कथा : कोठार – ११

~इद्रिस सायल~

मालिकराम यादव सोमबार हिँडयो, मनिकापुरतिर !

मालिकरामले हिँडनुप् र्व आफ्नी श्रीमती रैनावतीलाई भन्न चुकेन, भन्यो– ‘रैनावती, म त जाँदै छु तर यस बारेमा कसैलाई पनि नभनेस, है । नत्र यहाँका फटाहाहरुले चाल चल्न थाल्छन् । कसैले सोध्यो भने बहाना गरिदिएस– थरूहट जानुभएछ ।’

मालिकराम आफ्नो छोरा सालिकरामको विवाहको लागि मनिकापुर जाँदै थियो । ऊ त्यहाँको अवधराम यादवको घरमा केटी माग्न जाँदैथियो । उसलाई विश्वास थियो–अवधराम सिधा मान्छे हो । ऊ पक्कै पनि मेरो घरमा छोरी दिन्छ ।

रैनावती पनि चनाखो थिई–फटाहाहरुले गर्दा मेरो छोरा सालिकरामको विवाह यसपाली नबिथोलियोस । त्यसैले उसले मालिकरामलाई पढाडस दिई, भनी– ‘तपाईं जानुस, जानुस । म कसैलाई पनि भन्दिनँ अनि तपाईं पनि होसियार रहनुहोला है !’ मालिकराम र रैनावतीमा यो वार्ता बडो सजगताका साथ सम्पन्न भयो ।

उनीहरु चाहन्थे–मेरो छोराको विवाह यसपाली नबिथोलियोस । कारण, उनीहरुको छोरा सालिकरामको विवाह हुनलागेको सुइँको पाएर अहिरनपुरका फटाहाहरु सक्रिय भैहाल्थे–उसको विवाह बिथोल्न । त्यस्ता फटाहाहरुमा अरु कोही नभएर यादवहरु नै हुन्थे । उनीहरुले तत्काल केटीको घरमा खबर पु¥याइदिन्थे र केटीको बाबुलाई हकार्नुसम्म हकार्थे– ‘तपाईंले यो के गर्दै हुनुहुन्छ महाशय ?

आफ्नै छोरीको खुटटामा बन्चरो हान्दै हुनुहुन्छ ? कहीँ केटा नपाएर एउटा बेधरमका घरमा छोरी दिँदै हुनुहुन्छ ? खबदार, यस्तो कदापि नगर्नुहोला । तपाईं जसको घरमा छोरी दिँदै हुनुहुन्छ, उसको हुक्कापानी बन्द छ । ऊ बेधरम भैसकेछ । उसकी छोरी नयना आफ्नो यादव पती छोडेर बाहुनसँग पोइल गइछे । अब त मान्नुस हाम्रो कुरा ! उसको घरमा छोरी कदापि नदिनुहोला । हैन भने तपाईंको पनि हुक्कापानी बन्द हुन बेर छैन ।’

यो चेतावनी सुनेर ती यादवहरु आत्तिन्थे र डरले तुरून्तै विवाह गर्न अस्वीकार गरिदिन्थे । उनीहरु तत्काल मालिकरामलाई खबर पनि पठाइदिन्थे– ‘तपाईंकी छोरी नयना बाहुनसँग पोइल गइछे । तपाईंको हुक्कापानी बन्द छ । तपाईं बेधरम हुनुभएछ । अब तपाईंको घरमा छोरी दिन सकिँदैन । तपाईंको घरमा छोरी दिएर आफैँ बेधरम हुन सकिँदैन ।’

त्यति बेला मालिकरामकी छोरी नयना जगत रामीको कोठारमा पुगिसकेकी थिई तर ऊ आफैँ गएकी थिएन, पोइला गएकी थिइन । जगतले जबरजस्ती लगेको थियो तैपनि अहिरनपुरका यादवहरु सहजै भन्थे– ‘नयना पोइला गइछे, जगतसँग !’

सुनेर अन्यत्रका यादवहरु पनि यही वाक्य दोहो¥याइरहन्थे– ‘मालिक रामकी छोरी नयना त उग्रतारा कोठारको राजा जगत शर्मासँग पोइल गई । धन देखेर आफ्नो जातिलाई लात हानेर गई ।’

मालिकराम आफ्नो छोरा सालिकरामको विवाहको लागि डल्लापुर गएन कि जोशीपुर गएन ? रनियाँपुर गएन कि उदरापुर गएन ? खजुरा गएन कि बहराइच गएन ? यी सबै ठाउँमा गयो ऊ ! तर सबै ठाउँमा उसलाई असफलता नै हात लाग्यो । उसको छोराको विवाह बिथोलियो । एउटै जबाफ आयो– ‘बेधरमको घरमा छोरी दिन सकिँदैन ।’

पछिल्लो चोटि मालिकराम मनिकापुर, पुग्यो, छोराको विवाहको लागि ! ऊ सर्यास्त हुनु अगावै त्यहाँ पुग्यो र अवधराम यादवसित चिनजान ग¥यो– ‘म अहिरनपुरको यादव हुँ । म आफ्नो छोरा सालिकरामको विवाह गर्ने सोच बनाएको छु । त्यसैले तपाईंको द्वारमा आएको छु । तपाईं पनि आफ्नी छोरी सिन्धुको विवाह गर्दै हुनुहुन्छ भन्ने थाहा पाएर केटी माग्न आएको हुँ म ।’

गरीब र सिधा मान्छे अवधराम एकछिन त्यसै उभिरह्यो तैपनि उसले कुरा कत्ति लुकाएन, भन्यो– ‘तपाईंले ठीक सुन्नुभयो । म यसपाली छोरी सिन्धुको विवाह गर्ने सोच बनाएको छु । राम्रो घर र केटाको खोजीमा छु ।’

कुरा उपयुक्त निस्किएपछि मालिकरामले अनुरोध ग¥यो, भन्यो– ‘मेरो घरमा छोरी दिनुप¥यो, हजुर !’

अवधरामले छोरी दिने नदिने बारेमा तत्काल केही भनेन । उसले बस् यति मात्र भन्यो– ‘आज रात यहीँ बिताउनुस । घरमा सल्लाह गर्नुप¥यो नि ! म आफैँले मात्र कसरी भन्ने ?’

रातमा मालिकरामलाई आफ्नै घरमा राख्यो र राम्रो आतिथ्य दियो, अवध– रामले ! उसले साँझको खानामा शाकाहारी भोजन दिए पनि बिहान भने विशेष तयारी ग¥यो । नास्तामा ताजा हलुवा खुवायो, खानामा पुलाऊ खुवायो । त्यस्तो आतिथ्य पाएर मालिकराममा आशा बढेर गयो– ‘अब अवधरामले मेरो घरमा छोरी दिने भयो ।’ मालिकरामलाई थाहा पनि थियो– ‘विवाहको शुभसाइतमा गुलियो चीज नै खुवाइन्छ ।’

भनौँ– अवधरामले घरमा सल्लाह ग¥यो र विवाहको सुरूवातको सङकेत गर्दै गुलियो हलुवा खुवायो । आखिर खाना सकेर पान खाने बेलामा मालिकरामले एकचोटि पुनः सोध्यो– ‘अब के भन्नुहुन्छ, अवधराम भाइ ? मेरो घरमा छोरी दिने कि नदिने ?’

यही प्रश्नको जवाफ स्वरुप अवधरामले मालिकरामको दुवै हात चुम्दै भन्यो– ‘भगवानले लेखेका रहेछन भने भैहाल्ला– तपाईंको छोरा र मेरी छोरीको विवाह !’

अवधरामको निवासमा उसका भाइबन्धुहरुको पनि जमघट थियो नै !

एउटाले भन्यो– ‘केटा मिहिनेती भए पुग्छ, धनदौलत नभए पनि हुन्छ ।’

तब मालिकरामले भन्यो– ‘दुईतीन वर्षदेखि खेत छोराले नै जोत्दै छ । मलाई जोत्नै दिन्न ।’

जमघटकै अर्को एउटाले पनि भन्यो– ‘धन पनि हुनुपर्छ । आजको जमानामा धन नै सबथोक हो । गाउँघरका मान्छेलाई खेतीपाती हुनैपर्छ, यही नै धन हो । खेतीपाती कति छ नि, सम्धीज्य ?’

‘चाहिने जति छ ।’

आफसँग भएको थोरै खेतीलाई सम्झँदै भन्यो, मालिकरामले !’

‘छोराछोरी नि ?’ अर्को एउटाले सोध्यो ।

‘एक छोरा र एक छोरी !’

मालिकरामले मुस्कुराउँदै भन्यो । भनौँ–दुईवटा मात्र सन्तान भएकोमा आफलाई भाग्यमानी ठानिरहेको थियो, उसले ! ‘सानो परिवार छ तपाईंको ! दर्जन पु¥याउन कसरत गर्नुभएन क्यारे !’ अर्को एउटाले ठटटा ग¥यो ।

सानो परिवारमा छोरी दिन पाएकोमा खुसी लाग्यो क्यारे अवधरामलाई ! उसले नभनी रहनै सकेन, भन्यो– ‘उखानै छ–सानो परिवार, सुखी परिवार, ठलो परिवार दुःखी परिवार ! आजको जमानामा ठलो परिवार गरेर कुनै फाइदा छैन । यही गाउँमा हेर्नुस न–घरघरमा दर्जनौँ बच्चा छन तर राम्रो खाना दिन सकेकै छैनन्, राम्रो कपडा दिन सकेकै छैनन्, पढाउनलेखाउन सकेकै छैनन् । जन्माउनु ठलो कुरा होइन, पाल्नु पो ठलो कुरा हो ।’ अर्को एउटाले भन्यो– ‘हामी पनि कुनै दिन तपाईंको घरमा आउँछौँ ।’

मालिकरामले सोध्यो– ‘कहिले आउनुहुन्छ ?’

‘फुर्सत भएको दिन । केटा हेर्न आउने हो ।’ अर्को एउटाले भन्यो ।

****************************

अवधरामले आफ्नो घरका महिलाहरुलाई अहिरनपुर पठायो, केटा हेर्न ।

उसले भन्यो– ‘केटा हेर्न पहिला तिमी महिलाहरु जाओ । त्यसपछि हामी पुरूष मान्छे जाऔँला ।’

ती महिलाहरुको एउटा टिम नै तयार भयो । टिम लिडर थिई, इन्दु, अवधरामकी श्रीमती ! उनीहरु अहिरनपुरतिर प्रस्थान गरे र अहिरनपुर पुगेर पनि उनीहरुलाई मालिकरामको घर थाहा हुन सकेन । आखिर उनीहरु सोध्न बाध्य भए । सोधी, टिम लिडर इन्दुले– ‘मालिकराम यादवको घर कुन हो, दादा ?’

जसलाई इन्दुले यो प्रश्न गरेकी थिई, त्यो एउटा अधबैँशे पुरूष थियो ।

नाम थियो– रामसुन्दर यादव ! ऊ थियो– अहिरनपुर यादव मण्डलीको बडघर ! बडघर रामसुन्दरसित पहिलोचोटी उनीहरुका भेट भयो । भनौँ– संयोग थियो । तब बडघर रामसुन्दरले इन्दुको त्यो प्रश्नको जवाफै दिएन, उल्टै प्रश्न ग¥यो– ‘किन ?’ इन्दुले अभैm अघि सरेर भनी– ‘काम छ ।’ तर के काम छ ? उनले तत्काल भनिन । ‘के काम त ? त्यो पहिले बताउनुहोस अनि मात्र म मालिकरामको घर बताउँछु ।’ रामसुन्दरले पुनः उही ठाडो शैलीमा भन्यो ।

अब भने इन्दुलाई नभनी सुखै भएन, भनी– ‘हामी केटा हेर्न आएका छौँ । त्यसैले उनको घर सोधेको ।’

‘मालिकरामको घरमा छोरी दिने ?’ रामसुन्दरले फटाहीको शृङखला सुरू गर्न सक्रिय भैदियो । भनौँ–यो उसको फटाही नं. १ थियो ।

‘किन, दादा ?’

इन्दु आत्तिई ।

‘मालिकरामकी छोरी नयना बाहुनसँग पोइन गइछे । हामीले उसको परिवारको हुक्कापानी बन्द गरेका छौँ, बाहिष्कार गरेका छौँ, मालिकराम बेधरम मान्छे हो ।’

रामसुन्दरको फटाही नं. २ थियो यो !

‘लौ, अब के गर्ने ?’ इन्दु झनै आत्तिई । ऊ आफ्ना महिला साथीहरुतिर मोडिई ।

‘गर्ने केही होइन । अब त्यो मालिकरामको घरमा छोरी नदिने, बस !’

रामसुन्दरको फटाही नं. ३ थियो यो । इन्दु केही बोलिन । ऊ आफ्ना सङगिनीहरुतिरै मुख गरिरही । तब रामसुन्दरले अर्को अर्थात् चौथो फटाही ग¥यो, भन्यो– ‘किन नबोलेको ? कि त्यो बेधरम मालिकरामकै घरमा छोरी दिने इच्छा छ ? मालिक– रामजस्तै बेधरम बन्ने इच्छा छ ?’

‘मलाई बेधरम बन्नुपरेको छैन ।’

यादव मण्डलीदेखि तर्सिएकी इन्दुले भनिहाली, आखिर । ‘एकदम राम्रो विचार ! अब गएर मालिकरामको घरमा भनिदिने– बेधरमको घरमा छोरी दिन सकिँदैन । मालिकरामको घर ऊ त्यही हो ।’

रामसुन्दरको फटाही नं. ५ थियो यो । मालिकरामले पनि आफ्नो घरमा हलुवा र पुलाऊ पकाएर तयारी अवस्थामा राखेको थियो र प्रतीक्षा गर्दै थियो– ‘पाहुनाहरु चाँडै आइदिए हुन्थ्यो ।’

आखिर ती महिलाहरु पुगिहाले नै ! उनीहरुले मालिकरामको घरमा खानाको त कुरै छोडौँ, पानी पनि पिएनन । पानी पिउनुको त के कुरा गरौँ, छुन पनि मानेनन् र ठाडै अस्वीकार गरिदिए– ‘यहाँ बडो गडबड कुरा सुनियो । खानापानी केही खान सकिँदैन ।’

के गडबड कुरा ?’

मालिकरामले सोध्यो । यद्यपि उसलाई थाहा भैसकेको थियो– फटाहाहरुले चाल चल्न थाले ।

‘म केही भन्दिनँ अहिले ! म आफ्नो घर जान्छु र आफ्नो बढालाई सारा कुरा भन्छु । त्यसपछि उहाँले आफैँ सबै कुरा बताउनुहुनेछ ।’

त्यो महिला टिमकी लीडर अर्थात अवधरामकी श्रीमती इन्दुले भनी । मालिकरामको घरको सारा रौनक सेलायो । उसको खाना पनि सेलायो । यसैगरी उसको छोरा सालिकरामको विवाहको कुरा पनि सेलाउने भयो नै ।

****************************

अहिरनपुर यादव मण्डलीका बडघर रामसुन्दर यादवले मनिकापुरमा एउटा पत्र पठायो । त्यो पत्र उसले मनिकापुर यादव मण्डलीका बडघर गुनिलाल यादवको नाममा लेखेको थियो । पत्र यस्तो थियो– गुनिलाल यादव, जयराम ! (बडघर ः मनिकापुर यादव मण्डली) विशेषतः यहाँ मैले तपाईंको गाउँको बारेमा एउटा गजबको कुरा सुनेँ । त्यो कुरा हो मनिकापुरको अवधराम यादवले आफ्नी छोरीको विवाह अहिरनपुरको मालिकराम यादवको छोरासित गर्दै छ । अवधरामले आफ्नी छोरीको विवाह गर्नै चाहन्छ भने त्यो बेधरम मान्छेको घरमा किन गर्दै छ ? थाहा पाइराख्नुस– त्यो मालिकराम बेधरम हो । उसको हुक्कापानी बन्द छ । उसकी छोरी नयना बाहुनसँग पोइल गइछे । यस्ताको घरमा अवधरामले किन छोरी दिँदै छ ? कि उसले केटा खोजेर पाइरहेको छैन ? यसो हो भने म उसको लागि राम्रो केटा खोजिदिन्छु, रुपवान र धनवान पनि ! गुनिलाल भाइ ! अब तपाईंले अवधरामलाई सम्झाएर भन्नुहोला– मालिकरामको घरमा छोरी दिनु– हुन्छ । अवधरामले मानिहालेमा ठीक छ । मानेन भने उसलाई पनि यादव मण्डलीबाट निकालेर हुक्कापानी बन्द गरिदिनुहोला ।

गुनिलाल भाइ ! म यही कुरा जानकारी गराउनको लागि यो पत्र पठाएको छु । मलाई पर्ण विश्वास छ– तपाईंले पक्कै पनि यो कुरा मनन गर्नुहुन्छ र कडाभन्दा कडा कदम चाल्नुहुन्छ धन्यवाद ! रामसुन्दर यादव बडघर : अहिरनपुर यादव मण्डली !

त्यो पत्र पाएर हौसियो, मनिकापुरको बडघर गुनिलाल यादव । ऊ पनि कहाँ कम थियो फटाही गर्नमा ? उसले तुरून्तै अवधरामलाई बोलायो, आदेश पठाएर– ‘अवधराम, मेरो द्वारमा छिटो हाजिर होऊ ।’

अवधराम त्यो बडघर गुनिलालको सेवामा हाजिर भयो र दुवै हात जोडेर प्रणाम ग¥यो– ‘जयराम !’

‘के छ, अवधराम ? आज भोलि त यादव मण्डलीका नियमकानन पनि मान्न छोडे जस्तो छ नि ?’ बडघर गुनिलालले उसको सातो लिन थाल्यो ।

‘मबाट केही गल्ती भएछ, हजुर ?’

निर्दोष र निरीह अवधरामले सोध्यो । उसको मुटुको ढुकढुकी बढेर गयो, डरले ! ऊ झनै निरीह बन्दै गयो । कारण, बडघर गुनिलाल यादव कुनै तानाशाह भन्दा कम्ती थिएन ।

‘छोरी सिन्धुको विवाह कहाँदेखि गर्न थालेको ?’ गुनिलालले पुनः सोध्यो ।

‘अहिलेसम्म तय भएको छैन । मान्छेचाहिँ आइरहेछन्– माग्न ।’ अवधरामले जबाफ दियो ।

‘कहाँका मान्छे ?’ गुनिलालले सोध्दै गयो ।

‘अहिरनपुरका….. ।’ अवधरामले जबाफ दिइरह्यो ।

‘अहिरनपुरको त्यो मालिकराम माग्न आइरहेछ, हैन ?’

गुनिलालले भन्यो, एक्कासि । ‘कसरी थाहा पाउनुभयो, हजुर ?’ अवधरामले पनि सोध्यो । भनौँ– उसले सोध्ने अवसर पाइहाल्यो ।

‘किन थाहा नहुने ? मबाट कुनै पनि कुरा छिपेको छैन । त्यो मालिक– रामको बारेमा मलाई राम्रोसँग थाहा छ । ऊ एउटा बेधरम मान्छे हो । उसलाई त्यहाँको यादव मण्डलीबाट निकालिएको छ र हुक्कापानी बन्द गरिएको छ । उसकी छोरी नयना बाहुनसँग पोइल गइछे ।’ गुनिलालले जोडजोडले भन्यो । भनौँ– बाघ गर्जंदै छ ।

‘हो र, हजुर ?’ अवधराम आश्चर्यमा प¥यो र सोध्यो ।

‘हो त ! सुन । यो कुरा मैले यसरी थाहा पाएँ– मलाई अहिरनपुरका बडघर रामसुन्दर यादवले पत्र पठाएर यो कुराको जानकारी दिनुभएछ । उहाँको पत्र मैले आजै पाएँ ।’ गुनिलालले यही शैलीमा भन्यो ।

दुवै बडघरका यस्ता फटाही देखेर अवधराम अक्क न बक्क भयो । ऊ केही बोल्न सकेन, तत्काल ! उसको यस्तो मौनता देखेर बडघर गुनिलाल यादवले पुनः हकार्दै भन्यो– ‘अब के गर्छस त ? मालिकरामको घरमा छोरी ् दिन्छस कि दिन्नस ् ?’

‘हजुरले जे भन्नुहुन्छ, म त्यही गर्छु ।’ निरीह अवधरामले भन्यो ।

‘मालिकरामको घरमा छोरी कदापि दिनुहुन्न । नत्र तँ पनि बेधरम हुन्छस ।’ फटाहा बडघर गुनिलालले भन्यो ।

‘ठीक छ, हजुर !’ अवधरामले उही मनोदशामा भन्यो ।

‘हो ! अब एकचोटी भन– अहिरनपुरको मालिकरामको घरमा छोरी दिन्नँ म !’ उही गुनिलालले भन्न लगायो ।

‘अहिरनपुरको मालिकरामको घरमा छोरी दिन्नँ म !’ अवधरामले सुगा रटाइ ग¥यो ।

****************************

अहिरनपुरको मालिकराम यादव भने एकदम अलमलमा परिरहेको थियो । ऊ सोचमग्न थियो मनिकापुरबाट किन कुनै कुरा आएन, स्वीकार या अस्वीकारको कुरा ? अस्ति ती महिलाहरु फर्केर गए, तर अस्वीकार पक्कै गरेका थिएनन ।

त्यही अलमलको कालो बादल चिर्दै एक दिन मालिकरामले आफ्नी श्रीमती रैनावतीलाई भन्यो– ‘बडो समस्या प¥यो, रैनावती ?’

‘कस्तो समस्या ?’ रैनावतीले आफ्नो पतिको मनोदशा जान्न चाही ।

‘मनिकापुरबाट कुनै जबाफ आएन, स्वीकार या अस्वीकार ! छोराको विवाह गर्न भने ढिलो भैरहेछ ।’ मालिकरामले आफ्नो मनोदशा सुनाउन थाल्यो ।

‘समस्या त छ । अस्ति ती महिलाहरु पनि केही नभनी फर्केर गए, खानापानी पनि खाएनन । फेरि आजसम्म पनि कुनै खबर पठाएनन ।’ रैनावतीले भनी । कारण, उसले पनि आफ्नो वरिपरि जताततै समस्यै समस्या देख्न थालेकी थिई ।

‘ती महिलाहरुले त पक्कै भने होलान्, अवधरामलाई, तैपनि उसले अभैmसम्म कुनै जवाफ पठाएन । किन होला ?’ अवधरामले भन्यो । ऊ घोरिइघोरिई सोच्न थालेको थियो । ‘फटाहाहरु लागेर त होइन ?’ रैनावतीले यस्तो आशङका व्यक्त गरी ।

‘फटाहाहरु लागे पनि केही न केही जबाफ पक्कै पठाउँथ्यो, स्वीकार या अस्वीकार ! त्यो पनि पठाएन, अवधरामले !’ मालिकरामले भन्यो । ‘एकचोटी मनिकापुर गएर बुझ्नुस न त !’ रैनावतीले सुझाव दिई । आखिर मालिकराम फेरि मनिकापुर गयो, सोध्यो– ‘के छ, अवधराम भाइ ? यसपाली छोरीको विवाह गर्ने कि नगर्ने ?’

अवधरामले हात जोडदै सारा वास्तविकता बताइदियो, भन्यो– ‘छोरीको विवाह यसैपाली गर्ने मन थियो र तपाईंकै घरमा दिन्थेँ पनि ! तर के गर्ने ? फटाहाहरुले सताउनथाले– मालिकरामको घरमा छोरी दिनुहुन्न । ऊ बेधरम मान्छे हो । उसको हुक्कापानी बन्द छ । उसकी बाहुनसँग पोइल गइछे । यति मात्र हो र ? उनीहरुले अभैm चेतावनी दिँदै छन– मालिकरामको घरमा छोरी दिइस भने तेरो पनि हुक्कापानी बन्द गरिन्छ । अब म के गरुँ ? मजबुरीले गर्दा भन्दै छु– म तपाईंको घरमा छोरी दिन सक्दिनँ । यदि यी फटाहाहरुले नसताएको भए म पक्कै पनि तपाईंको घरमा छोरी दिन्थेँ तर फटाहाहरु मान्ने होइनन । त्यसैले म तपाईंको घरमा छोरी दिन नसक्ने भएँ ।’

मालिकराम रून थाल्यो– ‘यी फटाहाहरुले मलाई जिन्दगीभर सताउने भए–बेधरम भनेर !’

अवधरामले सम्झाउन थाल्यो– ‘नरूनुस, नरूनुस । मलाई थाहा छ– तपाईंको कुनै गल्ती छैन । तपाईंकी छोरी पोइल जानुमा तपाईंको गल्ती त हुनै सक्दैन नि !’

‘मेरी छोरी राजीखुसीले गएकी होइन, पोइल गएकी होइन । उसलाई उग्रतारा कोठारको राजा जगत शर्माले जबरजस्ती लगेको थियो ।’ मालिकराम रोइरह्यो, रोइरह्यो ।

सोनपुर–९, बाँके ।

(स्रोत : वर्ष–७ अङ्क ३ पूर्णाङ्क–३३ वैजयन्ती साहित्यिक पत्रिका २०७१ भाद्र–असाज – कथा अङ्क)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.