निबन्ध : बाबु ! तिमी के बन्ने ?

~प्रमोद अधिकारी~

गुन्जिरहन्छ अहिले पनि तिनै शब्दहरु, म झस्किरहन्छु, मानौं कि तिनै शब्दहरुले पछ्याई रहेछन् अहिलेसम्म पनि । तपाईंलाई पनि याद छ होला, साना छँदा हरेकले सुनेका, भोगेका प्रश्नहरु, जिज्ञासाहरु हुन् यि, “बाबु ! तिमी के बन्ने ?, तिमी ठूलो भएर के बन्छ्यौ ?” यस्तै-यस्तै ।

त्यहि त हो नि, बाल्यावस्था आफुलाई केमा छाप परेको छ, कोबाट प्रभावित भइएको छ, जुन कुराको अभाब छ, दरिलो छाप छोड्न सफल भएका कुराहरुमा मन अडिरहेको हुन्छ, अनि भनिन्छ, आमा बिरामी भएको र गाउँमा डाक्टर नभएको सम्झिएर “म डाक्टर बन्छु”, साँझ पर्नासाथ चुँइक्क रोयो या फटाइ गर्नासाथ बा-आमाले “ऊ पुलिस आयो” भनेर डराएको सम्झदै अनि आफुपनि पुलिस जस्तै शक्तिशालि बन्ने कल्पना गरेर “म पुलिस बन्छु” अनि “म इन्जिनियर बन्छु” आकाशमा हवाइजहाज उडेको देखेर “म पाइलट बन्छु” जस्ता कुराहरु लाडे स्वरमा भन्दा ठूलाबडाले “स्याबास” भनेर ढाप मार्दा छाति ढक्क फुलाएर मख्ख परि दगुरेका क्षणहरु कति वयस्क मानसपटलमा आजपनि ताजै होलान् ।

म पनि उहि ड्याङ्गको मूला त हो नि । एकजना अङ्कल घरमा आएका बेला आफ्नो काखमा बसाउँदै सोधेका थिए उहि प्रश्न । अनायासै फुत्किहाल्यो “म त ठूलो राइटर बन्छु” । यो कुरा म अलि बुझने भइकनको हो । कसरी मैले यस्तो रहर गरे अर्थात म केबाट प्रभावित भएँ भन्ने कुरा आउँछ । खासमा मेरो बुवा शिक्षक हुनुहुन्थ्यो, प्रा.वि. लेभलको टिचर, त्यै पनि घरबाट धेरै टाढा । वर्षा एकदुइ पटक मात्र घर आउन मिल्ने । आफ्ना कलिला छोराछोरी र पत्निबाट बिछडिएका तितापलहरुलाई, मनका भेलहरुलाई कविता, कथा मार्फ कापिमा उतार्नु हुनेरहेछ । हामी -दिदी, दाई र म) सिलिङ्गमा राखेका पुराना डाइरीका पानाहरुमा छरपष्ट बुवाका भावन पढेर बुझि-नबुझि रमाइलो गथ्र्यौं । फेरि मेरो मामाहरु पनि असाध्यै बिद्धान । उहाँका नामहरु छापा अक्षरमा देख्दा हाम्रो पनि नाम त्यसरी नै छाप्ने रहर हुन्थ्यो । फेरि राम्रो मान्छेको सबैले नै चर्चा गर्छन् नि । मलाई फलानाको भान्जो भनेर चिन्ने, माया गर्ने अनि मामा जस्तै ठूलो मान्छे बन्नु पर्छ है भनेर घच्घच्याउने धेरै थिएँ । त्यसैले नै प्रभावित भएको हुनुपर्छ सायद । गाउँतिर पत्रिका किनेर पढ्ने त सम्भावना नै थिएन तर पसलमा चिनी, चियारङ्ग र अन्य सामानहरु किन्न जाँदा सामान पोको पारेका पत्रिकाका पानाहरुमा मामाको नाम र फोटो देख्नासाथ म धक्कु लगाउँथे । पोको खोलेर देखाउँथे पसले र गाउँलेलाई “यी मेरो मामा”, सामान पोखिएको पनि याद हुन्नथ्यो । त्यसै-उसै गरेर गाउँमा इज्जत कमाएको थिएँ । हुन त खास मैले आफ्ना दौंतरीहरुलाई “के बन्ने” भन्ने प्रश्नमा “डाक्टर” भनेको रहेछु । पछि कुरै कुरामा एक-दुई जनाले मलाई अप्ठ्यारो पनि पारे तर मैले कसो-कसो गरेर मोडिफाइ गरि छोडें, आफ्नो उद्देश्यलाई । बाल्यकाल पनि अचम्मको लाग्छ, आफ्ना इच्छाहरु, उद्देश्यहरु अरुबाट इन्फ्लुएन्स भएको देख्दा । बरु त्यसबेला “धुम” फिल्म चलेको भए फिलिममा चोरले गरेको चकचकी, चामत्कारीक सफलता देखेर शायद म पनि भन्ने थिएँ होला “कुख्यात चोर बन्नेछु, ऋतिक रोशनजस्तो” ।

गाउँबाटै एस.एल.सि. पास गरेँ, दुई पटक लगाएर । हिसाब भनेपछि फिटिक्कै नआउने । जब जाँच आउन लाग्यो/नजिकिँदै छ अनि मनमा कविता फुर्थे, कथा फुर्थे अनि लाग्यो साहित्यको रसरङ्गतिर । गाउँबाटै पन्ध्र पटक जति चिठ्ठी पठाउँदा-पठाउँदा बल्ल एउटा कविता छापियो, सुनकेस्रामा । आफ्नो र आँफु पढ्ने स्कुलको नाम सहित । सम्मान गर्‍यो स्कुलले फुलमाला लगाएर-स्कुलको इज्जत बढाएँ रे ।

मेरो बुवा पनि म प्रति आशाबादी हुनुहुन्थ्यो । त्यति बेलासम्म मैले पनि एक-दुई वटा प्रमाण-पत्र बटुलि सकेको थिएँ, लोकल स्तरका कविता-कथा प्रतियोगिताहरुबाट । फेरि बुवाको पनि अधुरो सपना जस्तै नै थियो, लेखन बिधा । त्यसैले उहाँले पनि मेरो रहरमा साथ दिनुभयो । मैले पत्रकारिता पढ्ने निधो गरेँ । काठमाडौं जाने र आफ्ना सपनाहरु पुरा गर्ने मिठो कल्पनाले रातभर सुत्न सकिनँ ।

ति सपना र आशाले ओतप्रोत भएका पोका-पन्तुरा लिएर बस चढेँ । मनमा उब्जिएका अथाह रहरले, सफलता चुम्ने कल्पनाहरुले मुटु उफ्रीरहेथ्यो, बुरुक्क-बुरुक्क । बसको छतमा चढेर चिसो सिरेटोमा घरि सहर, घरि गाउँ, अनेक बस्ती, अनेक मान्छे नियाल्दै सफलता चुम्न हिंडेका उन्मत्त क्षणले अब त मलाई घायल बनाउँछ ।
….. काठमाडौं, खै के छैन यहाँ – अनि के छ यहाँ – अनगिन्ती सपनाहरु छरपष्ट छन् यहाँ । छताछुल्ल छन्, ति बुढा गाउँले बा-आमाका सपनाहरु सडकभरी । यो ब्यस्त सडक, ब्यस्त बजार अनि पूरै ब्यस्त राजधानिमा छिरेर संर्घष्ा गर्न थालेपछि मान्छेका ति कलिला रहरहरु निमोठिदै जान्छ, परिष्थितिले, बाध्यताले । आफ्ना बाल्यकालका सपनाहरु मोडिफाई गर्दै लैजान्छ मान्छेले । अनि अन्त्यमा गुजारा चलाउने पेशा नै उसको मूख्य उद्देश्य बन्छ । सम्भावना धेरै छन् यहाँ, सफलता शून्यप्रायः । घण्टाघर हेरेर आत्तिने हो कि धरहरा हेरेर सौम्य अपनाउने, म अझै पनि अलमलमै छु ।

आफ्नो सपना साकार पार्न मैले पनि नखोजेको होइन् अनि अझै पनि प्रयासरत नै छु । मूख्य उद्देश्य नै ठानेको थिएँ, लेखनलाई । सानो छँदा भन्ने गर्थे-”मलाई पैशा चाहिएन, नाम भए पुग्छ” तर ति बाल्यकालका सुन्दर महाबाणी रहेछन् । हरेकले त्यहि नै भन्ने गर्छन् । जब जिवन हुर्कदै जान्छ, अनि बुझनेछ, वास्तवमा मान्छेले के चाहन्छ । यो सत्ययुग होइन, जीवन, भोगाई, सन्तुष्टि हरेक पल-पल पैसासँग जोडिएको छ । यो ब्यस्त सहरका हरेक प्राणिहरु पैसा पछि दगुरिरहेछन् ।

मैले आँफुमा भएको थोरै दक्षता र धेरै बाध्यता दुबैको बिचमा रहेर लेख लेख्दै गुजार चलाउन थालें । नेपालमा कति नै पत्रपत्रिका होलान् र लेखकको परिश्रमको कदर गर्ने – अनि म भन्दा धेरै अग्रज लेखकहरु कयौं छन् । यस्तो परिस्थितिमा म के गर्न सक्छु र – झण्डै २ वर्षत नाम चलेका पत्रपत्रिकामा फाट्टफुट्ट आफ्ना लेखहरु छाप्दै, महिना नबित्दै पैसा लिन दगर्ुर्दै पनि गरें । तर दिउँसो भरि ताता घाममा, धुँवा र धुलोमा, फोहोरका डङ्गुरहरुमा विषयवस्तुको खोजि गर्नु, पैसा दिन सक्ने संस्थामा छपाउन योग्य लेख लेख्नु ….. ओहो ! यसरी बाँच्न सकिन्नँ । फेरी मेरो बाल्यकाल देखिको सपना अनि बुवाआमाका आशाहरु …….. – त्यसैले मेरो लेख छापियो कि घर फोन गरेर आज मेरो लेख छापिएको छ, पत्रिका किनेर हेर्नुहोला भनेर खबर गर्थें । भित्र-भित्रै जे भए पनि शान देखाउन साथिभाईलाई पनि नजानिदो पाराले जानकारी त दिनै पर्‍यो ।

म ठूलो हुँदै जाँदा बा-आमाको आशा पनि थोपरिंदै जान थाले । मेरो जुन गतिले जिवन चलिरहेको थियो, त्यो भन्दा कयौं दोब्बर गतिमा जिबन चलाउनु पर्ने चाप बढ्दै गयो । अब पत्रकारिताले जिन्दगी चल्दैन । एउटा लेख छाप्न रिपोर्टर देखि सम्पादकसम्म ज्यू, ज्यू गर्नुपर्ने । कहिले सम्म चल्छ यसरी ……. – बरु पैसा कमाइएछ भने गरौंला पछि फेरी भन्ने सोचेर काम खोज्न थालें । काम पनि के नै पाइन्छ र – जहाँ पनि जता पनि भनसुन बिना केहि चल्दैन । एउटा साधारण व्यक्तिको असिस्टेन्ट देखि लिएर पत्रिका बेच्ने हकरसम्मका अनुभबहरु बटुलें । झण्डै एक वर्षत अन्तवार्तामा मात्रै दगुरें । अन्तिममा भनसुनकै भरमा जागिर पाएँ राम्रै ठाउँमा ।

यो राजधानि हो, ५-७ हजारको जागिरले हुनेवाला केहि छैन, पोष्ट राम्रो, संस्था राम्रो, इज्जत राम्रो तर खै त हाम्रा सपनाहरु ……… – अनि खै त हाम्रै सपना पुरा गर्ने धुनमा कर्जामा डुबेका बा-आमाका आशाहरु ……. – जिबन त झनै जेलिंदै छ । पल-पलमा जिवन अल्भिmरहेछ, फसिँरहेछ । ति बाल्यकालका उद्देश्यहरु, रहरहरु के मेरो मात्रै पुरा नभएका हुन् त – म त डाक्टर बन्छु, म इन्जिनियर बन्छु, म पाइलट बन्छु भन्ने मेरा बालसखाहरु आफ्ना सपनाहरु मोडिफाइ गर्दै कोहि दुबइ, कोहि कतार अनि कोहि मलेसियामा अल्झीरहेछन् । मैले फेरी सबैको बाल्यकालका सपनाहरु पुरा हुँदैनन् भन्न चाहिं खोजेको चाहिं होइन तर अत्याधिक मान्छेको जिवन सोचे जस्तो हुँदैन, मान्छे आफैं शर्त राख्छ अनि फेरी आफैं तोड्छ पनि । मेरा साथीहरुलाई नै हेर्छु बाल्यकालका होनहार, हुने बिरुवाका चिल्ला पात भनेजस्ताहरु अहिले बिहान-बेलुकीको छाक र्टार्न, आफ्ना न्युनतम आवश्यकताहरुको परीपुर्ती गर्न नै लागि परेका छन्-ति स्वप्न कल्पनाहरुलाई पन्छाएर ।
म “बाल्यकालको काल्पनिक महान लेखक” भौंतारिदै जीवन खोजिरहेछु । जतिजति पाइलाहरु सार्दै जान्छु, जेलिरहेछु झन-झनै । आफ्ना बाल्यकालका उद्देश्यलाई मोडिफाइ गर्दा-गर्दै एउटा टेक्निकल मेनमा सिमित हुन पुगेको छु । अझै अगाडि कति मोडिफाइ गर्नुछ आफ्ना अठोटहरुलाई । त्यतिको त हुन सकिएन, यत्तिमै भए पनि ठिकै छ-कम्प्रोमाइज । मलाई लाग्छ, सिङ्गो जिन्दगी नै कम्प्रोमाइज हो कि के हो – रहरहरुको, इच्छाहरुको अनि सपनाहरुको ।

म यता दिनदिनै भाँसिदै छु, परिस्थितिको दलदलमा । उता मेरी आमा चिनिको पोको खोलेर मेरै नाम खोजिरहेकी होलिन्, अखबारको पानाभरी ।

माइ संसारमा २०६५ असोज २७ गते प्रकाशित ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *