पत्र कथा : परदेशी योद्धाको पत्र

~कृष्ण के.सी.~

प्रिय कमरेड
न्यानो अभिवादन ।

मौसम परिवर्तनको कारण होला अलि विसञ्चो छु, त्यहाँ स–परिवार आरामै हुनु होला भनि आशा गर्दछु ।

६ वर्ष कतार बसाईको पिडाको अनुभुति त त्यही आएर संगै बस्दा सुनाउँला तर पनि वैचारिक रूपबाट विमुख हुंदाको पिडालाई नचाहेर पनि ह््रदयमा लुकाएर राख्नु पर्दाको पिडावोध भएको थियो त्यसबाट मुक्ति पाउँदा हर्र्षले विभोर बन्दै पत्र लेख्ने साहस गरें अन्यथा नलिनु होला ।

क्रान्तिको वेदीमा जीवनलाई बलिदानी दिने रहर साहसले मात्र नहुंदो रहेछ । क्रान्तिले खोज्नु र माग्नु पनि पर्दो रहेछ । जीवनका आरोह–अवरोह पार गर्ने क्रममा आफू–आफू बीच पनि छुट्नु पर्दो रहेछ । हामी दुवैको आत्मीय प्रेमबाट उत्पन्न सन्ततीको भविष्यलाई क्रान्ति भन्दामाथी ठान्दै उनीहरूको भविष्यको लागि मरूभूमिको आततायी पिडासंगै पैठेजोरी खेल्नुपर्दाको तितो तर सत्य पिडा हामी बीचमा लुकेको यथार्थलाई पनि हामीले आत्मासात गर्नु पर्दो रहेछ र पनि गर्वले प्रफुलित छु यो मानेमा कि आत्मीय कमजोडले सागर भेट्ने यात्रामा निरन्तर संघर्ष गर्दै जानु भएको छ । आशावादी छु यो क्रमले निरन्तरता पाइरहोस् ।

विगत कोट्याउने अनुमति चाहान्छु कमरेड । किनकी वर्तमान नै विगतको यथार्थ हो । २२ वर्ष अगाडिको हाम्रो भेट संगठन निमार्णको क्रममा भएको थियो । त्यही सानो तर अविष्मरणिय भेट्ले हाम्रो यात्रालाई एउटै यात्राका सहयात्री बनाएर ल्यायौं । हाम्रो मिलनका साक्षीहरू हाम्रो पार्टीबाट लाखापाखा लागि सकेको यथाथर्ताबाट तपाई पनि अनविज्ञ हुनुहुन्न । तर पनि हाम्रो यात्रामा निरन्तरता कायम रहिआएको छ । यसमा हाम्रो जित वा हार के भएको छ भविष्यले उत्तर दिनेनै छ । पारीवारीक यात्रालाई पार्टी संगठनसंग लैजाने क्रममा लामो समय म विमुख बन्नु परेको तितो यथार्थ यहाँले मनन् गर्नु भएकै छ । तर यहाँको यात्रामा एक पाईला थपेर यात्रालाई सुगम बनाउन मैले खेलेको भूमिकालाई सही सदुपयोग गर्दै यहाँले जुन चिन्ताका साथ क्रान्तिको यात्रामा आफ्ना पाईलालाई निरन्तरता दिइरहनु भएको छ । त्यसको लागि पार्टी संगठनले यहाँको उच्च मूल्यांकन गर्ने नै छ र गरिरहेको पनि छ । कहिं कतै मेरो चिन्तनमा भएको कमीकमजोरीले गर्दा यहाँको यात्रामा ठेस लाग्न पुगेको भए क्षमाप्रार्थी छु । पारिवारीक बृद्धिसंगै आइपरेको आर्थिक संकटको बोझलाई हल्का गराउने उद्देश्यले आपसी समझदारी मै यहाँको कार्यलाई निरन्तरता कायम राख्ने उद्देश्यले म मेरो यात्राबाट केही हदसम्म पछि लागेको सत्यलाई हामी दुवैले बुझ्ने नै छौं र पनि हाम्रो परिवारको आर्थिक बोझ ज्यूँका त्यूँ रहिरहको वास्तविकताबाट पनि हामी अनविज्ञ छैनौं । ६ वर्ष कतारको बसाइलाई मैले एउटा कठोर यातनालय महशुस गरेको छु । हुन त यस बसाइले दिएको प्रतिफलबाट हाम्रा सन्ततीले शिक्षा हासिल गरेका छन् । तर यथार्थमा भन्ने हो भने मेरो यात्रामा यसले अवरोध ल्याएको कुरालाई तुलनात्मक रूपमा मूल्यांकन गर्दा यो बसाइलाई मैले यातनालय नै ठानेको छु ।

प्रिय कमरेड अवमूल्यशिल मेरो यो बसाइलाई पुनः कतार नेपाली एकता समाजको ऐतिहासिक राष्ट्रिय सम्मेलन (नोभेम्बर ६) तारिखले उर्जा प्रदान गरेको छ । आमन्त्रित प्रतिनिधिको हैसियतले उक्त सम्मेलनमा भाग लिन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । सम्मेलन हलमा देखिएको भिड र कार्यकर्ताहरूको उत्साह र जोसले देख्दा आफू बीचमा कतै हराउँदा थकथकी लागेर आउँछ । स्वदेशमा रहंदा संगठन निमार्णका दौरानमा देखिएको जोस् जागर पुनः पैदा भएको महशुस भएको छ । गत साल पत्रपत्रिकामा देखिएको संगठनको फूटलाई यो सम्मेलनले गतिलो झापड दिएको महशुस गरेको छु । ६ तारिकको यस सम्मेलनको सफलताले स्वार्थसिद्धमा लागेका भगौडाहरूलाई अवश्य पनि थकथकी लागेको होला भन्ने महशुस गरेको छु । साच्चै भनुँ भने सधैं जसो देखिने हाम्रो पार्टी संगठनको फुटपरस्त गतिविधीले मेरो खिन्नताभित्र पैदा भएको निराशालाई ६ नोभेम्बरले धावा वोलेको प्रष्टै देखिने मौका पाएँ जसको लागि आयोजक कमिटिका साथीहरूलाई धन्यवादका पात्र रहिरहने छन् ।

कमरेड हजुरलाई याद होला चुनाव परस्त साथीहरूले हाम्रै घरमा खाना खाएर तथाकथित भेलाको आयोजना गर्दै बहुमतको डंका पिड्दै हामीहरूलाई खिया लागेको फलाम बनाउदै आफू स्पात बनेको सगर्व घोषणा गर्दै जनयुद्धको संघर्ष गर्न रोल्पा लागेको सायद बिर्सनु भए होला । उनीहरूले यो घोषणा गर्दै बाटो लाग्दा हाम्री ठूली छोरी हाम्रो कोखमा त्यस्तै २÷३ वर्षको थिइन् । नयाँ जनवादी सत्ता प्राप्त गर्ने उद्देश्यले हाम्रै पिढीबाट विदाइका हात हल्लाउदै हाम्री छोरीलाई वाई–वाई गरेको आज १३÷१४ वर्ष भइसकेको छ । तथाकथित क्रान्तिको वैठान आज उनीहरूकै भाषामा प्रतिक्रियावादी सत्तामा आएर टुंगिएको छ । मैले प्रसंगलाई केही मोडे किनकी यहाँको कतार नेपाली एकता समाजबाट वाई–वाई गर्ने साथीहरूलाई पनि आज यही समाजको वरिपरि टालेको टालो जस्तै लरखरिदै हिडेका छन् । त्यसैले कमरेड मैले माथि भने झै लहरमा क्रान्ति भन्दै १२ हात उफ्रिएर मात्र हुने रहेनछ क्रान्तिले खोज्नु र माग्नु पर्ने हुन्छ । अतयव निरन्तरता नै सफल क्रान्तिकारीको पहिचान हो भन्ने मलाई लाग्दछ ।

चलिरहने हतियार भन्दा भन्डारनमा थन्किएको हतियार भुत्ते हुंदो रहेछ भन्ने कुराको महशुस भएको छ र थकथकी लागेर आएको छ । आन्दोलनको वहाव संगै हिंड्न सकेनौं भने वहाव संगै जुध्ने आँट पनि नहुंदो रहेछ । कतारको मरूभूमिमा रोजी रोटीको समस्यालाई हल गर्दै बचेको समयलाई सदुपयोगमा ल्याउदै यहाँका साथीहरूले दिएको योगदान र निरन्तरता मेरो लागि पाठ भएका छन् । अझ पनि मैले व्यक्तिगत समस्याको दुहाइ दिंदै लुकामारीको खेल खेल्दै रहे भने इतिहासले अवश्य पनि मलाई भगौडाकै कोटीमा थान्को लगाउने छ । अतयव प्रिय कमरेड यो भन्डारनमा थन्किएको हतियारलाई चलयमान गराउन यहाँको सहयोग सदभाव र खबरदारीको अपेक्षा गर्दछु ।

