संस्मरण : पुरस्कारसँग जोडिँदा

~प्रदीप नेपाल~

लेखनीको थालनी नै पुरस्कार प्राप्तिबाट भएको हुनाले लेख्नु भनेको पुरस्कार पाउनु हो भन्ने ज्ञानचेतना मभित्र हुर्किएकै थियो। गाउँकै सरस्वती मिडिल स्कुलमा पढथेँ म। कथाकार परशु प्रधान हुनुहुन्थ्यो हाम्रो स्कुलको हेड सर। पहिलोपटक तीन क्लासमा पढ्दा हुनुपर्छ, मैले एउटा कविता वाचन गरेको थिएँ, शुक्रबारे कार्यक्रममा। कविताको शीर्षक थियो सुन्दर हिमाल। परशु सरले धाप मार्दै आशीर्वाद दिनुभयो र आठपाने कापी पनि पुरस्कार दिनुभयो।

अनि त के थियो? कविता लेख्दा कापी पुरस्कार पाइने ज्ञान प्राप्त भएपछि म लागेँ कविता लेख्न धस्सिएर। यसरी साहित्य र पुरस्कार जोडिएका थिए मेरो मानसमा।

पछि विद्योदय हाइस्कुलमा पनि मेरो साहित्य-यात्रा चलिरह्यो। बेला मौकामा पुरस्कार पाउने क्रम पनि जारी थियो। विद्योदय हाइस्कुल पढ्दा नै मैले पहिलो कथा लेखेको थिएँ, मातृवियोगको रनाहामा परेर। अहिले त्यस कथाको नामो निसान छैन। त्यो कथामा मैले एउटा कडा गाता भएको मोटो कपी पाएको थिएँ। लेख्न सक्दा मोटो कापी पनि पुरस्कार पाइँदो रहेछ भन्ने चेतना त्यसले पनि दिएको थियो।

०२६ सालमा काठमाडौँको हावापानीमा हुर्रिएपछि पनि मेरो लेखनकार्य जारी रह्यो। तर, त्यतिबेलासम्म लेख्नु भनेको पुरस्कार पाउनु हो भन्ने चेत विस्तारै दिमागको हार्डवेयरतिर सरिसकेको थियो। यद्यपि, यदाकदा पुरस्कार भने पाउँथेँ नै म।

पुरस्कारप्रित आशंकाको चासो जगाउने पहिलो काम गर्‍यो, नोबेल साहित्य पुरस्कारले। नोबेल पुरस्कारको महत्ता त हामीले १० कक्षा पढ्दा नै जानिसकेका थियौँ। १० कक्षाको अंग्रेजी गद्यमा म्याडम क्युरीको छोटो जीवनी पढ्नुपर्थ्यो। उनले नोबेल पुरस्कार पाउनु विश्वको सबैभन्दा ठूलो घटनाका रूपमा चित्रित गर्नुभएको थियो, अंग्रेजी पढाउने शिक्षकले। त्यसैले, साहित्यको नोबेल पुरस्कार पनि त्यत्तिकै ठूलो होला भन्ने मलाई लागेको थियो।

राजनीतिको लर्कोले पनि मलाई बेरिसकेको थियो काठमाडाँै आएपछि। सोभियत साहित्य बढी मन पराउँथेँ म। तर, टल्स्टय, चेखोब, गोर्कीजस्ता महान् साहित्यकारहरूले किन यो नोबेल पुरस्कार पाएनन् भन्ने चासोले नोबेल पुरस्कारको निष्पक्षता र महानताप्रित मेरो मनमा एउटा प्रश्न खडा गर्‍यो।

यो त थालनी मात्र थियो आशंकाको। पछिल्ला दिनहरूमा त्यो झाँगिँदै गयो लगातार। भूमिगत कालमा सञ्जय थापाको नामबाट कथा र उपन्यासको सिर्जना गर्दा मैले एक दिन पनि पुरस्कार पाइन्छ भन्ने सोचेको थिइनँ। त्यो स्वाभाविक पनि थियो। खुला भइसकेपछि पनि मेरो लेखनीले पुरस्कारतिर अनुहार फर्काएको थिएन। किनभने, विश्व रंगमञ्चमा कुनै पनि वामपन्थी खेमाको साहित्यकारले विश्वकै ठूलो मानिएको नोबल अथवा अर्को कुनै पुरस्कार पाएको जानकारी आफूसम्म आइपुगेको थिएन।

मैले पहिलो पुरस्कार पाएको थिएँ, साहित्य सन्ध्या। ०५४ सालको हुनु पर्छ जस्तो लाग्छ। त्यो मेरो चेतना अनुरूपकै थियो। साहित्य सन्ध्या वामपन्थी साहित्यकारको चौतारी थियो। त्यसैले त्यस पुरस्कारमा मेरो उपस्थित मैले सोच अनुकूल नै थियो।

मैले पाएको दोस्रो सम्मान पनि मेरो सोच अनुकूल नै थियो। मोरङ जनसांस्कृतिक मञ्चले मलाई पूर्वाञ्चलको प्रगतिवादी उपन्यासकार शीर्षकमा सम्मान गरेको थियो। सम्मानको एउटा शृंखला नै चल्यो। तर, ती सबै मेरो सोच अनुकूलकै हुन पुगे। बगर फाउन्डेसनले मेरो स्वप्निल सहर उपन्यासको प्रकाशन गर्नुका साथै मलाई गोपालप्रसाद रिमाल सम्मानबाट सम्मानित गर्‍यो भने दोभान प्रकाशनले मेरा दुई संस्मरणहरू प्रकाशित गर्दै मलाई दोभान सम्मानबाट सम्मानित गर्‍यो। संलग्नता र पत्रकारिताको धरातलमा छलफल र दृष्टि साप्ताहिकले पनि मलाई सम्मान दिए।

विष्णुविभु घिमिरे हुनुहुन्थ्यो साझा प्रकाशनको अध्यक्ष। उहाँले साझालाई, एउटा उपन्यास अथवा कथासंग्रह प्रकाशनका लागि दिन अनुरोध गर्नुभयो। मेरा लागि पनि यो ठूलो खुसीको विषय थियो। किनभने, साझाबाट प्रकाशित हुन पाउनु प्रत्येक नेपाली साहित्यकारको सपना हुन्छ भन्ने मलाई लागेको थियो। मैले विष्णुविभु घिमिरेको हातैमा आफ्नो नयाँ उपन्यास सुम्पिएँ। साझाबाट मेरो उपन्यास एक्काइसौँ शताब्दीकी सुम्निमा प्रकाशित भयो।

सुम्निमाले साझा पुरस्कार पाउँछ भन्ने मेरा साथी संगातीलाई लागेको थियो। स्वयं विष्णुविभु घिमिरेले पनि त्यस्तै कुरा बताउनुभएको थियो। बबिता बस्नेतले एउटा कार्यक्रममा भेट हुँदा भन्नुभयो, “दाइ, तपाईंको सुम्निमा उपन्यास साह्रै गजबको छ। पुरस्कृत हुन लायक पनि छ। तर, तपाईंले उपन्यासचाहिँ सञ्जय थापाकै नाममा लेख्नुपर्थ्यो।”

सञ्जय थापाको नाम भएको भए सुम्निमाले पुरस्कार पाउँथ्यो भन्ने भाव बबिता बहिनीको बोलीभित्र लुकेको थियो।

एक्काइसौँ शताब्दीकी सुम्निमाले साझा पुरस्कार पाएन। त्यो पनि मेरो सोच अनुसार नै भयो। विष्णुविभु घिमिरेले भन्नुभयो, “तपाईंलाई नामले धोका दियो।”

विष्णुविभुले पनि मेरै सोचलाई ठीक हो भन्ने टुंगो लाइदिनुभयो।

मेरो अर्को उपन्यास आकाश गंगाको तीरैतीर पनि सकारात्मक/नकारात्मक, दुवै कोणबाट अत्यन्तै चर्चामा आएको उपन्यास थियो। यद्यपि, मैले आकाशगंगाको तीरैतीरले कुनै पुरस्कार पाउला भन्ने कल्पना पनि गरेको थिइनँ।

एक दिन नरेन्द्रराज प्रसाईंले फोनमा भन्नुभयो, “दाइ, तपाईंले गजबको उपन्यास लेख्नुभयो। अहिलेसम्मको नेपाली साहित्यमा यत्तिको उपन्यास लेखिएकै थिएन। मैले धेरै साथीलाई यो उपन्यास किनेर पढ्न सल्लाह दिएको छु।”

भाषासेवी दाजु कमल दीक्षितले पनि त्यसको राम्रो प्रशंसा गर्नुभयो। कतिपय साथीले यसले त मदन पुरस्कार नै पाउनुपर्ने भनी शुभकामना व्यक्त गर्नुभयो।

माओवादी आतंकको राज चलेका बेला मैले त्यो किताब पुरस्कृत हुन सक्ला भन्ने त कल्पनै गरेको थिइनँ। सञ्चार मन्त्रालयमा, नेपाल टेलिभिजनले आकाशगंगाको तीरैतीर माथि टेलिशृंखला बनाउने चर्चा भएको पनि मैले सुनेँ। आफैँले मागेर टेलिचलचित्र बनाउन लगेको आकाशगंगाको तीरैतीरको पटकथा लेख्ने जिम्मा दुर्गानाथ शर्माले जसलाई दिनुभएको थियो, उहाँले नै- “दाइ, आफ्नै ज्यान छ, केटाकेटी छन्, हामी तपाईंजस्तो राजनीति गर्ने मान्छे पनि परेनौँ। बाघको मुखमा हात हाल्ने आँट आएन,” भनेको सुनिसकेपछि आकाशगंगाको तीरैतीरले पुरस्कार पाउँछ भनेर सोच्ने कल्पना गर्नु पनि मेरा लागि हास्यास्पद कुरो हुन्थ्यो। तर, पढ्नेजति धेरैले नयाँ ढंगको प्रस्तुति भनेर मलाई सद्भावको पुरस्कार दिनुभयो। त्यो नै मेरा लागि धेरै थियो।

साझा प्रकाशनले प्रकाशित गरेका अमेरिकी बास : मातृभूमिको सम्झना र धरहराको सहरले कनै पुरस्कार पाउला भन्ने म स्वयंलाई लागेको थिएन। तर, त्यसपछि छापिएको बाघ मारेको लालसलाम शीर्षकको कथासंग्रहले पुरस्कार पाउँदैछ भनेर एक जना साझासँग जोडिएका मित्रले मलाई फोन गरेर जनाउ दिएका थिए। उनले भनेका थिए, “आज दुइटा किताब टुंगोको अन्तिम सिँढीमा छन् र बाघमारेको लालसलाम पहिलो नम्बरमा छ। भोलि निर्णय हुनेछ। निर्णय भएपछि नै बधाई दिउँला।”

उनले बधाई नदिएर राम्रै गरे। किनभने, बाघमारेको लालसलामले साझा पुरस्कार पाएन।

पाइला छोडेर अस्ताएको घाम पुरस्कृत हुन्छ होला भन्ने मलाई पनि लागेको थियो। नभन्दै त्यसले उत्तमशान्ति पुरस्कार पायो। २०२८ सालमै मलाई रूपरेखामा प्रकाशित हुने मौका दिने उत्तम कुँवरको नाममा खुलेको त्यो पुरस्कार मेरा लागि अघिल्ला पुरस्कार र सम्मानजत्तिकै सम्मानित थियो।

०६५ सालमा डोलिन्द्रप्रसाद शर्माले मेरा सबै किताब आफूले प्रकाशन गर्न चाहेको इच्छा जाहेर गर्नुभयो। एउटा वाङ्मय कोष स्थापना गरी आफूले प्रकाशित गर्ने साहित्यिक पुस्तकको एउटा सानो हिस्सा त्यस कोषमा राख्ने सोच बनाउनुभएको रहेछ डोलिन्द्रले। साहित्यकारले पनि केही योगदान दिए त्यस कोषमा राम्रै रकम जम्मा हुने सोच पाल्नुभएको रहेछ। मैले आफूले पाउने रोयल्टीको एक प्रतिशत रकम वाङ्मय कोषमा राख्ने प्रस्ताव गरेँ। उहाँ खुसी हुनुभयो र यही एक प्रतिशतलाई साहित्यकारतर्फको पहिलो रकम हुने घोषणा गर्नुभयो। यसरी म जोडिएँ, डोलिन्द्र भाइको साहित्यिक विकासको अभियानमा।

वाङ्मय कोष स्थापना गरेर साहित्य साधनामै जीवन बिताएकाहरूलाई सम्मान गर्न एउटा पुरस्कार राख्ने चाहना पाल्नुभएको रहेछ डोलिन्द्र भाइले। निर्णायक मण्डलमा राखिने तीन जनाको नाम सुझाउन उहाँले मसँग अनुरोध गर्दै भन्नुभयो, “जगदीश घिमिरे दाजुलाई राख्न मिल्छ भने मैले उहाँसँग अलिअलि कुराकानी कोट्याइसकेको छु।”

जगदीश दाइलाई राख्ने कुरो राम्रो हुन्थ्यो। मैले सुझाउने नाममा रोचक घिमिरे (साहित्यिक पत्रकार संघका अध्यक्ष) र साहित्य साधनामा लामो समयदेखि लागिरहनुभएका अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्माको नाम सुझाएँ। हामीले सोहीबमोजिमको निर्णय पनि गर्‍यौँ।

के काक्ताली परेर हो नगेन्द्रराज शर्मा सुरुका दुवै बैठकमा उपस्थित हुन सक्नुभएन। म त खालि नाम जुराउने काममा मात्र लागेको थिएँ। परबिन्दले मलाई त्यो चयनकर्ताको समूहमा बसाइदियो तेस्रो नम्बरमा राखेर।

“प्रदीप भाइ आरम्भदेखि नै लाग्नुभएको छ, अब तपाईंले नै संयोजन गर्नुपर्‍यो,” दाइहरूको प्रस्ताव मेरा लागि गर्वको कुरो थियो।

“सिंगो जीवन साहित्यसेवामा बिताएको, राज्यको तर्फबाट पाउनुपर्ने सामान्य सम्मान पनि नपाएको साधनारत मान्यजनलाई लाइफटाइम एचिभमेन्टजस्तो पुरस्कार स्थापना गर्ने सोच बनाएको हुँ मैले, कस्तो गर्ने, के गर्ने भन्ने निर्णय दाइहरूले नै गर्ने हो,” भन्ने प्रस्ताव डोलिन्द्र भाइले राखेपछि हामीले प्रस्तावित साहित्यकारको परभिाषा खोज्न थाल्यौँ।

मन्त्री नभएको, प्राज्ञ नभएको, काठमाडौँकेन्दि्रत पुरस्कारहरू नपाएको, ४० वर्ष साहित्य सेवा गरेको साहित्यकारलाई सम्मान गर्नु उचित हुन्छ भन्ने निष्कर्ष निकालेपछि हामीले पहिलोपटक गणेशबहादुर प्रसाईंलाई साधना पुरस्कार प्रदान गर्ने निर्णय गरेका थियौँ।

मैले आफ्नो साहित्यिक जीवनको आरम्भलाई सम्भिएँ। १६ वर्षको उमेरमा मैले पारजिात, भूपि शेरचन, शंकर लामिछानेजस्ता दिवंगत अग्रजहरूको सान्निध्य पाएको थिएँ। ध्रुवचन्द्र गौतम त्रिचन्द्र कलेजमा मेरो गुरु हुनुहुन्थ्यो। तर, उहाँसँगको साहित्यिक सान्निध्य पनि मैले सानैमा पाएको थिएँ। उहाँले मलाई चिनारीकै दिनदेखि विद्यार्थी होइन, साहित्यानुरागी भाइ बनाउनुभयो। गोविन्द भट्ट, बालकृष्ण पोखरेलजस्ता समीक्षकहरूको निकटता पनि मैले उतिबेलै पाएको थिएँ।

त्यतिबेला मलाई लाग्थ्यो- अउमेरमै म माथि पुगेँ।

सन्जोगले निर्णायक समितिको संयोजक बन्न पुगेको मलाई लाग्यो, साहित्य यात्राको थालनीको बेलाजस्तै अहिले पनि म अउमेरमै ठूलो दायित्व पूरा गर्ने ठाउँमा पुगेको छु। पुरस्कार प्राप्तिको अव्यक्त आकांक्षा पुरस्कार निर्णायकको गम्भीर जिम्मेवारीमा रूपान्तरित भएको छ। जहिलेसम्म म यो दायित्वमा रहन्छु, मैले साधना सम्मान पाउनैपर्ने साधकप्रित मनको हिसाबमा भागबन्डा गर्नु नपरोस्।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४४६)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *