पुस्तक समीक्षा : ‘रात पनि ऐंठन परेको रातमा’ नियाल्दा

~गणेश ओली~

नेपाली प्रगतिवादी साहित्यका फाँटमा नवीन विभाष नौलो नाम होइन । नेपालमा रुकुम–रोल्पाका सर्वहारा जनताले जनयुद्धको नेतृत्व गरेर मुक्तियुद्ध लडिरहेका बेला युवा रोल्पाली ठीटो नवीन विभाष तिनै जनताको दुःखसुख, रोदन, पीडा संकलन गरेर कलमका माध्यमबाट जनयुद्धको एउटा मोर्चा समालिरहेको थियो । कथा, कविता, निबन्ध र अखवारी लेखनमा स्थापित साहित्यकार विभाष साहित्यका सुन्दर बगैचा जस्तै हुन् । उनका सिर्जनाहरु सफल मालीले हुर्काएका फूलवारीका फूलजस्ता रंगीन र मगमगाउँदा छन् । दिल र दिमागमा छुने उनका सिर्जना शब्द र भावका सफल संयोजन मानिन्छन् ।

विभाषको ‘रात पनि ऐंठन परेको रातमा’ कृति उनका सफल सिर्जनामध्येको एक हो । यो कृति अन्धकारको व्याख्या होइन, नसुती पूर्वको उज्यालो पर्खिरहेको जनताको मनोभावना हो । निबन्धमा अन्धकार रात चिरेर गगनको एक कोषबाट निशा छाउने आशामा बसेका जनताको इच्छा पाइन्छ । त्यतिमात्र हैन संकटकाल र युद्धका संगीन घडीमा गरीवीको अथाह भारी बोकेर पिलन्धेर जीवन काटिरहेका नेपालीको आशा, चित्कार, रोदन, छटपटी मुक्तिको चाहना, दमनकारी राज्यको अत्याचारका प्रतिविम्वन पनि यस निबन्धसंग्रहमा पाइन्छ ।

उनको यस संग्रहमा सुत्ने समय, कर्णाली, बस फेरी गुड्न थाल्छ, संकटकालको तराजुमा, गोलघरमा, बन्दुकको आँखा, मलाम जाँदाजाँदै, सुत्न अघि, नयाँ वस्ती, रात ढल्नुअघिलगायत १६ वटा निवन्ध संग्रहित छन् ।

वैंश उकालो चढिरहेको बखत भावनाका फूलैफूल फुलाउने कोमल साहित्यिक मन देश दुखिरहेका बेला जनता खुशीले हाँस्न रुन पनि नपाएको बेला कसरी भावनाको भावधारामा लहलहराउन सक्थ्यो र ? त्यसैले ‘मलाम जाँदा जाँदै’ निबन्धमा उनले विदेश जान लागेका युवाका कथा उने । सयौं युवाहरु हाँसखेल गर्ने उमेरमा मनमा विषद डर, तनमा पीडा र निराशामा व्याकुल बनेर मनोभावना लुकाइ बाँचे भन्छन् । उनका प्रायः निवन्धहरु मानिसका असीम दुखका आन्तरिक चित्कारले अनुभूतिको गहिराइमा डुबुल्की मारेर प्रकट भएका छन् । ‘कर्णाली’ यस्तै एक निबन्ध हो । जनताको पीडालाई मनको गहिराइमा पुगेर पत्रपत्र खोल्ने प्रयास ‘स्वयम्वर हाङ’ निबन्धमा पनि पाइन्छ । लालीगुराँसको सुकोमल पत्रबाट झरेको शीत मञ्जरी तेजस्वी आँखाबाट स्वप्निल रातमा शिरानी भिजाउने आँसु र आद्र मन उनका निबन्धमा पाइने मिश्रित विशेषता हो ।

उनले ‘गोलघर’ निवन्धमा संकटकालमा स्वतन्त्रतापूर्वक हिड्न, बोल्न नपाएका मानिसका पीडा जुनेली रातमा कफ्र्यूको बादल मडारिइरहेको बेला लोकतन्त्रको भजन गाउनेलाई व्यंग्य गरेका छन् । उनी लेख्छन्– ‘चाँदनी रातमा टकटकाउँदो जुनतारा हेर्ने देशवासीको रहरमा कफ्र्युको ढक्कनी छ । मौन मौन नीशाका ताराशून्य गगन, निर्जन क्षणहरु संकटकालका कारण निम्त्याइए । निवन्धकार विभाषले आफ्ना थुप्रै निबन्धमा त्यो अन्धकारको बाक्लो हुस्सुले छेकेको क्षणको छोटा निबन्धमा गहकिला पीडा पेश गरेका छन् ।

लेखकले यो निबन्ध लेख्दा ढुकढुकीमा सास फेरिरहेका, ढुकढुकीमा मुक्तिको आश गरिहेका ज्युँदै मरेका जस्ता वा मर्नकै लागि बाँचिरहेका जस्ता थिए मान्छे । लोकतन्त्रको नाममा जनयुद्धलाई दमन गर्ने नाममा कलममा विर्को लागेका बेला थुप्रै कथित क्रान्तिकारीहरु तत्कालीन सत्ताको चाकडी वा मौन समर्थन गरेका बेला विभाषले भने कलमको माध्यमबाट प्रतिरोध युद्ध लडिरहे । कलमलाई बन्दुक देख्ने तत्कालीन सत्ताको चाकडी वा मौन समर्थन गरेका बेला विभाषले भने कलमको माध्यमबाट प्रतिरोध युद्ध लडिरहे । कलमलाई बन्दुक देख्ने तत्कालीन शासकलाई अक्षरको चक्कुले गला रेटिरहे र त लोकतन्त्र, गणतनत्र आयो यो देशमा । ‘बन्दुकका आँखा’ ‘सुत्ने समय’, ‘सुत्नुअघि’, ‘रात ढल्नु अघि, ‘संकटकालको तराजुमा’ देश कोरा बसेका बेला लेखिएका, आफ्ना मर्दा देखाएर आँसु बगाउन नपाउने तत्कालीन समय र देशवासीका साझा भोगाइ हुन् । सत्यलाई छोपेर समाजको आँखामा छारो हाल्नेहरुप्रति निबन्धकार घोर असन्तुष्टि व्यक्त गर्दछन् ।

आत्मपरक शैलीमा लेखिएका यस संग्रहमा संग्रहित निबन्धहरुमा आफूले देखेका, भोगेका र अनुभव गरेका कुरा विषयवस्तु बनाइएको छ । विधागत सचेतता, शैलीगत नवीनता, नवीन विम्व र प्रतीकको प्रयोग र युग चेतना उनका निवन्धमा पाइने साझा विशेषता हुन् । अन्याय, अत्याचारको विरोध, प्रगतिवादी मानवतावादी सोच उनका निबन्धमा पाइन्छन् । स्वतन्त्रता, समानता, भातृत्व लेखकको चाहना देखिन्छ । सरल, सुबोध, सहज र प्रभावोत्पादक भाषाशैली, नवीन कथ्यको प्रयोग, स्थानीय लवज निबन्धमा जस्ताको तस्तै देखिन्छ । छोटा छरिता बाक्य माक्र्सवादी सौन्दर्यशास्त्रअन्तर्गत रहेर बैचारिक स्पष्टताका साथ उनका निबनधका विषयवस्तु बनेका छन् ।

तत्कालीन समयमा चलेको वर्गयुद्धको पक्षमा र राज्यसत्ताको दमन, शोषण, अन्याय, अत्याचारको विरोधमा उनका निबन्ध दरिलो गरी उभिएका हुन । तसर्थ उनलाई प्रगतिवादी र उनका रचनालाई प्रगतिवादी चेतनाबाट अभिसञ्चित रचना भन्न सकिन्छ । सन्त्रास, अभाव, पीडा, गरीवी, रोग, भोक र शोकले थिचिएर, बाध्यताले बाँच्न विवश जनताका कथा साहित्यमा उन्ने साहित्यकार नै प्रगतिवादी साहित्यकार हो । नवीन विभाष यसमा स्पष्ट देखिन्छन् । विभाषले पनि जनताका पसिना र पीडाका थोपा उनेर निबन्धका माला उनेका छन् । मान्छेद्वारा मान्छेमाथि गरिएका सबै प्रकारका विभेदको विरोध गरिएको छ ।

विवेक सिर्जनशील प्रालि प्रकाशक रहेको निबन्धमा ९४ पेज छन् । मूल्य रु ४० रहेको पढ्नै पर्ने यो निबन्धसंग्रह युग सचेत, निबन्धकार बाँचेको परिवेश र देशले भोगेको पीडा बुझ्न एक पटक पढ्नैपर्ने पुस्तकको कोटिनु पर्दछ । पुस्तकमा स्वयम्वर
हाङ र अजित लामिछानेको सुन्दर व्यंग्यचित्रले पुस्तकमा थप ओज भरेको छ ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.