पार्टी संगठनमा आइपरेको तमाम खाले उतर चढाव फुट र गुट, उपगुटबाट हामी छुट बनेनौं यो मानेमा हामी भाग्यमानी हौं । बीचमा खारिदै गएको मालेमावादको धारीलो हतियार यसको ज्वलन्त प्रमाण हो । तर आन्दोलन र क्रान्ति प्रतिको हाम्रो निरन्तरताको बारेमा हामीेले मूल्यांकन गर्नै पर्छ । व्यक्तिगत लाभ–हानीमा हामी रूमल्लीरहने हो भने क्रान्तिको उमारले पक्कै पनि हामीलाई पछि पार्ने छ । क्रान्तिको मैदानबाट भाचिएको सिंङ फेरि त्यही रूपमा उम्रिन थुप्रै समयको खाँचो पर्ने छ । वैचारिक हतियार प्राप्त गर्ने सिंगो पार्टी र संगठन दयाको भिखमा प्राप्त हुंदैन आन्दोलनको भुमरीमा खारीदै र पछारीदै प्राप्त गरिने सदस्यितालार्इे द्रव्यको मूल्यमा हिसाब किताब गर्नेहरूको लागि पार्टी सदस्यता खेलौना बन्न सक्ला । तर सदस्यताको रसिदमा फहराइरहेको झन्डाको रगतको मूल्यलाई कसैले पनि हिसाब किताब गर्न सक्तैन त्यसैले वैचारिक धरातलमा अझ फराकिलो पार्न अध्ययनको खाँचो मैले महशुस गरेको छु ।

पति र पत्नीको बीचमा हाम्रो नातामा हामी कति सफल छौं वा छैनौं त्यसको हिसाब किताब परिवारका सदस्य वा समाजले गर्ला नै तर वैचारिक रूपबाट झांगिएको हाम्रो यात्राको निरन्तरता र पार्टी संगठनलाई हामीले गरेको योगदानको मूल्यांकन सिंगो पार्टी संगठनले गर्ने छ । इतिहास आफै बन्दैन बनाउदै जाने हो त्यसैले यात्रामा आइपर्ने कठिनाइलाई पन्छाउन सक्नुपर्छ जस्तो मलाई लाग्दछ । फेरि पनि म अनुरोेध गर्दछु यी चिजको प्राप्ति कडा मेहनत निस्वार्थ भावनाबाट प्राप्त हुन्छ । जसको लागि अध्ययनको जरूरत हामी बीचमा अझ हुनुपर्दछ ।

अन्तमा कतारको यस अत्यास लाग्दो भूमिमा आफूले पोखेको रगत र पसिनाको मूल्यको उचित कदर यहाँबाट हुने नै छ र आफू मातहत रहेका छोरीहरूको उज्वल भविष्यको लागि जीवन जिउने आधार वैचारिक रूपबाट तयार पार्ने काममा यहाँको अहम भूमिका रहने छ त्यसको लागि मबाट प्राप्त सहयोग र सद्भावमा निरन्तरता कायम रहने प्रणका साथ यहाँ रहँदासम्म कतार नेपाली एकता समाजको झन्डामुनि रहेर आफ्नै क्षेत्रबाट सक्ने सहयोग र सद्भावमा अझ तिव्रता ल्याउने प्रणका साथ जनवादी गायक जीवन शर्माको यो गीतको पंक्तिबाट विदा हुने अनुमति चाहन्छु ः

सागर भेट्न जाँदैछ नदी संगै संगै जाउ
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दै जाउ
पहराले छेके पनि पहिरोले रोके पनि ………….

उही तिम्रो सहयोद्धा
कृष्ण के.सी.

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ३ – Nov. 23, 2011 – २०६८ मंसिर ७ गते, बुधबार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली कथा, पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *