पौराणिक बाल कथा : उँट, स्याल र काग

~उमाशङ्कर द्विवेदी~

कुनै वनमा मदोत्कट नामक सिंह बस्दथ्यो। बाघ, काग तथा स्याल तीनजना उसका सहायक थिए। एक दिन आफ्नो झुन्डबाट छुट्टिएको कथनक नामक एक्लो उँट देखा पर्‍यो। त्यस उँटलाई देखेर सिंह छक्क पर्‍यो। सिंहले आफ्ना सहायकहरूलाई बोलाएर भन्यो–हेर त, यो कस्तो अनौठो जीव देखा पर्‍यो ? गएर पत्ता लगाऊ यो ग्राम्य पशु हो अथवा वन्यप्राणी हो। सिंहको कुरा सुनेर कागले भन्यो–सरकार, यो उँट भनिने ग्राम्य पशु हो। यो जनावर सरकारको भक्ष्य हो। अत: सरकारले यसलाइ मारेर खाँदा बेस हुन्छ। सिंहले भन्यो–म घरमा आएको अतिथिलाई मारेर खाने गरेको छैन। तिमीहरू उसलाई अभय प्रदान गरेर यहाँ बोलाएर ल्याऊ। म ऊसित यहाँ आउनको कारण सोध्न चाहन्छु। सिंहको यस्तो आदेश पाएर ती प्राणीहरू त्यस उँटलाई अभय प्रदान गरी विश्वासमा लिएर बोलाएर ल्याए। उँट खुशीपूर्वक निर्भय भएर सिंहको दरबारमा आएर आदरका साथ नमस्कार गरी बस्यो। सिंहले सोधेपछि उसले आफ्नो झुन्डबाट वियोग भएको सम्पूर्ण वृत्तान्त अद्योपान्त सुनायो। उसको वृत्तान्त सुनेर सिंहले भन्यो–कथनक, तिमी फेरि गाउँमा गई भारी बोक्ने जस्तो कष्टकर काम किन गर्ने ? बरु तिमी यही वनमा निर्भय भएर हामीसँगै बस, कलिला घाँस चर तथा मोज गर। सरकारको जो हुकुम–भनेर कथनक उँट त्यहीं उनीहरूसँगै रमाएर बस्न थाल्यो।

एक दिन मदोत्कट सिंह र वनको ठूलो हात्तीसँग भीषण लडाइँ पर्‍यो जसमा सिंहको न राम्रो पराजय भयो। ठूलो चोटपटक लागेर हिंडडुल पनि गर्न नसक्ने गरी सिंह घाइते भयो। सिंह अशक्त भएपछि उसले आहारका लागि कुनै जनावर मार्न सकेन। सिंहका साथै ऊसित रहेका काग, बाघ र स्याल पनि भोकभोकै मर्न थाले। यो अवस्था देखेर सिंहले भन्यो–तिमीहरूले वनमा गई कुनै यस्तो जनावर खोजेर ल्याऊ जसलाई म यस अवस्थामा पनि मार्न सकूँ र तिमीहरूको भोजनको व्यवस्था गर्न सकूँ। सिंहको आदेशानुसार सहायकहरू शिकारको खोजीमा वनमा डुल्न थाले। जति डुलेपनि उनीहरूले शिकारलायक कुनै जनावर फेला पार्न सकेनन्। थकित भएर एक ठाँउमा भेला भएर आपसमा विचार गर्न थाले। स्यालले भन्यो– मित्र काग, वनमा व्यर्थ डुलिरहँदा के लाभ ? कथनक उँट हामीसँगै बसिरहेको छ। यसलाई नै मारेर स्वामीको भोजनको व्यवस्था गर्दा ठीक हुन्छ कि, कसो ? कागले भन्यो–मित्र तपाईंले भनेको कुरा त ठीक हो तर कथनक उँटलाइ त स्वामीले अभयदान गरेर विश्वासपूर्वक राख्नुभएको कुरा हामीले बिर्सनुहुन्न नि । कागको कुरा सुनेर स्यालले भन्यो–मित्रहरू, तपाईंहरू यही बसिराख्नुस्। म गएर स्वामीसित उँटलाइ मार्ने आज्ञा लिएर आउँछु। अथवा म कुनै यस्तो उपाय गर्नेछु जसले गर्दा स्वामी आफैंले उँट मार्न प्रस्तुत हुनुहुनेछ। यति भनेर स्यालले छिटो सिंह छेउमा गएर बिन्ति बिसायो–सरकार, वनमा हामी शिकारको खोजीमा निकै डुल्यौं तर पनि कुनै जनावर फेला पार्न सकेनौं। अब के गर्ने ? स्थिति यो छ कि भोकको कारण अब हाम्रो प्राण अन्त्य होला जस्तो भइसकेको छ। भोजनबिना सरकारको अवस्था पनि दयनीय भइसकेको छ। यस्तो स्थितिमा यदि सरकारको आज्ञा हुन्छ भने आज कथनक उँटकै मासुले सरकारको पथ्यको व्यवस्था गरौं कि ? सरकारको जो हुकुम १ स्यालको कुरा सुनेर सिंह रिसाउँदै भन्यो–चण्डाल, तैंले यस्तो कुरा फेरि पनि भनिस् भने म तँलाई अहिले नै मारिदिन्छु। मैले उसलाई अभयदान दिएको छु। मैले उसलाई कसरी मार्न सक्दछु ? पाजी। सिंहको कुरा सुनेर स्यालले फेरि भन्यो –सरकार रिसानी माफ होस्, मैले भन्न खोजेको कुरा त्यसो होइन। अभयदान दिएकोलाई आफूखुशी मार्दा पो पाप लाग्छ तर यदि उसले स्वयं स्वामीभक्तिका कारण आफ्नो जीवनदान दिन्छ भने त्यस्तो स्थितिमा उसलाई मार्दा पाप लाग्दैन कि, सरकार ? यदि उसले स्वयं नै आफ्नो जीवन सरकारलाई अर्पण गर्‍यो भने मार्नुहोला । यदि उसले यस्तो गर्न मानेन भने हामी तीनजनामध्ये कुनै एकलाई मारेर पथ्यको व्यवस्था गर्नु उचित होला। किनकि भोजनको अभावमा सरकारलाई कुनै अनिष्ट भइहाल्यो भने हामीजस्ता सेवक बाँचेर पनि के काम ? स्वामीको जीवन नरहेमा हाम्रो जीवन पनि रहने छैन। स्यालको कुरा सुनेर सिंहले भन्यो–त्यसो हो भने तिमीहरूको जे चाहना छ त्यस्तै गर। राजाको आज्ञा पाउने बित्तिकै स्याल तत्कालै गएर आफ्ना साथीहरूसित भन्यो–साथीहरू हो, भोकको कारणले स्वामीको प्राणान्त हुने बेला भइसकेको छ। यस्तो अवस्थामा हामीले आफ्नो कर्तव्य सम्झिनुपर्छ। स्वामी नै नरहे पछि हाम्रो रक्षा कसले गर्नेछ ? अत: हामीले आफ्नो प्राण त्यागेर भए पनि स्वामीको प्राण रक्षा गर्नुपर्दछ। हामीले तत्काल आफ्नो शरीर स्वामीलाई अर्पण गरिदिनुपर्दछ जसलाई खाएर स्वामीको प्राण रक्षा हुन सकोस्। स्यालको कुरा सुनेपछि ती जम्मै मदोत्कट सिंहछेउ पुगे । उनीहरूलाई देखेर सिंहले सोध्यो–क्या, हो ? तिमीहरूले केही पायौ ? कागले भन्यो–सरकार, वनमा जति खोज्दा पनि हामीले कुनै जानवर फेला पार्न सकेनौं। अत: आज मलाई नै खाएर सरकार आफ्नो प्राणको रक्षा गर्नुहोस्। यसले गर्दा सरकारलाई केही शक्ति तथा मलाई मुक्ति प्राप्त हुनेछ। किनकि स्वामीको लागि प्राण त्याग गर्ने सेवकको मुक्ति हुन्छ भन्ने कुरा शास्त्रहरूमा लेखिएको छ। कागको कुरा सुनेर स्यालले भन्यो – मित्र, तपाईंको शरीरमा मासुको मात्रा थोरै छ। त्यो खाएर स्वामीको प्राण रक्षा हुन सक्दैन तथा व्यर्थको जीवहत्याको पाप लाग्छ। तपाईंले आफ्नो स्वामीभक्ति प्रमाणित गरिसक्नुभयो। अत: तपाईं त्यहाँबाट हट्नुस्, म स्वामीसित केही निवेदन गरूँ। काग त्यहाँबाट हटेपछि सिंहको सामु गएर बिन्ति गर्‍यो–सरकार, आज मलाई नै खाएर आफ्नो प्राणको रक्षा गर्नुहोस् तथा मलाई यशको भागी हुन दिनुहोस्। स्यालको कुरा सुनेर बाघले भन्यो– मित्र, तपाईं एक त स्वजातीय हुनुहुन्छ, अर्को तपाईंको शरीरमा पनि मासुको मात्रा थोरै छ। स्वजातीय भक्षण शास्त्रमा निषेधित भएको हुनाले तपाईंको मासु स्वामीको लागि अभक्ष्य छ। तपाईंले यति कुरा गरेर आफ्नो कुलीनताको परिचय दिइहाल्नुभयो। अब तपाईं त्यहाँबाट हट्नुस् सरकारसित मैले केही निवेदन गर्नुछ। स्याल त्यहाँबाट हटेपछि बाघले सिंहको सामु बिन्ति बिसायो–सरकार, आज मेरो मासु खाएर आफ्नो प्राणको रक्षा गर्नुहोस् र मलाई स्वर्गमा अक्षयवास गर्ने मौका दिनुहोस्।

बाघको कुरा सुनेर कथनक उँट मनमनै विचार गर्न थाल्यो–यी जीवहरूले आफ्नो प्राण अर्पण गर्नेजस्तो मीठो कुरा गरेर स्वामीको दृष्टिमा आफ्नो स्थान बनाइहाले। स्वामीले कसैको पनि हत्या गरेनन्। अत: समयानुसार मैले पनि यस्तो निवेदन गर्नुपर्दछ। यस प्रकारको निश्चय गरेर उँटले भन्यो–महाशय, तपाईं्रले ठीक भन्नुभयो, तर तपाईं पनि त स्वामीका स्वजातीय नै हुनुहुन्छ। अत: तपाईंको मासु स्वामीले कसरी खान सक्नुहुन्छ ? तपाईं पनि हट्नुस्, मैले पनि केही निवेदन गर्नुछ। यस प्रकारको कुरा सुनेर बाघ मनमनै खुशी हुँदै त्यहाँबाट पर गएर बस्यो। बाघ हटिसकेपछि कथनक उँटले सिंहको सामु बिन्ति बिसायो–सरकार यी जम्मै सरकारका लागि अभक्ष्य जीव हुन्। अत: आज मेरो मासु खाएर आफ्नो प्राणको रक्षा गर्नुहोस् र मलाई पनि दिव्यलोक पाउने सुअवसर प्रदान गर्नुहोस्। कथनक उँटको यस प्रकारको निवेदन सुनेर सिंहको आज्ञाले बाघ र स्यालले उसको हत्या गरेर भोकले पीडित सिंह, स्याल, बाघ तथा कागले मासु खाए। त्यसैले भनिएको छ–

बहव: पण्डिता: क्षुद्रा: सर्वे मायोपजीविन: ।
कुर्यु: कृत्यमकृत्यं वा उष्ट्रे काकादयो यथा ।।

अर्थात् धेरै छट्टू, क्षूद्र तथा मायावी जीवहरू एकत्र भएपछि उचित वा अनुचित केही न केही अवश्य नै गर्दछन् जस्तो कि काग र स्यालजस्ता जीवहरूले विशालकाय उँटजस्तो जनावरलाई मारेर खाए।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in पौराणिक कथा, बाल कथा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *