छन्द कविता : माटाको सौन्दर्यता

~चूडा निर्भीक~

छन्द : शार्दूलविक्रीडित

माटो जीवन हो यथार्थ पनि हो यो मृत्युको जन्मको ।
माटो अन्न र सास दिन्छ नि सदा माटो त सर्वस्व हो ।।
माटो यो कविता कथा गजल हो माटो रह्यो मुक्तक ।
माटो काव्य बनेर फुट्छ कविको साहित्यको चिन्तक ।।

माटाको गुणगान गर्छु म यहाँ प्यारो छ यो प्राण झैं ।
माटो सृष्टि गरेर दिन्छ सबमा खाना यहाँ स्वादकै ।।
माटाको हररात देख्छु सपना संसार निर्माणमा ।
माटै खेल्दछु साथमा र विपना भैदिन्छ सत्मार्गमा ।।

माटाको भर पर्छ जीव सब नै माटो छ त्यो आश्रय ।
माटोमा जल हुन्छ स्वच्छ रुपको यस्मै छ देवालय ।।
माटामै घर बन्छ वास बढिया आराम लिन्छन् जन ।
माटामा छ चिहान अन्त्य समयै जल्ने चिता दन्दन ।।

माटो छैन भने सुवास छ कहाँ राता गुलावै सित ।
माटो हुन्न कहाँ र फुल्छ मनमा सत्प्रेमले शाषित ।।
माटो छुन्न जहाँ हुँदैन उसमा जीवात्मको अंश त्यो ।
माटो वाहिक फक्रने छ कुनमा मान्छे दिने वंश त्यो ।।

माटो नै सबथोक हो सुजनको ढुँगा छ माटो भर ।
माटो छैन हुँदैन लोक र कहाँ बस्छौ बनाई घर ।।
माटोभित्र मुहान हुन्छ जलको वाँच्छन् सवै जीव ती ।
माटाकासित शास लिन्छु कसरी माटो विना जीवनी ।।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *