कविता : जुन तारा नढाकिदेऊ

~निर्मला अवस्थी~Nirmala Awasthi_1

नढाकिदेऊ बादलु गगनलाई नढाकिदेऊ
खुल्न देऊ सगरभरी जून तारा नढाकिदेऊ

टुकी बनी आउँछु म तिमी पर्खि बसिरहनु
भनेको हो जूनले मलाई तिमी कहिल्यै नआत्तिनु
सितारा लिएर आउँछु म तारा मलाई भन्दै थियो
हेर्दा हेर्दै सगरमा तिमीले सबै ढाकिदियौ।

मलाई भेट्न आउँथ्यो रमाउँदै जून आँगनभरी
थाकेको मन सुस्थाउँथ्यो हेरेर तारा आकाशभरी
बोकी ल्याउंछु शितलता जून मलाई भन्दै थियो
हेर्दा हेर्दै सगरमा तिमीले सबै ढाकिदियौ।

आउँदै थियो कि? जून यहाँ बीच बाटोमै रोकियो
टलपल गर्ने तारा पनि बादलभित्रै छोपियो
चम्काउँछु म तिम्रो जीवन तारा मलाई भन्दैथियो
हेर्दा हेर्दै सगरमा तिमीले सबै ढाकिदियौ।

मायालु लाग्छ जून मलाई हेरी रमाउँछु सधैभरी
थाक्दिन कहिल्यै गनेर चम्किने तारा आँखाभरी
म आउने बाटो हेरीरहनु जुन मलाई भन्दैथियो
हेर्दा हेर्दै सगरमा तिमीले सबै ढाकिदियौ।

कुरी बस्छु आउँछ जून टुकी बनी मलाई लिन
अध्यारोमा बाटो देखाई सधै मलाई साथ दिन
तारा पनि आउँदैहोला खोज्दै मलाई त्यसै गरी
सिताराले सजाउन मेरो जीवन सधैभरी।

नढाकिदेऊ बादलु गगनलाई नढाकिदेऊ
खुल्नदेऊ आकाशभरी जुन तारा नढाकिदेऊ।

April 24 2010

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.