नियात्रा : हातमा गुराँस मनमा माया

~भेषराज रिजाल~

गोठीकाँडाका रमणीय डाँडाकाँडा हेर्दै सिद्धपाइला पुगेपछि एकछिन रोकिएर हेरेथ्यौँ सुर्खेती सेरोफेरो । समथर सुर्खेत उपत्यका नियाल्दै टिपेथेँ मैले दुईचार थुङ्गा गुराँस । गुराँसको रङ जीवनको रङ जस्तै लाग्छ मलाई । सलक्क परेका हरिया पातसितको गुराँसको थुङ्गो समातेपछि कलम कापी निकाल्न मन लागेथ्यो मलाई । र, सोचेथेँ मनमनै, मेरो उमङ्ग र उत्साह त प्रकृतिको उपहार पो रहेछ ! ‘स्वच्छन्दरूपमा प्रकृति विचरण गर्न पाए कलुषित सहरले दागेको मनको चोट पनि निको हुने रहेछ’, आकासस्पर्श गरिरहेका डाँडाकाँडाहरूसँग साउती गरेथेँ मैले ।

राता नाङ्ला, रानीमत्ता र गुराँसेका डाँडैडाँडा कुद्दा पारिपारि हिमाल छरिए अग्ला चुचुराहरूमा । निश्दाग प्रकृति हेर्ने चाहनामा भने ठेस लागिरहेथ्यो । जताततै देखिएथ्यो अतिक्रमित प्रकृति । वनजङ्गल मासिइरहेछ । भत्किरहेका पाखाहरूमा झन् बढिरहेछ मान्छेको विध्वंश । आयातित प्लास्टिक, बोतल छरिएर कुरूप भइरहेछन् गाउँघर । त्यो भन्दा बढी क्षतविक्षत र कुरूप भइरहेछ, संस्कार र सोच । चालचलन, खानपिन, रहनसहन, एकता, सद्भाव, सहकार्य, सबै गइरहेछन् मक्किएर, खिइएर । यो सब सहन नसकी निर्दोष प्रकृतिले दारुण चित्कार गरेझैँ लागिरहेथ्यो ।

साँघुरा घुम्ती र जम्काभेटहरू पुनरावृत्त भइरहे । दाउरा बोकेका भाइबैनीहरू, गुराँसका थुङ्गा देखाउने नानीहरू आइरहे, गइरहे । बाटैभरि बिरामी बुबाको सम्झना आइरहेथ्यो । आमाले फोनमा अलि ठीक भएको जानकारी दिनुहुँदा चहर्‍याएको घाउमा मल्हम लगाएझैँ भएथ्यो । बुबालाई भेटेर मात्र हुर्रिएथेँ हिजो बिहान घरबाट अनि हाम्रो टोलीलाई कोहलपुरमा भेटेर सुर्खेत आएर बसिएथ्यो । प्रसङ्गवश सहयात्रीले सोध्नुभएथ्यो चौरासीवर्षे मेरा बुबाको बारेमा र आराम हुँदै गएको खबर सुनाउँदा हल्का भएथेँ म झन्झन् । लागेथ्यो, हरदम साथ रहने प्रथम सांसारिक विषय आफ्नाप्रतिको माया र समर्पण नै रहेछ, आफ्नाको साथ चाहिँदो रहेछ खुसीमा पनि, दुःखमा पनि ।

गाइबान्नादेखि बिग्रियो बाटो । देखिँदै थिए, बर्खेपानीका एमानका घैंटाहरू । स–साना गह्रा र झपुडीहरू देखेर मधु सर बोल्नुभएथ्यो, मुलुकको विकास र वास्तविकताबारे । हरेक विषयमा गहन जानकारी राख्ने र सहयात्रीसँग सरल व्यवहार गर्ने मधु सरसँग तुलनात्मक लाभयुक्त बाली र बाली विविधीकरणलगायतका विषयमा भएथे लामा लामा कुराकानी ।

नसप्रेको गहुँबारीभित्र देखिएथे केराउका मन हर्ने गुलाबी फूल । अर्गानिक भए नसप्रेकै भए पनि जाती, विषादीप्रति रोष प्रकट गरेथेँ मैले । घरको धुरीमा राखिएका सिउँडी र त्रिशुलतिर पनि गएथ्यो सबैको ध्यान । चट्याङ पर्दा घर जोगाउने परम्परागत काइदा होला, अनुमान गरिएथ्यो । ‘अन्धानुकरणले कतिपय विकृत हुन पुगे पनि हाम्रो संस्कृति र चालचलनमा वैज्ञानिकता छ’, मनमनै बोलेथेँ म, ‘ज्ञान विज्ञान सम्भ्रान्तहरूको निजी पुस्तक हो, जुन गरिबहरूलाई त छुनेसम्मको स्वतन्त्रता छैन भने जसरी व्यवहार गर्छन् सहरियाहरू । तिनलाई के थाहा, ज्ञान विज्ञानको उद्गम यस्तै शान्त झुपडीबाट भएको हो । मुलुक सपार्ने खास सपना त सहरभन्दा गाउँसँग हुन्छन् ।’ झुप्रा–झुप्रीयुक्त गाउँघरको सजिव चित्र झन् सजिएथ्यो मनभित्र ।

नाङ्गा भुतुङ्गा भाइबैनीले फेरि देखाए गुराँसका सुन्दर थुङ्गाहरू । मैले ठम्याउन सकिनँ, ती केटाकेटी फेरि अर्को ठाउँमा पुगे वा मेरो मनमस्तिष्कमै बसेछन् सदाका लागि ।

गाडीको हर्नले एउटा कोलाहलयुक्त आवाज ध्वनित भयो । निरीह र गतिहीनहरूले ध्वनिको कम्पनतिर नजर उचाले । शायद साँघुरो सडक किनार छोडेर हलचल गर्न नसके पनि दिशाबोध हुन गयो तिनको हृदयमा । हातका गुराँसका थुङ्गा हल्लाए तिनले, मानौँ तिनले गर्न सक्ने त्यति नै हो । त्यो सब वेवास्ता गर्दै गाडीका निर्जीव पाङ्ग्रा अगाडि बढे । ती केटाकेटीको अनुहार विदीर्ण भयो । त्यो संवेदना कुल्चेर मेरा चेतनाका तरङ्गहरू पनि अन्यत्र मोडिए, जसरी अग्रगामी ठहरिन कथित परिवर्तन धारण गर्दै समस्याप्रति आँखा चिम्लेर छिटोछिटो कुदिरहेछ वर्तमान ।

हृदयस्पर्शी दृश्य देखेपछि आँखा चिम्ले पनि छोइँदोरहेछ अन्तरहृदयमा निरन्तर । हृदयमा छुरा जस्तै छोइने घटनाले पनि सत्तासिनहरूलाई भने छुँदैन पटक्कै । सत्ताको अपारदर्शी पर्दाले छेकिएपछि केही देखिँदो सुनिँदो रहेनछ शायद । सत्तामा पुग्नु पहिले नै तिनका मुटु नदुख्ने फलाममा फेरिँदा रहेछन् । प्रकृतिसँगको सामिप्यताले मनमा जति आनन्द दिइरहेथ्यो, निरीह नागरिकका दिनचर्याको अवस्थाले बनाइरहेथ्यो उति नै मर्माहत पनि । सत्ताको खेलमा मग्न भई मुलुकलाई दुरावस्थातर्फ धकेल्नेहरूप्रति आक्रोशित भइरहेथेँ म ।

घोडाबास ओर्लेर तल झर्दै थियौँ, उत्तर फर्केको पाखोबाट देखियो डाँडामा एउटा बजार । ‘त्यो बजार दैलेख नै हो कि ?’ स्वाभाविक जिज्ञासा उब्जिएथ्यो हामीमध्येबाट । ‘पुगिहालिन्छ नि अहिले नखोजौँ दैलेख, हल्का कम्पन भएथ्यो कर्णद्वारमा । साँघुरो बाटोमा गुड्दा चालकका नजर सडकबाट निमेषभर अन्त हट्न नहुने उपदेशात्मक इशारा थियो शायद त्यो ।

डोजरले खन्दै गरेको ओसिलो पाखो र भत्किरहेको ढुङ्गेनी पहरो देखेर सबै भएथ्यौँ स्तब्ध । प्रिय मान्छेसहित सहर छोडेर आएको सहरिया मन त्यसै त्यसै विरक्तिँदै थियो, तल देखियो एकटुक्रा सङ्लो नदी । नजिकै देखिएको भए मन चङ्गिन्थ्यो होला, डरलाग्दो भीरमुन्तिरको अवस्थितिले झन् भय बढेर आयो । वस्तु उही भए पनि भोग्ने पात्र र परिस्थिति फरक पर्दा सब हुँदोरहेछ उल्टापुल्टा, जीवनको रमाइलोपना मनमनै तौलेथेँ मैले ।

छेउका ठूल्ठूला ढुङ्गा र खाल्डाखुल्डी परेको पीच सडक निरन्तर ओर्लिरहेछ, जसरी डाँडामाथिको घाम र ढल्किँदो उमेर घर्किरहन्छ निराशापूर्वक । तल्लो डुङ्गेश्वर जाने बाटो छोडेर माथिल्लो डुङ्गेश्वर पुग्दा खोलाको बेँसीयुक्त बस्तीले स्वागत गर्‍यो र उत्साहमा बदलिएयो यात्राको अनवरत क्रम ।

घाम डुब्न लाग्दा लोहोरे खोलामा माछा मार्नेहरू देखिए । ‘साँझको खोला तराइ’ खोला देख्दा आउँछ आफ्नो विगत अघिल्तिरै । जिन्दगीलाई परिभाषित गर्छु, ‘सम्झनाहरूको सङ्ग्रह रहेछ जिन्दगी’ । जिन्दगीलाई डाँडापाखाको छातीमा टाँगेर हेर्न चाहन्छु । विराना पाखाहरूमा अडिँदैन आफ्नो छाँया जसरी दिनहुँ देखिने भीड विरानो हुँदै गइरहेको छ मेरो मनमा । ‘आफ्नो छाँया खोज्न विरानो भीडमा कहिलेसम्म भौतारिने होला ?’, एउटा अनुत्तरित प्रश्नसँग मुस्कुराउँछु म ।

सम्बत् एकहत्तर साल माघ चौबीस गतेका दिन मधुप्रसाद रेग्मी, लीलादेवी गड्तौला र म दैलेख पुग्न सुर्खेतबाट उकालिएका थियौँ मध्यान्ह घर्किसकेपछि । तर, साँझ पर्न बेरै लागेन जसरी आफ्नै हत्केलाबाट सजिलै फुत्केर बितिसके कयौँ वर्षहरू ।

सुनशान गोधुलि साँझको चकमन्नता विच्छिएको छ सडकमा । सवारी सुविधा होइन, संयोगको हो भनेजसरी पैदलै हिँडेका बटुवा देखिन्छन् फाट्टफुट्ट । गाडीको रफ्तारसँग निमग्न छन् चालक विमल । मधु सर र लीला मेडम थकित जस्तै निःशब्द हुनुहुन्छ । करिब तीनवर्षपछि दोहर्‍याएर दैलेख टेक्दाको परिवर्तन नियाल्दै प्रकृतिसँग निरन्तर सम्वादरत छु म । समय परिस्थिति र सहयात्रीलाई साक्षी राखेर प्रत्यक्ष अनुभूत भएको यथार्थ टिपिरहेको छु म । यात्रामा निस्कँदा जीवन जगतका अनेक संयोगमध्ये अन्तरमनले छानेका एकाध घटनाहरू उनिन्छन् मेरो लेखनीका डोबमा ।

मनमनै भन्दै थिएँ मैले, ‘जसरी आयो उसरी फर्कनु दुनियाँको रीत हो, जन्मभूमिको माटोसँग मीत लगाउनु सच्चा प्रीत हो, अनि बाँचुञ्जेलसम्म गाउनुपर्छ त्यही प्रीतको गीत ।’

चुप्रा बजार कटेपछि उकालियो बाटो । मोटरसाइकलको खप्परलाई बाटो किनारमा किन मृत्युदण्ड ? शायद, दुर्घटनास्थल जनाउने नवीन काइदा रहेछ यतातिर । मान्छेको मन छुने बोली, व्यवहार वा सङ्केत अपेक्षित छ जहाँकहीँ, आलस्य भरिएको शरीर दायाँबायाँ घुमाएथेँ मैले ।

उकालो दुईचार फन्का घुमेपछि आइपुग्यो दैलेख बजार । भक्तबहादुर कार्की, राजेन्द्र पौडेललगायतका साथीहरूले गरेथे स्वागत र देखाएथे निर्वाचन कार्यालयको निर्माणाधीन भवन । भक्कुसे खजुरी र चियापानपछि गरिएथ्यो कार्यालयसम्बन्धी भलाकुसारी ।

डाँडाको हिउँमा अलेली पहेँलो छोडेर सूर्य अस्ताचल मुन्तिर लुकिसकेको थियो, त्यसरी नै पार्क इन होटलमा बिसाएथ्यौँ हामीले पनि एकरात ।

‘कालीकोट, अछाम र जाजरकोटका डाँडा देखिन्छन् यहाँबाट’ होटलकी डल्ली साहुनीको चम्किलो अनुहारमा थपिएको आभा हेरेर अर्थ लगाएथेँ, ’जिज्ञासुलाई नयाँ ज्ञान दिनुमा पनि ठूलो आनन्द हुँदोरहेछ ।‘

‘अछामको तोषी धमली धनञ्जय गोत्री रिजाल, धमला, हुमागाईं, गुरागाईं आदिको उद्गमस्थल हो रे’ सम्झेथेँ मैले आफ्ना पुर्खाको वंशावली । ‘रेग्मीहरूको रेगम रे’, थप्नुभएथ्यो मधु सरले र मेडमले पनि, ‘निरौलाहरूको निराली गाउँ’ । रिजुसँग जोडेर रिजाल, पाङसँग जोडेर पङ्गाली; आफ्नो उद्गम थातथलोबाट सरेर गएकाहरूले सदा सम्झँदा रहेछन् आफ्नो गाउँलाई आफ्नो थर बनाएर, मैले अर्थ लगाएथेँ ।

‘धेरैपछि हेर्न पाइयो स्वच्छ पूर्ण आकास’, मधु मन्थनमा सबैको स्वीकारोक्ति थियो । पार्क इन होटलको छतबाट हेर्दै थियौँ खुला आकास । टहटह जुनेली रातमा खेलेका बालक्रिडाको याद दिलायो टाउकैमाथि तीनतारे चम्चमाइरहेको दैलेखी आकासले । बाल्यकालीन उत्साहका मसिना रेखा समाउन खोजेँ मैले तर त्यो परपर क्षितिजतर्फ भाग्न खोज्यो । सोलारको मधुरो उज्यालो र लोडसेडिङको अँध्यारो मिसिएर तिरमिराएको डाँडाको कालो आकृति हराइरहेको थियो । अहिले स्पष्ट आकृति आँखामा नपरे पनि अटल अस्तित्व छ त्यसको, सदा अन्धकार र अस्पष्टताबाट टाढा हुन खोज्ने आफ्नो स्वाभिमान भित्रैदेखि ठूलै स्वरमा बोल्दै थियो, ‘बाल्यकाल बितेर के भयो त, प्रिय बालक आफैसँग भएपछि’ । यस्तै खुला र सुन्दर संसारमा आइपुग्दा भेटिँदो रहेछ आफैभित्रको प्रिय बालक, त्यसैसँग गर्छु अनेक सम्वाद मैले । जाली, झेली, प्रपञ्ची दुनियाँभन्दा त अबोध बालक नै प्रिय लाग्छ मलाई ।

तुवाँलोबिनाको आकासमा चम्किरहेका थिए अनगिन्ति तारागण जसरी मेरो मन झन् चङ्गिएको थियो, भोलिको यात्राका लागि । श्रीस्थान, नाभिस्थान, कोटिला, धुलेश्वर हेर्दै चुप्रा निस्केर फेरि हिजोको बाटो समात्ने सामूहिक सपना देखेका थियौँ अघिल्लै दिन हामीले । सपनाहरू कति दिवा सपनामै सीमित हुन पुग्छन् त कति सार्थक विपना । समय प्रवाहमा खारिएपछि नै यसको परीक्षण हुन सक्दछ ।

साथीहरूले सेरोफेरो चिनाउँदै थिए । त्यो दुल्लु, त्यो नौमूले, त्यो …, त्यो … आदि । दुल्लु त यसपटक पनि मसँग रिसाएर अनुहार कालो पार्दै अर्को आकासतिर फर्किएको थियो । ‘अर्कोपटक अवश्य आउँछु तिमीसँग !’ माया गाढा भए सम्भव छ मौन सम्वाद, मैले वारिबाटै बेतारको सन्देश पठाउन खोजेँ । सदरमुकामसमेत सार्दा थाहा नपाउने उसको ऐतिहासिक कमजोरी औँल्याउँदै ‘ दुल्लुका … दैलेखी …’ भन्ने पक्षमा म थिइनँ किनकी अरूलाई आक्षेप लगाएर आफू चोखो बन्ने प्रवृत्ति छैन मेरो । यद्यपि अग्रगमन, समावेशीकरण, सुशासन, पारदर्शिता, लोकतन्त्र जपे जे गरे पनि असलमै गनिने र चाकडी गरे व्यवहार अठारौँ शताब्दीकै भए पनि हुने प्रचलन विद्यमान छ दुनियाँमा ।

अर्कोदिन बिहानै दैलेख बजार ओर्लेर छामगाढ खोला तर्दै श्रीस्थान, नाभिस्थान पुगियो । कोटिला, धुलेस्थान पुग्न भने जुरेको रहेनछ हामीलाई ।

खोला किनारका हरेक मन्दिरमा बलिरहेको ज्वालालाई नमन गरिएथ्यो । मान्छेहरू भन्दै थिए, खोलामा बुलबुल उफ्रिरहेका पानीका फोकालाई पातमा उठाएर आगो लगाउँदा पनि बल्दछ ज्वाला ।

मन्दिरपिच्छे दर्शन गर्दै हिँडेथ्यौँ हामी । मन्दिरमा हात जोड्दै थिएँ मनमा एउटा भाव उर्लियो बेजोडले, ‘देवता त सधैँ मेरै साथमा छन् तर यी आधुनिक देवता राक्षसहरूले घेरिएका छन् । राक्षसका ज्यादती सहीनसक्नुका हुनाले मानवलाई त के देवतालाई पनि निकै सकस भएको होला हरक्षण । ती हरेक ज्यादती पन्छाउँदै पाप पुण्य राम्ररी केलाएर असल कर्मको न्यायोचित मूल्याङ्कन गर्न सकून् यिनले, मागेँ देवतासँग मैले । बलिमा चढाउन लागेको निरीह पशुको च्याँच्याँ र म्याँम्याँले व्याप्त थियो वातावरण । तिनको मुक्ति कोसँग मागूँ खोई ? देवता मौन हुँदा म झन् निरीह भएँ ।

‘माछाको स्वाद भने अविस्मरणीय रह्यो चुप्रा बजारको !’ स्वादिस्ट माछा, रोटी र दही खाएपछि बोलेथ्यौँ सामूहिक स्वरमा । भक्त कार्की र टंक शर्मासँग विदा भएर फर्किएथ्यौँ आएकै बाटो ।

फर्कँदा गोठीकाँडामा रोकिएर फेरि गुराँससँग जिस्कियौँ हामी । हातहातमा गुराँसका थुङ्गा लिएर खिचियौँ एकापसमा । केही थुङ्गा घुसा¥यौँ झोला र खोकिलामा । पहाड र गुराँससँग खेल्न पैदलै उक्लिएका सुर्खेती युवतीलाई सोधेथेँ मैले, ‘किन उक्लिएको यत्रो उकालो ?’ ‘गुराँस टिप्न’ हातमा राता थुङ्गा खेलाउँदै रातोपिरो अनुहारमा लज्जालु मुस्कान छरे तिनीहरूले । तिनीहरूको यौवन र गुराँसको रङले मादक मोहनी लगाइदियो मलाई पनि ।

‘आहा, गुराँस फुलिसकेछ पहाडमा !’ राँझा विमानघाटमा चेकिङ गर्दा झोलामा गुराँस देखेर खुसी प्रकट गरिन् एकजना महिला प्रहरीले । उनको खुसी देख्दा लाग्थ्यो, गुराँस फुल्ने कुनै गाउँमा छ उनको माइती । उनको गुलाबी गाला र रक्तिम ओठमा मिसिएको छ त्यही गुराँसको रङ । उनको हृदयमा भरिएको छ गुराँसको रङ्गीन उज्यालो र छरिएको छ माइती गाउँको मोहनी माया । उनको मनमा छ, गुराँसका थुङ्गा टिपेर कपालमा सिउरेको झल्झली सम्झना । जागिर र घर व्यवहारले फुर्सद नहुँदा माइती गाउँमा ढपक्कै गुराँस फुलिसके पनि जान पाएकी छैनन् बिचरी ।

‘रहर भए लिनुस् न एकदुई थुङ्गा’, मैले उनको गुराँस प्रेमको सम्मान गर्न खोजेँ ।

‘भैगो लैजानुस्’, खोई किन हो, उनी अनायास बदलिइन् र कर गर्दा पनि लिन मानिनन् ।

एउटा पहाडी भू–भागसँग ओझेल भएर काठमाडौंतर्फ उडिसकेको थिएँ म । तर, निरन्तर मसँग बोलिरहे हातमा गुराँस हल्लाउने कलिला बालबालिकाहरू, गुराँस टिप्न जीवनको उकालो उक्लँदै गरेका नवयौवनाहरू, गरिबी भोग्दै आँगनमा गुराँस फुलाएर निर्वाह बाँचेका गाउँलेहरू ।

अनि निरन्तर गुञ्जिरह्यो ती प्रहरीको गुराँस प्रेमयुक्त अभिव्यक्ति, ‘आहा, गुराँस फुलिसकेछ पहाडमा !’

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *