पौराणिक बाल कथा : धर्म बुद्धि र पाप बुद्धि

~उमाशङ्कर द्विवेदी~

कुनै शहरमा धर्म बुद्धि र पाप बुद्धि नाम गरेका दुई मित्रहरू बस्दथे । त्यसमध्ये पाप बुद्धिले एकदिन मनमा विचार गर्‍यो– “म मूर्ख तथा दरिद्र छु । अत: यस धर्म बुद्धिको साथमा लागेर विदेश जानुपर्छ तथा त्यसको प्रभावले धनापार्जन गर्नुपर्दछ । अन्तमा त्यसको कमाइलाई पनि ठगेर जीवन सुखी बनाउनु पर्दछ ।” यति कुरा मनमा विचार गरेर अर्को दिन ऊ धर्म बुद्धिको घरमा गएर भन्यो– “मित्र वृद्धावस्थामा हामीले जीवनको कुन कुरा सम्झिने ? विदेशको विभिन्न वस्तु तथा दृश्यहरूलाई देखेनौं भने आफ्ना बालबच्चाहरूलाई कुन कथाहरू सुनाउने ? यस पृथ्वीमा जन्मेर जसले अनेक भाषा र भेषको जानकारी पाएन त्यसको जन्म व्यर्थ हुन्छ । वस्तुत: त्यसको जन्म ग्रहण गर्नु नै निष्फल भएर जान्छ ।”

पाप बुद्धिको त्यस्तो कुरा सुनेर धर्म बुद्धि प्रसन्न भयो तथा उसको साथमा विदेश जान तयार भयो ।

गुरुजनहरूको आज्ञा लिएर शुभ मुहूर्तमा उनीहरू विदेशको लागि घरबाट प्रस्थान गरे । विदेशमा गएर विभिन्न काम खोजी धर्म बुद्धिको प्रभावले ऊ प्रशस्त धन आर्जन गर्न सफल भयो । दुवैजना विदेशबाट ठूलो धनराशि लिएर घर फर्किए । आफ्नो घरको नजिक पुग्दा पाप बुद्धिले धर्म बुद्धिसित भन्यो– “मित्र जम्मै धन लिएर एकैचोटि घर जान उचित हुँदैन किनकि घरमा कुटुम्बजन तथा दाजुभाइले माग्ने छन् । अत: यो धनलाइ यतै कतै वनमा गाडी दिनुपर्दछ । अहिले हामीले थोरै मात्रामा धन लिएर घर जाऔं तथा आवश्यक परेको बेला फेरि आएर गाडेको धन खनी लैजानु पर्दछ । यसप्रकारले हाम्रो धनको प्रदर्शन पनि हुँदैन तथा थोरै थोरै खर्च गर्दा धेरै दिनसम्म टिक्छ पनि । शास्त्रमा लेखेको पनि छ–

न वित्तं दर्शयेत्प्राज्ञ: कस्यचित्स्वल्पमप्यहो ।
मुनेरपि यतस्तस्य दर्शनाञ्चलते मन: ।।

अर्थात् बुद्धिमान मानिसले आफ्नो वित्तको प्रदर्शन गर्नु हुँदैन किनकि धन देखेर ज्ञानी मुनिको मन पनि चञ्चल हुन्छ ।”

पाप बुद्धिको त्यस प्रकारको प्रस्ताव सुनेर धर्म बुद्धिले भन्यो– “मित्र ठीकै छ । जस्तो उचित ठान्छौ त्यस्तै गर ।” धनलाई माटोमा गाडेर उनीहरू घर फर्के तथा सुखपूर्वक बस्न थाले । एक राति पाप बुद्धि वनमा एक्लै गएर गाडेको जम्मै धन निकाली खाडल पुरी आफ्नो घर लाग्यो । त्यसको केही दिनपछि एकदिन पाप बुद्धि धर्म बुद्धिको घरमा आएर भन्न थाल्यो– “हे मित्र, मेरो परिवार सङ्ख्या ठूलो भएको हुनाले हामीले ल्याएको धन चाँडै नै सकियो । धनको अभावमा मेरो परिवार ज्यादै दु:खी छ । अत: हामीले वनमा गाडेको धनबाट केही रकम खनेर ल्याऔं ।”

पाप बुद्धिको कुरा सुनेर धर्म बुद्धिले भन्यो– “मित्र, ठीकै कुरा हो तिम्रो मनमा जे लाग्छ त्यस्तै गर । यसमा मेरो मञ्जुरी छ ।” त्यसपछि दुवैजना वनमा पुगी धन गाडेको ठाउँको पहिचान गरेर खन्दा धन राखिएको भाँडो रित्तो फेला पर्‍यो । भाँडो रित्तो देखेर पाप बुद्धि छातीमा मुक्का हानी रुन कराउन थाल्यो ।

रुँदै उसले धर्म बुद्धिमाथि आरोप लगाउँदै भन्यो– “हरे धर्म बुद्धि, यो तिम्रै काम हो । यहाँ गाडेको धनको विषयमा तिमी र मलाई मात्र थाहा थियो । हेर, गाडेको खाडल पुन: खनिएको जस्तो छ । म यहाँ त्यसपछि आएकै छैन । यस्तो स्थितिमा धन चोर्ने तिमी नै हौं । तिम्रो मनमा पाप जाग्यो, तिमीले धन चोर्‍यौं । अब त्यस धनमा आधा हिस्सा मेरो पनि हो । अब तिमीले आफ्नो भाग लेऊ तर मेरो भाग मलाई देऊ नत्र म अदालतमा उजुरी गर्नेछु ।”

दुवैजना आपसमा विवाद गर्दै अदालतमा पुगेर परस्परमा आरोप प्रत्यारोप लगाउँदै एकले अर्कालाइ दोषी साबित गर्न प्रयत्न गर्न थाले । न्यायाधीशले उनीहरूको कुरा सुनेर सत्यतथ्यको जाँचको लागि दिव्य परीक्षाको आदेश दिए । दिव्य परीक्षाको आदेश सुनेर पाप बुद्धिले आतिंदै भन्यो– “श्रीमान्, उचित न्याय भइरहेको छैन । न्यायशास्त्र अनुसार कुनै कुराको विवाद उत्पन्न हुँदा सर्वप्रथम लेखबद्ध प्रमाणलाई हेर्नुपर्छ । लिखत प्रमाणको अभावमा साक्षी बकाउनुपर्छ । साक्षीको अभावमा मात्र दिव्य परीक्षाको प्रावधान छ । मेरो यस विवादमा साक्षीको रूपमा वृक्ष देवता विद्यमान छन् । ती देवताले साक्षी दिएर हामीमध्ये को दोषी तथा को निर्दोष हो यसको निरुपण गरिदिने जस्तो विकल्प विद्यमान रहेको अवस्थामा दिव्य परीक्षा गर्नु न्यायस·त हुँदैन ।”

पाप बुद्धिको यस प्रकारको जिकिर सुनेर न्यायाधीशले भने– “तिमीले ठीक कुरा भनिरहेका छौं । साक्षी उपस्थित रहेको अवस्थामा दिव्य परीक्षा गर्नु उचित हुँदैन । अत: भोलि बिहानै हामीहरू वनमा नै अदालतको कारबाही गर्नेछौं, तिमीहरू पनि त्यहाँ उपस्थित हुनुपर्ने छ ।”

अदालतबाट घर फर्केर पाप बुद्धिले आफ्नो बुबासित भन्यो– “बुबा, मैले वनमा गाडेर राखेको धन चोरेर ल्याइसकेको छु । त्यो धन तपाईंको बोलीले मात्र हामीसित स्थायीरूपमा रहन सक्छ अन्यथा त्यस धनले हाम्रो प्राण लिएर जानेछ ।” उसको बुबाले भने– “मैले के भन्नुपर्ने छ जसको कारण त्यो धन हामीसित स्थायीरूपमा बस्न सकोस् ?” बुबा र छोराको गुप्त मन्त्रणा अनुसार पाप बुद्धिको बुबा बिहान झिसमिसेमा कसैले नदेख्ने गरी वनमा गएर साक्षी दिने रूखको टोड्का लुकेर बस्यो ।

बिहान भएपछि नुहाइधुवाइ गरेर पाप बुद्धि तथा धर्म बुद्धि न्यायाधीशका साथ वनमा गएर निर्धारित रूखको मुनि गई जोडले पाप बुद्धि करायो– “हे वनदेवता, हामीमध्ये को चोर हो, कृपया तपाईंले धर्मपूर्वक भनी दिनुहोस् ।”

यस्तो घोषणा सुनेर रूखको टोड्कोमा लुकेर बसेको पाप बुद्धिको बुबाले भन्यो– “श्रीमान्, उक्त धन धर्म बुद्धिले चोरेको कुरा ठीक साँचो हो, वनदेवता म यस कुराको प्रत्यक्ष साक्षी छु ।” रूखले बोलेको सुनेर न्यायाधीश तथा त्यहाँ उपस्थित जनसमुदाय छक्क परेर धर्म बुद्धितिर हेर्न थाले । न्यायाधीशले चोरी मुद्दामा उचित सजायबारे डिट्ठा विचारीहरूसित विमर्श गर्न थाले । यत्तिकैमा धर्म बुद्धिले छिटो बल्न सक्ने घास, पात तथा दाउरा त्यस रूखको टोड्कामा हालेर आगो बाली दियो । आगो दनदनी बल्न थालेपछि डढेको शरीर तथा फुटेको आँखाका साथ पाप बुद्धिका बुबा ऐया र आत्थु गर्दै टोड्काबाट बाहिर निस्कियो ।

उसलाई देखेर न्यायाधीशले सोधे– “तिमी को हौं र तिम्रो यो अवस्था कसरी भयो ? न्यायाधीशले यसप्रकार सोद्धा पाप बुद्धिको बुबाले जम्मै सत्यतथ्य बेली विस्तार लगायो । पाप बुद्धि दोषी फेलापछि उसलाई त्यही रूखको हाँगामा झुण्ड्याएर मारियो । त्यसैले भनिएको छ–

धर्मबुद्धि: कुद्धिश्च द्वावेतौ विदितौ मम ।
पुत्रेण व्यर्थपाण्डित्यात् पिता धुमेन घातित: ।।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in पौराणिक कथा, बाल कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *