उपन्यास अंश : अनावृत

~प्रभा कैनी~

उपन्यास अनावृतमा डा. गोविन्दराज भट्टराईले लेख्नुभएको भूमिकाको छोटो अंश

अनावृत छ अँध्यारो जीवन यहाँ उज्यालो खोजीमा

–डा. गोविन्दराज भट्टराई

लेखकसितको भेट र नारी प्रसङ्ग

दसैंतिहारको बिदा थियो, म गीता केशरीको बदलिँदो क्षितिज पढिसक्तै थिएँ । त्यसमा प्रतिध्वनित नयाँ समय र नयाँ कुराको खोजीले मलाई छोयो । यतिबेला नारी सर्जकहरू नयाँ मान्यताको खोजी र स्थापनामा आफैँ लागि परेको समय हो । उनीहरू कष्टकर अतीतबाट बिउँझेर, पुराना छेकबारहरू भत्काउन थालेको समय हो । वैश्विक चेतनाको प्रवाहले, देशको सामाजिक परिवर्तनले, शिक्षाले, अन्य क्षेत्रमा आएको व्यापक परिवर्तनले हाम्रा लेखक प्रभावित छन्, नारी लेखक विशेष प्रभावित छन् । ती अब नयाँ समाजको लागि, नयाँ समयको लागि बोल्न–लेख्न थालेका छन् ।

मलाई गीताकेशरीले उठाएका निम्न वर्गका नारी पात्रले छोए । ठिक यसैबेला आइपुगिन प्रभा कैनी । उमेर ता सोधिनँ मेरै समवयी हुनुपर्छ । देखेको थिइँन तर बारम्बार सुनेकै नाम । आफ्नै विश्वविद्यालय परिवारकी सहकर्मी । नारी उत्थानको पक्षमा एक मुखर र प्रखर चेतनाकी धनी ।

प्रभाको हातमा एक टाइपलिपि थियो बिनाशीर्षकको । उनले भनिन् – ‘उपन्यास भनेर यो लेखेकी छु । तपाईले ठहर गरिदिनु हुन्छ भनी आएकी । यसमा आफ्नो मन्तव्य–भूमिका पनि ।’ मनमै म रमाएँ । यसरी नारी सर्जक नउदाएसम्म पुरुषलाई मात्र एक्लै ‘लेखक’ बन्नुको न आवश्यकता छ, न महत्व, न आनन्द । म दिनदिनै लेख्न बस्दैपिच्छे सम्झिन्छु, म यहाँ छु, अञ्जना त्यहाँ छिन्, यो रिडिङ रुमको टेबलमा, त्यो किचन टेबलमा । यहाँ किताब कापी, छेउमा अरु किताब कापी, कम्प्युटर र सिडि, टेलिफोन, डायरी र फायल, त्यहाँ पनि किताब कापी छेउमा ग्यास चुलो, कराही, नुन र तेलको डिब्बा । म लेखक बन्दैछु एक अपराधबोध पनि सँगैसँगै लुकाएको छु । सँगै विद्यावारिधी ग¥यौँ । उनी त्यहाँ म यहाँ, प्रभाजी आएको बिहान पनि अञ्जना दुई कप चिया, अलिकति मुस्कान र स्वागत लिएर यता आइन् । आज दिउँसो उनको कक्षा छ, उतै तयारी गर्न लागिन्, छेउमा कराहिको भुटुन पड्केको सुन्दै, खोर्सानी र मसला झानिएको सुन्दै मैले प्रभाजीसँग साहित्यका कुरा थालेँ । नारी स्रष्टा र सिद्धान्तका कुरा गरेँ । कति अप्ठयारो, असन्तुलित र एकरूप छ हाम्रो जीवन ।

मैले भनेँ–नारीलाई गाह्रो छ । कसरी लेख्नु भो ? कतिबेला । जेन आस्टिनले झैँ लुकेर कि, भर्जिनिया उल्फले भनेझैँ आफ्नो कुनै कोठा बेगर पनि । गीता केशरीको उपन्धयासमा त्यही कठिनाइका छाया छन् । शर्मिला खड्काको समयको क्यान्भासमाथि भर्खर लेखिसकेको थिएँ । कतिपय कथामा पसेर निस्कँदा भेलबाडी जस्तो भई आउने नारी जीवनको उर्वरकाल, त्यहाँ विवाहमा पसेर निस्कँदा, केही सन्तानको रचना गरिसक्ता, तिनीहरूलाई स्नेह पिलाउँदा जीवन धेरै नष्ट भइसकेको जीवन्त अनुभूतिले लडाउँछ । त्यसले नारीलाई भन्दा सवेदना भएको पुरुषलाई लडाउनुपर्ने । चेतना चेप्टिएको, भावना भत्किएको, उर्वरता टालिएको । यो भिन्न बायोलोजी बोकेर जन्मिने हुँदा सहयात्री पुरुष धेरै पर पुगिसकेको हुन्छ, तर नारी धेरै तल, मुनि, पछाडि? लरेन्सका नारी जस्ता असन्तुष्ट, चिन्तित र खिन्न नेपाली नारी सम्झन्छु । कति त हदयभरि असन्तुष्टि बोकर पनि विद्रोह बोल्न नसक्ने, गर्न नसक्ने, बँध्य र विवश । म आफ्नै सुधा भाउजूले जीवनका पाइला (२०६५) मा लेखेका अनुभव सम्झिन्छु–नारी र पुरुष दुवै बराबर हुन्, दुवै समान छन् भनेर के गर्नु, छोराछोरी जन्माउने र हुर्काउने काम नारीकै पेवा हो । यसमा पुरुषको सहयोग मिल्दैन । छोराछोरीको चिन्ता पनि पुरुषको अपेक्षा नारीमा नै बढी हुँछ । अनि छोराछोरीको भोक, तिर्खा र ओत लाग्ने आश्रय भनौँ घरको चिन्ता पनि नारीले नै गरिदिनु पर्छ । धेरै छन् यस्ता नारीका नितान्त पेवा कुरा अनि अवसरका कुरामा पनि नारीलाई पछाडि नै धकेलिएको हुन्छ । यस्ता कुरा त अनगिन्ती छन् ।

छोराछोरी जन्माएर हुर्काउन्जेलसम्ममा उसका सारा इच्छा आकाङ्क्षाहरू म्रिसकेका हुन्छन् । शरीर पनि जीर्ण भइसकेको हुन्छ । जोस–जाँगर केही रहँदैन ।

यहीँ हेर्नुहोस् न मैले पनि विगत तीन दशकदेखि केही लेख्न थालेकी हुँ । कविता, कथा र संस्मरणहरू लेख्ने गर्थे, तर कतिबेला लेख्नु ? कति लेखिएका कागजहरू छोराछोरीले च्यातिलिए । कति हराए । कति के भए । अनि लेख्ने र साफी गर्ने समय भए पो । समय निकाल्नै गाह्रो । श्रीमान्लाई जस्तो होइन । उहाँ भातपानी माया मारेर लेख्नुहुन्छ । म भने भातपानीको व्यवस्था गरेर सबैलाई सुवाई–पियाई गरेर थाकेपछि लखतरान हुँदै लेख्ने कुरा सोच्तछु । शरीर थाकेपछि बुद्धि पनि ननिस्कँदो रहेछ ।

यो मेरै घरको कथा हो । आज यही घरमा तीन जना विद्यावारिधी छौं, धेरै जना स्नातकहरू, स्नातकोत्तरहरू, तर हाम्रो चेतना, मानसिकता, व्यवहारमा धेरै परिवर्तन आएको छैन । जागृति छ तर पनि म कीर्तिपुरदेखि हुत्तिएर पुग्छु भाउजूका हातले पकाएको एक छाक खान । दाजुका हातको ? मेरो मनमा आउँदैन त्यो कुरा, यो समयको दोष हो – हजारौँ वर्षले हामीलाई कुटेर पढाएको एक कठोर पाठ । विभेदकारी पाठ । नर –नारी दुवैलाई । नयाँ कुरा सिक्न सजिलो छ पुरानो भुल्न गाह्रो । नारी त्यसै नउठेका होइनन्, सदा थिचिएरै उठ्न नपाएका हुन् । नारी सिर्जनाको मार्गमा आउने यस्ता अवरोध कुनै कालमा टुङ्गिने देखिँदैनन्, परिवारप्रथा रहिन्जेल ।

नारी सिर्जना र नयाँ प्रसङ्ग त्यसबेला विमोचनको प्रतीक्षा गरिरहेको पद्मावती सिंहको मौन स्वीकृतिभित्र पसेँ । जीवनका सारा कर्तव्य पुरा गरिसकेको प्रौढता ओढेर बसेको नारी सर्जक छ र पनि ऊ असुरक्षित र कुनै बेला परित्यक्त हुने भयमा छ । भागीरथी श्रेष्ठको रातो गुलाफमा पनि लेखिसकेको थिएँ । त्यहाँ पनि प्रौढ नारीको असुरक्षित र परित्यक्त जीवनका अनुभूति छन्, माया ठकुरीको आमा जानुहोस्मा लेखिसकेको थिएँ । त्यहाँका कतिपय कथामा त्यही असुरक्षा चेतना छ । उन्नति बोहरा ‘शीला’ को सिक्काका दुई पाटामा भय र भिन्न सम्झौता छ । यतिखेर प्रकाशोन्मुखअवस्थाको झमक घिमिरेको जीवन काँडा कि फूलमा झन् नेपाली नारीले चेतनाको आँखाले हेर्दा देखिने सर्वाधिक जीवन्त र भयप्रद दृश्यचित्र छ । पारिवारिक उन्नति, सुख र सुखको चिन्तामा आफ्ना सारा रहरको बलिदान चढाउने भारती गौतमको स्मृतिमा भीमूले त्यसैगरी जहाँ पुगे पनि नारीसँग कठिनाइ साथै रहेको देखाउँछ ।

धेरै नारी सर्जक पढेछु यताका वर्षमा । सबैमा भित्रभित्रै एक असुरक्षा चेतना र क्षयबोध, गहिरो चिन्ता, असन्तुष्टि र लेख्न खोज्दा भोगिने सङ्घर्षका मुस्ला उठेका छन् । कसरी लेख्न सक्छन् ? नारी कतिबेला लेख्न बस्छन् ? तिनलाई सभा सम्मेलनमा जाने समय छैन, विमर्श चर्चामा भाग लिने समय छैन, किताप पत्रपत्रिका पढ्ने समय छैन, कम्प्युटरमा बस्ने समय छैन । अघिदेखि आजसम्मै । आज शिक्षाले, कानुनले समान गराउन चाहे पनि यथार्थ चाहिँ सप्तकोसी वारि र पारि जस्तै रहेको छ । कम्प्यूटर युगमा फर्केर विज्ञ हेर्छन्, आजका शिक्षित नारी समान भए कि भनेर । साइबर फेमिनिजम्ले भन्छ– त्यहाँ पनि ठुलो अन्तर छ । एक जना सधैँ कम्प्यूटरमा छ, एक जना कहिलकाहीँ मात्र । कति बाधा छन्, कति फरक छन् कति भिन्नता, कति समाज निर्मित कति बायोलोजिकका । पढ्न पाएका–नपाएका सबैजसो नारीहरू एक अनन्त प्रकृतिको पुनर्वृत्यात्मक कर्ममा छन् । धेरै घरमा यस्तै छ, सबै घरमा यस्तौ भनौँ यद्यपि समयले यो कुरा बुझ्दैछ, अलिक उदार हुँदैछ, खुकुलिँदैछ । समाज खुकुलिए पनि पुरुष धेरै बदलिएको छैन, यस जडत्वलाई नारीले पनि निरन्तरता दिएका छन्,

मलाई त्यस्तै लाग्छ । यो असमानता सभ्यताको अन्त्यसम्मै यसैगरी तन्केर गइरहेने पो हो कि ! आजै यसको अन्त्य गर्न चाहनेहरू छन्, यस भेदलाई यसैगरी मेट्न चाहनेहरू छन् ।

मैले पढेका भन्दा भिन्न चेतना लिएर आएका नेपाली नारी सर्जक पो छन् कि कतै । तर गीता कार्कीको सालका ठुटा र एक टुक्रा घाममा अथवा नम्रता गुरागाईको मनभए तिमीसितमा नारी सिर्जनामा त्यो देश नै बढी छ, त्यसका कर्तव्य छन्, अवरोध छन्, व्यवधान र कष्टहरू, भाँचिएका आशा र भत्किएका प्रेम, निरन्तर असुरक्षा चेतना । के हामीले उनलाई सधैँ यही मात्र दिन सक्यौँ ? नत्र किन सधैँ यस्तै अनुभूति लेखिन्छ ? बढी अप्राप्तिको, अतृप्तिको र वञ्चनाको ? झमकको जीवन काँडा कि फूलले यो विभेदलाई अनुभवको अन्नतर्तहदेखि चिरेर देखाएको छ । झमकले कुनै सिद्धान्त पढेर होइन, वस्त्रले, बोलीले, अङ्गले नरनारी छुट्टिनुभन्दा पहिले, चेतनाको प्रथम प्रकाशले छोएको क्षणदेखि अबोधपनमै ‘छोरी’ भएपछि हेर्ने परम्परा, संस्कृतिका, धर्मका, समाजका छोरा र छोरीलाई अथ्र्याउने दृष्टिकोणहरूको आफैँ अन्वेषण गरेकी छन्, त्यसको प्रतिकार गरेकी छन्, ती मान्यता अस्वीकार गरेकी छन्, नारीप्रति समतामूलक दृष्टि र व्यवहारको स्थापना अत्यन्तै ठुलो सङ्घर्ष गरेकी छन्, युग परिवर्तन गराउने आवाजमा बोलेकी छन् । अझै प्रतीक्षा गर्नुछ । …………………

उपन्यास प्रारम्भ

लामो कथाको आरम्भ

बिहान करिब सात बजेको हुँदो हो । हामी दिदी बहिनीले भर्खर पसल खोलेका थियौँ । पसलको ढोकामा तरकारी, नुन, दूध, सलाइ किन्नेहरू पाँच सात जना जम्मा भइसकेका थिए । जाडाको दिन, पातलो कुहिरो बढ्दै थियो । मानिसहरू नजिकै नआएसम्म चिन्न पनि गाह्रो थियो । यसै बेला करिब पच्चिस तिस बर्से दुई जना युवा युवती हाम्रो पसल अगाडि आएर टक्क अडिए । द्विविधाग्रस्त मुद्रामा कुराकानी गर्दै थिए । एकैछिनपछि उनीहरूले फर्केर कुरा गर्न चाहे जस्तो लाग्यो हामीलाई ।

“सुन्नुहोस न !” उनीहरूले हाम्रो ध्यानाकर्षण गराए । “के होला ?” मैले भनेँ ।
“तपाईहरू हामीलाई एउटा कुरा सहयोग गर्न सक्नुहुन्छ ?” कपाल छोटो काटेकी, जिन्स पाइन्ट लगाएकी युवती हाम्रो नजिक आइन् । उनले जाडाको समय भएको हुँदा रातो बाक्लो ज्याकेट र सेतो ठुलो स्पोर्टस् सु लगाएकी थिइन् । त्यस्तै उमेरको अग्लो पातलो युवक पनि करिब करिब त्यस्तै पहिरनमा थियो । दुवैले पिठ्यूँमा ठूलै ब्याग बोकेका थिए ।

“के सहयोग चाहियो होला यहाँहरूलाई” मैले जिज्ञासा बढाएपछि थाहा भयो उनीहरू पत्रकार रहेछन् । समाचार सङ्कलन गर्न आएका रे ।

“यहाँनेर कहीँ एक जना वृद्ध महिला हुनुहुन्छ नि ?”

“यहाँ हरेक घरमा एक दुई जना वृद्धहरू छन् ? कसलाई खोज्नु भएको हो तपाईहरूले ?”

“नाउँ थाहा भएन, अस्ति भरखर यहाँ एउटा घटना घटेको थियो नि ।” “कस्तो घटना ?”

“एक जना वृद्ध महिलालाई बोक्सीको आरोप लगाएका थिए रे ।”

उनीहरू दुर्गा ठुलीआमालाई खोज्दै रहेछन् भन्ने मैले बुझें ।

“अँ किन र ?”

“हो, उहाँलाई नै खोजेको ।”

“किन खोज्नु भयो त ?”

“समाचार लेख्न ।”

“कुनै नौलो कुरा हो र त्यो, के समाचारयोग्य छ र त्यो घटना ?” “किन ?”

मैले घटनालाई कुनै महत्त्व नदिएको देखेर उनीहरूलाई आश्चर्य लागेछ । “के तपाईलाई थाहा थियो त्यो घटना ?” उनीहरूले जिज्ञासा बढाए । “अँ अस्ति यो पछिल्लो घटना हाम्रै घरको हो किन थाहा नहुनु” मैले भनेँ । “कैले घटेको हो त्यो घटना ?” “करिब एक महिना भयो होला ।” “तपाई जस्तो बुझ्ने मानिसले पनि समाचारदाताहरूलाई बोलाएर घटनाबारे केही थाहा नदिनु भएको छ ?”

सधैँ भइरहने यो स्वभाविक प्रक्रिया पनि कहीँ समाचार भन्नुपर्ने खाले हुन्छ र ? “हँ ?” “सबै आईमाईहरू बोक्सी भइहाल्छन् नि ?” “हैन तपाई के भन्दै हुनुहुन्छ ?” “हो, कोही ढिलो होलान्, कोही चाँडो, कसैले बोक्सी भएर अलिक कम यातना पाउलान्, कसैले ज्यादै पाउलान् । प्रायः सबै महिला जिन्दगीमा एक न एक पटक बोक्सी हुन्छन् हुन्छन् ।”

“तपाईको कुरै बुझिएन ?” “कुरा नबुझेकै कारणले तपाईहरू यसलाई समाचार बनाउन खोज्दै हुनुहुन्छ, अन्यथा यो एकदमै सामान्य प्रक्रिया हो । पत्यार नलागे तपाईहरू अझै अनुसन्धान गर्न सक्नु हुन्छ । त्यसको लागि अन्यत्र कतै जानु पर्दैन । तपाई आआफ्नै घरमा गई आफ्नै आमा, हजुरआमा, काकी, फुपू सबै वृद्ध महिलाहरूलाई सोध्नुहोस् त ! तिनीहरूमध्ये सके सबै नभए पनि अधिकांश महिला बोक्सी बनिसकेका हुन्छन् । बेस्से, पातकी पनि भइसकेका हुन्छन् ।” “त्यो कसै कसैले कसै कसैलाई बोक्सी, बेस्से भन्यो भन्दैमा बोक्सी हुन्छन् र भन्या सबै ।”

“हो त्यही हो कसै कसैले कसै कसैलाई बोक्सी बनाउँछन्, आफ्नो प्रयोजन र कार्यसिद्धिको लागि । खासमा बोक्सी कोही हुँदैन । यो प्रक्रिया युगौँ पहिले देखिको हो र आज पर्यन्त पनि चालू छ । हाम्रो ठहरमा यो कुनै नौलो कुरो होइन, त्यसैले समाचार बन्न आवश्यक ठानिएन । अनि त पत्रपत्रिका, रेडियो, टि.भि. कतै खबर गरेनौँ ।” “त्यसो भए के तपाईलाई कसैले बोक्सी भनेर नचाहिँदो व्यवहार ग¥यो भने तपाई प्रतिकार गर्नु हुन्न ?”

“किन गर्दिनँ, गर्छु जरुर गर्छु, सङ्घर्ष गर्छु । अस्तिकै घटना भनौँ जुन तपाईहरू समाचारको रुपमा घटनाको विवरण सङ्कलन गर्न आउनु भएको छ, त्यो खुद हाम्रै सामु घटेको घटना हो । हामीले नै दुर्गा ठुलीआमालाई बचाएका हौँ । दिशा पिसाब खुवाउनसम्म भ्याएनन्, यो उहाँकै घर हो । तर समाचार बनाउने खालको घटनाको रूपमा हामीले लिएनौँ । जुन कुरा सधैँ भइरहेको छ र प्रायः हरेक घरमा सामान्य मानिन्छ भने त्यो कसरी नयाँ समाचार भयो ? त्यो हो मेरो जिज्ञासा । मेरा बुवा आमालाई बोक्सी भन्नुहुन्छ । दिदीकी सासु दिदीलाई बोक्सी भन्छिन् । हाम्री भाउजु आमालाई बोक्सी बनाउँछिन् । बोक्सी मात्र होइन हाम्रो बुबा आमालाई कैले देवी पनि बनाउनुहुन्छ, तपाईहरू कोको ‘देवी’ भयौ भनेर किन समाचार सङ्कलन गर्न आउनुहुन्न ? किनभने महिला स्वयं आफूलाई देवीभन्दा गमक्क फुल्छन् । आफूलाई सर्काएको थाहा पाउँदैनन् । हुनत कोही मानिसले ‘देवी’ बनाउँदैमा महिलाहरू देवी हुने हुन् र ? तथापि देवी बनाउँदा पनि एक प्रकारको कार्यसिद्धि गर्ने लक्ष्य राखिएको हुन्छ, बोक्सी बनाउँदा पनि त्यही हो । अनि त देवी बनाउँदा समाचार नबन्ने बोक्सी बनाउँदा किन समाचार बन्न आवश्यक प¥यो ?”

मेरा कुरा सुनेर समाचार सङ्कलकहरू अन्यौलमा परे । उनीहरू समाचारको केस तयार गर्नुभन्दा मेरो कुरा सुन्न इच्छुक भए । “तपाई त आफैँ देवी भइसके जस्तो कुरा गर्नुहुन्छ नि ?”

हो म र मेरी दिदी ‘देवी’ बनाइयौँ, ‘बेस्से’ भनिइसक्यौँ अब ‘बोक्सी’ बनाइन मात्र बाँकी छ । साधारणत प्रत्येक महिला सानै हुँदा ‘देवी’ बनाइन्छन् । फकाउनु पर्दा फुल्याउनु पर्दा, उचाल्नु पर्दा, सर्काएर काम लिनुपर्दा । प्रायः गरेर यौवन अवस्थातिर ‘बेस्से’ ‘रन्डी’ ‘नखरमाउली’ के के बनाइन्छन् ।”

“कसले बनाउँछ ?” उनीहरूले जिज्ञासा राखे । मैले भनेँ “जसलाई अवायक पर्छ उसैले बनाउँछ । बुबा, आमा, दाजु, भाउजु, छरछिमेकी, नातेदार जसले पनि बनाउँछन् ।”
यदाकदा अपवाद बाहेक जीवनको उत्तरार्धतिर प्राय सबै ‘बोक्सी’ बनाइन्छन् । विधवा भए अलिक चाँडै नै बोक्सी बन्लान्, अन्यथा केही पछि हुन सक्छ । हामी दिदी बहिनी देवी, बेस्से भइसक्यौँ, आमा ‘बोक्सी’ पनि भइसक्नु भयो ।”
मेरो व्याख्या सुनेर उनीहरू झन् झन् गम्भीर बन्दै गए । देवी, बेस्से र बोक्सीको कथा उनीहरूका लागि चाखलाग्दो हुनथाल्यो ।

“के तपाईहरूलाई कसैले ‘देवी’, बेस्से’ अथवा ‘बोक्सी’ भन्दा केही गर्नुभएन त ?”

“गरियो नि ।”

“के गर्नुभयो ?”

“समय हेरी जे आवश्यक देखियो त्यही गरियो ।”

“केही सुन्नमा आएन त ?”

“त्यही त भनेको, कसैले बाहिर नभन्दैमा, प्रकाश नल्याउँदैमा अथवा समाचार नबनाउँदैमा केही गरेको छैन भन्न मिल्दैन होला नि ? व्यक्ति व्यक्तिले सकेसम्म आफू एक्लै पनि सङ्घर्ष गरिरहेकै हुन्छ, हामीले पनि गर्दै आएकै हो ।” “तपाईहरूले के गर्नुभयो हामीलाई भन्न सक्नु हुन्छ त ?” “सकिन्छ तर यो लामो रामकहानी यहाँ यठी उठी भनेर सकिने होइन ।” “जति दिन लागे पनि हामी सुन्न तयार छौँ ।” “ससाना चालचलन र व्यवहार जसलाई सबैले महत्त्व दिएका छैनन् तिनै कुरा सुन्दा तपाईहरूलाई झन्झट लाग्न सक्छ । फेरि यस्ता कुरा किन सुनाएको होला जुन कुरा हामीले देखेकै र भोगेकै हो भन्नु होला तपाईहरू ।” “हैन हैन भन्नुहोस् हामी एक एक गरेर सुन्न तयार छौँ ।” उनीहरू सुन्न तयार रहेकाले एक दिन एउटा, अर्को दिन अर्को गर्दै म हाम्रो जीवनको लामो फेहरिस्त सुनाउन थालेँ । देवी र दायित्व

म सानै छँदा सबैले मलाई पवित्रा भनेर बोलाउने गर्थे । मेरो न्वारनको नाउँ नै यही हो रे । बाहुनले पात्रो हेरेर जुराएको नाउँ हो रे पवित्रा । हाम्रो गाउँका धेरै जनाको नाउँ दुई तीनवटा हुने गथ्र्यो, न्वारनमा जुरेको एउटा नाम, कसैकसैका बाबुआमाले आफ्नो इच्छा अनुसार अर्कै नाम पनि राख्थे । विमला, सुनीता, अरुणा, मैयाँहरूको न्वारनको नाउँ अर्कै छ रे । तर मेरो न्वारनको नाउँ जे जु¥यो त्यही नाम राम्रो लाग्यो रे बुबाआमालाई । त्यसैले अर्को नाम नराखेको भन्नुहुन्थ्यो सानै छँदा आमाले ।

पवित्राको अर्थ शुद्ध, कुनै दाग नलागेको, पवित्र हो भनेर स्कुलमा गुरुले सिकाइदिनु भएको लमई अझै थाहा छ । मलाई पनि आफ्नो नाम खुबै राम्रो लाग्थ्यो । मेरा साथीसंगी, दिदीबहिनी, तथा सहपाठीहरूको नामसँग म मेरो नाम दाँज्ने गर्थे । कसैको नाम पनि आफ्नो जस्तो राम्रो लाग्दैनथ्यो, आफ्नो नामको अर्थ पनि बेजोडकै लाग्थ्यो । आफूसँग पढ्ने खेल्ने साथीहरू सबै अशुद्ध अथा सबै आफूसँग दाँज्न अयोग्य, आफूभन्दा निम्न कोटिका व्यक्तिहरू जस्तो भान हुन्थ्यो । मलाई लाग्थ्यो आफू उत्कृष्ट भएकै कारण पवित्रा नाम जुरेको थियो । ईश्वरीय देन मेरा लागि विशेष रुपमा आइपुगेको महसुस गर्थे । जस्तातस्ता मान्छेलाई गन्दैनथें । मेरो यस बानीले मलाई स्कुलमा मेरो व्यवहार देखेर धेरैले घमण्डी भनेर टीकाटिप्पणी गर्ने गरेको कुरा मलाई अहिले पनि याद आउँछ ।

पवित्राले पवित्र काम गर्नुपर्छ भनेर पूजाको सर्दाम तयार गर्ने काम मेरै जिम्मामा सुम्पनु हुन्थ्यो आमा । हाम्रो गाउँका हरेकको घरमा बिहान पाञ्चायन पूजा हुने गथ्र्यो । हामी केटाकेटी छँदा ककसको घरमा पूजा सकियो भन्ने कुरा घर घरबाट निस्किएको शङ्ख घण्टको आवाज सुनेर पत्ता लगाउने गथ्र्यौं । प्रायः सबै घरका अविवाहित कन्या केटीहरूको पूजा सर्दाम ठिक गर्नु एउटा प्रमुख काम नै हने गथ्र्यो । मलाई यो काम गर्न पाएकामा बडो गर्व लाग्थ्यो । म खुब दत्तचित्त भएर पूजाको भाँडा माझ्ने, पूजाको चौकी पोत्ने, फूल टिप्ने, चन्दन घोट्ने, अक्षता बनाउने, देउताहरूलाई नुहाइदिने, धूपबत्ती, नैवेद्य तयार गर्ने गर्थे । हुनत पूजाका सर्दाम तयार गर्ने मात्रै मेरो काम थिएन । आमाले मलाई बढार्ने, पोत्ने, भाँडा माझ्ने सबै काम फकाइ–फुल्याइ गर्न लगाउनु हुन्थ्यो । राम्रो काम गरिनँ भने आमाले सिकाउने गर्नुहन्थ्यो । जेसुकै होस् काममा मेरो अभिरुचि थियो । जे अघि आइप¥यो त्यो काम बढो कुशलतापूर्वक निर्वाह भएको कुरा बेला बेलामा आमाबुबाले गरेको प्रशंसाबाट अनुभूति गर्थे ।
त्यसो त प्रशंसा मात्र कहाँ हो र ? देउताको पूजाको सामान मिलाउने काम मेरो दायित्वमा छोडिएको हुँदा बुबा पूजा गर्न आउँदा पूजा सर्दाम तयार भइसकेको रहेनछ भने म खप्की पनि खाने गर्थे । पहिला पहिला पूजा सर्दाम जुटाउने काम दिदीले गर्ने गर्थिन् । विवाह भएर उनी घर गएदेखि यो काम मेरो जिम्मामा आएको थियो । प्रायः गरेर बुबाले देउताको पूजा आफैँ गर्ने गर्नुहुन्थ्यो, फुर्सद नपाएको बेलामा दाजुलाई लगाउनु हुन्थ्यो । एक दिन रुघाखोकीले ग्रस्त बनाएका कारण म धेरै बेर सुतेछु । बुबा दाजुलाई पूजा गर्न अह्राएर बाहिर जानु भएछ । दाजु पूजा गर्न तयार भएर चौकीमा पुग्दा सर्दाम देखेनन् । उनी कराउँदै म सुतेको ठाउँमा आएर मलाई झकुल्याउँदै उठाए र भन्न थाले “ऐलेसम्म सुत्छेस्, पूजा गर्न ढिला भइसक्यो ।”

आमा भान्छाबाट कराउनु भयो “दिदीले यति काम कति लय लगाएर गर्थी, यो पवित्रे त साह्रै अल्छी छे, सकेसम्म काम टार्न खोज्छे । दाजु नुहाएर आइसक्यो, पूजा गर्ने बेला भइसक्यो, स्कुल जान ढिला हुने बेला भयो, ऊ सुतेकी सुत्यै छ । अझै छिटो उठेर पूजा सामान मिलाउन्नस् ?”

म साँच्चै अल्छी हो त ! आफूलाई अल्छी जस्तो लाग्दैनथ्यो । सानोतिनो बिरामी पर्दा हत्तपत्त कसैलाई भन्दिनथेँ । अल्छी होइन भन्ने प्रमाणित गराउन मैले झट्टपट्ट उठेर मुख धोएँ, फूल टिपेर ल्याएँ, देउताका भाँडा सफा गरेँ, देउतालाई नुहाइदिएँ, चन्दन घोटेँ, अक्षता बनाएँ, बत्ती तेलले भिजाएँ, दही र चिनी झिकेर नैवेद्य तयार गरेँ । यी सबै काम मैले पाँचै मिनेटमा सकिदिएँ । मेरो नजिकमा बसेर पुजा गर्नको लागि पर्खिरहेका दाजुले देउतालाई फूल, चन्दन, अक्षता छर्के, बत्ती बाले, शङ्ख घण्ट बजाए, दही, चिनी देउतालाई अर्पण गरेर के के भट्भटाउँदै भात खान भान्छातिर लम्किए । मैले पाँच मिनेटमा तयार गरेको सर्दामको उपयोगिता एक मिनेट भन्दा बढ्ता रहेन । सबै पूजाका सर्दाम फोहरमा परिणत भए, फेरि सफा गर्ने काममा म खटिएँ ।

हाम्रो घरको करिब दुई किलोमिटर पर पूर्वपट्टि ठुलो चौर थियो । चौरको छेउछाउमा लहरै चाँप, खयर, चिलाउने, तिदुँ र आँपका रुखहरू थिए । त्यही चौरको बिचमा अवस्थित कल्याणीमाध्यमिक विद्यालयमा दाजु र म पढ्ने गथ्यौं । दिदी पनि त्यसै स्कुलमा पढ्ने गर्थिन् । केही समय दाजु, दिदी र म तिनै जना उक्त स्कुलमा पढ्थ्यौं । दिदीको चार पाँच वर्ष पहिले नै विवाह भएकाले पढ्न जान छाडेकी थिइन् । भाइ सानै थियो । ऊ नजिकैको प्रा.वि. मा जान्थ्यो ।

हरेक दिन दाजु बिहान किताप कापी लिएर पढ्न बस्थे । स्कुलका गुरुहरूले दिएको गृहकार्य मेरा पनि प्रशस्तै हुन्थे । प्रायः एक विषयको एउटा गृहकार्य हुने गथ्र्यो, तापनि म घरेलु काम नभ्याई स्कुलका गृहकार्यका लागि कापी किताब फिजाउन पाउँदिनथेँ । दाजुले पढ्न सुरु गरेदेखि पढिनसकुन्जेल कुनै काममा अल्झनु पर्दैनथ्यो । तर म तुरुन्त बस्न पाउँदिनथेँ । घर बढार्ने, घाँस काट्ने, देउताको सर्दाम जुटाउने, भान्साको काममा आमालाई सहयोग गरेर गृहकार्य गर्न बस्दा कहिले म मुस्किलले सबै विषयको गृहकार्य भ्याउँथेँ त कहिलेकाहीँ भ्याउँदिनथेँ । स्कुलमा गुरुहरूको खप्की र लठ्ठी समेत खानुपर्दथ्यो । त्यसैले म या त दिउँसोको छुट्टीको बेला स्कुलमा नै गृहकार्य छिटो छिटो सक्ने कोसिस गर्थे या त बेलुकी खाना खाएपछि कमसेकम गृहकार्यसम्म सकेर मात्र सुत्ने गर्थे । दाजु भने म धन्दा सकेर पढ्न थाल्नुभन्दा अघि नै गृहकार्य सकेर सुत्ने गर्थे । दाजु भने म धन्दा सकेर पढ्न थाल्नुभन्दा अघि नै गृहकार्य सकेर सुत्न गइसकेका हुन्थे । बिहान पनि दाजुभन्दा म पहिल्यै उठ्थेँ । पहिला पहिला आमाले सबेरै उठाउने गर्नुहुन्थ्यो । पछिपछि बिहानै उठ्ने बानी परिसकेको थियो मलाई । दाजु उठेपछि उनका दुईवटा काम थिए । एउटा कहिलेकाहीँ पूजा गर्ने नत्र सधै उठेर पाठ पढ्ने । दाजु तुरुन्त पढ्न बसेनन् भने बुबा आमा किन पढ्न नथालेको भनेर कराउनु हुन्थ्यो ।

दाजुले पूजा गर्ने दिनमा अक्सर म हप्काइ खाने गर्थे । पूजा गर्नको लागि नुहाइधुवाई गरी लुगा फेरेर मेरो नजिकमा उभिँदै ढिलो भयो छिटो पूजाको सर्दाम तयार गर भन्दै हप्काउने गर्थे । एक दिन त मलाई पनि साह्रै रिस उठ्यो र भनेँ पनि “ढिला भए तिमी आफैँ गर न त ।” मेरो उत्तर सुनेर उनले मलाई मुक्का हान्दै फलाक्न थाले “कुन लोग्नेमानिसले पूजाको सर्दाम तयार गरेको देखेकी छस्, यो त आइमाईको काम हो । हाम्रो काम पूजा गर्ने हो । पूजा गर्न आएकै छु, अझ छिटो गर्दिनस् ?”

पूजा गर्न अउाँदा सर्दाम ठिक नभएका दिन दाजुलाई स्कुल पुग्न ढिला भयो भने आमा बुबा गनगन गर्नुहुन्थ्यो । आखिर मैले पनि त त्यही स्कुल त्यही समयमा जानु पथ्र्यो । तथापि मलाई ढिला हुने कुराको चर्चासम्म बुबा आमाले गेरेको मैले थाहा पाइनँ । उहाँरुको सोचाइमा दाजुले आफू दक्ष बन्न पढ्नु पथ्र्यो तर मेरो अध्ययनको उद्देश्य दाजुको जस्तो थिएन । जमानाले ल्याएको लहरसँगै मलाई स्कुलसम्म पठाउनु भएको थियो । त्यसैले उनका लागि जति जोड मेरा शिक्षा दिक्षामा गर्न आवश्यक देख्नु भएन बुबा आमाले । दाजु समेतलाई यसबारे चासो थिएन । हामी एउटै स्कुलमा जान्थ्यौ, तर उनी र म कहिल्यैसँगै भएनौ, अक्सर म पछि नै हुन्थेँ । अझ कहिलेकाहीँ त घरमा कामको चाप भएको बेला मलाई घरमा नै बस्न लगाइन्थ्यो ।

आफू चाहिँ सधैँ पूजाको सर्दाम गर्ने तर बुबा र दाजुले मा त्रपूजा गर्ने गरेको देखेर मलाई पनि पूजा गर्ने रहर लाग्थ्यो । पूजा गर्दा उनीहरू अरुले नबुझ्नृ गरी बिस्तारै आवाज निकालेर ओठ चलाई केही भनिरहेका हुन्थे । दाजु र बुबाले के के न भनेको होला भन्ने कुतुहलता जाग्थ्यो मेरो मनमा । उक्त मन्त्र नजानेका कारण पूजा गर्न नपाएको हो कि भन्ने शङ्का मेरा मनमा आइरहन्थ्यो । कहिलेकाँही घरमा कोही नभएको बेला पारेर म पनि पूजा गर्न पूजाचौकीमा बुबा र दाजु बसेझै ढसमस्सआसन जमाएर बस्ने गर्थे । उनीहरूले बिहान पूजा गरेर बाँकी रहेको सामानहरूको प्रयोग उनीहरूले गरे झै नै गर्थे । अक्षता छर्कने, फूल चढाउने चन्दन छर्ने । शङ्ख, घण्ट बजाउने बेलामा मलाई अति नै डर लाग्थ्यो । कतै कसैले सुनेर आउँछन् र आइमाइले गर्न नहुने कुरा गरिस् भनेर औँला ठड्याउँछन् कि भन्न्े लाग्थ्यो । म उत्कट इच्छा र आशङ्काको धर्म सङ्कटमा पर्थे । धेरै बेर टोलाउँथे तैपनि म आफ्नो इच्छा शक्तिलाई दबाउन सक्तिनथेँ । अनि आफ्नो इच्छापूर्तिको लागि छिटो छिटो शङ्ख फुक्ने प्रयत्न गर्थे । दाजु र बुबाले फुक्दा जस्तो राम्रो आवाज आउँदैन थियो, बरु मेरो मुखभरि सास आउँथ्यो । हतार हतार बाहिर कोही आयो कि भनेर हेर्न आइपुग्थेँ । भयभीत मनस्थितीमा पनि कसैले किन शङ्ख बजाएकी भनेर सोध्यो भने बजाएको होइन, देउताको भाँडा माझ्न लाग्दा आएको आवाज हो भनेर उत्तर दिन दाउमा म तयार रहन्थेँ । नजिकै बसेका देउतासँग भन्दा पर पर भएका उनैका सृष्टि भनिने मानिसहरूुँग धेरै डर लाग्थ्यो । मानिसले मलाई पूजा गर्न वर्जित गरेका थिए । धन्य हो, मेरा नजिकका देवताले भने मेरो पूजा अर्चना नकारेको मैले भेटिनँ । बुबा र दाजुले पूजा गर्दा देउता जस्ता थिए मैले पूजा गर्दा केही फरक पाइँन । देवता रिसाए जस्तो पनि लागेन, खुसाए जस्तो पनि मैले कहिल्यै महसुस गरिनँ ।

मैले गरिदिएको तयारीमा लोग्नेमानिस मात्र पूजा गर्न योग्य ठहरिएको देख्दा मलाई नमिठो लाग्थ्यो । आमाको अनुभूति पनि मेरै जस्तो होला भनेर आमासँग मेरा मनका कुण्ठित भावनाहरू पेखेर खुल्दुली मेटाउन कोसिस गर्थे । तर आमा त यति अभ्यस्त हुनुहुन्थ्यो कि उहाँका उत्तरहरू प्रायः मेरो अपेक्षा विपरितका हुने गर्थे । उल्टै आइमाई भएर यी कुरा उठाउनु नि हुँदैन भनेर मलाई आश्वस्त पार्न खोज्नु हुन्थ्यो । “हेर पवित्रा आइमाईको आफ्नो भनेको उनका बुबा, श्रीमान, दाजु, भाइ र छोराहरू ह्ुन् । उनीहरूको भलो चिताएर काम गर्दा आफ्नो पनि भलो हुन्छ, उनीहरूले पूजा गरेपछि हामीले गरिहन पर्दैन, देवताले हामीलाई पनि आर्शीवाद दिन्छन् । आइमाई भनेको पुरुषको अर्धाङ्गिनी हो । आधा अङ्गले पूजा गरेपछि अर्को आधा अङ्गले स्वतः त्यसको फल पाउँदैनन् र ?” यस्तै यस्तै आइमाई

भएर जन्मिएपछि आफ्नो अस्तित्वलाई नकार्नुपर्ने जस्तो अनेकौ पाठ आमा सिकाउनु हुन्थ्यो । आमा भन्ने गर्नुहन्थ्यो, “आइमाई भएर जन्मिएपछि सहन सक्नुपर्छ, त्याग गर्न सक्नुपर्छ, आईमाई र धरती उस्तै हो, धरतीले सबै कुरा कसरी पचाएकी हुन्छे ?”

आमा एकपटक आठ–दस दिन साह्रै बिरामी पर्नुभयो, रगत धेरै बगेर पुरा शरीर पहेँलो देखियो । बुबा रमैले उहाँलाई डाक्टरकहाँ पु¥यायौँ । खर्च धेरै भयो तर बाह्र–चौध दिनको उपचारपछि आमा निको हुनुभयो । यी दिनहरूमा मैले आमाको स्याहारसुसार र घरधन्दा दुवै भ्याउनुपर्ने भयो । करिब पन्ध्र दिन म स्कुल जान पाइनँ । आमा बिरामी भएर निको होउन्जेल दाजुले एक दिनपनि स्कुलमा गयल हसनस परेन । उनको दैनिकी सदाझैँ कुनै उतार चढाव विना चल्थ्यो । जति काम बढेको थियो मलाई मात्र त बढेको थियो । ती दिनहरूमा पनि बेलामा नै खाना तयार गर्ने, पूजा सर्दाम मिलाउने काम भ्याएकै हुन्थेँ । केही गरी ढिला हुन आँट्यो भने आमा सती सुती नै कुन काम पहिले गर्ने, कुन काम पछि गर्ने सिकाइरहनुहुन्थ्यो । सुती सुती अह्राउने बेला आमाले मलाई मात्र होइन बेलैमा पढ्न बसेन भने दाजुलाई छिटो पढ्न थाल भन्दै सतर्क गराउन पनि बिर्सनुहुन्थेन । बुबा पनि बेला बेलामा झुल्कँदै खाना तयार भयो भएन्, पूजा सर्दाम तयारी गरी गरिन भनेर निरीक्षण गर्नुहुन्थ्यो । दिदी एक दिन भेट्न आएर भोलिपल्टै गंइहालिन् । उनको घरमा बित्ने काम विशेष थिएन रे तापनि उनकी सासु र श्रीमान्ले बिरामी परकी आमालाई भेटेर मात्र आउनु भनेर एक दिनलाई मात्र बिदा दिएका रे । विवाह पश्चात् उनी झन् अर्कैकी भइसकेकी थिइन्, उनले त्यस घरका मानिसले दिएको खाने, अह्राएको मान्ने भन्दा अन्यथा गर्न मिल्दैनथ्यो । घरको पालुवा जन्तुहरू गाई, बाख्रा, अथवा कुकुर जस्तै । त्यसैले उनीहरूको खटनपटनमा उनले हिँड्नुपथ्र्यो । खाने लाउनेदेखि उनको सुरक्षाको समेत अभिभारा लिएकाहरूले उनलाई एक दिनको छुट्टी दिएका थिए । त्यसैले आमाको जति माया लागे पनि त्यसलाई व्यवहारमा देखाउने उनको हिम्मत थिएन ।

आमालाई छोडेर जाने बेलामा उनका आँखामा आँसु भरिएका थिए तर आमाको मायाभन्दा आफ्नो भविष्यप्रति बढ्ता चनाखो हुन प्रेरित ग¥यो उनको अन्तरात्माले । आमाले चिन्ताजनक अवस्थाप्रति संवेदनशील नबनेकी थिइन दिदी तर आमाप्रतिको कर्तव्य अब उनको लागि प्राथमिताको विषय बन्न सक्दैनथ्यो । मानवका लागि सबैभन्दा महत्वपूर्ण व्यक्ति आफू स्वयं नै हो । आफ्नो स्वार्थको सेरोफेरोमा एक अर्काले माया गर्ने गर्छ । दिदी घर हिँडेपछि हाम्रो घरमा उनले एक दुई दिन बस्नुपर्ने थियो भन्ने कुराको छलफल भयो । आमाले भन्नुभयो “मेरो मायाले एक दुई दिन यहाँ बसेर उनको घर बिग्रन्छ भने गएकै ठिक, उनले आफूबरे सोची ठिकै छ ।”

यस्ता मामलामा आमा हामीभन्दा बढी व्यावहारिक हुनुहुन्थ्यो । छोरीले माइतीतर्फ आशक्ति देखाई भने आफ्नो घर बिग्रन्छ । उहँँले सम्झनु भयो–आफू सानै हुँदा बिहे भएके र आफू माइतीमा बस्न मन लाग्दालाग्दै घरमा आउने गरेको । त्यसैल्े त आमाले यस घरमा आफ्नो अवस्था चाँडै नै मजबुत तुल्याउनु भएके थियो । अलिकति मात्र यसोउसो गरेको भए सायद यस्तो नहुन सक्थयो भन्ने उहाँको विश्वास थियो, त्यसैले छोरीले आफूलाई यस्तो बिरामी अवस्थामा तुरुन्तै छाडेर जाँदा पनि उहाँलाई खासै चित्त दुखेन । बरु छोरी पनि आफू जस्तै आफ्नो अवस्थालाई ध्यानमा राख्दै दक्ष बन्दै गएकामा उहाँलाई सन्तोष लागेको थियो ।

करिब एक डेढ महिनापछि आमा ठुलो रोगबाट उठेकाले बुबाले पूजा गर्ने मनसाय व्यक्त गर्नुभयो । तुरुन्त त्यसको व्यवस्था हुनथाल्यो । दिदी पनि माइत आइन । दिदी र मैले पूजाको सर्दाम तयार ग¥यौँ । आमा अलिकति काम गर्न सक्ने हुनु भएको थियो । त्यसैले उहाँ खाना बनाउने तयारीमा लाग्नुभयो । हामीले पनि सघायौँ । बाहुनले बिहानै आएर रुद्री, पुटिक होम होमादि गर्न सुरु गरे । आमा रोगबाट बचेको खुसीयालीमा गरिएको पूजा थियो तथापि देवीदेवतालाई पूजा गर्ने काम आमाले गर्नुपरेन । आमाका तर्फबाट पूजामा खट्ने काम बुबाले गर्नुभयो । कहिलेकाहीँ बाहुनले आमालाई पनि बोलाउथेँ । पूजा सकिएपछि बुबाले बाहुनलाई टिका लगाएर दक्षिणा दिई गोडामा ढोगिदिनुभयो । आमाबाट पनि बाहुनले टिका ग्रहण गरे । आमाले उनलाई टिका लगाएर दक्षिणा टक्र्याउँदै हातले निहुरेर अभिभावन गर्नुभयो । त्यसपछि टिका लगाउने हाम्रो पालो आयो। दिदीलाई टिका लगाइदिएर दक्षिणा दिँदै आमाले राम्रो केटासँग विवाह भइहाल्यो, अब चाँडै जाय जन्म देख्न पाइयोस् भनेर गोडामा ढोगि दिनु भयो । त्यसपछि मेरो पालो आयो, तिम्रो विवाह गर्न बाँकी छ त्यसैले बाँचेकी छु पवित्रा, चाँडै असल र सक्षम केटालाई सुम्पन पाएहुन्थ्यो भन्दै मलाई टिका लगाइदिएर गोडामा ढोग्नुभयो । त्यसपछि बुबाले छोरी भनेको देवी हो, देवीको पूजा गर्नुपर्छ भन्दै टिका लगाइदिएर गोडामा ढोगिदिनु भयो । त्यस दिन मैले आफूलाई साँच्चै विशिष्ट नै अनुभव गरेँ । किनकि म देखिरहेकी थिएँ बाहुनको गोडामा आमाले शिर राख्नु भएके थिएन्, तर छोरीहरूको गोडामा ढोग्नुभयो । त्यसैगरी बुबाले हामीलाई पनि बाहुन जस्तै सम्मान गरेर गोडामा ढोग्नु भएको थियो । हामीलाई टिका लगाइदिएर ढोगेको देखी दाजु र भाइ टुलुटुलु हामीतर्फ हेर्दै थिए । उनीहरू हामीले लिएको पैसा देखेर लोभिँदै थिए । बुबा आमाले उनीहरूलाई टिका

लगाइदिनुभयो र पैसा नदिई आफ्नो गोडामा ढोग्ने इसारा गर्नुभयो । दाजुले बुबा आमालाई धेरै पटक ढोगिसकेका थिए । त्यसैले केही नौलो नमानी बुबा आमाको गोडामा शिर भुकाएर ढोगिदिए । भाइ सानै थियो, करिब ६ वर्षको हुँदो हो । कौतूहलवश उसले टिका थापेपछि गोडामा ढोग्न अनकनायो– दिदीलाई चाहिँ आफैँ ढोगिदिने मलाई चाहिँ ढोग्न लगाउने ? नाइँ म ढोग्दिनँ भनेर मुन्टो बटा¥यो । त्यति मात्र नभई मलाई पैसा खै ? भन्दै निहुँ खोज्न थाल्यो ।

नजिकै बसेर हेरिरहेका बाहुन बाजे खित्का छोडेर हाँसे र भने “बिचरा बालकलाई के थाहा जसका लागि सर्वस्व छ उसलाई यो नाथे दक्षिणा किन चाहियो ।” यो कुरा भाइले बुझेन । बुबा आमालाई ढोग्न इन्कारेको भाइलाई सम्Mभउँदै बाहुनले भने–”हेर बाबु दिदीहरूको यो घर होइन, उनीहरू अन्तै जान्छन् यो घर तिम्रो हो । यो घर बेच्यो भने बाबुलाई धेरै पैसा आउँछ, बाबुलाई बुबा आमाले पढाउन धेरै खर्च गर्नुपर्छ । त्यसपछि त आफैँ धेरै पैसा कमाउन सक्ने हुन्छौ ।” भाइलाई बाहुनले फकाइ–फुल्याइ बुबा आमाको गोडामा ढोग्न लगाए । भाइले अझै बुझेन ।

म सोच्न थालेँ बुबा आमाले टिका लगाइदिएको हामी देवी भएर हो या हामी अशक्त भएकले दया गरेर हो अथवा हामीलाई यस घर बाट बाहिर पठाउनका लागि बिस्तारै तयार गरेको हो । हामीलाई देवी भनेर टिका लगाइदिने बुबा ठिक कि बाहुन ठिक । म गहिरो सोचमा परेँ ।

आमा पहिला जस्तै काम गर्न सक्ने हुनुभयो । मेरो स्कुल जाने कार्यक्रम पनि पूर्ण रुपले चालू हुन थाल्यो । आमा अत्यन्तै जाँगरिली हुनुहुन्थ्यो, मलाई लाग्थ्यो उहाँको जाँगर र कुशल व्यवस्थापनले हाम्रो घर गाउँभरको उत्तमखाले घरहरूमा गणना हुन्थ्यो । बिहान आमा सबैभन्दा पहिले उठ्ने गर्नुहुन्थ्यो, बुबा भन्दा पनि पहिले । मैले थाहा पाएदेखि बुबा त मभन्दा पनि पछि उठ्ने गर्नुहुन्थ्यो । आमाले काटेर ठिक राखेको घाँस र आमाले पकाइसकेको कुँडो गाई भैम्सीलाई दिनुहुन्थ्यो । घर भित्र बाहिर बढार्ने, घर पोत्ने, पानी ल्याउने, बस्तुको गोबर फाल्ने, धान काट्ने, मकै पिन्ने जस्ता अधिकांश कामहरू ऋामाले हामी कोही पनि नउठ्दै भ्याइसक्नु हुन्थ्यो । खेतबारीको काममा पनि आमाले संलग्नता केही कम थिएन । खेत रोप्दा, मकै छर्दा, बुबा आमा दुवै जना सँगसँगै काम गर्ने गर्नुहुन्थ्यो । फरक फरक खाले कामहरू थिए तापनि दुवै जना काममा उत्तिकै व्यस्त रहनुहुन्थ्यो । मकै छर्दा बुबा अघि अघि हलो जोत्दै आमा पछिपछि मकै छर्दै हिँड्नुहुन्थ्यो । बाजेको पालमा खेतबारी जोत्ने हली राऋने चलनथ्यो रे । बाहुनले जोत्न हुँदैन थियो रे । प्रजातन्त्र आएपछि बाहुनले पनि हलो जोत्न हुन्छ भन्ने प्रचार भयो रे । गाउँ गाउँमा राजनीतिक नेताले आफैँ हलो जोतेर गाउँलेलाई देखाए रे । हजुरबाका पालासम्म बुबाहरूले पनि हलो छुनुभएन रे । पछि दाजु भाइ छुट्टिएपछि जग्गा पनि थोरै भयो । हलीी राख्दा खर्च प िन बढ्ने देखेर बिस्तारै बाध्यतावश बुबा स्वयंले हलो समाउनु भएको रे । पहिला पहिला हलो जोत्दा गाउँमा कसै कसैलाई भातपानी पनि काडिन्थ्यो रे । काग कराउँदै छ पिना सुक्दै छ भन्दै बुबाले जोत्ने अभिभारा लिनु भएको थियो । ठुलो जातका बाहुनले हलीको काम समेत थप्नु भएको थियो । हामीले थाहा पाउँदादेखि नै बुबाले विद्वान् र पवित्र ब्राह्मणको पूजा गर्ने काम र अछुत र तल्लो जातका मानिसले गर्ने भनिएको जोत्ने काम आफै गर्नुहुन्थ्यो । धान रोप्दा अक्सर धेरै जनाले सँगसँगै धेरै काम गर्ने गर्थे कसैले जोत्ने, कसैले माटो सम्याउने, कसैले खेतका गह्रा हिलो बनाउने त कोही रोेप्ने काम गर्थे । धान रोप्ने बेलामा खेतमा धेरै जना हुन्थे । कोही खेतला हुन्थे भने कोही भारोपर्मका सहयोगीहरू रहन्थे । खेतलालाई खाजा पानी पु¥याउने काम मेरो हुन्थ्यो । दिदी विवाह गरेर नगएसम्म हामी दुई जनाले त्यो काम गथ्र्यौ । आफ्नो काम सकेपछि खेतका हिला गरामा दगुर्दै बिउ बोक्ने, खेत रोप्ने काम गर्न मलाई आतुरी लाग्थ्यो । रोप्ने काम आइमाईहरूले गर्थे भने अरु काम लोग्नेमानिसले गर्थे । खेताला नभएका बेलामा पनि बुबाले खेतमा हिलो तयार गर्नुहुन्थ्यो, आमाले रोप्नु हुन्थो । खेतबारीमा धान मकै गोड्दा पनि खेतलासँग दुवै जनाको पसिना उत्तिकै बगेको हुन्थ्यो । विशेष काम नभएका समयमा कुनै कुनै बेला फुर्सद लिएर बुबा तास खेल्ने गर्नुहुन्थ्यो, डुल्न जाने गर्नुहुन्थ्यो भने ती दिनमा पनि आमाले फुसर्द लिएर बसेको देखिँदैनथ्यो ।

धान पाकेपछि मङ्सिरका दिनहरूमा कामको चटारो बढ्ने गथ्र्यो । धान काट्ने, पाँजा फिँजाउने, कुनियो लगाउने जस्ता काम सकिएपछि दाइँहाल्न्े दिनमा हामी सबै स्कुल नगएर खले जाँतो खान खेतमा पुग्ने गथ्र्यौ । सकैले धान झाट्ने काम गर्थे, कसैले पराल फिँजाउने गर्थे भने दाजु भाइ र मलाई समेत गोरु ध्पाउने काम दिइकाउे हुन्थ्यो ।मियोमा लहरै बाँधिएका गोरुहरू धपाउदै परालमा गुल्टीमारी खेल्दा कति रमाइलो हुन्थ्यो । दाजु भाइ र मसँगै गुल्टीमारी खेल्दै रमाएको हेरेर बुबाआमा आनन्दले हँसमुख देखिनु हुन्थ्यो । अनि धेरै खेलेको देखेपछि उहाँहरू क्ेटी भएर कति खेलिरहेको भनेर दाजु भाइकै अगाडि टिप्पणी गर्नु हुन्थ्यो । उनीहरूले मनग्गे खेल्न सक्थे, मैले भने खेल्नै नपाउने त होइन तर उनीह्रू जति स्वतन्त्र हुन पाउँदिनथेँ । स्वतन्त्रताको परिमाण फरक फरक रुपले निर्धारण गरिएको हुन्थ्यो । बुबा आमाले यस्तै फरक खाले व्यवहारबाट दीक्षित दाजु भाइहरूले पनि मलाई बेला बेलामा रोम लगाउने गर्न थाले । आफू स्वयं जे गर्थे त्यही काम मैले गर्दा उनीहरू भन्दा धरै गरोस् भन्ने चाहना राख्थे भने उनीहरूसँगसँगै खेल्दा र आनन्द लिने बेलामा चाहिँ मैले आफूलाई स्वयं सङ्कुचित बनेको देख्न चाहन्थे । उनीहरूको चाहना अनुसार नहुने बित्तिकै मुखै खोलेर वञ्चित गराउन तम्सन्थे । गाउँको चोक र मकै कोदो काटेपछिका खाली बारीका गह्राहरूमा गाउँका केटाकेटीहरू धेरै प्रकारका खेल खेल्ने गर्थे । उनीहरूसँगै डन्डिबियो, हुतुतु खेल्दा केहीबेर उनीहरू सहन्थे, केही बेरपछि आमा घरमा एक्लै हुनुहुन्५ घरमा जा भनेर पठाउँथे । काम बितेका कुराहरू उनीहरू दायित्वबोध गर्थे तर त्यसको निर्वाह आफू गर्नका लागि नभएर काम मलाई गराउनका लागि मात्र ।

एउटै प्रकेति, उही वातावरण, एकै घरको छानामुनि हुर्केका म र मेरा दाजु भाइप्रतिको हुकाई फरक खाले भएको कारण हा्रमे बुझाइ र गराइ पनि फरक फरक खालले विकसित हुँदै गयो । ……………… भाइ नौ वर्ष पुग्ने बेला भएको थियो । उनको व्रतबन्धको कुरा चल्न थाल्यो । लगन हेराउने, बाहुन बोलाउने, नातागोता, इष्टमित्रलाई निम्ता गर्ने, जोहो गर्ने काम बुबाको क्षेत्राधिकारभित्र प¥यो । पात ल्याउने, पात गाँस्ने, चामल कुट्ने, रोटी, कसार तयार गर्ने कार्य आमाको क्षेत्रभित्र पर्न गएकाले दुवै जना आआफ्नै काममा व्यस्त रहन थाले । हरेक पटक विभाजन र घोषणा नगरिए पनि स्वयं स्वीकार्य यी कामहरू बुबाका भन्दा आमाका असजिला, धेरै समय लिने र काम गरिसकेपछि मूल्याङ्कन गर्दा कुनै महत्व दिने खालकै हुँदैनथे । दिनदिनै पकाएर खुवाउने, भाँडा माझ्ने, पानी ल्याउने, घर लिप्ने, बढार्ने, भकारो सोहर्ने जस्ता काम गर्न अभ्यस्त मेरी आमाको भागमा त्यो भन्दा बढी झन्झटका काम थपिए । पात ल्याउने, पात गाँस्ने, चामल कुट्ने, पिठो तयार गर्ने, रोटी बनाउने, लुगा धुने, बत्ती कात्ने । त्यसका लागि आमाले गाउँघरका दिदीबहिनीसँग सहयोग माग्नुपथ्र्यो । त्यसो त आमा पनि उनीहरूको सहयोगका लागि त्यत्तिकै तयार रहनुहुन्थ्यो । कसैको घरमा विवाह, व्रतबन्ध निस्केपछि आफ्नो प्रथम दायित्व सम्झेर उहाँ सघाउन पुग्नु हुन्थ्यो । के गर्नुपर्छ भनेर सोध्नु हुन्थ्यो, खास काम गर्ने घरकालाई भन्दा आमालाई हतार हुन्थ्यो ।

व्रतबन्धको तयारी सकिन लागेको थियो । माघ ६ गत व्रतबन्धको साइत थियो । पाँच गते गाउँघरका लोग्नेमानिस, आइमाई सबै हाम्रो घरमा जम्मा भए । लोग्नेमानिसहरू कसैले केरा ल्याए, कसैले उखु, आँप पीपलको हाँगा ल्याए । आँगनको मध्य भागमा केराको खम्बा र सालको हाँगा गाडेर वर्गाकारको जगिया बनाइयो । लामो डोरीमा आँप पीपलको पात र फूलले सजाएर जगियामा घुमाइयो । आइमाईहरूमध्ये कोही पात गाँस्दै थिए । कोही घरभित्र रोटी, अर्सा, कसार, अनरसा, तरकारी, अचार तयार गर्दै थिए भने कोहीचाहिँ भरखर लोग्नेमानिसले आधारभूत रचना तयार गरेको जगियामा लिपपोत गर्न थाले । त्यहाँ जम्मा भएका हरेक साना ठूला लोग्नेमानिसहरूलाई पिढीँमा गुन्द्री र काम्लो ओछ्याएर, सबैलाई लहरै बसाएर बढो सत्कारसाथ रोटी, च्युरा, कसार, अर्सा, अनरसा, बोहोतामा अचार, तरकारी गरी खानेकुरा टक्र्याए महिलाहरूले । हरेक महिला पुरुषजनको सत्कारमा दत्तचित्तसाथ खटेका देखिन्थे । महिलाहरूले जगिया लिपेर सक्दा नसक्दै लोग्नेमानिसहरूको चिया चमेनाको कार्य समाप्त भइसकेको थियो । उनीहरूलाई बिस्तारै आआफ्नो घर जान अबेर भइसकेको थियो । दिने खाने सबैले हतारो देखाए । महिलाहरूमध्ये कसैले उठी उठी खाए, कसैले रोटी कसार पोल्टामा हाले, कसैले अचार तरकारी पाए, कसैले पाएनन्, सबै आआफ्ना घरतिर लागे ।

भोलिपल्ट बिहानै घरमा चहलपहल बढ्यो । बाहुन चाँडै नै आए, मामाले भाइको कपाल खौरिए, आमाले कपाल थालमा थाप्नुभयो, बिहानैदेखि जगियामा होम हाल्ने, वेद पाठ गर्ने, पूजा आजा गर्ने विधि सुरु भयो । बुबा सेतो धोती फेरेर बस्नुभयो, आमालाई त्यहाँ बसिरहनु पर्ने आवश्यता रहेनछ, बाहुनले बेलाबेलामा उहाँलाई पनि बोलाउँथे । हामीहरू दिदी बहिनीलाई पनि कैले लाभा छर्ने, कैले फूल ल्याउने, कैले तेलबत्ती, धुप, नैवेद्य ल्याउन अह्राउथे । दिउँसो एघार बजे भिक्षादानदिन गाउँभरका सबै जना हाम्रो घरमा जम्मा भए । कपाल खौरिएको, लठ्ठी र मृगको छाला भिरेको, सेतो लगौँटी लगाएको भाइले सबैसँग भिक्ष्ाँ माग्दै हिँयो । साना ठुला, आइमाई लोग्नेमानिस सबैले पैसा, जनै, सुपारी, चामल, फलफूल दान दिए ।

त्यसपछि बाहुनले भाइलाई मन्त्र सुनाए । मन्त्र अरुले सुन्न हुँदैन भनेर ठुलो उनीको पछ्यौराले बाहुन र भाइलाई छोपियो, बाहुनले बिस्तारै भाइको कानमा गायत्री मन्त्र सुनाए, जनै लगाइदिए । त्यसै विधिविधानद्वारा भाइको काँधमा जनै राखियो । ऊ त्यस दिनदेखि द्विज बन्यो रे । ब्राह्मण दुई पटक जन्मन्छ भन्ने मान्यता पुरा गराइयो । दुईचार जनाले उसलाई अलिपरसम्म लगे । ऊ बनारस विद्यार्जन गर्न जान लागेको रे । बुबाले हैन म यहीँ पढाउँछु, आऊ भनेर बोलाएपछि उसलाई फर्काइयो ।

भाइको व्रतबन्धको दिन आमाको नाम सरस्वती रहेछ भनेर मैले थाहा पाएकी थिएँ । त्यसअघि कसैले पनि उहाँको नाम काढेर बोलाएको मैले सुनेकी थिइँन । मामाघरमा हजुरआमाले “कान्छी” भनेर बोलाउने गर्नुहुन्थ्यो । ठुलोमामा र ठुलीआमाले पनि त्यसै भन्नु हुन्थ्यो । उहाँ पछिका भाइहरूले “दिदी” भन्थे । विवाह पश्चात् उहाँ “ठुली” बन्नु भयो । उहाँको जन्मको पहचिान माइतमा रहुन्जेल एउटा थियो, जुन स्वाभाविक थियो र नितान्त आफ्नै पहिचान थियो । चार दिदी बहिनीमा सबैभन्दा पछि जन्मिएको हुँदा “कान्छी” भनेर बोलाउँदा सबैलाई सजिलो भएको थियो, तर न्वारनको दिनमा साइत जुराएर बाहुनले राखेको नाम सरस्वती रहेछ । भाइके व्रतबन्धको दिनमा जगियामा बसेका बेला बाहुनले आमाको नाम सोध्दा बुबाले बताउनु भएके मैले सुनेँ । घरमा मेरो बुबा सबैमध्येको जेठो छोरो हुँदा ठुलो छोराकी श्रीमती बनेर घरभित्रिएकी “कान्छी” एक्कासि “ठुली” बन्न पुग्नु भएको थियो । नाउँ चाहिँ सरस्वती थियो । आमा क, ख अक्षरसम्म बल्लबल्ल चिन्नुहुन्थ्यो । उहाँ सानो हुँदा छोरीलाई पढाउने चलन नै थिएन रे । उहाँका दाजुभाइले कसैले काठमान्डु गएर, कसैले बनारस गएर पढेका थिए रे । तर छोरीहरू कसैले पढ्न पाएका थिएनन् । विवाहपूर्व दाजु भाइहरू टाढा टाढा पढ्न जाँदा घरमा खेती गर्ने, गाईबस्तु हेर्ने गरेर बुबा आमालार्ए चारै दिदी बहिनीले धेरै सघाएका थिए रे । आफू पढ्न नपाएको वेदना आमालाई थाहा थियो । त्यसैले छोराछोरी सबैलाई पढाउन उहँँले भरमग्दुर प्रयास गर्नु भयो । तथापि छोराछोरीप्रति बराबर व्यवहार गर्न भने आमाले पनि सक्नु भएन । मैले नपाएको कुरा छोरीहरूलाई दिएँ भन्ने उहाँको भावना थियो । उहाँको विचारमा छोरा सरह छोरीलाई पढ्न पठाएपछि आफूले भेद नगरेको ठहथ्र्यो ।

व्रतबन्धको दिन बेलुका सबै जना जम्मा भए । पारिवारिक गफका क्रममा आमाको नाम सरस्वती रहेछ भनेर आज मात्र थाहा पाएको कुरा मैले दाजु दिदीलाई भनेँ । दाजुले व्यङ्ग्य गर्दै भने “सरस्वतीको अर्थ त विद्याकी देवी हुन्छ नि हैन त !” आमाले विरक्त रुवरमा भन्नुभयो “जुन गोरुको सिङछैन् उसैको नाम तिखे, नाम सरस्वती भएर के त ? बाले राख्ने बेलामा मेरो ना सरस्वती राखे । पढ्न पठाए दाजु भाइलाई–नामले के गर्छ र ?” त्यसैबेला आमाले आफ्नो बाले आफूलाई र दाजुभाइलाई पढ्ने क्रममा गरेको पक्षपातको मार्मिक कथा यसरी सुनाउनु भयो–

“हाम्रा बाले दाजुभाइलाई पढाउन एकपटक सिमलचौरका पण्डितलाई घरमा पाल्नु भएको थियो । दुई तिन वर्षपछि उसले पढाएको चित्त नबुझेर खारखोलाका रामजीले बनारसबाट शास्त्री पढेर आएको थाहा पाएर उनैलाई दिउँसो गाउँको पाठशालामा पढाउने, बिहान बेलुका आफ्नो घरमा छोराहरूलाई पढाउने सर्तम घरमा ल्याउनु भएके थियो । पढाए वापत गुरुलाई हाम्रै घरमा खाना खुवाउनु पथ्र्यो । दाजुभाइलाई पढाउने बेला गुरु पिँढीको छेउमा बनाएर राखेको अग्लो फलैँचामा बस्थे । हामी दिदी बहिनी, भाउजु बुहारीचाहिँ पल्लो पिँढीमा जाँतमा मकै दल्लदै यात मकै छोडाउँदै हुन्थ्यौँ । कहिले कोही धान कुट्दै हुन्थ्यौँ त कोही कुटेको धान निफन्दै हुन्थ्यौँ । उनै बुबा आमाले जन्माएका हामी एउटै घरका मानिसहरू एकथरी मालिक जस्ता थिए, अर्काथरी उनका सुसारे जस्ता । दाजुभाइलाई पढाउने गुरुलाई पकाएर खुवाउने र उनले आएका भाँडा माझ्ने, लुगाधुने, कोठा सफा गर्ने काम हाम्रो थियो । उनको नजिकै पिँढीमा दाजुभाइ बस्थे गुरु संस्कृतमा श्लोक लय हालेर भन्थे । दाजुभाइहरू हत हल्लाएर उनको पछिपछि भट्याउँथे ।

ॐ गण नान्त्वा गणपति गुँ हवामहेँ ।

ॐ निधिनान्त्वा निधिपति गुँ हवा महेँ ।

कोही भन्थे त्यो वेद पढेको हो आइमाइले सुन्न हुन्न । हामी भने दाजुभाइले पढेको ताल हेर्न खुब इच्छुक हुन्थ्उौ । कहिले कहिले त काम छोडेर उनीहरूले पढेको पढाएको एक टक लगाएर सुन्थ्योँ । जाँतो र ढिकीको आवाज नआएपछि बुबा एकदम सतर्क भएर – “ए के सुनिरहेका छौ, दाजुभाइले पढेर भ्याउने बेला भयो, गुरुलाई भोक लाग्न थाल्यो खाना पकाउन बेर हुन लागिसक्यो। ऋझ धान, मकै कुटिसकेनौँ ।” हिँड्ने गोरुको पुच्छर निमोट्ने हाम्रा बुबाले कहिल्यै हाम्रो िशर ठाढो हुन दिनु भएन । हामीले त पढ्न पाएनौँ अहिलेका छोरीहरूले स्कुलमा गएर पढ्न पाएका छन् ।” आमाको बुझाइ र गराइमा छोरा र छोरीलाई भेद गर्न छाड्यौँ भन्न् ेआभास मिल्थ्यो । हुनपनि हो उहाँ स्कुल जान पाउनु भएको थिएन्, हामीहरूलाई स्कुल पढाउनु भएको थियो ।

तीन दिदी बहिनीभन्दा पछि जन्मिएकी हुँदा “कान्छी” भनिएकी मेरी आमा जेठासँग विवाह गरे पश्चात् “ठुली” हुन पुग्नु भएको थियो । यी दुई नाममा कमसेकम नाउँ र आशयमा केही सान्दर्भिकता आउँथ्यो, तर जन्मेको साइत, घडीपला अनुसार जुरेको नाम र आफ्नो उपलब्धिमा कुनै तादात्म्य देखिँदैनथ्यो । कति अस्थिर र लचिलो जिन्दगी थियो आमाको । कहिल्यै नाम मात्र पनि स्थिर रहेन । कैले कान्छी, कैले ठुली, कैले सरस्वती काफ्ले, कैले सरस्वती भट्टराई । हाम्रो बुबा कुलप्रसाद भट्टराई, उहाँको नाम कहिल्यै बदलिएन । नत आमाको बुबा कृष्णप्रसाद काफ्लेको नै नाम र थर बदलियो । पुरुष बाहिर जान्छ, काम गर्छ, कमाउँछ, उनको जिन्दगी गतिशिल छ, तर उनको नाम स्थिर छ । महिला घरै बस्छे, गृहणी कहलाउँछे, बाहिर कमै जान्छे, जिन्दगी प्रायः स्थिर छ, तर नाम भने बहुतै परिवर्तनशील । अगतिशिललाई गतिशील बनाउने तत्व अर्कै छ ।

व्रतबन्ध राम्रोसँग सम्पन्न भएको कुरा दिदीले उठाइन । भाइ धार्मिक विधिविधानद्वारा उच्च कोटिको बनाइएको थियो । उसलाई बसैले विशेष भाउ दिने गर्थे । कसैले उसलाई अबदेखी चोखो भइस्, मासु खान हुन्न भन्थे, कोही जनै लगाएपछि तल्लो जातको मान्छेलाई छोयो भने सबै लुगा धुनुपर्छ, नुहाउनुपर्छ, जनै फेर्नुपर्छ भन्ने गर्थे ।

मलाई भने दिदी आफू र आफूसँगका गाउँका कोही केटीहरूको पनि व्रतबन्ध नगरेको देखेर बडो जिज्ञासा लाग्दै थियो । हाम्रो गाउँमा मात्र हो या अन्यत्र पनि केटीको व्रतबन्ध गर्दैनन् होला । “हाम्रो व्रतबन्ध किन नगरेको आमा ?” मैले आमालाई सोधेँ । “तँ यसै पवित्र छन् नि, किन व्रतबन्ध गर्नुप¥यो ” दाजुले खिसी गरे ।

“म त पवित्रा भएँ ? दिदीको ग¥यौ त बर्तुन ?” “आइमाईको व्रतबन्ध गर्नुपर्दैन ? पवित्रा जे कर्म गरिन्छ सबै विवाहमा गरिन्छ ।” आमाले भन्नु भयो । आइमाई भनेको अरुको कर्ममा खाने जात हो । आइमाई कैले नछुने हुन्छन्, कैले सुत्केरी हुन्छन्, आइमाईको शरीरै अपवित्र । त्यस्तो बेलामा शुद्ध गायत्री मन्त्रहरू भन्नु हुँदैन, ईश्वरको नाउँ लिन हुँदैन, पूजा गर्नु हुँदैन, त्यसैले आइमाईको बर्तुन नगर्ने गरेको हो नानी । फेरि त्यस्तो बेलामा गायत्री मन्त्र उच्चारण ग¥यो भने बौलाइन्छ क्या ! भन्दै फुपूले प्रचलित दर्शन सुनाउनु भयो । भाइ दुई पटक जन्मेको मात्रै होइन त्यस दिनदेखि उसलाई वयस्कसरी व्यवहार गर्नुपर्ने भयो । ऊ पनि बाबु र दाजु सरह पाञ्चायन पूजाको लागि योग्य ठहरियो । भोलिपल्टदेखि उसले पनि मलाई पूजाका लागि सर्दाम ठिक गर्न अह्राउन सक्ने भयो ।

लोग्नेमानिसका लागि स्वतन्त्र अस्तित्व र पहिचानको अवाश्यकता पर्दोरहेछ । आफैँ शुद्ध हुनुप¥यो, आफैँ पढ्नुप¥यो, आफैँ कर्म गर्न र आर्जन गर्न समर्थ हुनुप¥यो । त्यसका लागि बाबुआमाले उनीहरूका लागि पहिलो खुड्किलो तयार गरिदिने गर्दा रहेछन् । आइमाईका लागि यो यस अर्थमा अनावश्यक ठानिदोरहेछ कि जसको स्वतन्त्र अस्तित्व नै छैन, जन्मेदेखि मृत्यु पर्यन्त कैले कसैको त कैले कसैको भएर बाँच्नेहरूका लागि शिक्षा, कर्म, क्षमता किन आवश्यक प¥यो र? यी सब कुरा कैले बुबाले, कैले लोग्नेले, कैले छोराले गरिदिने हुँदा आइमाईले त समर्पित भइदिए पुग्दोरहेछ, केवल त्याग र सेवा गर्न सिक्नुपर्ने रहेछ । दिदी त्यही सिक्दै थिइन्, म त्यही बुझ्दै थिएँ ।

भाइले दिनदिनै भन्नुपर्ने गायत्री मन्त्र बाहुनले एउटा कागजको पन्नमा लेखेर दिएका रहेछन् । उसले पहिलो दिनमा नै हरायो । उक्त कागज मैले पाएकी थिएँ । उसलाई त्यो संस्कृतको मन्त्र कण्ठस्थ आउँदैनथ्यो तापनि हरेक दिन पूजा चौकामा बसेर पञ्चपात्रोबाट आचमनीले पानी खाँदै जनै हातमा बेर्दै गायत्री गथ्र्यो । बुबाआमा छोराले के के न पौरख गरेझैँ गरी छोराले जप गरेको हेर्दै मख्ख पर्थे । मलाई मात्र थाहा थियो, उसले गायत्री मन्त्र लेखेको कागज हराएर विना मन्त्र जप गर्ने बहाना गर्दैछ भन्ने । उसलाई मैले परीक्षा गर्न एक दिन ल भन् त गुरुले सिकाएको गायत्री मन्त्र भनेर आग्रह गरेँ । त्यति सानै नौ वर्षीय भाइले सहसा नकार्दै भन्यो “तिमीहरूले सुन्न हुँदैन रे, भो भन्दिनँ ।”

“किन नहुने ?” मैले जिज्ञासा राखेँ ।

“आइमाईले यो मन्त्र सुन्यो भने बौलाउछन् रे ।”

“के रे ? कसले भन्यो ?”

“उः हजुर आमाले भन्नुभाको, नपत्याए सोध न ।”

त्यति नै बेला दिदी आइपुगिन् । दिदीलाई भाइले भनेको कुरा मैले दोहो¥याएँ । दिदीलाई पनि थाहा रहेछ “अँ त आइमाईले गायत्री मन्त्र सुन्यो भने बौलाउँछन् भन्छन् ” उनले सजिलैसँग स्वीकारिन् । मलाई अझै कौतुहल लाग्यो । जबकि उक्त मन्त्र मैले धेरै पटक पढिसकेकी थिएँ र बौलाइन्छ कि झैँ कत्ति लागेन, बरु अझै दोहोराइ दोहोराइ भनूँ झैँ लाग्न थाल्यो ।

आफूले सुन्नै नहुने उक्त गायत्री मन्त्र के रहेछ भनेर हेर्दै भन्दै गर्दागर्दै एक दुई दिनमा नै मलाई कण्ठ हुनथाल्यो । पछि पछि त मलाई कठस्थ भयो अनि मैले नहेरी एकान्तमा कराएरै र अरु भएका ठाउँमा मनमनै भन्न थालेँ । एक दिन त मैले बुबा आमाले अगाडि नै उक्त मन्त्र कराएर नै कण्ठस्थ सुनाएँ ।

भूभुर्वःस्वः तत्सवितुव्र्वरेण्यम्भर्गोदेवस्यधीमहि । धियोयोनः प्रचोदयात् ।। त्यो मन्त्र सुनेर बुबा आमा चकित हुनुभयो । कसरी जानी भन्ने खुल्दुली लाग्यो सबैलाई । त्यसपछि वास्तवमा मन्त्र मैले पढ्ने गरेको र भाइले कण्ठ गरेको नाटक मात्रै भएको कुरा खुलासा गरिदिएँ । बुबा आमा दुबैले भाइल्े जान्नुपर्ने मन्त्र तैँले पो आउँदो गरिछस्–अब भाइलाई पनि सिका ल भनेर भन्नुभयो । बौलाइन्छ भन्ने कुरा चाहिँ भन्न सक्नु भएन ।

भाइको विधिवत् व्रतबन्ध भएर गुरुले गायत्री मन्त्र उनको कानमा फुकेका थिए । ऊ मन्त्रको एउटा शब्द नै सम्झँदैनथ्यो । मलाई गायत्री मन्त्र कण्ठस्थ आउँथ्यो । तैपनि मैले जानेको र भाइले नजानेकोमा केही परक थिएन । पूजाको अधिकारी ऊ नै थियो । व्रतबन्ध गरेपछि दाजु र बुबाले गर्ने गरेको पाञ्चायनको पूजा भाइले पनि गर्न थाल्यो । बिस्तार बिस्तार दाजु र बुबाले जे जस्तो काम मलाई अह्राउथेँ, उसले पनि बडो सहज ढङ्गले अह्राउन थाल्यो । आमा अधिकांश समय अरु काममा व्यस्त रहने हुँदा पूजाको सर्दाम गर्न भ्याउनु हुन्थेन । आफूले जति धेरे काम गरेपनि कसैसँग केही गुनासो गर्ने बानी पनि थिएन आमाको । आमालाई आफूल र अरुले गरेका कामको लेखाजोखा र मूल्याङ्कन गर्न कहिल्यै आएन । आफ्नो काम महत्वहीन र बुबाले गरेका जुनसुकै काम महत्वपूर्ण हुन् भन्ने कुरामा आफू जति विश्वस्त हुनुहुन्थ्यो, हामीलाई पनि बुझाउन त्यत्तिकै जोडताको साथ लागिपर्नु हुन्थ्यो । आफू बेला बेलामा बिरामी पर्नुहुन्थ्यो तर आफ्नो भन्दा बुबाको स्वास्थ्यको राम्रो ख्याल गर्नु हुन्थ्यो । बेला बेलामा भन्ने गर्नुहुन्थ्यो, “हामीले बुबाको स्वास्थ्यको राम्रो ख्याल गर्नुपर्छ, बुबा बिरामी पर्नु भयो भने कसले काम गरेर हामीलाई खुवाउँछ ? आखिर काम त दुवै गर्थे, बुबाभन्दा आमा अझ धेरै काम गर्नुहुन्थ्यो” तापनि बुबाको काम मात्रै ठुलो, बुबा नै स्वस्थ रहुनपर्दछ भन्ने कुरामा जोड दिनु पर्ने कुराको भित्री आशय बुझ्न सक्दिनथेँ ।

हरेक दिन बिहान घरमा आफ्नो काम सकेर डुल्ने बानी थियो बुबाको । कहिलेकाहीँ खेतला खोज्न जानुपथ्र्यो, कैले गाउँको हालखबर के छ भनेर बुझ्न जाने निहुँमा बिहानभर नजिकैको पसल र होटेलमा छलफल, गफगाफ गरेर सयम बिताउने बानी उहाँलाई परेको थियो । घरमा जे जे खाए पनि पसलमा गएर चिया, तरकारी, जेरी नखाएसम्म उहाँ तृप्त हुनुहुँदैनथ्यो । बुबासँग गए जेरी खान पाइने लोभमा दाजु, भाइ र म पनि अक्सर पछि लाग्ने गथ्र्यौ । हामी सबै पछि लागेर दौडँदै जाँदा बुबाले दाजु र भाइलाई लिएर जाने गर्नुहुन्थ्यो, मलाई पनि कहिलेकाहीँ लैजाने गर्नु हुन्थ्यो तर धेरैजसो बेला घरमा गएर आमालाई सघाउनु भन्दै फकाइ फुल्याइ फर्कादिनु हुन्थ्यो । घरमा फर्केर गएपछि म पनि आमासँगसँगै बढो दत्तचित्तले काम गर्थे । बुबाले कहिले काँही घर आउँदा मलाई पनि एक दुईवटा जेरी कागजमा पोको पारेर ल्याइदिने गर्नुहुन्थ्यो । त्यही आशामा पनि म बढो प्रसन्न हुँदै काममा लागि पर्थे ।

बुबा कहिले पसल जानुभन्दा पहिले पूजा गर्नुहुन्थ्यो, कहिले फर्किएर आएपछि । पूजा एकदमै सखारै अथवा खाना खाने बेलातिर पनि हुने गथ्र्यो । जे होस पूजा खाना खानुअघि हुनेगथ्र्यो । त्यो मात्र अनिवार्य नियम थियो दाजुभाइले पनि त्यसै गर्न थाले, कैले पूजा सकेर बुबासँग पसलतिर जान्थे, कहिले पसलतिर गएर आएपछि पूजा गर्ने । कहिले मैले सर्दाम मिलाइदिइसकेपछि पनि धेरैबेरसम्म उनीहरूमध्ये कोही पनि पूजा गर्न आइपुग्दैनथे । कैले चाहिँ फेरि सर्दाम मिलाउन नभ्याउँदै आएर सर्दाम तयार नभएमोमा मलाई हकार्थे । बुबाले मात्र होइन दाजुले र पछि पछि भाइले पनि त्यसै गर्न थालेको थियो । पूजाको सर्दाम मिलाउदा कहिले केही जुटाउन र्बिसदो रहेछु त कहिले केही । एक दिन मैले बत्ती तेलमा भिजाउन बिर्सिएछु । दाजुले पूजा गर्दा बत्ती बाल्न पाएनछन् । पूजा गर्दागर्दै बाहिर आएर मलाई बोलाए । म गोठमा गोबर सोहोर्दै थिएँ । तुरुन्त म आउन सकिनँ । पर्खदा पर्खदा उनको रिसको सीमा टुटेछ, दर्गुर्दै आएर मेरो लामो कपाल समात्दै भित्र लगे र “किन तेल बत्ति ठिक गरिनस् ?” भन्दै तेल बत्ति तयार गर्न लगाए । अर्को दिन पूजा गर्न दाइ तयार भएर पूजा चौकीमा गयो । मैले पञ्चपात्रोमा पानी राख्न बिर्सिएछु, त्यही भएको अम्खोराबाट पानी लिनुको साटो मलाई खोज्दै बाहिर आए । म सबैले खाएका चियाका भाँडा माझ्दै थिएँ । उनले भन्यो – “देउतालाई चढाउने पानी नै छैन के चढाउने ?”

“पानी नभए त्यहीँ अम्खोरामा देखेनौँ, त्च्यसबाट पञ्चपात्रोमा खन्याउन सक्दैनौँ कि के हो ?” मैले यति भन्न पाउँदा नपाउँदै उनी दर्गुर्दै भित्र गएर यस्ती असतीले मिलाएकबो सर्दामले पूजा पनि गर्दिन भन्दै सबै सर्दाम हात र गोडाले मिल्काइदिए । देउताहरू एछिट्टिएर कुनै अँगेनातिर पुगे, कुनै भ¥याङमुनि गुल्टिए । पुरुषको झोकको अगाडि नतमस्तक बनेका देवताहरू छरिएको देखेर मलाई माया लागेर आयो ।

अन्यायमा परेकाहरूलाई देवताले न्याय दिलाउँछन् भन्थे बुढापाकाले मैले छरपस्ट फ्याकिएका देउताहरूबाट न्याय पाउने आशा त राख्नै सकिनँ, उल्टै तिनीहरूको हरिबिजोग देखेर तिनीहरूलाई बटुल्न पो पुगेछु । त्यस दिन भने आमाले दाइलाई हप्काउँदै मेरो सह्राना गर्नु भएको मैले सुनेँ है ।

“बिहानभरि बहिनी फूल टिप्छे, पूजा भाँडा माझ्छे, चन्दन घोट्छे, अक्षता बनाउँछे, धूपबत्ती, नैवेद्य तयार गर्छे, तँचाहिँ डुलेर आएर पानी पुगेन भनेर उल्तै उसैलाई गाली गर्छसे ?” यति नै बेला बुबा घरभित्र छिर्नुभयो । पूजा बारे भइरहेको रडाको देखेर बुबाले लाजुको पक्ष लिँदै मलाई हप्काउनु भयो – “दाजु कहीँ पूजा गर्ने बेलामा पानी सार्दै, फूल खोज्दै हिँड्छ त ? सर्दाम मिलाउनेले त्यति पनि गर्न सकिन्न ? यस्तै डाले छ यो पवित्रे ।”

मलाई हप्काएको देखेर आमा झन् जोडले रन्कन थाल्नुभयो । “हरे कति निर्विवेकी हुँदा रहेछन् यी लोग्नेमानिसहरू, छोरालाई त्यही भएको पानी लिएर पूजा गर् भन्नुको साटो अम्खोराबाट पञ्चपात्रोमा पानी राखिनँ भनेर पनि छोरीलाई हप्काउन सुहाउँछ त कतै ! पर्दैन अब पूजासुजा गर्न ।”

पूजा नगरी आमाले कसैलाई पनि खाना खान दिनु हुँदैनथ्यो । दुई चार दिनअघि मात्र बुबा, दाजु र भाइले पूजा नगरेका कारण बेलामा खाना खान आमाले नदिँदा म स्कूलमा ढिला पुगेँ र रिले पहिलो पिरियडमा कक्षामा पस्न नदिएको कुरा मेरो मनमा ताजै थियो । तर उक्त दिन आमाले मेरो पक्षमा वकालत गर्दै गरेको देखेर मलाई एकछिन त पत्याउन पनि कठिन भइरहेको थियो । उक्त दिन आमा उग्र रुपमा प्रस्तुत हुनु भयो । अबदेखि पूजा गर्न पर्दैन कसैले पनि भन्दै छरिएका फूल, नैवेद्य, धूपबत्ती सोहर्दै फ्याँकिदिनु भयो । देवताहरूलाई कुनातिर थन्काई दिनुभयो । मलाई विश्वासन थिएन आमाले देवताको पूजा सदाका लागि त्यागिदिनु हुन्छ भनेर । भोलिपल्ट सधैँझैँ मैले पूजाको तयारी गर्न लाग्दा आमाले मेरो दुई हात समातेर पवित्रा पढ्न जा, पूजासुजा गर्नु पर्दैन भनेर मलाई धकेल्नु भयो । म अन्योलमा परेँ र सोधेँ “अबदेखि पूजा नगर्ने आमा ?”

“अहँ पर्दैन, देवताको पूजा गर्नेहरूले काम गर्नपनि सिके हुन्छ नि ।” आमाको एक्कासि परिवर्तित अभिव्यसक्त मेरो दिलभित्र कुण्ठित भावनासँग मिल्न थाल्यो । अबदेखि हामी नै पूजा गर्न थालौँ न त आमा भन्दा उहाँले बढो दृढताका साथ भन्नुभयो “भयो यिनीहरूले बनाएका देउता पुज्न पनि पर्दैन ।” मेरो जिज्ञासा अरु बढ्यो “आमा देउताले मानिसलाई बनाएका कि मानिसले देउतालाई बनाएका हुन् ?” मैले भन्न नपाउँदै आमाले भन्नुभयो– “खै भन्न त मान्छेलाई देउताले बनाएका भन्छन्, तर देउताले मान्छे बनाएको कसले देखेको छ र ? मान्छेले बनाएका देउता भने जताततै छरिएका छन्, घर घरमा, टोलटोलमा, बाटाघाटामा, रुखका टोड्कामा, खोल्साखोल्सीमा र नदीका छेउछाउदेखि ठुला ठुला मन्दिरसम्म पुजी नसक्नु छन् ।” ती छरिएका देउताालाई देखाउँदै उहाँले भन्नुभयो – “यी धेरैजसो देउता यिनले त्यही गण्डकीको तिरबाट बटुलेर ल्याएका त हुन् ।” पूजा थानमा राखेको पित्तको मूर्तिदेखाउँदै आमाले भन्नुभयो “त्यो महादेवको मूर्ति मधिसे घर घरमा आएका बेला थोत्रो गाग्री मासेर बनाउन लगाएको हो ।” भित्तामा टाँसेका शिव पार्वती, राम सीता, हनुमान्, कृष्णको फोटो देखाउँदै आमाले भन्नुभयो “हरे पवित्रा ती कागजका देवी देवताचाहिँ पसलबाट किनेर ल्याएर टाँसेका हो । आफैँ लडिरहेका अरु देउता देखाउँदै त्यो शालिग्राम कालीगण्डकीबाट ल्याएको हो । त्यो विष्णु सूर्य भन्ने चाहिँ तीर्थ जाँदा हरिद्वार, ऋषिकृषबाट ल्याएका रे बाजेका पालामा ।”

अर्को दिन बुबा पूजा गर्न तम्सिएर आउँदा त्यस दिन पूजा चौकी खाली थियो, देउताहरू प्नि आमाले हिजै कुना कुनामा मिल्काइदिनु भएको थियो । ती देवताहरूलाई बटुलेर आफैँ सर्दाम गरेर पूजा गर्ने हिम्मत बुबाले गर्नुभएन । आफ्नो शक्तिसंयन्त्र र चाबी अरुको हातमा पुगिसकेको जस्ते महसुस गरेर उहाँ एकछिन टोलाउनु भयो र बिस्तारै केही नभनि घरबाट निस्केर सदा झैँ पसलतिर लाग्नु भयो । मैले पनि आफ्नो हरेक दिनको दायित्व घटेको अनुभव गरेँ । दिनदिनै गर्नुपर्ने काम घटेकामा त्यस दिन मलाई ज्यादै आनन्द लाग्यो ।

विरोधाभास म अरुभन्दा सुन्दर र पवित्र छु भन्ने ठान्थेँ । यही अहम् भावनाले प्रेरित म कसैसँग दाँजिन योग्य छु जस्तो लाग्दैनथ्यो । ऐना हेर्दा आफूलाई अरुभन्दा राम्राी पनि लाग्थ्यो । ऐना हेरिसकेपछि म आफूलाई अरुसँग दाँज्ने गर्थे । रमिता र सुशीला कस्त कस्ता थिए, विमलाको मुख कस्तो कोप्चो थियो, गोरी भएर के गर्नु ? चन्द्राको कस्तो नमिलेको दाँत, दमयन्तीको मस्तो अँध्यारो मुख छ, सरिता राम्रै हो, तर कपाल कस्तो कैलो छ । बेला बेलामा ऐना हेर्दै म आफ्नो रुपको हरपक्ष पत्ता लगाउने कोसिस गर्थे । दाँत, कपाल, छालाको रङ, हँसाइ सबै कुरामा अरुभन्दा उत्तम लाग्थ्यो आफूलाई । त्यसैले नाम पनि अरुको भन्दा उच्च कोटिको जुरेको हो जस्तो लाग्थ्यो पवित्रा । पवित्र भावनाले प्रेरित, शुद्ध सफा ।

मलाई एकिन थाहा छैन तर करिब तेह्र वर्षको आधा आधीमा, सायद महिना असोज थियो होला, एक दिन मेरो घमण्डमा तुषारापात लागेको थियो ।

मैले त्यस दिन केही नौलो अनुभूति गरेकी थिएँ, पिसाब आएको होइन तैपनि त्यहीँ ठाउँमा चिसो चिसो लाग्यो । औँलाले कोट्याएँ रातो देखियो । फेरि लुगाले पुछ्ने निधो गरेँ । कसैलाई भनूँ वा नभनूँ ? द्विविधायुक्त मनस्थितिमा म चिन्तित रहेँ । मसँगका साथीहरू केही डेढ वर्ष पहिले, कोही दुई चार महिना पहिले नै रजस्वला भइसकेका थिए । रजस्वपला भएको पहिलो दिन धेरै जना रोएका थिए रे । कोही भएकै छैनन् । मलाई रुन मनचाहिँ लागेको छैन तर के गरुँ कसो गरुँ कसैलाई भनू कि नभनूँ । भनूँ त रगतले म अपवित्र छु भन्ने सङकेत दिएको देखेर म अलमल्लमा परेँ । म अब आफ्नो ओछ्यायनमा सुत्न लायक छैन, मैले बेग्लै भाँडामा खाना खानुपर्छ । पानी समेत मैले आफैँ लिन नपाउने भएँ, दाजुभाइसँग बस्न र उनीहरूलाई छुन त परै जाओस् मुख हेर्न समेत अयोग्य ठहरिएँ । म अन्योल ग्रस्त भएँ ।

पोहोर साल सरिता नछुने हुँदा उसकी आमाले हतार गर्दै कसैसँग बोल्न नदिई कसैलाई नहेरी उनका लुगाफाटा लिएर पल्लो गाउँकी रमा आमैकहाँ लुक्न लगाएकी थिइन् । ऊ नछुनी भएर लुक्न गएको खबर सुनेर हामी पनि उसलाई भेट्न गएका थियौँ । तिमीहरूको पनि पालो आउँदै छ, के खुसीको कुरा हो र भेट्न आएका छडुल्लीहरू भन्दै रमा आमैले आफ्नो गोठबाट उता जान दिइनन् । दोस्रो दिन रमा आमै पँधेरा गएको बेला हामी पाँच सात जना साथी भेट्न गएका थियौँ । उसलाई भेटेर सोध्यौँ – “के तँलाई नरमाइलो लागेको छ ?”उसले गहभरि आँसु बगाउँदै भनेकी थिइँ “दिउँसो त ठिक छ राति नरमाइलो लाग्छ, आउँदै गरन ल ।”उसकले सूर्य हेर्न नहुने रे, खाटमा सुत्न नहुने रे, दुध खान नहुने र उसलाई बिहान बेलुका रमा आमैले यस्तै यस्ता शिक्षा दिने गर्थिन रे ।

मलाई पनि आफू नछुनी भएको दिन बेचैनी बढेको थियो । सङ्का, उपशङ्का, सङकोच बढेको थियो । मैले जो कोही लोग्नेमानिसलाई छाएपनि अपवित्र बन्छन् रे । मैले छुँदैमा अरुसमेत अपवित्र हुने भए पछि म कसरी पवित्रा भन्न योग्य रहेँ । अरुभन्दा उच्च खालको व्यक्ति हुँ भन्ने मेरो सोचाइ गलत सावित भएको थियो, सरिताभन्दा म कसरी उच्च रहेँ र ? एब वष्मए पहिले उसलाई जे हाइप¥ आज मलाई त्यही भएको छ । ऊभन्दा म पवित्र त रहिनँ । कसैलाई केही भन्नु उचित अनुचित ठह¥याउन सकेकी थिइनँ । यसै समयमा मेरी दिी मलाई बोलाउँदै म सुतेको छेउमा आइपुगिन्, मेरो निष्क्रिय अवस्था देखेर उनले सोधिन् – “किन आज यस बेलासम्म मुख नधोएकी, स्कुल जानुपर्दैन ?” मैले भनेँ – “म आज स्कुल जान्न ।” किन ? “सन्चो भएन ?”

“सन्चो नभएको होइन आज म अपवित्र भएँ । मैले आज कसैलाई छुनपनि हुँदैन ।कसरी स्कुल जानु ।” दिदीले मेरो कुरा तुरुन्तै बुझिहालीन् । नबुझ्ने पनि किन ? उनले पनि त्यही अवस्था पार गरेर आएकी थिइन् । उनले तुरुन्त आमालाई खबर पु¥याइन् । आमा आफ्ना सबै काम छोडेर मकहाँ आउनु भयो र कैले नछुनी भएको भनेर सोध्नुभयो । मैले भनेँ “रातितिर होला ।” त्यसपछि आमा र दिदीले खासखुस के के सल्लाह गरे मैले सुनिनँ । उनीहरू अन्यत्रै गए । केही बेरपछि दुवै जना मलाई अन्यत्र लैजानको लागि तयार भएर आए । कपडाको पोको लिएर दिदी मेरा सामु उभिइन् र भनिन् “ल हिँड् भाऊँ कान्छी दिदीको घरमा, त्यहाँ कोही लोग्नेमानिस पनि छैनन्, आमाले कुरा गरेर आउनु भएको छ ।” मैले सुनी मात्र रहेँ, अन्यत्र जाने उत्सुकता पनि देखाइनँ, प्रतिवाद पनि गरिँन । मैले जाने तरखर नगरेको देखी दिी मलाई नछोई अलि पर बसिन् र जानका लागि प्रतिक्षा गरिरहिन् ।

किन जाने हो अन्त् आखिर सबै घरमा आइमाई छँदैछन्, सबै नछुनी भएकै होलान्, एक घरबाट अर्को घरमा सर्दैमा हुने के होला ? आखिर महिलाहरू किन आल्लो र पल्लो घर सर्छन् । मलाई घर छाडेर अन्यत्र जान कत्ति मन लागेन । म नबोली दोलाइँले मुख छोपेर बसिरहेँ । दिदीले आमालाई खबर पु¥याइन्, पवित्रा त जान मान्दिन, रोएर बसेकी छे । म रुन सकेकी थिइँन तर मनमा अनेकौँ तर्क बिर्तकका शृङ्खला उठ्थे । आमा र दिदीका साथै पल्लो घरका काकीहरू, माथिल्लो घरकी ठुलीआमा गरी चार–पाँच जना जम्मा भए । अरुसँग भन्ने आँट झिक्न खोज्थेँ, एक दुई वाक्य बोल्न पाउँदा नपाउँदै साना ठुला, सबै एकै प्रकारले प्रतिवाद गर्थे । आइमाई भएर जन्मिए पछि यस्ता विडम्बना बेहोर्नै पर्छ रे । आमा, दिदी, बहिनी। सरिता, भगवती, ममता, रमिता कसैले पनि यसबाट छुटकारा पाउँदैनन् रे ।

कसैको कुरामा पनि मलाई चाख थिएन । म नबोलेको देखेर कुरा सुनेको भान सबैलाई परेको हुँदो हो । तथापि उनीहरूको आधा कुरा पनि मैले सुनेकी थिइनँ । मेरो चिन्तन यिनीहरूको आवरणको कुराभन्दा भिन्न थियो । मेरो नामको सार्थकता आज छैन ? खै कता गयो ?
आज म अपवित्र भएँ ? के यस्ता दिनका लागि अर्कै नाम राख्नुपर्ने होइन ? स्वयं म अपवित्र बनेको बेलामा मलाई उही नामले बोलाउन मिल्छ ? आखिर म अपवित्र हुने कुरा निश्चितै थियो भने किन पवित्रा नाम राखेको होला ? म यस्तै तर्क वितर्कमा मस्त थिएँ । म आफ्नै सुरले तयार भएको नदेखी आमा र दिदीको धैर्यको बाँध टुटेछ । मैले ओडेको दोलाइँ फालिदिएर आमाले भन्नु भयो – “हिँड पवित्रा । बुबा, दाजुभाइ आउने बेला भयो यतातिर उनीहरूको मुख हेर्न हुन्न । चाँडै जाऊँ कान्छी दिदी पर्खेर बसैकी छिन् ।”

“उनीहरूको मुख मैले हेर्न नहुने कि उनीहरूले मेरो मुख हेर्न नहुने ?” मैले सोधेँ । आमालाई पनि सही कुरा थाहा थिएन, तैपनि उत्तर त दिनै पर्ने भएकाले तुरुन्तै भन्नुभयो “तैले उनीहरूको मुख हेर्न नहुने, आफू अशुद्ध भएको बेला कहिल्यै अशुद्ध नहुनेहरूलाई हेर्नु हुन्छ कतै ?” आमाको उत्तर सुनेपछि मेरो ध्यान मेरा शरीर होइन लोग्नेमानिसको शरीरतिर मोडिायो । साँचै लोग्नेमानिस कहिल्यै अपवित्र हुँदैनन्, यिनीहरूको शरीरबाट कहिल्यै रगत आउँदैन त्यसैले उनीहरू आइमाईहरू भन्दा ठूला भएका हुन् ? मैले मनमनै सोधेँ । दरगत मात्रै नआउने त हो, आखिर दिशा, पिसाब तिनीहरू प्नि गर्छन् । थुक खकार, पसिना त तिनीहरूको पनि हाम्रो जस्तै आउँछ । केवल रगत मात्रै त हो बढता आउने उनीहरूको भन्दा त्यति हुँदा उनीहरू भन्दा किन अपवित्र ठहरिने । यसैबेला दिदीले मेरो हात समातेर चाँहै हिँड क्या भनेर झकझकाइन् । मनमा रिस उर्लेर आएको थियो, अन्यौल र दुविधाको भावनाप्रति उत्तिकै थियो । तथापि म केही गर्न सक्ने हालतमा थिइनँ । मैले बल नै गर्ने हो भने दिदी एक्लैसँग स्वयं लड्ने हिम्मत गर्थे होला उनको पक्षमा आमा त्यही हुनुहुन्थ्यो । अरु पनि ठिङ्ग उभिएर वकालत गर्दै थिए । बसैले ए ! कति छिटो हिँडेको मुख छोप्नुपर्छ, घाम हेर्न हुन्न भन्दै थिए । कसैले लोग्नेमानिसलाई हेर्नहुन्न, पछ्यौरा ली भन्दै गरेको मैले सुनेकी थिएँ । सुनेको नसुन्यै गरी म जस्तो लुगामा सुतेकी थिएँ त्यही लुगामा कान्छी दिदीकहाँ पुगेँ । म सरासर उनको घरभित्र पस्न लागेकी थिएँ । मलाई दैलामा बाटो छेक्दै कान्छी दिदीले भित्र नपस् पवित्रे, ऊ त्यहाँ खोपी छ त्यहीँ बस्ने हो तँ भनेर पिँढीको छेउमा काठले बारेको खोपी देखाइन् ।

मलाई बाहिर राख्ने उनीहरूको योजना देखेर रिस उठेर आयो । मैले भनेँ – “म बाहिर एक्लै बस्न सक्दिनँ, जाडोपनि हुन्छ भित्र नै बस्छु ।” यति भनेर ढोकाभित्र छिर्न के खोजेकी थिएँ उनले दुई हातले मलाई बाहिर धकेलिन्, म पिढीँमा थच्चक बस्न पुगेँ । यत्तिकैमा आमा र दिदी आइपुगे उनीहरू आइपुग्दा कान्छी दिदीको रिस चरमसीमामा पुगेको थियो । यस्ती जबरजस्तीलाई मेरा घरमा राख्न पनि पर्दैन, लैजाओ कहाँ लैजाने हो, मलाई छोइदिई, भरखर नुहाएर आएको फेरि नुहाउनु पर्ने भयो, उता उता भन्दै छु म त्यहा बस्दिनँ भन्दै भित्रै पस्न खोज्छे लौ ।” कान्छी दिदी एकै सासमा कराईन् । “बाहिर कसरी बस्ने जाडो हुन्छ, डर लाग्छ, म त्यो कोठीमा बस्न सक्दिनँ” मैले जिद्दी गरेँ आमा र दिदीको समर्थन पाउने आशामा । उनीहरूले उल्टै एकै स्वरमा हप्काउन सुरु गरे “आइमाई भएर बढ्ता जिद्दी गर्नु हुँदैन । हामी सबै यस्तै ठाउँमा बसेर आएको हो, सुत्ने बेलामा डर लाग्यो भने म अथवा दिदीमध्ये कोही आउँला । दिउँसो साथीहरू आइहाल्छा् एकलै बस्नै पर्दैन ।” उनीहरूको अगाडि मेरो प्रतिवाद कमजोर साबित भएको थियो, बोल्नु व्यर्थ थियो । उनीहरूले मलाई चुप गराउन सके तर मैले मलाई चुप गराउन सकिनँ । बाख्राको खोर नजिकै काठैकाठले बारेको सानो खोपीभित्र मेरो ओछ्यान तयार गरियो । म चुपचाप ओछ्यानमा पल्टिएँ । कान्छी दिदीले पकाएको खाना मैले मेरा थाल, कचौरामा थापेर खानुपथ्र्यो । मेरा शरीरबाट निस्केको रगत धुन बिहान बेलुका म नजिकैको पँधेरामा लगिन्थेँ ।। त्यहाँ पनि कोही लोग्ने मानिस नआएको बेला हेरिन्थ्यो । कान्छी दिदीको कोठेबारीमा भएका काँक्रो, घिरौँला, फसर््ी, कागती, अम्बा केही पनि छुन वर्जित थियो । बेलुका कान्छी दिदी मेरा नजिक आएर अलग्गै बस्दै आइमाईको हारेको जुनी किन भनिन्छ भन्ने कथाहरू सुनाउँथिन् ।

आइमाई भएर जन्मिएपछि सधैँ एकनास हँदैन, कैले चोखो हुन्छ, कैले बिटुलो । नछुनी हुँदा कसैले आफ्ना घरमा बस्नु हुन्न, सूर्यको मुख समेत हेर्न हुन्न । आमाई नछुनी भएको पहिलो दिन राक्षस्नी बन्छे, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन बल्ल चोखी बन्छे भन्ने जस्ता कुारहरू सुनाउँथिन् । सर्वत्र एकछत्र प्रभाव फैलाउने सूर्यलाई मैले हेर्न हुँदैन भनिन्थ्यो । मलाई भने झन् सूर्यलाई चियाउन मन लाग्थ्यो, नहेरी हुँदैनथ्यो । एक दिनमा दसौँ पटक मैले सूर्यलाई हेरेँ । दिदीले भनिन् “सूर्यलाई जति हेरे पनि हुन्छ, तर मैले हेरेँ भनेर कअरुलाई भन्न हुँदैन, म पनि त्यसै गर्थे । अरु सबैगे गर्ने त्यसै हो ।” तब त मैले थाहा पाएा –गर्ने एक ुकरा भन्ने अर्को कुराको व्यवस्थामा म तालिम लिँदै थिएँ । अर्को दिन मैले दिउँसो काँक्रो र अम्बा टिपेर आएँ भन्दा दिदी एकदमै डराइन् । नकरा कान्छी दिदीले सुन्छिन् भन्दै कहीँ उनी नजिकै छन् कि भनेर नजर घुमाउन थालिन् । नछुनी भएका आइमाईको पापले फलफूल कुहन्छि भन्ने विश्वास दिदीलाई पनि थिएन, तर कान्छी दिदीको हप्काइ खानुभन्दा कुरा लुकाउनु नै राम्रो लाग्थ्यो दिदीलाई । त्यसैले उनी मलाई भित्र जे गरे पनि ती कुरा अरुसँग भन्नु हुन्न भनेर सिकाउँथिन् ।

यस्तै छल्ने र ढोङ गर्ने कुरा सिक्दै मैदे चार दिन पार गरेँ । चार दिनको बिहानै आमा र दिदीले मलाई नजिकैको पधेँरामा नुहाउन लगे । बिहानै नुहाउने इच्छा थिएन, तर पनि मैले प्रतिवाद नगरी आज्ञापालन गनेए उत्तम उपाय अपनाउन थालेँ । पाँचौ दिन बिहान नुहाएर सूर्यको दर्शन गराउनु भयो आमाले, मलाई आफ्नो घरमा ल्याइयो । चोखो भएको घोषित गरियो । दाजुभाइ, बुबा सबैले हेर्न लायक भए बापत मैले एक जोर लुगा पाएँ । आमा भन्नुहुन्थ्यो – “पहिले पहिले हाम्रो पालामा त पहिलो पटक नछुनी हुँदा बाइस–तेइस दिन बार्न लगाउँथे । अहिले त चार दिन बारे पुग्छ । पहिला पहिला हाम्रो पालामा पढ्न जानु पर्दैनथ्यो, अहिले त्यति लामो समय स्कुल नगए कति पाठ छुट्छ । त्यसैैले मान्छेले चार दिन बारे पुग्ने मात्र गराए ।” म स्कुल जान थालेँ, घरमा आमालाई सघाउन थालेँ र मेरा दिन चर्या पूर्ववत् चल्न थाले ।

पाँच दिन स्कुल गयल भएपछि म स्कुल पुग्दा शिक्षक, विद्यार्थी लगायत अरु सबैको चासो मतिर बढेको थियो । कसैको हेराइ अनौठो थियो । कोही मुसुमुसु हाँसेर मलाई नजानिदो तरिकाले गिज्याउन खोज्दै गरेका जस्ता देखिन्थे । मभन्दा ठुला ठुला कक्षामा पढ्ने केटीहरू प्नि त्यहाँ प्रशस्तै थिए । बै केटीहरू इस अवस्था पार गरेर नै आएका थिए । तापनि यस घटनाप्रति सबैको अत्यन्तै चासो रहेको प्रतित हुन्थ्यो । किन स्कुल नआएकी, कैले रजस्वला भएकी, कहाँ बसिस्, के गरिस् । मेरा स्कुलका दिदीहरू सोध्थे, बहिनीहरू ध्यान दिएर सुन्थे । केटाहरूलाई मेरो अनुपस्थितीको कारण थाहा थियो, तापनि किन स्कुल नआएको भनेर प्रश्न गर्दै निश्चित हुन चाहन्थ्े । यस प्राकृतिक प्रक्रियामा मेरो केही हात थिएन, तापनि म आफू लाजले भुतुक्कै हुन्थ्ेँ । मैले स्वयं केही कसुर गरेकी थिइँन, तैपनि सबै मिलेर मलाई दोषी साबित गर्न लागेझैँ लाग्थ्यो । मेरो मनमा रिस र क्रोधको ज्वाला समुद्रको छालझैँ उठ्दै हराउँदै गथ्र्यो । कहिलेकाँही मेरो के भुल छ र म डराउने,म कराउँछु भनेझैँ लाग्थ्यो । तुरुन्त आफ्नो परिवेश नियाल्थेँ । मलाई साथ दिने न आमा, न दिदी बहिनी, न साथीसँगी कोही देख्दैनथेँ । मुसीले सबैभन्दा बीर पूरषसँग विवाह गर्न निस्केर सूर्य , बादल, पहाड हुँदै आफ्नै दुलोमा पस्न बाध्य भएझैँ समाजका लिखित÷अलिखित बन्धनका विरुद्ध म मनमनै कति विद्रोह गर्थे तैपनि स्वयं नै बिस्तार बिस्तार यसैमा भाँसिदै जान्थेँ पनि । घर, स्कुल, समाज, जहाँतहीँ मेरा लागि कुण्ठित वातावरण मात्र थियो । लोग्नेमानिस, आइमाई, परिवार, नातागोता, साथीसँगी, शिक्ष्ँक, पुजारी कोही मेरा पक्षमा भएको मैले महसुस गर्न पाइनँ ।

करिब दुई महिनापछि म फेरि रजस्वला भएँ । यसपटक मैले कसैलाई पनि तुरुन्तै भन्ने विचार गरिनँ । न आमा, न दिदी, न स्कुलका साथीहरू, यसका लागि मैले आफ्ना र आमा समेत प्रशस्त थोत्रा कपडाको प्रयोग गरेँ । अर्को महिना त्यही अवस्था आइप¥यो तापनि मैले कसैलाई केही चनिनँ । तथ्य लुकाउनका लागि मैले निकै प्रयत्न गर्नुपथ्र्यो, कसैले शङ्का गर्ला किन भन्ने डरले म सधैँ भयभित रहन्थ्ेँ । एक दिन आमाले भेउ पाउनु भएछ । मैले होइन भनेर प्रतिवाद गरेँ, तैपनि मेरो भयभीत अनुहारले सत्यताको उद्घोष गरिरहेको देखेर आमा पनि डराउनु भयो । आमाले पनि मैदे लुकाएको कुराबाट खासै हानी देख्नु भएको होइन, तर अरुले थाहा पाउँछन् कि भनेर धेरै डराउनु भयो र मलाई खोलामा लगेर नुहाउन लगाएर लुगा सबै फेरेर कसरी व्यवस्थित तरिकाले दैनिक काम गर्ने भनेर सिकाउनु थाल्नु भयो । म नछुनी भएको चार दिन बितिसकेको थियो । नुहाइ धुवाइ गरेपछि मैले शारीरिक रुपमा एक किसिमको हल्का अनुभव गरेँ । आमाले हप्काइ दप्काइ केही नगरेकोमा मलाई एक प्रकारको अनौठो लागिरेहेको थियो । किन उहाँले पनि यस अप्रिय घटनालाई सहज रुपमा स्वीकार्नु भयो मेरो मनमा खुल्दुली थियो, मैले त्यसतर्फ कुरा बढाउन उचित ठानिनँ । आमाले नै मलाई यस सम्बन्धमा बिस्तारै सिकाउन थाल्नु भयो, “सधैँ लुकाएर हुँदैन अरुले अर्कै शङ्का गर्छन्, कैले काहीँ भन्ने पनि गर्नुपर्छ ।” पछि आमाले थोरै कुरा धनेबाट मैले धेरै आड पाएँ, त्यसपछि महिनै पिच्छे कहिले नछुनी भएँ भन्ने कहिले केही नभन्ने नीति अपनाउँ । महिनावारीका बेलामा पनि स्कूल जाने, घरमा काम गर्ने, छरछिमेक, मामा घर जाने, साथीहरूसँग मन्दिर जाने कुनै कुरामा मैले सीमित गराइनँ । परन्तु एक दिन पँधेरामा म मेरा रगतका टादाटुली धँदै थिएँ, चैत्रको महिना भएकाले धारो सानो थियो मैले धोएके रगत तुरुन्तै नबगेर नालीनिरै टल्पलाएको थियो । त्यसै बेला उपल्ला घरकी कान्छी आमा पानी लिन आइपुगिन् । “तँ नछुनी भएकी रहिछन् क्यारे पवित्रा, तेरा लुगा धुन धेरै बेर लाग्छ अलि उता सार म पानी भर्छु, अनि पछि तेरो काम गर्लिस् ।” मैले यस पटक नछुनी भएको कुरा कसैलाई भनेकी थिइँन । तयसैले म नछुनी भएको होइन भन्ने प्रमाणित गराउन मैले उनको डोको अलिपर सारिदिएँ । यनी रिसले उग्रचण्डी बनिन् । “नछुनी नभएकी भए नालीभरि रगत कसरी आउँछ ? तँ जे गरेर हिँडेपनि मेरा भाँडा किन छोइस् ?” यसो भन्दै डोकाबाट गाग्री बाहिर बजारिन् । डोकामा गाग्री मात्र थिएन मोही राख्ने गरेको ठेकी समेत थियो । रिसको झोँकमा फतफताउँदै पँधेरामा हल्लामच्चाउन थालिन् । पधेँरामा पानी भर्न आउने आठ दश जनाको सहारा उनले पाइन् । सबैलाई भन्न थालिन् “पवित्रेले नछुनी भएरपनि भएको छैन भन्दै मेरा गाग्री ठेकी छोइदिई ।” अरु पनि मप्रति खनिन थाले, “आफू जे गरेपनि अर्काको भाँडा किन छोइदिएकी कस्ती डर नभएकी केटी होली ?” पढेका केटी कत्ति नडराउने । हाम्रा पालामा त हामी कति डराउथ्यौँ, बोल्न पनि डर लाग्थ्यो” खर्कीले थपी ।

“गाग्री त माझेर सुकाउने, सुकेपछि चोखिन्छ, ठेकी त फाल्नै प¥यो ।” डाँडाघरे ठुली आमाले घोषणा गरिन् । “अँ खत्तमै गरिदिई नि” बाटामुनिकी जेठी भाउजुले भनिन् । हुँदाहुँदै पँधेरो एउटा सभामा परिणत भयो । पानी भर्न आउने जति सबैको समस्या बन्यो मेरो रजस्वलाको घटना । पानी भर्ने चासो कसैलाई भएन, कसैलाई बेर भएन । म हेरेको हेरैँ भएँ । मैले एक शब्द बोल्ने हुने स्थिती देखिनँ । गाग्री जस्तो सुकेपछि चोखो नबन्ने ठेकीलाई फालिदिने कि कुनै तरिकाले यसलाई चोखो बनाउन सकिन्छ भन्ने छलफल चल्न थाल्यो । कसैले भने सुकाएर सुनपानी छर्किएपछि चोखो बन्छ, कसैले भने त्यसरी चोखो हुँदैन फाल्दिनैपर्छ, तर पीपलबोटे भाउजुले आफ्नो माइतमा यस्तै कुनै नछुनी भएको आइमाइले माटाको भुँडको छोइदिँदा त्यो कसै गरी शुद्ध नहुने भनी फुटाइएको कुरा सुनाइन् । सभामा धेरै छलफलपछि ताँवा, पित्तल, फलामजस्त धातुले बनेका भाँडाहरू सुकेपछि शुद्ध हुने, तर ठेकीजस्ता काठले बनेका भाडा सहजै शुद्ध नहुने हुँदा यसको लागि अरु उपाय अपनाउनुपर्ने कुराको चर्चा चल्यो । यत्तिकैमा उपल्लो घरे कान्छी आमा आफू पनि शुद्ध बन्नका लागि फेर्ने लुगा लिन घरतिर लागिन् । बाटामा भेट हुने जति सबैसँग मैले उनलाई छोएर अशुद्ध बनाइदिएको घटना बताउँदै गइन् । कस्तो विडम्बना ! पवित्राले छोएको मानिस, पवित्र होइन् बरु अपवित्र बन्दै थिए । बाटामा उनले उनकै देवर वेदप्रसादलाई भेट्टाइछन्, उनलाई देवता मिले सरह भयो । उनले सबै बेलीबिस्तार लगाइछन्, आफू त नुहाएर सुनपानीखाएपछि शुद्ध भइन्छ, गाग्री पनि सुकेपछि सुनपानी हाले शुद्ध हुन्छ तर ठेकी के गर्ने ? नयाँ ठेकी फाल्न पनि सकिएन । आउजुको समस्या सुनेर वेदप्रसादले तुरुन्त बताइदिए कि जमिन खनेर खाल्डो बनाई त्यसलाई जमिनमा गाड्नु र खनेको माटामा जौ तिल छर्कनु । जौ, तिल उम्रेपछि ठेकी शुद्ध हुन्छ । उनले भनेछन् ठेकी दुइ तीन दिनमा कुहिँदैन, जौ एक दुई दिनमा उम्रिहाल्छ । ठेकी लाई जमिनमा गाडेपछि त्यो मरेको भयो जौ उम्रेपछि त्यसले अर्को जीवन पाएको भयो । देवरले बताएको उपायको कुरामा आश्वस्त बनेकी कान्छी आमा आफ्ना फेर्न एकजोर लुगा र ठेकीको पुनर्जीवनका लागि उपाय लिएर आइपुगिन् । सबैलाई समस्याको समाधान सुनाइन् । सबैले समर्थन जनाए, त्यसै गर्ने निर्णय भयो । सुकेर शुद्ध बनेको गाग्री र अशुद्ध नै रहेको ठेकीसँगै घर लैजान नहुने निष्कर्ष निस्कियो । नुहाएर ठेकी लिएर जाँदा फेरि आफू समेत पनि अशुद्ध नै हुने हुँदा कान्छी आमा ठेकी मात्र लिएर घर गइन । अनि आफ्नो भित्री बारीमा खाल्डो खनेर ठेकी गाडेर आइन् ।तर जौ छर्नचाहिँ नुहाएर चोखो बनेपछि मात्र ठिक हुने ठहर भए अनुसार फेरि नुहाउँन पँधेरामा आइपुगिन । हरेक पटक जाँदा आउँदा उनको गनगन एकैतारको देखिन्थ्यो । उनको लागि धाराका सबै पँधेर्नीले सजिलै धारा छोडिदिन्थे । एक छेउमा बसेर हेर्नु र नकराइकन सुन्नु बाहेक मेरो कुनै उपाए थिएन । एउटा ठुलै अपराध गरेझैँ मेरा मुखतिर हेर्दै टीकाटिप्पणी गर्न कोही पछि परेनन् । म घर तुरुन्त जान पनि डराइरहेकी थिएँ । घरमा पनि मैले हप्काइ खानुपर्ने डरले चाडै जाने इच्छापनि भएन् । सहज रुपमा आइपुगेको पा्रकृतिक प्रक्रिया वापत मैले भोग्न बाध्य प्रताडना देखेर म मनमनै अति दुखित थिएँ, तर मैले सहानुभूति खोज्ने र पाउने सम्भावना कतै देखिनँ । आफ्नो कसुर र अकर्मण्यता बेगर हीनता बोध गर्नु परेकोमा उकुसमुकुस हुँदै छटपटिको अनुभव गर्थे । कसैसँग मनका कुरा भनेर हल्का अनुभव गर्ने इच्छा थियो, तापनि भनेजस्तो साथी कोही मेरा मनमा आउँदैनथे । दिदी माइतमा थिइनन् घरमा आमासँग समेत भन्न सक्ने स्थितीमा थिइँन किनकि मैले यसपटक कसैलाई पनि नभन्ने निर्णय गरेर नछुनी बारेकी थिइँन । मानिसले नै मलाई दिएको नाम र व्यवहारको भिन्नता देखेर आफैँ चकित थिएँ ।

भदौको महिना तिज नजिक आइसकेको थियो । सबैका घरमा विवाहित छोरी–बुहारीहरू आआफ्ना माइत आउने जाने उपक्रम सुरु भइसकेको थियो । हाम्री आमा पनि छोरीलाई लिन कसलाई पठाउने भन्ने चिन्तामा हुनुहुन्थ्यो । दाजु धेरै पटक दिदीलाई लिन गएका र दिदीकी सासुको व्यवहार देखेर म यसपटक जान्न भनेर पन्छिए । म मात्र जान नसक्ने भएकाले बुबा आमाले दाजुलाई बहिनीको सुरक्षाका लागि जानुपर्ने कारण देखाई मनाउनु भयो । दाजु र म दिदीलाई लिन उनको घरमा के पुगेका थियौँ – दिदीकी सासु हामीसँग फन्कन थालिहालिन् “दिदी लिन आएका होउला, कसले गर्छ घरको सारा काम र माइत जान्छे तिमारी दिदी ? हाम्रा छोरी त फुर्सद भए आउँछन् नभए आउँदैनन्, यसरी ताँती लगाएर लिन पठाउँदिनँ म त ” यति भन्दै कहिले भित्र कहिले बाहिर गर्न लागिन् । म त दिदी लिन पहिलो पटक गएकी थिएँ, दाजु उनको त्यो बानी देखेर पहिलेदेखि नै व्यग्र रहेछन् र सधैँ यस्तै गर्ने गर्छिन् भनेर दाजुले पहिलेदेखि पार लगाउँथे । फेरि उनी जति कराए पनि दिदी जहिले पनि माइत आएकै हुन्थी । उनी तिजनमा माइत नआएको हामीलाई थाहै छैन । लिन जाने मान्छे देखेपछि कराउनुपर्ने उनको बानी नै रहेछ भने पारिवारिक सरसल्लाहले बिदा दिनुपर्ने बाध्यता पनि छँदै थियो । हामी गएको भोलिपल्ट बिहानै दिदी लुगा लगाएर निस्किइन । हामी उनको पछि पछि लाग्यौँ । दिदीकी सासु फनफनाएर झोक्किएको प्रसङ्ग हाम्रा लागि एकाध महिना हाँस्ने बहाना भएको थियो ।

दिदीलाई माइत ल्याएको दिन तिजको अघिल्लो दिन थियो दर खाने दिन । छोरी आउने र भोलिपल्ट व्रत बस्नु पर्ने भएकाले आमाले अनेक प्रकारका खाना तयार गर्नु भएको थियो । काँक्रो बडाबडा बनाएर राख्नु भएको थियो, चिचिन्डा, घिरौँला, बोडी, करेला, फर्सी, भिन्डी नखाई नखाई तिजलाई साँचेर राख्नु भएको रहेछ । हाी बेलुकी पख आइपुग्दा खाना सबै तयार भइसकेको थियो । आमा दिदीलाई देखेर धेरै खुसी हुनु भयो र सोध्नु भयो – “सासुले नपठाउने त कुरा गरिनन् ?” दाजु र मैले उनको पार उतार्दा सबै जना गललल हाँसे । हामी एक पटक होइन सयौँ पटक पार उतार्ने गथ्यौँ । सबैलाई हरेक पटक उत्तिकै हाँसो लाग्थ्यो । आमाले साँझ नपर्दै सबैलाई खाना खान बोलाउनु भयो । भन्नुभयो – “ल खाना तयार छ खाइहाल, एक त भोक लागेको होला, दोस्रो राति फेरि दर खानुपर्छ । दाजु र बुबाले घामै नअस्ताई खाना खामन मानेनन् । यी व्रत बस्नु नपर्ने मान्छेहरूको कुरो बेल्गै छ । यिनीहरू न्खाऊ्न तिमीहरू खाओ, लक्ष्मी भोलि भोकै बस्नुपर्छ ऐले खाइन भने राति उठेर खान भ्याइँदैन ।”

राति नखाईकनै भोलि व्रत बसे हुँदैन र आमा ?” दाजुले भने । “हुन त किन नहुने होला र तैपनि एक त दिनभरि पानी पनि नखाई निराहार बस्नुपर्छ, दोस्रो माइत आएको बेलामा पनि पेटभरि खाएर नबसी के को दुःख गरेर व्रत बस्नुप¥यो त ?”

हामीले खाना खायौँ । खाना अरु दिनभन्दा मिठो थियो । तरकारी मात्रै चार थरीका । करेला र भिन्डीको अचार, घिउ, भुजा, लट्टे, खिर, जे खायो त्यै मिठो । खाना खाइसकेपछि वल्लोपल्लो घरका माइत् आएका दिदी बहिनी हाम्रै पिँढीमा जम्मा भए । सन्चो विसन्चो, आआफ्ना घरका अनुभव एक्अर्कालाई सुनाएपछि भोलि बेलैमा गौँडाको चौतरीमा भेला भएर गीत गाउँने सल्लाह भयो ।

दिदी लक्ष्मी भुसुक्कै पिँढीमा नै निदाइन् । आमाले उठाउने कोसिस गर्नु भएन । किनकी केही घण्टापछि दर खान उसलाई उठाउनु नै थियो । दिनभरिको थकाइले आमा पनि लखतरान हुनु भएको थियो । दिदीको छेउमा पल्टिनु भयो । दुवै जना आनन्दले निदाएका थिए, हामी भित्र गएर सुत्यौँ । पाँच, छ घण्टा पछि आमा आत्तुरी गर्दै उठ्नु भयो । दिदीलाई झक्झक्याउन लाग्नु भयो – “लक्ष्मी ए लक्ष्मी, नानी उठ्त ल, उज्यालो हुने बेला भइसके छ, चाँडै दर खानुप¥यो ।” दिदी पनि हस्याङ्फस्याङ् गर्दै उठिन् । दिदीले दर खान हामीलाई पनि बोलाइन् । दर खाने तरखर गर्दा नगर्दै उज्यालो देखिन थाल्यो । उज्यालो भएपछि तिजको व्रत बस्ने दिनमा खान नहुने भएकाले लुक्न प्रयास गरी दिदीले झ्यालमा तन्नाको पर्दा लगाएर अँध्यारैमा दर आएको जस्तो गर्न लागिन् । आमा खाना थपिदिँदै हुनुहुन्थ्यो भयो भयोभयो उज्यालो भइसक्यो” दिदीले भनिन् । “खा खा अरुलाई उज्यालो भएपछि खाएँ किन भन्नुप¥यो र ?” आमालाई आफू र छोरी समेतले व्रत बसेको देखाउनुपरेको त थियो तर खासै व्रत बस्नुपरेको थिएन । “यसरी व्रत बस्नु भन्दा खाना खाइदिए के हुन्छ र आमा ?” दाजुले भने ।

“तिमीहरूलाई के थाहा व्रत नबसे सबैले कुरा काट्छन् । आफ्नो श्रीमान्को आयु लामो होखोस् भनेर बस्ने रे तिजको व्रत, कसैले खाना खायो भने आफ्ना पतिको मासु आए सरह हुन्छ रे, पानी मात्रै आए पनि उनको रगत दिएजस्तै हुन्छ रे भन्छन् । हुनु, हुनाउ त के के हो खै ।” “आमा मलाई त यस्तो चिल्लोचाप्लो खाना खाएको बेलामा झनै तिर्खा लाग्छ । दिउँसो तिर्खा लाग्यो भने के गर्ने ?” दिदीले सोधिन् । आमा केहीबेर बोल्नु भएन र यताउता हेर्नुभयो कोही नौलो मान्छे नदेखेपछि बिस्तारै भन्नुभयो– “तिर्खा लागे नकराई आएर पानी खाने अरुलाई खाएँ नभन्ने ।”

“कसले सोध्छ र ?” मैले भनेँ । “ओहो मान्छेलाई अरुको कस्तो चासो हुन्छ, किन नसोधने, के ग¥यो कसो ग¥यो भन्ने मुख उद्याउने एक से एक हुन्छन् ।” त्यसमा पनि आइमाईहरू आआफू ठुलो हुन यस्तो गर्नुपर्छ । यस्तो गर्न हुँदैन, उस्तो गर्न हुँदैन भनेर ठुलो पल्टिन एक से एक खप्पिस हुन्छन् । कोही मैले त पानी पनि खाएको छैन, म त बMेुका पनि फलफूल पनि खान्नँ भन्छन्, तर त्यस्तो नखाई बस्ने खुईचार जना पनि हुँदैनन् । आमाले भोगेका “खान हुने भन्ने नहुने” खाँटी कुरा बताउनु भयो । सायद आमा पनि यस्तै छद्म व्यवहार गर्न बाध्य हुनुहुन्थ्यो होला कुनै बेला, कहिलेकाहिँ अथवा सधैँ । कसले के जान्ने ?

दाजु कौतूहलतावश आमासँग कसले बस्नुपर्छ व्रत कसले बस्नु पर्दैन जस्ता प्रश्न गर्दै थिए, त्यसैबेला बुबा घरमा आइपुग्नु भयो । हामी सबैको कुरामा कुरा थप्दै बुबाले तिजको महत्वबारे लामै प्रवचन दिनुभयो–

“हेर भगवान् शिवलाई प्रसन्न पार्न तिजको व्रत बसिन्छ । विवाहति महिलाहरूले आफ्नो पतिको दीर्घ जीवन साथै आफ्नो सौभाग्यको रक्ष्ाँको लागि अनि आफूले चिताएको सम्पूर्ण इच्छा पुरा होऊन भन्ने मनोकामना सहित सौभाग्यवती भइन्छ । अविवाहित केटीहरूले पनि प्रतिभावान्, सम्पत्तिवाल, रुप र गुणले युक्त वर पाइयोस् भनेर व्रत बसेर शिवको पूजा गर्नुपर्छ ।

“अनि शिवको पूजा किन महिलाले मात्र गर्ने बुबा ? लोग्ने मानिसले गर्नुपर्दैन ?” मेरो कौतूहलता देखेर बुबाले तिजको अझै वर्णन गर्नुभयो ।

“हेर छोरी, तिजको प्रसङ्गभगवान् शिव र पार्वतीको प्रेम प्रसङ्गसँग जोडिएको छ । शिवप्रति भित्री मनबाट पावर्र्ती आकर्षित भएकी थिइन्, तर उनका बुबा आमा पर्वतराज हिमालय र मेनकाले विष्णुसँग विवाह गरिदिन लागेको थाहा पाएर पार्वती साथीहरूको सहयोगले अन्यत्रै भागेर गइन् । टाढा जङ्गलमा पुगेकी पार्वतीदे एउटा पवित्रस्थानमा शिवलिङ्ग स्थापना गरेर देवाधिदेव महादेवलाई पति पाऊँ भन्ने उद्देश्यले तपस्या गर्दै बसिन् । उनको कठोर तपस्याको परिणामस्वरुप भाद्र शुक्ल तृतीयाका दिन भगवान् शिवको दर्शन पाइन् । त्यसै दिन उनका बुबा उनलाई खोज्दै त्यहीँ पुगे र शिव पार्वतीको विवाह गरिदिए । यसरी पार्वतीको जस्तै आफ्नो मनोकाङ्क्षा पुगोस भनी अविवाहित केटीहरूले व्रत बस्ने गर्छन् ।””

बुबाको वर्णन सुनेपछि आमाले भन्नुभयो – “यी सबै भन्ने कुरा हुन् क्या ! हामीले यस्तै पति पाऊँ भनेर बिहा हुनु पैले मनले सोचेकै थिएनौँ । विवाह भएर घरमा आएपछि सबैल गर्नुपर्छ भनेर लगाइदिए त्यही अनुसार ऐलेसम्म गरिँदैछ ।”

P
मैले मनमनै सोचेँ अविवाहितले राम्रो दुलाहा पाउन व्रत बसेर के सबैले आफैँले सोचेजस्तै दुलाहा पाएका होलान् त ?

मलाई त्यस्तो लागेन । पोहोर मात्रै हाम्रो स्कुलमा दश कक्षामा पढ्दै गरेकी हीराले सुरेन्द्रसँग विवाह गर्ने इच्छा गरेकी थिई रे । त्यो थाहा पाएर उनका बुबा आमाले उसलाई भगाएर उता बुटवल पु¥याए रे । सुरेन्द्र र हीरा दुईपट्टि रुदै रुँदै बस्नुपरेछ । सुरेन्द्र साथीहरूसँग पछि भन्थ्यो रे हीरा र य विवाह गर्न पाऊँ भनेर दुई पटक मनकामना गएका थिए रे । हीरा पनि आफूले रोजे जस्तो दुलहा आफूले जस्तो दुलाहा पाऊँ भनेर सधैँ तिजको व्रत बस्ने गर्थी रे । तर उनीहरूको इच्छा पुरा भएन । देउतासँग वर माग्छन् केटीहरू देउता भन्दा बलवान् मानिसले कुरा भत्काउँछ । दुर्बल देउताचाहिँ हेरिरहन्छन् । फेरि मैले सोचेँ देवी काकी सानैमा विधवा भएकी रे, बिहे भएके दुई तीन वर्षमा नै । विवाह हुनुभन्दा पहिले र पछि पनि व्रत बस्थिन् रे । उनको व्रतले श्रीमान्को आयु लम्ब्याउन सकेको खै त ?

बिहे पनि भइसक्यो श्रीमान् पनि मरिसके तै पनी देवी काकी व्रत बस्न छोड्दिनन् । अनि फेरि मैले सोचेँ– बिचरी के गरुन् उनले बस्न नचाहेर मात्रै के गर्नु ? बुबा आमा, सासु, ससुरा, बन्धु बान्धव, समाज कसैले नगरे हुन्छ भन्दैनन्, गर्नै पर्छ मात्रै भन्छन् । पूर्व जुनीमा राम्रो ध्यान कर्म, पूजा आजा, व्रत नबसेकाले यस जुनीमा चाँडै विधवा हुनुप¥यो । अर्को जुनीमा राम्रो हुनको लागि पनि गर्नुपर्छ भनिदिन्छने । बिचरीलाई नपत्याई धेरै छैन । शिवे आफ्नो दुलैलाई दिनदिनै लात्ताले भकुर्छ, तैपनि त्यही शिवेको आयु लामो बनाउन व्रत बस्छिन् उसकी दुलै सुकुना । सुलोचनालाई अरुसँग हाँसखेल गरी भन्दै परारै लोग्नेले घरबाट निकालिदियो तैपनि सुलोचना उनको आयु लम्ब्याउन कस्सिएर लागे जस्तो गर्छिन् । रामुले छोरा पाइन भनेर चार वर्ष पहिले अर्की श्रीमती बिहे ग¥यो तैपजि सात जुनीसम्म श्रीमान्को सतमा बस्न पाऊँ भनेर व्रत बसेर जूजा गर्छिन् देविका ।

ीतजको दिन एक बजेको हुँदो हो सायद गाउँभरका नव आगन्तुक मैतालु छोरीहरू ल्गायत घरमा भएका वयस्क, वृद्ध तथा किशोरी र बालबालिका गौँडाको चौतारामा भेला भएर गीत गाउन थाले । कसैलाई घरको व्यथा ठुलो थियो, कसैलाई माइतीले गरेको बेवास्ता र अवहेलना असह्य थियो ।

छोरीलाई विावह गरेर दिएपछि बाबु आमाले बेवास्ता गरेको कुरा धेरै विवाहित छोरीलाई मनमा गढेको पीडा हो । यस यर्थाथलाई छोरीहरू माइत आएकै बेलामा बाबा–आमालाई गीतको मँध्यमद्वारा पनि नसुनाई बस्न सक्दैनन् । अम्बिका दिदीले सुरु गरिन् गीत गाउन । जसै उनले सुरु गर्थिन् गीत्का शब्द शब्दको अर्थमा धीत मार्दै ताली बजाउँदै हामी सबै उनको पछि पछि लाग्थ्यौँ ।

अम्बिका दिदी ….. सानी हुँदा आमाले हुकाई बढाई पाल्नुभयो लेटाएको गोबर सरी पछि फाल्नुभयो

हामी सबै ताली बजाउँदै … सानी हुँदा आमाले हुकाई बढाई पाल्नुभयो लेटाएको गोबर सरी पछि फाल्नुभयो अम्बिका दिदी … लेटाएको गोबर बरु कामको हुँदो हो सम्झी ल्याउँदा हाम्रो मन कति रुँदो हो हामी सबै … लेटाएको गोबर बरु कामको हुँदो हो सम्झी ल्याउँदा हाम्रो मन कति रुँदो हो अम्बिका दिदी… सम्झिएनौ बाबा आमा मेरै छोरी भनेर सानै हुँदा पठायौ ऋचा पढेर । हामी सबै … सम्झिएनौ बाबा आमा मेरै छोरी भनेर सानै हुँदा पठायौ ऋचा पढेर । खम्बिका दिदी … छोरी भनी ज्यूँदैमा बाआमाले मानू भो जै तिल समाई किरिया पनि सार्नू भो । हामी सबै … छोरी भनी ज्यूँदैमा बाआमाले मानू भो जै तिल समाई किरिया पनि सार्नू भो ।

एक जनाले उठान गरेको सन्दर्भ र गाएको गीत पछि हामी एक एकले विशेषण गथ्यौँ । दाजु, भाइ र हाम्रा बिचमा के के कुरामा पक्षपतापूर्ण व्यवहार भएका छन् भनेर सुनाउने यही एउटा अवसर थियो । अम्बिका दिदीले उठाएका छोरीलाई सानैमा विवाह गरर पन्छाउने र वंश परिवर्तन भएको घोष्णा गर्ने कुरा अहिलेका नारीवादीले उठाए सरह चेलीबेटीले बाबु आमाकै घर आँगनमा उठाउने गर्थे ।

ऋनि अघाडि सरिन् पुष्पा दिदी । सम्पत्ति माथिको विभेद अर्को नसुनाई नहुने पक्ष थियो । छोरीहरू आफूलाई बाबु आमाले अंशबाट ठगेको कुरा मार्मिक तरिकाले भट्याउँथे । कहिनीहरू त्यसलाई सशक्त ढङ्गले ठुलो स्वरले दोहो¥याउँथे । कहिलेकाहीँ सन्दर्भ हेरी परिवर्तन र परिमार्जन गर्न पनि पछि पर्दैन थिए । अनि उनले सुरु गरिन् – पुष्पा दिदी …

दिनदिनै बाबाले छोरो बढे भनेर खेतबारी चिनाए गरा गनेर अरु महिलाले साहेी गीत ताली मार्दै … दिनदिनै बाबाले छोरो बढे भनेर खेतबारी चिनाए गरा गनेर

पुष्पा दिदी… दिन दिनै बाबाले छोरी छोरी बढी भनेर केटा खोज्न हिँड्नु भो डाँडा गनेर

हामीहरू प लाग्यौँ … दिन दिनै बाबाले छोरी छोरी बढी भनेर केटा खोज्न हिँड्नु भो डाँडा गनेर ।

पुष्पा दिदी… एउटै घरका दाजु भाइलाई बि.ए.एम.ए. पढाए गेठालो र घाँस दाउरो मलाई लगाए ।

सरला दिदी… एउटै घरका छोरालाई आधी अंश बरबार उही कोखकी छोरीलाई बाटो सरासर आफूलाई चित्त बुझेको अभिव्यक्ति प्रदर्शन गर्दै ताली बजाउँदै उही गीत दोहे¥याए ः

एकै मुठी जिरालाई लोहोरो र सिलौटो हामीलाई पनि चाहियो बाबा गैह्री बिरौटो ।

गीत गाउँदा गाउँदै रीता दिदी दिशा गर्छु भनेर लुसुक्क घर गइन । केहीबेर अघिसम्म भोकले नियाउरी भएकी रीता दिदी घरबाट फर्केर आएपछि ताली पिटी पिटी नाँच्न थालिन् । सबैले मन मनले शङ्का गरे उनको तागत आएको देखेर तर कसैले केही मुख खोल्न सकेनन् । सीताले त भनिन् पनि “घरभित्र पसेपछि कसरी यसको शक्ति बढ्यो हँ ? भरखरसम्म नि¥याउरी थिई ।” सबैले बुझे–गलल्ल हाँसो चल्यो ।

राधा पनि के कम छोरालाई दुध खुवाएर आउँछु भन्दै घर गइन् । उनको पछि पछि गएकी बैनीले देखेकी रे हिजो रातिको बासी लट्टे भण्डारमा लुकेर खाइरहेकी थिइन् रे ।

हाम्री दिदी लक्ष्मी पनि घरमा आइन् र कोही नभएको बेला दुई ग्लास दुध र दुईवटा केरा छिटो छिटो खाएर बाहिर निस्कदै रहिछ मैले ढोकामा भेटेँ । दिदी हाँसिन् मैले बुझेँ । “नभन नि कसैलाई” उनले भनिन् ।

ल ल के को पिर गरेकी भन्दै म भित्र पसेँ । उनी गीत गाउने हुलतिर लम्किइन् । दिनभर चौतारीमा गीत गाइयो । गीत एउटै विषयमा सीमित थिएनन् । माइतीको व्यवहार, घरका सासु, ससुरा, पति आदिको व्यवहार, पढ्न नपाएका कुरा, सम्पत्तिको भेदभाव यावत् पक्ष समेटिएका थिए । प्रायः सबैले एकै प्रकारको कुष्ठा भोगेका थिए । त्यसैले एक जनाले गीत मार्फत दिएको अभिव्यक्ति प्रायः सबैका लागि धीत मर्ने खालको हुन्थ्यो ।

बेलुकीपख सबै बेलत्रि टिप्न पल्लो गाउँतिर गीत गाउँदै गए । बेलपत्र टिपेर ल्याए । साँझपख गीत छोडेर पूजा गर्ने बेला भयो । दुईचार घरका महिला एउटा घरमा जम्मा भए । पुरेत साँझमा आइपुगे । पुरेतले भने अनुसार पूजा थालियो ।

पुरेत एकोहोरो संस्कृतका श्लोक भट्भटाउँदै थिए । ॐ तत्सत् तत्सत् तत्सत्, ॐ विष्णु विष्णु विष्णु, २०५० संवत्सरे वर्षगतौ भाद्रमासे शुक्लपक्षे हरितालिकातृतीयायां शुभ पुण्यतिथौ (सबैले आफ्नो आफ्नो गोत्र सम्झने) अमुकगोत्रा मुकीदेव्यहं ममम समस्तपापक्षयपूर्वर्क सप्तजन्मसु अवच्छिन्नसौभाग्यादिवृद्धये श्रीउमामहेश्वर प्रीत्यर्थ हरितालिकाव्रतं करिष्ये । ॐ तत्सत् तत्सत् तत्सत्, ॐ विष्णु विष्णु, २०५० साल भाद्र महिना शुक्ल पक्ष हरितालिकाको शुभ तिथिमा ………गोत्र भएकी …………..देवी म सबै पाप नाश गर्नको साथै सात जन्मसम्म अखण्ड सौभाग्य वृद्धिको लागि श्री उमामहेश्वरलाई प्रसन्न गर्न हरितालिका व्रत गर्नेछु ।

सबैले हात जोड्दै बाहुनले भने अनुसार प्रार्थना गरे । पुरेतले वाचन गरे– अद्य स्थित्वा निराहारा श्वोभूते परमेश्वरि । करिष्ये पारणं गौरि व्रतं मे सफलंकुरु ।। (हे परमेश्वरी आज म निराहार बसेर पूजा गर्दैछु मेरो व्रत बस्नेहरूले उमामहेश्वरको पूजा गरे । दियो, कलश, गणेशको पूजा गरे । चुरा, पोते, वस्त्र दान गरे । जेहोस् सबैले आफूले गरेको पाप कटाउँदै सात जन्मसम्म अविछिन्न रुपमा सौभाग्यवती रहने आशा गराइदिए । पुरेतलाई टिका लगाएर दक्षिणा दिएपछि काम सकियो । पुरेतले आदेश दिन अब आजको पूजा सकियो कोही नसक्ने भए फलफूल, दुध खाए हुन्छ । बाहुनको बचन फुत्कन नपाउँदै दिदी लक्ष्मी भान्छातिर लम्किई । तिजको भोलिपल्ट हाम्री दिदी लगायत गाउँका सबै मैतालुहरू खाना खाएर आराम गर्दै रहे । तिजको पर्सिपल्ट महिलाले आफ्नो वर्षभरिको पाप पखाल्ने अर्को दिन थियो । ऋषि पञ्चमीको अघिल्लो दिन बेलुकीपख आमाले एक अँगालो दतिवन ल्याउनु भयो । पिँढीमा आराम गरेर पल्टिरहेकी दिदीलाई भन्नुभयो “ल अब भोलिका लागि दतिवन केलाआउ, पञ्चमीको पूजा त पवित्राले पनि गर्नुपर्छ ।” म केही बोलिनँ । दिदी मेरो मुखमा हेरेर मुस्कुराइन् । दिदीले भनिन् “दतिवन पनि लगाउनुपर्छ ।”

भोलिपल्ट राति नै आमाले हामीलाई उठाउनु भयो । दिदीले आमा लगायत मेरा फेर्ने लुगा बोकेकी थिइन् । आमाले दतिवनका मुठा बोक्नु भयो, जब हामी बाहिर गल्लीमा आयौँ । त्यहाँ आठ दश जना आमा दिदीहरू अघि नै हामीलाई पर्खेरबसेका रहेछन् । हामी पुग्नासाथ फटाफट हिँड्न थाले । लाइन निकै लामो भयो । म जस्तै पहिलो पटक पूजा गर्न ठिक परेका दुई जना थियौँ गाउँमा । शान्ती पनि यसै वर्ष पहिलो पटक रजस्वला भएकी थिई । ऊ र म पूजाको पहिलो अनुभव गर्ने सल्लाह गर्दै थियौँ ।

दश बाह्र जनाको लाइन हाम्रो घरभन्दा तलको सिम्ले खोलामा नुहाउन पुग्यो । हरेक जनाले तीनसय पैसट्ठी दतिवनको टुक्राले दाँत माज्नुपर्ने, तीनसय पैँसट्ठी पटक आआफ्ना गुप्ताङ्गमा माटो लगाउँदै पखाल्दै गर्नुपर्ने कुरा आमाहरू हामीलाई सिकाउँदै थिए । उनीहरू सिकाउँदै थिए शान्ती र म जे जे मन लाग्यो त्यै त्यै गर्दै छिटो छिटो सकेर नुहाईवरी खोला किनारामा आयौँ । किन दतिवनले दाँत माज्नुपर्ने ? किन माटो लगाई लगाई गुप्ताङ्ग सफा गर्नुपर्ने ? कुनै तर्क आमाहरूसँग थिएन तैपनि उनीहरू भन्दै थिए गर्नुपर्ने हाम्रो परम्परा हाम्रो संस्कार । कोही भन्दै थिए महिलाहरू घिनलाग्दा हुन्छन् रे त्यसैले सफा बस्नुपर्ने तालिम गरेका लोग्ने मानिसहरूले ।

नुहाउन जाने महिलाहरूमध्ये पनि सबै जना एकै हिसाबले उत्सुक देखिँदैनथे । तथापि गर्नै पर्ने बाध्यता थियो । कसैलाई ढर्रा देखाउनु थियो, कसैलाई अरुको डरले विधि पु¥याउनु थियो । नुहाइसकेपछि सबै जना घरमा फर्किएर आआफ्ना घरबाट पूजाका सर्दाम बोकेर चौतरीमा भेला भए । करिब आठ बजेभन्दा अघि नै आएर बाहुनले मण्डप तयार गरिसकेका थिए । सबै महिलाहरू मण्डपलाई बिचमा पारेर गोलो आकारमा बसे । पल्लो टारी गाउँका महिलाहरू पनि बाहुन नभेटेकाले हाम्रै हुलमा पूजा गर्न जम्मा भएकाले पच्चिस तीस जनाको हूल बनेको थियो । यत्राविधि महिलाको हुलमा एक जना बाहुन मात्र लोग्नेमानिस थिए । सबै महिला अछुतहरूलाई चोखो बनाउन तयार थिए बाहुन । बाहुनको शरीरै चोखो, उनको मुखै चोखो, बाहुनको मुखले कर्मकाण्डका श्लोक पढेपछि सबै थोक चोखो ।

हामी नछुनी हुँदा हामीले जानी जानी अथवा अज्ञानतावश कसैलाई छोयौँ होला, चोखालाई जुठो बनायौँ होला ती सबै हाम्रा पाप पखाल्नका लागि बाहुन कस्सिएर लागेका थिए । अद्येहेत्यादि देशकालौ सङ्कीत्र्य अमुकगोत्रामुकीऽदेव्यहं मम प्रथमर्तुदर्शनादारभ्य शरीरवसानपर्यन्तं ज्ञानतोऽज्ञानतो वा रजस्वला व स्थाकृतसम्पर्कजनितदोषपरिहारार्थ यथोक्तफलावाप्तेये अरुन्धतिसहित कश्यपादिसप्तर्षिप्रीतये ऋषिप१चमीव्रताङ्गत्वेन दीपकलशगणेशपूजनपूर्वकं यथामिलितोपचारैऋषिणां पूजनं करिष्ये । बाहुनले अह्राए हामीले पूजा ग¥यौा– कश्यपाय नमः, अत्रये नमः, भारद्वजाय नमः, विश्वामित्राय नमः, गौतमाय नमः, जमदग्नेय नमः, वसिष्ठाय नमः अरुन्धत्यै नम ः ।

धन्य हो यी बाहुन नभएका भए हामी पापीले छोएका फुफलूल सबै कुहिने थिए, अन्न बाली फल्ने थिएन, गाईबस्तु ब्याउने थिएनन् । महिनै पिच्छे अछुत बन्ने आधा जनसङ्ख्याको पाप उतार्न बाहुनले कम्ती दुःख गर्नुपरेन । अलि अलि दक्षिणा माग्छन् त के भयो, सित्तैमा अरुको पाप किन पखाल्ने बाहुनले ।

हामी धेरै थियौ तैपनि हकैम एक्लो बाहुनको ठुलो थियो । सङ्ख्याले के गथ्र्यो र ? खै बाहुनीहरूको एक वर्षको दोष पखाले बाहुनले । सबैले टिका लगाएर बाहुनलाई दक्षिणा टक्रयाए, प्रसाद दिए, मिठो मिठो खाना ख्वाए तर महिलालाई चोखिए पनि त्यस दिन एक छाक र कर्कलासँग मात्र खाना खाने निर्देशन दिएर बाटो लागे बाहुन ।

नछुनी भएको पहिलो वर्षको पञ्चमीमा मैले पनि अरु सरह पूजा गरेँ । पछि पछि मैले सोच्दै गएँ । अर्को अर्को वर्षका तिज र पञ्चमीको पूजाको दिनमा मैले केही प्रश्न बाहुनसँग सोध्न थालेँ । बाहुन मेरा उत्तर दिन तयार देखिँदैनथे । हुन पनि मेरा जिज्ञासा तृप्त गर्नु उनको उद्देश्य थिएन । तर्क गर्नेसँग भिड्न उनलाई आवश्यक थिएन । उनको विचारमा उनले भनेको कुरा विना तर्क आइमाईले मान्नुपर्छ । मैले प्रश्न सोधेर बाहुनलाई दिक्क बनाएको अरुलाई मन परेन । तथापि मैले भन्न छाडिनँ । महिला आफ्नै शरीरप्रति घृणा गरेर अरुबाट शुद्ध हुन सक्तैनन् आफैँलाई निम्न कोटिको ठानेर उनीहरू कहिल्यै उच्च कोटिका बन्न सक्तैनन् । यस्ता कर्म त्याग्दै जानुपर्छ भन्दा कति त मेरा कुरा सही ठान्थे तथापि बोेलर प्रतिवाद गर्ने साहस कसैले गर्दैनथे । म प्रायः एक्लै हुन्थेँ । कहिले दिदीले साथ दिन्थिन त कहिले शान्ता उचालिन्थी । स्थितिको प्रतिकुलता सबैलाई थाहा थियो । महिलाको लागि ससानो आवाज उठाउने अनुकूल दिन एकदमै कमै आउँथे । त्यसैले त मैले पनि कैयौँ पटक एउटा कुरा ठिक ठह¥याउँथेँ तर उचित समयको अभावका कारण व्यवहार गर्नुपथ्र्यो अर्कै । आफूले ठिक सोचे अनुसार गर्ने कति समय पर्खन पथ्र्यो । कैले केही दिन कैले केही महिना कैले बर्सौ वर्ष ।

(स्रोत : समयश्रीजना डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : पुस्तक अंश | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *