकी छोरी भर्खरै निदाएकी थिई । फेरिअबोध बच्चीसँग रूनु भनेको केबल उसलाई रूवाउनु मात्रै हो । मनको अर्को आवाज बोल्दैथियोआफ्ना बच्चाहरूलाई आँसु देखाउन हुँदैन कहिल्यै ।

मलाई लाग्योमनको बह त आफ्नो मान्छेसँग पोख्नै पर्दोरहेछ । मौनतामा अथाह पीडा पोख्न आफ्नै मान्छेसँग रूनु पर्दोरहेछ । रूनु प्रार्थना पनि होयस्तो पीडा अब नहोस् है भनेर गरिएको प्रार्थना । मान्छे खुसीमा पनि रून्छन् । एक्लै सहन नसकिने सुख र दुःखमा रूँदोरहेछ मान्छे ।

अरू बिरामी कुरुवाहरूलाई हेरेँआनन्दले निदाइरहेका थिए ।

बिहान सात बजेतिर बल्ल राधाको होश आयो । कोल्टेसमेत फर्कन नमिल्ने । शरीर सुन्निएको । कोठामा लडेको चोट आँखानेर कालो दाग बनेको । उसले भावशून्यः भएर उघार्न नमिलेका अर्धनिद्रितजस्ता आँखाले मलाई हेरिरही । शायद साह्रै कमजोर भएका बेला आँसुसमेत आउँदो रहेनछ मान्छेको । नत्र मेरा आँखामा आँसु देख्दा उसका आँखा नरसाएको आजसम्म थाहा थिएन मलाई । अबरूद्ध भएका गलाले मैले सोधेको थिएँ– कस्तो छ ? उसले अनुहारको हाउभाउले सबै शरीर दुखिरहेको बताएकी थिई । ब्लडप्रेसर असाध्यै कम छताजा ब्लड खोजी राख्नुस् भन्थे डाक्टरहरू ।

बिहानी झुल्क्यो । दिन भयो । रात पर्‍यो । फेरि दिनअनि रात । मलाई रात दिन छुट्याउन कठिन भइरहेको थियो । शायद रात परेछ क्यारेअप्रेशन थिएटर र सघन उपचार कक्षबाहिरको बिरामी कुर्ने बेञ्चमाथिको सिलिङको ह्याङ्गरमा बास बस्न फेरि आए भँगेराका जोडी ।

मनमा एउटा प्रश्न तेर्सियोपीडैपीडाको सङ्ग्रहालयजस्तो अस्पताललाई बासस्थानको रूपमा किन रोजे होलान् उनीहरूले ?

मनले नै जवाफ दियोमान्छेको पीडाप्रति सहानुभूति जागेर हो कि ? पीडाले मर्माहत भएका मान्छेले आक्रमण गर्दैन भन्ने जानेर पो हो कि ?

चराचुरुङ्गी जस्ता सहिष्णु जीव दुनियाँमा अरू कुनै छैनन् । तिनले न त अरूलाई आक्रमण गर्छन् न त आलोचना नै । न कसैसँग प्रश्न गर्छन् न त गुनासा नै । तिनीहरू आफै निर्वाह गर्छन् र रमाउँछन् बाँचुञ्जेल । मलाई साना भँगेराहरूप्रति माया लागेर आयो । बाल्यकालले डोर्‍याएको जिन्दगी नामक मेरो कविताका साना चरीहरूसँग भुल्न पुगेँ म एकैछिन

चरी छोपेर ल्याइदिन

अनुनय विनय गरेपछि

बालमनोबिज्ञान बुझ्ने मेरी आमाले

ल्याइदिएको चिटिक्कको सानो चरी

खेलाउने तीव्र इच्छा भए पनि

यसका आमाबाबु रोएका होलान्

छोडिदिउँ हैभनेर आमाले फकाउँदा

खुसी साथ छोडिदिएथेँ त्यो फिस्टे चरीलाई

अचेल कतै हिँड्दा डुल्दा

भुर्रभुर्र उड्ने फिस्टाहरू देख्दा

त्यसकै सन्तान त होलान् नि यी

भन्ने मीठो कल्पनाले

मन फुरुङ्ग फुरुङ्ग भइरहन्छ !

सम्झेर बाल्यकालका ती सुखद दिनहरू

बितिरहेछ वर्तमान पनि खुसी खुसी !

भँगेराका जोडी देख्दा फेरि छोरीको सम्झना आयो । मुटुभरि भएर पनि आँखाभरि चाहिने । आँखाभरि भएर पनि काखैमा चाहिने । अस्पतालमा आएको दोस्रोरात धेरैबेरसम्म ननिदाएकी छोरीलाई तिनै चिटिक्कका भँगेराभँगेरी देखाएर भुलाएको थिएँ मैले । म कार्यालय जाँदा रूँदै पच्छ्याउने सानी फुच्ची हजुरआमासँग मानेकी होली कि नहोली मनमा कुरा खेल्न थाल्यो फेरि । अस्पतालको ठूलो कोठाका चौकुना हेरेँ । कोठा चुपचाप भित्ताहरूपट्टि फर्केका थिए । मेरो मनको अमिलो चुक ती कोठाका भित्तामा पनि पोखिएको देखियो ।

लोथ परेर दिन बित्यो । निस्लोट परेर रात बित्यो । रातको समय निद्रामा होइनकेबल तन्द्रामा बितिरहेको थियो । रात काट्न बेञ्चमा दुईहात माथि टाउको अड्याएर आँखा चिम्ले पनि निद्रा नलागी मनमा कुरा मात्र खेल्दथ्यो ।

रूख लडाइसकेपछि गिँड पार्दै गर्दा त्यही गिँडले लतारेर केही तल पुर्‍याए पनि गिँडको हाँगो अर्को एउटा रूखमा अल्झिएर बाँचेको क्षण सम्झेँ । त्यो घटना यति छिटो भएको थियो कि मसँगै रहेका अरूले के भयो भन्न पनि भ्याएनन् । मेरो मृत्यु भएको आशंकामा आत्मीयजन रोएका एकदुई घटनाले भने मलाई पनि मृत्युबोध गराएको छ जीवनमा ।

एकपटक म दाङमा थिएँ । आमाले फोन गर्नुभयो । उठाउँदा डाँको छोडेर रूनुभयो । मेरो नाम लिएर मैसँगै भेषराज कहाँ छ ? भन्दै सोध्नुभयो ।

म बोलिरहेको छु तपाईंको छोरो । मैले बुझ्न सकेको थिइनँ आमाको रुवाइ ।

कतै चोट त लागेको छैन ? मैले आमाका जिज्ञासाको जवाफ दिएर चित्त बुझाउन सकिरहेकोथिइनँ । प्रश्नमाथि प्रतिप्रश्न गरिरहनुभएको थियो केटाकेटीले जस्तै ।

अन्त्यमा आमाले भन्नुभयोगाडी दुर्घटना हुँदा मर्नेहरूमा तेरो नाम पनि लिएछ रेडियोले ।

म्याग्दीदेखि नै मेरो चिनजानका कृषि विकास बैंकका अधिकृत दङ्गाली दाजु भेषराज रिजाल प्युठान जाँदै गरेको गाडी पल्टी नदीमा खसेर बितेका रहेछन् । उनको मृत्युले मलाई पनि निकै दुःख लाग्यो । धेरै साथीभाइ र आफन्तले फोन गरे । कतिलाई मैले फोन गरेँमेरो मृत्यु भएको छैन भनेर ।

सम्झनु घाउमा फेरि घोच्नु हो । घाउलाई निको हुन नदिनु हो । आफन्त र माया बसिसकेका चिनारूसँग भएको वियोगको घाउ उप्काउनु पनि हो ।

अन्तिम अवस्थातिर खुट्टा कुजिएर भित्रबाहिर गर्न नसक्ने हजुरआमालाई उचालेर पिँढीमा ल्याउने र भित्र लैजाने गरेको आफूभित्र समाहित भइसकेको आठनौ वर्षे फुच्चेलाई सम्झेँ । हजुरआमा बित्दा मैले तीन कक्षाको परीक्षा दिँदै थिएँ । भोलिपल्टको परीक्षा अघिल्लै दिन लिएर मलाई दिउँसै घर जान दिइँदा शंकाको चिसो पानी पोखिएको थियो मेरो मनमा । कतै बिरामी हजुरआमालाई केही त भएन ।

नभन्दै घर जाँदा बितिसकेकी मेरी हजुरआमालाई आँगनमा सुताइराखेका । आँखामा पिच्चपिच्च आँसु निकाल्नबाहेक मैले केही गर्न सकिनँ । मुख ढाकिएको हजुरआमाको अनुहार उघारेर हेर्न पनि साहस भएन । बुबाले डाँको छोडेर रूँदा मात्र मेरो पनि आवाज फुट््यो । आँसुले आँसु तान्छ भनेको साँच्चै रहेछ ।

मलामीहरूले हजुरआमालाई लिएर हिँड्न थालेपछि कुन्नी कुन अन्तरप्रेरणाले मलाई पनि मसानघाट जाने इच्छा जगायो । आमाको स्वीकृतिपछि थुप्रै आफन्तका लस्करमा म पनि पहिलोपटक मलामी गएको थिएँ  । मोदी र कालीको संगम मोदीबेनीको बगरमा पहिलोपटक जलेको शव देखेको थिएँहजुरआमाको शव ।

आमाबुवा कतै काममा गएका बेला साँझबिहान पिँढीका डिलमा बसेर मलाई कुर्ने हजुरआमालाई नदी किनारमा सेलाएर बूढापाका मलामीहरूको लस्करमा मिसिएर घर फर्कँदै थिएँ म । घोइनेउलाको उकालो उक्लँदा मलामीहरूले गरेका ठट्टा सम्झदा लाग्थ्योधेरै मलामी गइरहँदा मान्छेको मुटु कठोर भइसकेको हुँदोरहेछ । उनीहरू बाटैभर रमाइला कुरा गरिरहेका थिएहाँसिरहेका थिए । कुनै भोजभतेरमा सामेल भएर फर्केजस्तो गरी ।

सेतो बाटो टाँगेर शवयात्रा गरी शंख बजाउँदै घाटतिर लैजाँदै गरेका कात्रोले बेरिएका लास देख्दा र कतै हिँड्दा डुल्दा पिँढीको डिलमा बसेर ख्याकख्याक गर्दै खोकिरहेका बूढाबूढीहरू देख्दा भने मलाई बितिसकेकी मेरी हजुरआमाको याद आउँछ ।

कुश्मा गएर असाध्यै दुखेको बुवाको दाँत फालेपछि गालामा हात राखेर बुवा अघिअघि र म छसात वर्षे फुच्चे पछिपछि हिँडेको बाल्यकालको घटना सम्झेँ । स्वास्थ्य चौकीका कर्मचारीले बिनासाधन मूढे बलले दाँत फुकाल्दा धेरै रगत बगेको थियो बुवाको । शूलले थलिइरहने बुवालाई मधेश झरेपछि भने केही सञ्चो भएको छ । बिक्रमको अठार बीस सालतिरैदेखि मधेश झर्ने र पहाड फर्किने क्रम चलिरहे पनि पचासको दशकदेखि भने बुवाआमा मधेशमै बस्नुभएको  

नुन तेलका भारी बोकेर आँधीखोलाका किनार हिँडेको यौवनावस्था सम्झेँ । आमालाई सर्पले टोकेर चौधपन्ध्र वर्षे ठिटाले एकडेढ घण्टा दूरीको हेल्थपोष्टतिर बोकेर दौडाएको घटना सम्झेँ । पर्वतको फलेवासमा आइ.कम. पढ्दा छातीछाती आउने भेलसितको लमाएखोला तरेर दैनिक तीनचार घण्टा हिँडेका उकालीओरालीहरू सम्झेँ 

गरिबका छातीका दर्दमा मल्हम लगाउन नसके पनि उनीहरूका दर्दसँग भलिभाँती परिचित छु म । त्यसैले गरिबका नाममा रजाइँ गरेर गरिबको प्रतिनिधि हूँ भन्नेको होइनगरिबहरूकै पक्षमा उभिन मन लाग्छ मलाई । सामान्य जागिरेका रूपमा बसी सरूवा भएर हिँड्दा चिनजान भएकाहरू रोएका घटनाक्रमले गरिब र निर्धाहरूप्रति मेरो सहानुभूति हुँदोरहेछ भन्ने प्रष्ट भएको छ पटकपटक । ठग र कामचोरहरूसँग भने जिन्दगीभर शत्रुता छ मेरो । त्यस्तासँगको शत्रुताले मलाई जीवनमा नराम्रा कामहरूप्रति असीम वितृष्णा जगाएको छ । राम्रा कामप्रति आकर्षण र उर्जा थपिरहेको छ ।

जीवनभर आफूले गरेका मेहनतले इमान्दार र लगनशीलको उपनाम पाउने गरेको जागिरे जीवनका पलहरू सम्झन्छु । आफ्नो स्वभावबाट आर्जित सन्तुष्टिसँग रमाएको छु म । कसैले ठग्न सकेको भाव अनुहारमा फुलाएर मलाई सोझा छौ भनेको थियो एकपटक । मैले सोझो हुँदा गर्व लागेको बताउँदा ऊ आश्चर्यचकित परेको थियो । मैले उसलाई भनेथेँ बाटामा देखिने सबैलाई मैले मान्छे नै देख्छु । निर्धालाई निष्फिक्री धकेल्दै सडकमा डुक्रने मुकुण्डोधारी साँढेलाई पनि चिन्न नसकेर मुकुण्डाको अनुहार केलाउँछु । पछाडिपट्टि चक्कु छुरा लिएर मुस्काउँदै हिँडेका घातीहरूलाई पनि मैले साथी नै देख्छु । अरूलाई लाञ्छना लगाई आफ्नो स्वार्थ साँध्ने अवसरवादीहरूलाई पनि मैले जाती नै देख्छु । त्यसैले त म सोझो छु । तर मेरा मन मथिङ्लमा वक्रचित्रहरू बन्दैनन् । मेरा मुटु कलेजामा पापका घडाहरू फल्दैनन् । मेरा हातले अनेकन षड्यन्त्रहरू रच्दैनन् । त्यसैले त सोझो बाटो समात्दै आफ्नो लक्ष्यतर्फ अगाडि बढिरहेको छु ।

ऊ लाजले भुतुक्क भएको थियो । होइनचतुर छु भन्दै चातुर्यताका प्रमाण पेश गर्ला भन्ठानेको रहेछ उसले ।

साथी बनाइँदैन केबल चिनिन्छ मात्रै भन्ने कुनै विद्वानको भनाइजस्तै मैले केही साथी र थुप्रै घातीहरूलाई चिनेको छु । गधाको बच्चालाई संसारमा सबैभन्दा बढी कृतघ्न मानिन्छ । आमाको दूध खाइसकेपछि आमालाई नै लात्तले हानेर हिँड्ने गधाको बच्चाभन्दा पनि कृतघ्न केही घातीहरू देखेको छु मैले । जुन घरमा हुर्के बसेको छत्यही घरमा आगो लगाउन खोज्ने पराइपरस्तहरू पनि देखेको छु ।

सङ्घर्ष गर्दै मैले पार गरेका अप्ठ्यारा गोरेटाहरूले नै मलाई म बनाएको आत्मकथा सम्झेँ । आइ.कम. पढ्दापढ्दै शिक्षक भई घरबाट एकदिनको बाटो पैदल हिँड्नुपर्ने पर्वत जिल्लाको सीमानाको बनबढे गाउँमा शिक्षक जागिर खान पुगेको थिएँ म । केही समयपछि पर्वत बहुमुखी क्याम्पसफलेवासका मेरा सहपाठी तथा अनन्य मित्र दिवाकर पौडेलजी पनि सहकर्मी शिक्षक भएर गएबागलुङका सुरेन्द्रजीले विद्यालय छाडेपछि । जागिरे जीवनको शुरुवाती दिन र पढ्ने पढाउने रमाइलो कर्ममा लाग्दा एकडेढ वर्ष कसरी बित्यो पत्तै भएन । कहिलेकाहीँ घर आउँदाजाँदा भने लाग्थ्यो घरपायक जागिर खानेहरू धर्तीका धेरै सुखी प्राणी हुन् । शुरूमा जागिर पाए मात्र हुन्थ्यो भन्ने लाग्थ्यो तर पछिल्लो समय सुगम जिल्लाको दुर्गम गाउँको शिक्षक जागिर बोझिलो बन्दै गइरहेको थियो । योग्यताक्रमलाई पूरै लत्याएर गरिएको पदस्थापनाले शिक्षक जागिर खाञ्जरी पोलिरह्यो मनमा । पछिल्लो योग्यताक्रमका शिक्षकहरूको मेरै गाउँमा पदस्थापना भएको थियो भने जागेश्वरजीमलगायत केही अग्रस्थानमा रहेकाहरूको सबैभन्दा टाढा ।

त्यही दुर्गम गाउँ बनबढेमा बसेर मैले प्राइभेट बि.कम.पढेँ । करीब तीन वर्षपछि दिवाकरजीको आफ्नै गाउँमा सरुवा भयो । उनको सरुवापत्र आउँदा म ज्वरोले उठ्नै नसक्ने बिरामी थिएँ । गाउँमा मलाई माया मान्ने थुप्रै आमाबुवादाजुभाइदिदीबहिनी र विद्यार्थी भाइबहिनीहरू छन्तपाईं सरुवा भएको विद्यालयमा जानुस् भन्दासमेत मानेनन् दिवाकरजीले । मलाई पूरा सञ्च भएपछि मात्र उनी रमाना लिएर गए । उनी गएपछि एउटा रिक्तता त भयो नै । उनीभन्दा अझ पहिला पदस्थापना भएको मेरो सरुवा नभएकोमा मनमा एउटा आक्रोश र अत्यास पलाउँदै जानथाल्यो । यही प्रेरक पृष्ठभूमिमा लोक सेवा आयोगको परीक्षा दिने मेरो चाहना बढ्न थाल्यो ।

मसँग भएका केही लोक सेवा आयोगका पुस्तकहरू हेर्दै थिएँ । नेपालको संविधान भने मसँग रहेनछ । कतै खोजेर पाइनेवाला पनि थिएन त्यो दुर्गम गाउँमा । विदा लिएर बेनी वा बागलुङतिर जान पनि पाइएको थिएन 

जेठ महिनाको समय गाउँमा आरुबखडा पाकेको थियो । हामीसँगै भलिबल खेल्ने केही ठूला विद्यार्थीहरूसँग मिलेर म आरुबखडा खान हिँडे । पोखरा बसाइँ सरेका एउटा लाहुरेको घरको पालीबाट एकजना विद्यार्थीले एउटा ससानो पुस्तक निकालेर मलाई दिए । त्यो पुस्तक मेरो अति खोजीको पाठ्य सामग्री नेपालको संविधान थियो । पढिसकेर राखिदिउँला भनेर मैले त्यो पुस्तक लगेँ । भोकमा खाना पाएजस्तो भयो । मैले केही दिनमै संविधानबाट सोधिने सम्भावित सबै प्रश्नको उत्तर सजिलै तयारी गरेँ । साँच्चैतुरुन्त फिर्ता गर्नुपर्ने अरुको पुस्तक छिटै पढिन्छ । आफ्नो पुस्तक पछि पढौँला भनेर थन्क्याइन्छ ।

ना.सु.स्तरको विज्ञापन भएमा परीक्षा दिने मनस्थिति बन्यो । तीनवर्षे स्थायी शिक्षकले खरिदारको परीक्षा नदिने कि भन्दाभन्दै छिमेकी गाउँ डाँडाकटेरीका शिक्षक साथी बलबहादुरजीको जोडदार आग्रहले गर्दा मैले उनीसँगै बागलुङबाट खुलेको बिक्रम सम्बत् २०५३ सालको खरिदारको परीक्षाका लागि फर्म लगाएँ । म उत्तिर्ण भएँ । पोखराकाठमाडौंमा पढ्दै गरेका मलाई चिन्ने साथीभाइले दुर्गम गाउँको शिक्षक मेरो नाम निस्केको होला भनेर विश्वासै गरेनछन् । खरिदार भएर मैले विद्यालय छोड्दा नरुने गाउँले र विद्यार्थी कोही भएन । रूँदै छोडेको त्यो गाउँमा म फेरि फर्केर जान पाएको छैन । सपनामा भने धेरैपटक देखेको छु त्यो गाउँ र त्यहाँका देवताजस्ता गाउँलेहरूलाई ।

सल्लाको जङ्गलको फेदीमा उत्तरतिरको अन्नपूर्णा हिमालतर्फ फर्केर आफू पनि मुस्कुराइरहेको हुन्छ बनबढे गाउँ । दुई मुख्य टोलमा विभाजित गाउँको बीचमा हिमालय प्राथमिक विद्यालय रहेको छ । कलाकारले मिलाएको जस्ता बारीका गरा भएको फराकिलो फाँटको शिरानीमा गुजुमुज्ज घर भएको तल्लो गाउँ छ । फाट्टफुट्ट घरबारीगाईगोठ भएको माथिल्लो गाउँ छ । सूर्योदय हुँदा सूर्य रश्मीको पहिलो स्पर्श पाउने अन्नपूर्णा हिमालको फेदीमा देखिन्छ राम्चे गाउँ । बनबढेको अगलबगलमा रहेका छन् डाँडाकटेरी र नागी गाउँ । यी सबै गाउँहरू माथि श्रृङ्खलाबद्ध जङ्गल छ । चैत बैशाखमा लाली गुराँस फुल्ने र हिउँदमा हिउँ जम्ने उँचो महाभारत पहाडको लेकाली जङ्गल छ ।

तल्लो गाउँबाट डाँडाकटेरीतर्फ जाँदा बाटामा पर्ने ठाडो छहरोछहरोको पानी जम्मा हुने गहिरो तालतालको पानी निस्सृत भएर फेरि बनेको अर्को छहरोछहरोको पानीले ढुङलाई काटेर बनाएको गहिरो खोपिल्टायुक्त खोल्सोओहोरदोहोर गर्दा त्यही गहिरो खोल्सामाथि बनाएको पुलबाट तर्र्नुपर्दथ्यो । फोनको सुविधा नभएको त्यतिबेलाको समयमा जरुरी कामले मलाई भेट्न जानुभएका आमाबुवाले त्यो अँध्यारो खोल्सो देख्नुभएको थियो । मैले त्यहाँ जागिर गरुञ्जेल त्यो डरलाग्दो खोल्सामा होशियार भएर हिँड्नु भनिरहनुभयो उहाँहरूले ।

मभित्रका काँचा ईटालाई पकाएर मजबुत बनायो बनबढेले । फरक चालचलनफरक बोलीचालीका लवजहिमाली स्वच्छता तथा सौन्दर्यताआलुको खानी र सफा दिल भएका मान्छेहरूको गाउँ बनबढे । मैले टेकेका सिँढीहरूको पहिलो सिँढी हो त्यो गाउँ ।

मेरो मानसपटलमा कोरिएका गाउँलेहरू जीतबहादुर दाइसुबेदार काकाजमदार काकाकुबेरजीकुबेरकी आमा र बज्यैगिरूगिरूका आमाबुवाकेशबका आमाबाबुहर्केदाइबुद्धिजीटमबहादुरजीमनबहादुरजीगुञ्जबहादुरजी र उहाँकी आमा । पहिलो स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा एक मतका विरुद्ध सारा गाउँलेको मतले विजयी दिदी । उनको नाम भने बिर्सिएँछु । नाम बिर्सेका तर सम्झनामा रहेका अरू धेरै गाउँलेहरू ….। अनि मेरा केही विद्यार्थीहरू छमबहादुरखुमबहादुरखमबहादुरडुकबहादुरटिलकुमारीविमलाटकमनडममायानौमतीसोममतीकेशबयमबहादुरसेतीमायाबेगबहादुरगमबहादुरमनवीर‚ … । त्यतिबेलाका ससाना भुराभुरीहरू पनि अब त चिन्नै नसक्ने जवान भए होलान् । कहिलेकाहीँ केटाकेटीप्रतिको मेरो माया ममता उम्लन्छ भित्रभित्र

ढुङ्गे भर्‍याङ उक्ली उक्ली

पछ्याउने शिखकी फुच्ची रुबी

कागबेनीको एक दनको बसाइमा

झ्याम्मिने भोटे छिमी टोका

ओखरबोटको विराटबेनीकी दीपा

बनबढेको बेग्बेसामाखुसीकी सीता

वर्षौं पहिले मदेखि

विछोडिएका ती बाल अनुहारहरू

चारपाँच महिना नदेखेकी

आफ्नै घरकी फुच्ची करू

उस्तै होलान् कि सुकोमल अझै

उस्तै होलान् कि चञ्चले अझै

कुरा खेलिरहन्छ मनभरि ।

बनबढेका प्रत्येक घरका सबैलाई चिन्दछु मैले । अहिले सम्झँन खोज्दा कतिको त नाम बिर्सिएछ । नाम बिर्सिए पनि मनको स्मरण द्वारमा उनीहरूको तस्वीर झुण्डिइरहेको छ परिवर्तित समयले छुन नसकेको दुरुस्त उनीहरूकै प्रतिरूप भएर ।

उनीहरूले अगाडि पर्दा सबैले सरभन्थे मलाई । कसैकसैले पिठ््युँ पछाडि बामन सरभनेको पनि सुनिन्थ्यो । बाहुनलाई बामनभन्ने यो उनीहरूको लवज थियो । मगर समुदायका उनीहरूले आफूमध्ये कसैकसैलाई पनि बामनभनेको सुनिन्थ्यो । तर मलाई भन्ने बामनर उनीहरूलाई भन्ने बामनमा फरक हुन्थ्यो । त्यो वक्ताको भावबाट थाहा हुन्थ्यो । म जातै बाहुन । उनीहरूमध्येको बामनछुचोलुसो वा फटाहा मान्छे ।

बाहुनभएर पनि बाहुनमा दरिन नपाएको एउटा रमाइलो घटना छ मसँग ।

सर बुवाले पठाउनुभएको, जनै पूर्णिमाका दिन एकजना विद्यार्थी मेरो कोठाको ढोकामा आइपुग्यो ।

किन होला ?, मलाई कुनै कामले बोलाएका हुन् कि मैले निधो गर्न खोजेँ ।

सरबुवाले जनै माग्न पठाउनुभएको । उसले मोही माग्ने ढुङ्ग्रो लुकाउने गरेन ।

मसँग छुट्टै जनै त छैन नि । म धेरै समयदेखि घर गएको थिइनँ र जनै पूर्णिमाका लागि जनैको जोहो पनि गरेको थिइनँ ।

आज बामन सरले जनै फेर्छन् । जनै लगाए जनै खटिरो निको हुन्छ भनेर बुवाले पुरानो जनै लिन पठाउनुभएको । बुवालाई जनै खटिरो भएको छ । बल्ल स्पष्ट भयो । मैले पुरानो जनै उतारेर दिने विचार गरिनँ । जनै फेर्न नपाएको आफ्नो लाचारी देखाएँ । उ गयो तर मेरो मनमा कुरा घुमिरह्यो । मेरो बाहुनवादको परीक्षण भएझैँ लाग्यो । म फत्रक्क गलेँ पानीपानी भएर । शायद अहिले भएको भए त्यत्रो विश्वासका साथ ढोकामा आइपुगेको मान्छेलाई रित्तो हात फर्काउन्नथेँ होला । बिरामी निको हुने ठूलो तागत हुन्छ रे विश्वासमा ।

प्रेरक व्यक्तित्व महावीर पुनसँग जोडिएको एउटा घटना मेरो शिक्षक जीवनको स्मरणीय घटना हुन पुगेको छ । नागी गाउँको सामुदायिक विद्यालयलगायत आसपासका गाउँहरूबाट विकास र सुधारको थालनी गरेका महावीर पुनको निकै चर्चा हुन्थ्यो गाउँलेविद्यार्थी र शिक्षकहरूबीच । निमाविलाई मावि बनाए । विद्यालयको खेल्नेचौर बढाउन लगाए । विद्यालयमा कम्प्युटर पढाइको थालनी गरे । एसएलसीमा विद्यालयको राम्रो नतिजा आयो । गाउँका युवाहरूलाई खर्चसहित उच्च शिक्षा पढ्न पठाएर गाउँकै विद्यालयमा शिक्षक बनाई रोजगारी सृजना गरे । जडिबुटी खेतीको थालनी भयो । अल्लो उत्पादन प्रवर्धन भयो । चौरीगाई पालनचिज फ्याक्ट्रीको थालनी गरे । बिजुली उत्पादन भयो । गाउँका रीतिथितिबारे सुधारका चर्चा चले । गाउँमा म्युजियम बन्यो । विदेशीहरूबाट विद्यालयलाई अनुदान जुटाए । आदि आदि ।

शिक्षक साथी डमबहादुर सरसँग एकदिन म उनकै गाउँतर्फ लागेँ महावीर पुनलाई भेट्न । हिमाञ्चल माविका अधिकांश शिक्षकसँग चिनजान थियो । उनीहरूसँग मिली शिकार खेल्नेवनभोज जाने र भलिबल खेल्ने पनि गरिन्थ्यो कहिलेकाहीँ । हिमाञ्चल माविमा पाइला टेकेपछि ठूलो खेल्नेचौरआवासीय स्याउले छात्रावासनयाँ विद्यालय भवन र कम्पाउण्ड हेर्दै म डमबहादुर सरसँग गफ गर्दै उनको घरसम्म पुगेँ ।

खोई त महावीर पुन ? सारा नागी गाउँ डुलिसक्दा पनि उनलाई नदेखेर डमबहादुर सरसँग सोधेको थिएँ मैले 

मैले भन्नै बिर्सिएँछु । विद्यालय कम्पाउण्डनेर कागजप्लास्टिक बटुल्दै गेरेको काले त हो नि महावीर पुन । मेरो दाइ । भरे घरमा आएपछि भेटौँला । डमबहादुर सर हाँस्न थाले ।

खाली खुट्टाहाफ जाङ्गे र भाङ्ग्रा लगाएकोनबोली नबोली कागजप्लास्टिक बटुल्दै गेरेको कालोकालो मान्छे त मैले पनि देखेकै थिएँ । विद्यालयको सहयोगी होला भनेर वास्तै नगरी हिँडियो । आखिर म पनि प्रगतिशील सोचाइ राख्न नसक्ने सामन्ती धुपौरे संस्कारकै मान्छे न ठहरेँ ।

भरे महावीर सरसँग भेट भयो । अभिवादन साटासाट र सङ्क्षिप्त कुराकानी मात्र भयो उनीसँग । उनी खानपिनपछि आफ्नै काममा लागे । दिउँसो उनले गरेको कामले प्रभावित भएको म झन् प्रभावित भएँ उनलाई भेटेर । गफले आकासपाताल जोड्नेहरूयसो गरेँ र उसो गरेँ भन्नेहरूभन्दा बेग्लै लाग्यो महावीर पुन । उनले गरेको ग्रामीण विकासले फड्को मार्न थाल्दा म अर्कै दुर्गम गाउँको जागिरे भएर हिँडे । तर उनको कामको प्रगति र उनले पाएको म्यागासेसे पुरस्कारले भने असाध्यै खुसी बनाएको छ मलाई ।

ओखरबोटशिख र गुर्जा गाविसको सचिव भएर मेरो उर्वर उमेर खर्चियो म्याग्दीमा । बिक्रम सम्बत् २०६१ सालमा ना.सु. परीक्षा उत्तिर्ण भई लोक सेवा आयोगकेन्द्रीय कार्यालयमा पदस्थापना भयो मेरो । त्यस्तै बिक्रम सम्बत् २०६२ सालमा अधिकृत परीक्षा उत्तिर्ण गरेपछि हेटौंडा दाङ हुँदै पुनः काठमाडौं आएको पनि धेरै वर्ष भइसकेछ । निर्वाचन आयोग वा अन्तर्गत रहेर संविधानसभा निर्वाचनफोटोसहितको मतदाता नामावली सङ्कलननिर्वाचन आयोगको अर्धवार्षिक पत्रिका निर्वाचनप्रकाशनलगायतका केही महत्वपूर्ण काम गर्न पाएको क्षण सम्झदा एककिसिमको आत्मसन्तुष्टि भएको छ मलाई ।

आयोगका कामहरूमा उत्तिकै लागेर पनि कतिबेला लेख्नुहुन्छ ? सोधेका थिए एकजना साथीले ।

म काम मात्र गर्छु चाकडी चाप्लुसी गर्दिनँ । चाकडी गर्न हिँड्ने समय बचाएर मैले केही आफ्ना कामहरूसमेत गर्ने गर्छु । केही लेख्छुपढ्छु । तर भनेजति लेखपढ गर्न त जागिरबाट अवकास भएपछि मात्र सम्भव होला । उनीसँग भनेको थिएँ मैले ।

सोचाइसँगै घुम्दै फिर्दै म आफ्नै व्यथाहरू असरल्ल भएको मझेरीमाझ आइपुगेँ । त्यहाँ आँसुले भिजेका मेरा पाइलाका एकाध डोबहरू देखिए । ती डोबहरू नियाल्न खोजेँ । डोबहरू पनि त चोटका निशानीहरू हुन् । रग्ताम्मे पाइलाले रङ्गिएका डोबहरू समयको अन्तरालले पुरिनखोजे पनि घाइते पाइला हिँड्दाको पीडा भुल्न सकेको छैन मैले । भूगोलमा कारिएका डोब त पुरिएलान् समयान्तरले तर मन मस्तिष्कमा परेका डोबहरू उधिनिइरहन्छन् । जहाँ एउटा पाइलाको डोब मेटिन्छ त्यहीँबाट अर्को पाइला शुरूवात भइहाल्दछ ।

दुःखका बेलामा दुखेको अतीत मात्र याद भइरहेको थियो । एकान्तमा मान्छेलाई अतीतले बढी सताउँदोरहेछ । विरहमा सम्झिएको अतीतका सुखद र दुखःद दुवैथरि क्षणहरू उत्तिकै पीडादायी हुँदारहेछन् । भरोसा टुटिसकेकाहरूलाई त अतीत झन् ज्यानमारा हुँदो हो । केही रातहरूको तन्द्रामा अतीतका पोकाहरू फुकाएर ताजा चोट बिर्सन खाटा बसेका चोटहरू नियाल्दै थिएँ मैले ।

हुरी बतासमा बदलिने मरूभूमिको पहाडजस्तै कहिले कता त कहिले कता ठडिने अवसरवादीहरू स्वार्थका पछि लागेको पनि देखेको छु । सम्वेदनामा चोट लाग्दा साह्रै छिटो छोइने मेरो मुटुका चोट खाएका मर्महरूको कुनै हिसाब नभए पनि प्रहार भएका छुराका धारहरू सम्झेँ । बलियालाई मुसार्ने र निर्धालाई छप्काउने आततायीका प्रहारहरू सम्झेँ । घाइते बनाएका प्रहारसँग मुस्कुराएको देख्लान् कसैले तर समय अन्तरालले निर्दयी बगरेहरू थलिने दिन पनि आउला भन्ने सोच्दैनन् उनीहरूले । मलाई विश्वास छछप्काउने बगरेलाई चोट नलागे पनि रेटेर मार्दा विषाक्त भएको मासु खाएर उ एकदिन थलिएरै मर्छ । अतीतमा पुगेर घाउहरू कोट््याउँदै ती चोटहरूलाई आलो बनाउँदै थिएँ मैले

पल्टाउँदै जाँदा अतीतका पाटाहरू

देखेर अन्तर्मनका दुख्ने घाउहरू

जिन्दगी नै भेट्टाएजस्तो लाग्छ

दुःखलाई चिन्न खोज्दा

दुःखले पनि चिन्यो भने

जिन्दगी जिन्दगीजस्तो हुन्छ भनेर

आफ्नै जिन्दगी बाँचेजस्तो हुन्छ भनेर

अतीत पल्टाइरहन्छु

आँसु पसिना बगाइरहन्छु

घाउहरू कोट्याइरहन्छु ।

जिन्दगी पीरमा बल्झेको छ । जिन्दगी भीरमा अल्झेको छ । जिन्दगी झिरमा फसेको छ । घरिघरि जिन्दगीका मोडहरू आफै विरुद्ध जान खोज्छन् । आफैभित्रको नराम्रोलाई बहिष्कार गर्न खोज्दा आफैलाई लत्याउनुपर्ने । यसरी गाँसियो जिन्दगीसँग तिनीहरूको नाता । ती पीरभीर र झीरहरूलाई आफ्नै शीरमाथि राख्दै चुपचाप हिँड्नुपर्ने । फेरि जिन्दगीले ती सबैलाई स्वीकार्नुपर्ने । एउटा पीडादायी अटुट श्रृङ्खला । त्यही श्रृङ्खलाले दिएको अभिशप्त जीवन । आँखामा स्वप्नील संसार भएर पनि यथार्थमा अभिशप्त भोगाइ । अभिशप्त हुनुको आत्मबोधले झन् थिल्थिलिएको छु म । तरकिन खुम्चिन्छस् मरिच आफ्नै रागले भनेझैँ भएको छ ।

पाइला पाइलामा काँडाहरू छन् । पैतालामा काँडा बिझ्दा मुटुमा दुख्छ । मस्तिष्कमा चस्किन्छ । मन रक्ताम्मे भएर आँखाबाट रगतका आँसु झर्छन् । त्यही रगतका आँसु चुसेर काँडा फुल्ने बोट झन् तङ्ग्रिन्छ र स्व खिइँदै जान्छ । स्वभित्र अङ्कुरित नवीन पालुवाहरू ओइलाउँदै जान्छन् । मस्तिष्कमा मधुर झङ्कारहरू सुनाउने एकतारे चँुडिन्छ । अनि जतासुकै कोलाहल मात्र सुनिन थाल्दछ । पीडा र सम्झनाहरू थन्क्याएर सुत्न सकेको थिएन मन । कहाँ कोसँग फुकाउनु खाँदिएर गुन्द्रुक परिसकेका दुःखका तीताअमिला र टर्रा स्मृतिहरू । कसलाई देखाउनु जीवनका अँध्यारा नेपथ्यहरू । कसरी उचालिरहनु जीवन जगका मक्किएर ढल्नै लागेका मटानहरू । फेरि संसारमा दुख सबैलाई देखाउने कुरा पनि त होइन नि ।

जलिरहेछ दिल धुवाँ नदेखिँदै

दुखिरहेछ कतै घाउ नभेटिँदै

रगत बगे बरू चोट देखिँदो हो

आँसु खसी झन् यो के भयो ?

जलिरहेछ दृश्य आँखामा बिझ्दै

फुटिरहेछ मुटु धड्कनमा रूँदै

छाती फुटे बरू घाउ देखिँदो हो

नील घाउ परी जीवनै थलियो ।  

घाउहरूका माझमा एउटा अर्को घाउ थपिएको छ । चोटमाथि चोटपीडामाथि पीडा । घाउ सिलाएका पाटाहरू च्यातिन खोज्छन् घरिउप्किन खोज्छन् घरि । केबल सहने शक्ति नहराएकोले मात्र थपिएका घाउको पीडाको चित्कार अरूले नसुनेका हुन् । रूँदै कराउँदै हिँडे पनि के भयो भन्ने हुँदैन कोही । हाँस्दै हिँडे पनि किन हाँसेको सोध्ने हुँदैन कोही । संसार आफ्नै धुनमा मस्त छ । दुःखका बेला विपतबाट जोगिन उपाय दिनेहरूअगाडि पर्दा एउटा र पछाडि अर्कै कुरा नगर्नेहरू मात्र सच्चा आफन्त हुन्सच्चा साथी हुन् । पीडा भुल्न पीडैको सहारा लिँदै थिएँनर्सको बोलाबटले झस्केर उठेँ ।

अचानक ब्लडप्रेसर बढेकाले यो औषधि ल्याउनुस्, चिट दिँदै नर्सले भनेका शब्दले कतै चसक्क बिझेझैँ भएको थियो ।

एकदिन बिहान कालो चिया लिएर सघन उपचार कक्षमा पुग्दा एउटा बेडमा पल्टेकी नीलो शरीर र काला ओठ भएकी बिरामी देखेर झस्केँ म । बेडमा उसको शरीरभन्दा टाउको अलि तल थियो । शरीरमा कुनै हलचल नै नभएकोले मैले राधालाई नजरले सोधेको थिएँ । उसले मुख बिगार्दै बितिसकेको भन्ने इशारा गरेकी थिई । अस्पतालमा सुत्केरी गराउन ल्याएकी महिलाको मृत्यु भइसकेको रहेछ । अप्रेशन गरिहाल्नुपर्ने स्थितिमा ढिला भएकोले उनको मृत्यु भएको भन्दै आफन्तहरूले आन्दोलनसमेत गरेका थिए । अस्पताल प्रशासनले पछि उनका दुईवटा सन्तानलाई उच्च शिक्षासम्म पढाइदिने भनेर आन्दोलन साम्य भएको थियो ।

एकदिन राधाले खाना खान मन नभएर दाल मात्र ल्याइदिन भनी । दाल लिएर आउँदै थिएँ । फेरि लामादाइले उनकी श्रीमतीलाई समेत खाना ल्याइदिने जिम्मा लगाएर दुईघण्टाका लागि आफ्नी छोरी भेट्न गइसकेका थिए । गेटमा बसेकी पालेले भने कसैलाई पनि भित्र पस्नै दिइनन् । ती पालेले खाना ल्याएमात्र भित्र जान पाइन्छ भन्ने जिद्दी गरिरहिन् । ड्युटी गरिरहेको दाबी गर्ने तिनलाई दाल पनि खाना नै त हो भनेर मैले सम्झाउँदै थिएँटुप्लुक्क आइपुगिन् उनै डा. सरोजा । उनको बिरामी आइसियुमा छ जान देऊ, भनेपछि बल्ल छोडिदिएकी थिइन् ती गार्डले ।

यस्ता अस्पताल उपत्यकामा कम्तीमा पाँचसातवटा भएमा शायद चिचिले बच्चाका आमाहरू अकालमै मर्ने थिएनन् होला । तैपनि एकदिनमा सयौँ बिरामीलाई निको पार्ने यो अस्पताललाई श्रद्धाको प्रतिमूर्ति मान्नुमा कुनै शङ्कै छैन । अस्पतालका डाक्टरदेखि सहायक कर्मचारीसम्म सबैलाई ईश्वरकै रूपमा लिने गरेको छु मैले । म र मजस्ता धेरै मान्छेको जहाजै डुब्न लाग्दा जहाजसँगै बन्दरगाहमा उतारिदिएको छ यो अस्पतालले ।

तपाईं काठमाडौं आउनु भएकोले भाउजु बिरामी हुँदा सजिलै बचाउन सक्नुभयो । राधाको अप्रेशन भएको खबर पाएर एकजना सहकर्मीले सान्त्वना दिँदै भनेका थिए ।

धेरै सन्तान जन्माउनु महिलालाई दुःख दिनु हो र महिला दुखी भएमा परिवार कसरी सुखी हुनसक्छ ?, एकजना बूढी डाक्टरले भनेकी थिइन् ।

महिलाहरूका पीडाका बारेमा केही जानकारी गराइदियो यो अस्पतालले । महिलाहरूका गर्भावस्थाका जोखिमसन्तान जन्माउँदाका पीडा पुरूषहरूले पनि थाहा पाउन जरूरी हुँदोरहेछ । मुलुकका नीति निर्माण गर्नेहरूका साथै हत्याराबलात्कारीअपहरणकारीजस्ता महिलाका सम्वेदनामाथि खेलबाड गर्नेहरूलाई पनि बेलाबेलामा अस्पतालको अवलोकन गराउनुपर्ने ठानेँ मैले । शायद महिलाका मर्मस्थलका आर्तताहरू थाहा पाएर सुध्रने थिए कि त्यस्ता मान्छेहरू पनि ।

अस्पतालमा विष्णुबुवा नीलकण्ठभाइ राजु र आमाले मलाई पालो दिएर धेरै सघाएका थिए । उदयपुरे लामादाइकस्केली घलेदाइ र धादिङका दुईजना भाइहरूले पनि विशेष सहयोग र सहानुभूति राख्दथे । एउटा बिरामीको कुरुवा औषधिखानारिपोर्ट वा अन्य कामले बाहिर निस्कन पर्दा अर्को बिरामीको कुरुवाले सहयोग गर्ने गरेका थियौँ । कार्यालयका साथी हिराजीले भाउजुलाई पठाइदिएर उहाँ कुरुवा बसेको दिन म कोठामा गएर केही लुगाकपडालगायतका सामान ल्याउने फुर्सद पाएको थिएँ । छिमेकी शीला बहिनीले भेट्न आउँदा सापट दिनुभएको रकमले मलाई धेरै सजिलो भएको थियो । घरभेटी म्याडमले छोरी स्वीकृतिलाई लिएर बिरामी भेट्न आउनुभएको थियो । कोठामा हुँदा खेल्ने आफ्नी दिज्यूसँग केहीबेर भुलेकी थिई छोरी । विदाका लागि कार्यालयमा फोन गर्दा राजेन्द्र शर्मा लौडारीले बिरामीको स्वास्थ्यलाभ गरी फर्कने शुभकामना दिनुभएको थियो । शारदा प्रसाद त्रिताललक्ष्मीशरण घिमिरेयुवराज कटेलभोला खकुरेलझपेन्द्र लामिछानेरामप्रसाद आचार्य आदिले आत्मियतापूर्वक बिरामीको स्वास्थ्य स्थिति सोध्दा साँच्चै मन केही हलुका भएझैँ लाग्थ्यो ।

करीब पाँच वर्षदेखि आयोग र अन्तर्गत काम गर्दा थुप्रै श्रद्धेय अग्रजहरू र आत्मीय साथीहरू मेरा शुभ चिन्तक हुनुभएकोरहेछ । उहाँहरूले सोधिरहनुहुन्थ्यो कार्यालय जाँदाआउँदा । मेरा समस्याहरूमा सहयोग गर्ने र भलो चिताउनेहरूमध्ये केही नामहरू युवराज गुरागाईंशिवशरण थापामगरश्याम महर्जनप्रेम निरौलालक्ष्मी अर्यालरूकमिणी अधिकारीदिनेश घिमिरेचुरामणि पन्थीऋषिराम भुसालगोपाल बगालेविशकसेन ढकालराजेन्द्र पोखरेलशिवओम भण्डारीईश्वरी पन्थीप्रकाश भण्डारीसुशीला श्रेष्ठकुसुम बज्राचार्यमाधव फुँयालकृष्णराज वाग्लेऋषिराज शर्माआत्माराम खनालराधा धरेलममता मल्लहरिप्रसाद जोशीप्रदिम्न उपाध्यायनवराज नगरकोटीसम्पूर्ण महर्जनलगायत आयोगका सबै सहकर्मी कर्मचारी साथीहरू । केही साथीहरूको नाम उल्लेख नगरे पनि उहाँहरूको सहयोग र सद्भाव चित्रगुप्तले भन्दा व्यवस्थित अभिलेखमा सुरक्षित राखेको छु मैले ।

यसरी एकदुईजनाले मात्र होइननिर्वाचन आयोगका सम्पूर्ण कर्मचारीहरूसिङ्गै अस्पताल र आफन्तहरूले सहयोग र सद्भाव राखेका थिए । सहजमा वास्ता नगरे पनि विपतमा सहयोग गर्ने र भलो चिताउनेहरू नै शुभ चिन्तक हुन् । ठूलो मान्छे हूँ भन्ने केहीले भने सोधपुछसम्म गरेनन् ।

घरिघरि घोत्लिन्छु म ठूलाबडा भनाउँदाहरूका विषयमा । मैले धेरैथरि मान्छे देखेको छु । धेरैथरि मान्छेलाई पढेको छुभोगेको छु । स्वघोषित ठूलाबडा भनाउँदाहरू । निकै ठूलाठूला काम गरेँ भन्नेहरू । उच्च प्रशासक भए पनि निच व्यवहार गर्नेहरू । माथिल्लो पदमा बसेर भ्रष्टाचारीसँग मिलेमतो गर्नेहरू । शीर्षस्थानमा दर्ता भए पनि मुलुकको हित नसोच्नेहरू । ठूल्ठूला भनाउँदासँग उठबस गरेँ भन्नेहरू । विदेशी गैह्र सरकारी संस्थामा जागिर खाएर धेरै भत्ता सुविधा पाएर समाज सेवा गरेँ भन्नेहरू । व्यापार व्यवसायमा नक्कली भ्याट बिल बनाउने र कर छली गर्ने गराउनेहरू । घोटाला गरेर संस्था नै डुबाउनेहरू । कालोबजारी र मिसावट गरेर रातारात काठमाडौंमा महल ठड्याउनेहरू । शुद्ध शाकाहारीहरूका लागि बोसोमा मिठाईं पकाउनेहरू । भ्रष्टाचारमा लिप्त भई मनभरि पाप लिएर बिहान बेलुका पूजापाठ गर्नेहरू । तिनीहरूलाई नजिक वा टाढाबाट नियाल्छु कहिलेकाहीँ ।

त्यस्तै ठूलाबडा भनाउँदाहरूलाई लक्षित गरेर बादशाहको नयाँ परिधाननामक कविता लेखेको थिएँ मैले । त्यो कविता कर्मचारी मिलन केन्द्रम्याग्दीबाट प्रकाशित हुने पुष्पाञ्जलीनामक वार्षिक पत्रिकाका लागि वि.सं २०५९ सालमा लेखेको हूँ । मिलन केन्द्रम्याग्दीका एकजना पदाधिकारीले एकदिन ब्याडमिन्टन खेलेर फर्कंदै गर्दा बाटैमा मलाई बोलाएर भनेयो कवितामा त राजालाई घोचपेच गरेको रहेछछाप्न सकिँदैन । बादशाह शब्द झिके मात्र छाप्न सकिन्छ ।

मैले भनेँहजुरहरूले अनर्थ लगाउनुभएछ । यसमा राजालाई होइनमुलुकका पुरातन प्रक्रिया र पद्धतिबाट समाजलाई दुहुनु गाई बनाइरहेका केही ठूलाबडा भनाउँदाहरूलाई घोचपेच गरिएको छ ।  बादशाह शब्द राखे पनि वा त्यसलाई झिकेर फटाहाहरूको जाली रूमाल भन्ने शब्द राखे पनि यसले भ्रष्टहरूलाई नै घोचपेच गर्दछ । तर म कविताका कुनै पनि शब्द झिक्दिनँ । बरू म कविता नै छपाउँदिनँ ।

त्यो कविता वि.सं २०६६ साल फागुन १५ गते दाङबाट प्रकाशित हुने नयाँ युगबोध राष्ट्रिय दैनिकमा छापियो । कविता यस्तो थियो

बाहिर भीडभाड र प्रतिक्षा

भित्र गफगाफ र ठट्टा

ढोकामा टाँगेर व्यस्त

के गर्दैछन् यिनीहरू

काम बाँडफाँड प्रमाण जोडजाम

बगलीमा छुरा मुखमा रामराम

कामकर्तब्यमा अर्पित

राष्ट्र सेवामा समर्पित ।

बिहान बेलुका दुईचार घण्टा

खुला छन् झ्याल बन्द ढोका

बेहिसाब हिसाब किताब

बहिखाताको अग्लो खात

नाफा कम वित्तिय घाटा

के गर्दैछन् यिनीहरू

कागजी बाघ गोटी चाल

ओटीमा हर्षित

राष्ट्र सेवामा समर्पित ।

गालीगलौज धारे हात

हिलो छ्यापाछ्याप स्वार्थी जात

घोषणापत्र र विधान

लोचदार संविधान

के गर्दैछन् यिनीहरू

पार्टी सङ्गठन सत्तामोह

प्रजातन्त्रमा अनुदित

राष्ट्र सेवामा समर्पित ।

चुक्लि चाकडी

ध्यानमग्न भजनगान

पुरस्कारको आवेदन

कथित कविता र  स्तुतिगान

कविताकै चाङमुनि भूपिहरूलाई पुरेर

के गर्दैछन् यिनीहरू

ढाकछोप हेराफेरी

दिग्भ्रमित ठालु निर्देशित

राष्ट्र सेवामा समर्पित ।

यिनीहरू सबै जुटिरहेछन्

थापेर माकुरे तान

जनता भैसके हैरान

कतिन्जेल राख्ने हो प्रर्दशनीमा

बादशाहको नयाँ परिधान ।

पुष्पाञ्जलीको अघिल्लो अङ्कमा छापिएको थियो जिन्दगीको मूल्य नामक मेरो कविता । त्यसबाट खुसी भएका पत्रिकाका संरक्षक स्थानीय विकास अधिकारी बिन्दुराज सिग्देलको हौसला पाएर मैले दशाहको नयाँ परिधान लेखेको थिएँ । जिन्दगीको मूल्यका एकदुई हरफ

कोरा कागजको अभिलेख छ जिन्सी श्रेस्तामा दाखिला छ

बिनादाखिला यो जिन्दगी कसिङ्गरमा मिल्किरहेछ

डेबिट क्रेडिटमा सन्तुलित भई हर हिसाबको मूल्य छ

बिनामूल्यको सस्तो जिन्दगी मिन्हासरी भइरहेछ । ….

ठूलाबडा भनाउँदाहरूले धेरैजसो त खुसामद नै गरेको देखिन्छ । मिटिङचियापानभेटघाटवक्तव्यबाजीउद्घाटनरीसरागप्रतिशोध । अफिस आउँदा गाडीबाट झर्दासमेत तिनिहरूको ब्रिफकेश अरूले नै बोकिदिन्छन् । तिनीहरूले पिउने पानीसमेत अरूले नै गिलासमा राखिदिन्छन् । तिनीहरूले बोल्ने भाषण अरूले नै लेखिदिन्छन् । स्वार्थवश अर्कैको इशारामा अर्कैलाई फाइदा हुने कुरा गरिरहेका हुन्छन् । चाटुकारिताका भरमा अर्कैका कुरा गरेवापत तिनीहरू पुरस्कृत हुन्छन् । मलाई लाग्छतिनीहरूले परिणाममा केही पनि गरेका हुँदैनन् । अरूले गरेका कामलाई आफूले गरेको भन्दछन् । काम गर्नेहरूले आफूले गरेको काम पनि तिनैले गरेको मानिदिन्छन् र उनीहरूकै पछि लाग्छन् । अनि कामचोरहरू सक्कली कर्ता ठहरिन्छन् ।

एउटा पाटीपौवा कसले बनायो भन्दा कुनै ठूलाबडाको नाम आउँछ । जनताबाट उठेको चन्दाजनताको श्रमदान र कालीगढहरू ओझेलमा पर्छन् । एउटा ईटा पनि नछुने बरू निर्माण सम्पन्न भएपछि उद्घाटन गर्न जाने मान्छे निर्माणकर्तामा दरिन्छ । झूटो इतिहास रचिन्छ । काला अक्षरका कलङ्कहरूलाई स्वर्णाक्षर भएको घोषणा गरिन्छ ।

तिनीहरू साना भनिने मान्छेहरूकै रगत पसिनाले मोटाएका हुन् । गरिबकिसान र साना भनिनेहरूकै हड्डीको लेप लगाएर अनुहार चम्किलो बनाएका हुन् । पैसाका लागि मात्र पाइला चाल्नेकुरा मात्रै ठूला गर्ने र सानातिना कामसमेत गर्न नसक्ने तिनीहरूप्रति उतिसारो विश्वास छैन मलाई । तिनीहरूको कुतर्कपूर्ण कुरा सुन्दा वान्ता हुन खोज्छ मलाई । बरू मलाई किसानगोठालाखेतालाभरियामजदूरशिक्षकविद्यार्थीछापामारसैनिकप्रहरी र साना कर्मचारीहरूका भोगाइहरू पढ्नसुन्न र बुझ्न मन लाग्छ । तिनीहरूलाई सच्चाकर्ताका रूपमा पुज्न मन लाग्छ ।

अस्पतालबाट डिस्चार्ज भएपछि नवौं दिनमा कोठामा पुगिएको थियो । एकातिर छोरीअर्कातिर बिरामीको स्याहारसुसार र बेफुर्सदिलो जागिर । सबै एकैचोटी गर्नुपर्ने प्राथमिकताका कामहरू र कुरुवा बस्नुपर्ने स्थितिमा म हैरान भएको बेलामा भतिजी अर्चनाले केहीदिन सहयोग गर्नाले म कार्यालय जानसमेत पाएको थिएँ ।

कामभन्दा ठूलो अर्को कुनै पूजा छैन । कामभन्दा ठूलो अर्को कुनै सन्तोष छैन । कामबाट उत्प्ररित हुन सक्नेहरूलाई काम कहिल्यै धेरै लाग्दैन । हलीदाइका पसीना पोखिएका खेतहरूकामीदाइका आरनहरूभरियाका पदचिन्ह छरिएका गोरेटाहरू मैले देखेका सबैभन्दा ठूला तीर्थस्थलहरू हुन् । ठेला उठेका हातहरूधाँजा फाटेका कुर्कुच्चाहरूपसिनाले निथु्रक्क भिजेका निधारहरू मेरा जीवन दर्शन हुन् । मेरा गुरूहरू हुन् । मेरा आस्थाका धरोहरहरू हुन् ।

कामैकामको तनाव नै मेरो जीन्दगी हो । थोरै काम गरेर वा कामै नगरेर असल ठहरिनेहरूले वर्षौंमा नगर्ने काम एक वर्षमा गर्नुपर्दछ मैले । अधिकारको मात्र कुरा गर्ने र कर्तब्य बिर्सनेहरूको जमातबीचमा रहेर पनि आफ्ना मान्यताहरू जोगानुपर्छ मैले । मेरो जीवनको उर्जाका लागि अत्यावश्यक शर्त हो काम । कुनै दिन कामदेखि बिमुख भएँ भने सकिन्छ मेरो जिन्दगी ।

छोरी साथमा नहुँदाकोे निरसतामा केही दिन बिताएपछि काकीले छोरी लिएर आएकी थिइन् । विपतका दिन विस्तारै सकिएर हाम्रो परिवारमा पुनर्मिलन भएको थियो । खुसीका दिनहरू पुनरावृत भएका थिए । झरीपछिको आकासझैँवियोगपछिको मिलनझैँ भएका दिनहरू कहिलेकाहीँ त सपना हुन् कि भनेझैँ लाग्छ । मनबाट अलिअलि मेटिँदै गइरहेका सम्झनाका पानाहरू हावामा बतासिन्छन् । मनका विदीर्ण कुनाहरूबाट एउटा झुसिलो ओस गन्हाउँछ । सपनाबाट ब्युँझदा फेरि बिरामी जीवन सङ्गीनीसँग प्रसुति गृहमा त हुन्न म ? एउटा डर सधैँलाई साँचिएछ । आफूले आफैलाई झक्झक्याएर आफूले आफैलाई चिमोटेर विपनामै रहेको निधो गर्छु । त्यस्तो विपत सपनामा पनि नपरोस् कसैलाई भनेर प्रार्थना गर्छु ।

समस्याहरूको सिङ्गोे युगझैँ लागेका ती दिनहरू सम्झदा मनमा झिरहरू बिझेझैँ भइरहन्छ ।  मनमा गडेका खिलहरूमा खिया लागेर कटकटी दुखेझैँ भइरहन्छ । मन मुटुका चोट सहने जोर्नीहरू छियाछिया भएझैँ लाग्छ । तर एउटा उत्साहएउटा जीवन आदर्शले चलाइरहेछ जीवन– 

चल्दाचल्दै ठप्प भए उर्जाका मियाहरू

खुसी दली फालिदिन्छु जिन्दगीका खियाहरू  

चस्कीचस्की बिझे पनि विपतका झिरहरू

आँसुले पखालिदिन्छु जिन्दगीका पीरहरू ।

मेरा चोटपीडाआँसुपसीना र रगतहरूको कुनै लेखाजोखा नै छैन । संयोगवश सुरक्षित छरिएका हजारौँ पाइलाका डोबहरूमध्ये एकाध डोब मात्र नियालेको हूँ । अचेल जीवन पनि कयौँ संयोगहरूको आशिर्वाद भएको छ । कयौँ वियोगहरूको प्रहारबाट छलिँदै बाँचेको अपवाद भएको छ । केही आशाका त्यान्द्राहरूमा झुण्डिएको छ । केही निरासाका खोपिल्टाहरूमा चोपलिएको छ । र तसम्मुख भएका खाडलहरू फड्कन एककदम पछि हट्दा अघि बढ्ने शक्ति सञ्चय हुन्छ भन्ने ज्ञात भएको छ । यात्राका क्रममा आउने केही दुखान्त र पीडादायक दुःस्वप्नहरू पन्छाउँदै अघि बढ्ने प्रेरणा प्राप्त भएको छ ।

हिँड्नै नसक्नेहरू कछुवाको कथा रट्छन् र खरायोलाई उछिन्ने प्रपञ्च रच्छन् । अडिनै नसक्नेहरू दौडेर चिप्ली खस्छन् र खरायोको अनुसरणले चिप्लिएको भनेर दोष लगाउँछन् । धेरै उफ्रनेहरूको सूचीमा भ्यागुतोको नाम आउँछ । घस्रनेहरू नामुद धावक कहलिन्छन् । तर एकछिन सुस्ताए पनि हजारौं माइल कुद्न सक्ने खरायोको नामै आउँदैन । यो मेरो परिवेश हो । हाम्रो संस्कार हो ।

म त अनवरत शिखरउन्मुख पाइलाहरू नियाल्न चाहन्छु । तिनीहरूकै पदचिन्ह पछ््याउँदै यात्रा गर्न चाहन्छु । गतिसङ्घर्ष र बेचैनी पैदा गराउने तिनै पदचिन्हहरूको आहट सुन्न चाहन्छु । कुद्दा थकाइ लाग्छ कहिलेकाहीँ तथापि थकाइ बिर्सन विश्रामै विश्राम चाहन्नँ म । विमुख फर्कन्न चाहन्नँ म । शिखरको यात्रा त छँदैछ । शिखर चुम्ने रहर पनि उस्तै छ । शिखरको यात्रालाई भोकप्यास र विश्रामसँग सम्झौता गर्दिनँ । खाल्डाखोबिल्टा र डोबहरूमा हिँड्दा खिइँदैनन् मेरा पाइलाहरू । चोटले मोडिँदैनन् मेरा पाइलाहरू । आवाजले तर्सिंदैनन् मेरा पाइलाहरू । मेरो यात्रा अनन्त छ । मेरो यात्रा अनवरत छ ।

 (स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

One Response to संस्मरण : आँसुले भिजेका पाइलाहरू

  1. बाबुराजा मानन्धर says:

    स‌स्मरण मार्मिक लाग्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *