नियात्रा : गुफापोखरीमा मेन्छ्यामको छायाँ

~एकु घिमिरे~eaku-ghimire

‘हटयो सारा हिलो मैलो ‘ भन्ने कविशिरोमणीको कवितालाई पछि पार्दै २०७३ को दसैंको टीकाको दिनदेखि परेको पानी खुरुखुरु तीन दिन परिरह्यो । पानी रहनसाथ जागिर जोगाउन म एक्लै इलामबाट कर्मस्थल चैनपुर्-संखुवासभातिर लागेँ । धरान बास बसेर बिहानको गाडीमा उकालिएँ । झरीपछिको आकाश खुलेर भेडेटारदेखि नै पहाडी सुन्दरताले जिस्क्याउन थाल्यो । आकाशमा बादल नउँडेका दिन मेरो मन चाहीँ उँडने गर्छ । मन उडेपछि आँखाले नौलो देख्ने अवसर पाउँछन्।गाडी जती माथि-माथि गयो उती सुन्दर आकाश , डाँडाकाँडा र हिमालहरु देखिन थाले । गाडीको गतिले ती म सँग सानो नानी जिस्केझैँ लुकामारी पो खेल्न लागे । भाडा चैनपुर सम्मकै तिरेको हुँदा म झर्न पनि सकिनँ । मन लागुन्जेल सुन्दर दृश्यहरू हेर्न पनि पाइँन । भोको बालकलाई खानेकुरा देखाएर खान नदिएको जस्तो बनायो नियतिले मलाई । माउले चारो ल्याएर हालिदिने बानी परेका बचेराले अरु केही छेउछाउ जाँदा मुख आँ गरेजस्तै खुलिरहे लोभि आँखाहरु । तर धित नमर्दै साँझमा तिनलाई मैले चैनपुरको अँध्यारो कोठामा लगेर थन्काइदिएँ ।

भोलिपल्ट बिहान करिव पाँच बजे उठेर चिसो हावामा कोठा बाहिर निस्केँ । पूर्वपट्टी लोभलाग्दो लालिमा देखिन्थ्यो । उत्तरपट्टी मकालुको हेरिरहुँ लाग्ने द्रिश्य थियो । पूर्वोत्तरमा सभापोखरीतिरका चुच्चे डाँडाहरु एउटै पनि बादल नभएको आकाशमा ठडिइरहेका थिए । पूर्वको रातो घुम्टो ओडेर गुफापोखरी र मेन्छ्याम मलाई बोलाइरहेका थिए । नजिकै तिनजुरे परिचित मुस्कान फ्याँकिरहेको थियो । गुफापोखरी र मेन्छ्यामको निमन्त्रणा स्वीकारेर आजै हिँडौ जस्तो लाग्यो तर एक्लै त्यो पनि देख्नासाथ कहाँ जान सकिन्थ्यो पहिले कहिल्यै नपुगेको ठाउँ । यता जागिर खानुपर्ने बाध्यता उता मलाई भेटन बोलाएर हैरान पार्ने गुफापोखरी र मेन्छ्याम डाँडा । रहर पनि जाने नै तर ………। मन अर्कैतिर लगाउन कोठाभित्र पसेँ र अम्बिकाप्रशाद सम्बाहाम्फेले अस्ति धरानमा दिनुभएको उहाँको पुस्तक ‘चार माया पालम’ पढ्न थालेँ । त्यस पुस्तकमा त झन धेरै मेन्छ्याम लेखेको पाएँ । पूर्वले मलाई बोलाउन छोडेन । प्रेमिले प्रेमिका सम्झेजस्तै गुफा र मेन्छ्यामको यादले , त्यो ठाउँमा पुगिहाल्न पाए हुन्थ्यो भन्ने तिर्सनाले मैले अरु केही गर्न सकिनँ । फेरी कोठाबाहिर आएर झुल्केघामको कलिलो किरणबिचमा मलाई बोलाइरहने तिनै डँडाहरुलाई हेरिबसेँ ।

त्यही दिन एकजना परिचित स्थानीय बहिनी रुपा भण्डारीसँग करिब चर बजेतिर नजिकैको मेडिकल पसलमा भेट भयो । उनले बेलिबिस्तार लागाउँदै भनिन’ भोलि हिँडेर गुफापोखरी जान ग्लुकोज किनेकी । हामी चार जनाको टोली छ । नौ- दस घण्टामा त पुगिहालिन्छ रे । बिहान तीन बजे हिँडने चैनपुरबाट । बेलैमा पुगेर डुलिसक्ने अनि पर्सि फर्किहाल्ने ।’ बिहानैदेखिको मेरो तिर्सना मेटिने आशाले कुरो अघि बढाएँ ‘ म पनि जान मिल्छ ?’ उनले सजिलै मिल्ने उत्तर दिइन् । मन मिल्ने एकजना केटा साथी पनि थप्ने सहमति गरेर म उनीसँग छुट्टीएँ । बेलुकी गजलकार साथी जयराम सुनामीलाई जाउँ भनी अनुरोध गरेँ तर उहाँको फुर्सद रहेनछ । मैले अरु साथी खोज्नै पाइँन । भोलिपल्ट ठीक साढे तीन बजे रुपाको फोनले म ब्युँझिएँ । छिटो आउन निर्देशन गर्दै उनले फोन काटेपछि म हत्तपत्त झोला ठीक पारेर बाटामा निस्किएँ ।२०७३ साल कार्तिक ६ गते शनिबार बिहान पौने चारबजे हाम्रो यात्रा शुरु भयो । सतिदेवीको आँखा पतन भएको विश्वास गरिने सिद्धकाली मन्दिरमा पूजारी नै आइनपुगेकाले हाम्रो योजना अनुरुप दर्शन गर्न पाइएन । पोखरी भन्ने बजारमा पुग्दा रिम-रिम उज्यालो भएको थियो र बल्ल हाम्रो टोलिका सबै भेला भएका थियौँ । अकस्मात अपरिचित केटालाई लिएर आएको देखेपछि रुपाका साथीहरु रिसाएछ्न क्यारे । अगाडि लागेर हामीलाई हेर्दै नहेरी छिटो -छिटो हिंड्न थाले । तिनले म सँग पारीचय सम्म गरेनन । मलाई अलिक अफ्टेरो पनि लाग्यो । तर रुपाले वास्तै गरिनन् । अरु नै प्रसंगका कुराहरु भइरहे । भर्खरै खनिएको ठुलो तर धुलाम्य बाटाका कुनै -कुनै घुम्तिहरुबाट रुपाका साथीहरु निक्कै परको घुम्तिमा द्रुत गतिमा देखिन्थे । हामीतिर फर्कँदै कुदिरहेका तिनिहरुलाई देखेर लाग्थ्यो हामी प्रहरी र ती अपराधी हुन् । अथवा हामी लुटेराबाट ज्यान र धन जोगाउन भागेका ती सर्वसाधारण हून् ।

तेर्सो बाटो हिंडिरह्यौँ ।ठूला – ठूला अलैचिबारी देखिए । ठाउँ ठाउँमा धारा र खोल्सीहरु रहेछन । दक्षिण फर्किएको पाटो भए पनि पानी लथिचूर्ण रहेछ । दाहिनेतिर पिलुवा सुसाइरहेको थियो । नीलो र सफा आकाश थियो । पारीपट्टी बाघा भन्ने ठाउँमा ठुलो र अग्लो झरना देखेर हामी लोभिएका थियौँ । घामको किरण त्यतैतिर परेकाले त्यस्को फोटो निकाल्ने हाम्रो प्र्यास अधुरो बनेको थियो । त्यसो त हाम्रो क्यामेरा पनि उस्तो राम्रो थिएन । जङलबीचको त्यो सुन्दर झरनाको बर्णन त्यती सजिलै हुँदैन । यत्तिकैमा हामी हिँडेकै बाटामा एउटा ठुलो र सुन्दर झरना आयो । त्यसलाई ‘ताङ्लेवा’ भन्दा रहेछनन् । निक्कैबेर फोटो सेसन कार्यक्रम चल्यो । अग्लो झरनामा हावा मिसिई उत्ताउलिएर उडेका जलकणले हामीलाई निक्कै भिजायो । समय भए दिनभरी बसिरह्नु जस्तो झरना छोडेर फेरी तेर्सियौँ । कतै कतै स-स्याना घरहरु आउँथे । हामीले थकान मेटाउन रेड्बूल पियौँ । भोक लाग्ला कि भनेर फुरनदाना किन्यौँ । एउटा सानो बजार जस्तो परेको ठाउँमा चिया खान बस्यौँ । चिनी पगालेर बनाएको जस्तो कडा चिया दिए । गलेका बेला राम्रै काम गर्ला भनी जबर्जस्ती निल्यौँ । रुपाले सुटुक्क भनीन् ‘ मेरा साथिहरुले चाँही पाकको चिया पिउन पाएनन् है ?’ त्यो दोकान लेकबाट झरेका शेर्पा दाइको रहेछ । चिया बनाएर दिने सानी नानी स्थानीय सामूदायिक स्कूलमा कक्षा-१० पढ्दी रहिछिन । उनी निक्कै अग्रसर बिध्यर्थी रहिछिन । उनका परिवारका सबैलाई शेर्पा भाषा आउँदो रहेछ । ‘आफ्नै भाषा जान्ने आदिबासीलाई म खूव सम्मान गर्छु ‘ भन्दा उनीहरु खुशी भए । रुपा पनि पत्रकारिताकी छात्रा भएकाले त्यसपछिको गफ भाषाबारे भयो ।

हामी पिलुवाको लामो बेँसी हिँडिरहेका थियौँ । अब त्यो बेँसीको अन्त्यमा पुगिएछ । टुपुवा खोलामा राखिएको घट्टामा केही विदेसीहरु फोटो खिच्दै थिए । पिलुवाको झोलुङे पूलमा मोटार्साइकल दौडाएको फोटो खिचेर हामी नजिकैको सानो पसलमा चाउचाउ पकाउन लगाई उकालीने योजनामा लाग्यौँ ।भर्खर बिहानको नौ मात्र बज्दै थियो । हामी त्यती छिट्टै त्यँहा पुग्दा त्यो पसलका साहूजीले अबको चार घण्टामै हामी गुफापोखरी पुग्ने अनुमान लगाउँदै भने ‘ तपाईंहरु जोड हिँड्न सक्नुहुँदो रै’छ । यती छिटो चैनपुरबाट यहाँ आइपुग्नुभ्यो ।अब हत्तार नगरी यहाँ नजिकैको तातोपानी कुवामा पनि पुगेर जानु । थोरै मात्र घुमाउरो पर्छ । बालाचतुर्दशीका बेलामा भब्य मेला लाग्ने त्यो तातोपानी कुवामा जाने मन पलायो मेरो । यत्तिकैमा रुपा बोलिन ‘ हामी बिहान साडे तीन बजे नै हिँडेका अनि !’ कुरो सुनेपछि चाँहि ती झन्नै बेहोस् भए । उनले थपे-‘त्यसो भए तपाईंहरु बेलुकिसम्ममा कठिनले पुग्नुहुन्छ ।’ हामी आत्तिएर उकालीयौँ । बाटो त्यती धेरै नभएको रुपाको भनाइ थियो । उनी सानी छँदा ताप्लेजुङको पाथिभरा जाँदा त्यो बाटो हिंडेकी रहिछिन् । उकालोमा बढिरहेको श्वास उनको कुराले केही घट्यो । विशाल आलैचिबारीको बिचबाट हामी दुई उकालिँदै रह्यौँ । रुपाका साथीको छायाँ पनि देख्न छोडियो ।तिनीहरु फुत्केको मट्याङ्रा जस्तै भए ।

म धरान बसेर एउटा एफ एम रेडियोमा साहित्यिक कार्यक्रम चलाउँदा अनिता लिम्बू भन्ने गजलकारले आफ्नो आवाज रेकर्ड गराएकी थिइन् । उनको ठेगाना नुनढाकी- संखुवासभा सुनेर म सोचमग्न बनेको थिएँ ।कस्तो राम्रो नाम भएको गाउँ । कस्तो होला ! त्यो बेला उहिल्यै आमाले हाटबाट ल्याउनुहुने राम्रो ढाकीको याद पनि आएको थियो अनि त्यस ढाकीमा सेतो नून भरेर मेरो कल्पनाको आँखाले देखेको थियो नुनढाकी । आज म त्यही ठाउँमा यात्रारत थिएँ । मैले अनितालाई फोन गरेँ । उनी कतै काठमाडौबाट दशैँ-तिहार मान्न नुनढाकी आएकी छिन् कि भन्ने मेरो आशा फोनले निराशामा बदलिदियो । हामीले अलिक टाढाबाट अरुलाई नै सोधेर अनिताजीको घर हेर्‍यौँ । मज्जाले फलेर पाकेको धानबारी, बाटाको छेउ-छाउमा फलेका मेलका बोटबाट झरेका दानामा चिप्लिएर लड्ने डरसँगै हामी उकालीरह्यौँ । झिँगटीले छाएका घर , मकैको थाङ्रो भएको ठुलो आँगन ,छानामा फर्सी भएका गोठ अनि ढकमक्क फुलेका सयपत्री, मखमली र गोदावारी यात्रतत्र ! घरहरु दशैँ र तिहारका लागि बेहुलीजस्तै सिँगारिएका । शान्त गाउँ , सुन्दर गाउँ । हामी एकपटक झन्नै बाटो बिराएर अर्कोतिर लागेका तर एकजना युवतीले आँफै बोलाएर बाटो गलत भएको बताइदिइन । कति निस्चल छ गाउँको परेविस । बेला-बेला भेटिएका चौतारमा थकाई मार्दै हामी आकाशइरह्यौँ । बल्ल-बल्ल एउटा सानो बजार भएको ठाउँमा पुगियो । स्थानीय प्रहरी चौकी पनि त्यहीँ रहेछ । एउटा सानो दोकानमा अनुरोध गरेपछी खाना पकाइदिने परे । रुपाले मासु नखाने हुँदा हामीले शाकारी खाना खायौँ । होटलवाला बहिनी त होम-स्टेको तालिममा हाम्रो गाउँ श्रीअन्तु पनि पुगेकी रहिछिन् । खुव मिठो र सफा खाना खुवाएकीले उनको फोन समेत मागेर हामी उकालीयौँ । संयोगले रुपाका भगौडा साथीले पनि त्यही मासु- भात खाएका बुझियो ।

पुरै ठाडो उकालो । घाम त्यहीँ ठोकिएका । दिनको मध्यान्न ! जे. बि. टुहुरेको तल लेखिएको गीतको याद आयो –

उकाली ठाडो, चर्को घाम, पिडौंला बाटिन्छ
पाहिलै पिच्छे सुस्केरा छुट्दछ ………………..

गीतमा बाध्यताको यात्राबर्णन छ । हाम्रो चाहीँ रहरले उब्जाएको यात्रा र यात्राले ल्याएको दुख । तर परिबेश उस्तै । गीतमा अर्काको भारी , त्यो पनि धेरै छ , हाम्रो आफ्नै भारी तर सानो छ । त्यस्तै ६-७ किलोका झोला थिए । बाटामा भेटिएका सबै चौतारामा सुस्ताउँदै अनि प्रत्येक सुस्ताइमा ग्लोकोज, रेडबूल आदी खाँदै हामी अघि बढीरह्यौँ । वरपर गोगुनका ठूला ठूला रुख देखेपछि मैले एउटा लोक गीत गाएँ –

उकाली ज्यानको त्यो चिसो पानी गोगन पातले पिउँला
फुल्दो मा फुल देउतालाई दिउँला , जोवन कसलाई दिउँला

रुपा पनि लोकगीतमा कम रहिनछिन् , उनले अर्को गीत गाएर गोगनका रुखको सम्मान गरिन् –

घाँस है काटनु नि लै -लै गोगन डाली
सेपिलो ठाउँमा साप होला , सुन मेरी निरमाया
देखेर मात्र नि लै – लै के फाइदा हुन्छ
रिसानी भए माफ होला ,सुन मेरी निरमाया ।

त्यसपछि लोक गीतका गफ शुरु भए । हामी प्रमाणपत्र तह पढ्न धरानमा बस्दा कसरी लोक गीत गाउँथ्यौ भन्ने कथा सुनाएँ । कथाका नायक थिए मेरा मित्र हेम भण्डारी । रुपाले पनि हेमको स्वर पहिले कान्तिपुर र पछि सगरमाथा एफ. एम. मा सुनेकी रहिछिन । साँच्चै त्यो बेला लोक गीत बचाउने र गाँउने चक्करमा लागेर हामीले कतै कुटाइ , कतै गाली अनि थुप्रै ठाउँमा स्याबासी र पुरस्कार पाएको याद आयो । त्यो यात्राका अन्य साथीहरु युवराज , गंगा , खगेन्द्र , राजु , कुबेर ,अच्युत , यदुनाथ , घनश्याम अनि होम दाइहरुको याद आयो । म त्यो सम्झनाले निक्कैबेर चुप भएँछु क्यारे रुपाले बोलाएपछि पो यथार्थतामा फर्केँछु । त्यत्तीकैमा रुपालाई उनकी दिदी बिध्याले फोन गारिछिन। हामी यस्तो यात्रामा भएको कुरो सुनाउँदै फोनको आवाज ठुलो पारेपछि बिद्याले भनिन ‘ मामाफुली – मामफुली !! त्यत्रो टाढा हिँडेर गएकी ? सक्छेस के हौ तँ पिलन्धरेले ?’ म डल्लो परेर हाँसे । अचम्मको कुरोलाई आम्मामामा भन्नुको सट्टा मामाफुली – मामफुली !! भन्दा रहेछ्न ती चेलीहरु । रुपाकी दिदी बिद्यालाई हामी पहिले नेताज्यू र अहिले राष्ट्रपतीज्यू भनेर जिस्काउँछौ कारण उनको नाम र थर पुरै नेपालकी प्रथम निर्वाचित महिला राष्ट्रपतिसँग मिल्छ । उनी मेरी मास्टर कक्षाकी सहपाठी हुन तर म उमेरले कक्षाकै दाजु भनिएँ । बिद्यासँगको त्यही साईनो यतिबेला पारिवारिक झै बनेको र यो यात्रामा छौँ हामी । तर आफू चाहीँ कहिल्यै कतै डुल्न नपाएकोमा उनले फोनमै दुख ब्यक्त गारिन् । काठमान्डौँको एउटा नीजी स्कूलमा उनी नेपाली शिक्षिका छिन् ।

उकालिँदै जाँदा थाकेर हाम्रो चेहरा मलिन भएको सिको गरेजस्तै लाग्यो आकाशले पनि । अब सूर्यको तेज बादल र उचाइको कारणले घटेको थियो। खोलापारी मावादिनका जङलमा अलैची सुकाउने भट्टिबाट निस्किएको धुँवा माथि हाम्रो गन्तब्य गुफापोखरीमा कुदिरहेको सेतो कुहिरोसँग एकाकार हुँदैथियो । हामी एउटा चौतारीमा बस्यौँ र रेडबूल पियौँ । ठुलो तर नचिनिएको रुखको छहारीमा थियो त्यो चौतारी । पिपलजस्तै लाग्ने त्यो के को रुख हो हामी दुबैले नचिनेपछि गाइबस्तु चराउन घूम बोकेर आएका ब्यक्तिलाई सोध्यौँ । उनले यो लाँकुरी भएको खुलस्त पारे । सुनेको र पढेको धेरै हो तर देखेको चाँही आजै हो लाँकुरी । हामीले त्यो चौतारीको नाम नै लाँकुरी चौतारी राखेर हिड्यौँ त्यहाँबाट । अब निक्कै लेकाली बातावरण थियो । भित्तामा जताततै चिराइतो र भूइँ ऐँसेलु देखिन्थे । हावामा हिउँको चिसो मिसिएको थियो । गोठ र खर्कहरु देखिन्थे । तल मावादिनको ठुलो पहिरो खोलामा मिसिएर दूधजस्तै पानीलाई दूध हालेको चियाजस्तै बनाइरहेको थियो ।पातलो लुगा लगाएर खोप्पी खेल्दै गरेका केटाहरु भेटिए । उनीहरुका छेउमा एउटा अलिक बूढो मान्छे रित्तो ढुङ्ररो लिएर बसिरहेको देखिन्थ्यो । वरपर गोठहरु देखिन्थे । बस्तुहरु चर्दै थिए । पानी पारिहाल्छ जस्तै भयो । हामी पानीको डरसँगै दम्साइलो गोरेटो अघी वढ्यौँ । नभन्दै पानी छिट्याइहाल्यो । रुपाले त छाता नै ओडिन । अँध्यारो नै भएजस्तो लाग्ने बन्यो वाताबरण । लेकाली जङ्ल र कुहिराले २ बजे नै रातीजस्तो लाग्थ्यो । कतै भालु पो लाग्छ कि भन्ने डर भित्र पलायो तर रुपासँग गरिनँ । बिहान किनेको फुरनदाना खाँदै हामी हिँडिरहयौँ । फेरी कुहिरो हट्यो । हामीले छोडेर आएको चैनपुर तल र टाढा देखिन थालेछ । रुखबुट्टा केही पनि नभएको खर्कमा भेडाका बथानसँग फोटो खिच्दै हामी अघि जाँदै गर्‍यौँ । अब गुफा बजार नजिकै देखिन्थ्यो । जब ठीक साडे तीन भयो तब हामी गुफा बजार नजिकैको समुद्र सतहबाट २९९० मिटरमा रहेको सुके बजार पुग्यौँ , घाम झलमल्ल लाग्यो । चिसो हावाले थकान पनि उडायो । बास बस्ने व्यावस्थाको लागि एकछिन समय खर्च गरियो । एकजना बहिनीले एक जीउको सय रुपैयाँमा लिने भनेर देखाएको कोठाका लुगाहरु अलिक फोहोर थिए । पहिला पनि रुपाहरु यही होटलमा बसेका थिए रे । हामी बस्ने परे फेरी आउँछौ भनेर त्यहाँबाट निस्कीयौ । अलिक पर एकजना गलैचा बुन्ने शेर्पेनी दिदिले पाँच जना सुतेको तीन सय लिने भन्नुभयो । रुपा र उनका भगौडा साथीहरुले कोठा हेरेर चित्त बुझाएपछि हाम्रो बासको टुङ्गो लाग्यो । चिया र चाउचाउ खाने मेरो प्रस्तावलाई भगौडाहरुले अस्विकार गरे । उनीहरु झोला राखेर पोखरीतर्फ कुदिहाले । हामी चाँही तात्तातो सुप र चिया खाएर मात्र गयौँ । हामी पोखरीतर्फ जाँदै गर्दा उनीहरु फर्कदै रहेछन ! यिनीहरु डुल्दा पनि हत्तार गर्न छोडदा रहेनछन । भेटमा उनीहरुले हामीइलाई छिटो गर्न अह्राए । उनीहरु त अघि नै मेन्छ्याम डाँडाको टुप्पीमा पनि पुगिसकेका रहेछन । अब कोठामा गएर आराम गर्ने र भोलि सबेरै फर्किने कुरा सुनाए । हामी होटलमा खाना अर्डर गर्न अह्राएर गुफापोखरितर्फ लाग्यौँ ।एउटै यात्राका सहयात्री हाम्रो यो अनौठो बेमेल भन्नु कि मेल भन्नु !?

करिव १५ मिनेट हिँडेपछी समुद्र सतहबाट २८९० मिटर उचाइमा रहेको गूफापोखरीको अवलोकन गर्न सक्यौँ । नीलो पानी भएको पोखरी आँखाजस्तै आकृतिको रहेछ । सफा पानीको वरीपरी घुमियो । एकै छिनमा बादल लाग्थ्यो अनि फेरी घाम देखिन्थ्यो । जाडो पनि निक्कै थियो । हामी पोखरी भन्दा दक्षिण पूर्वको डाँडामा गयौँ । अस्ताउन लागेको सुनौलो घामको किरणमा मेन्छ्यामले गुफापोखरीमा डुबुल्की मारेको दृश्य अत्यान्तै मनमोहक र अवर्णनीय थियो । स्वस्थानीको भाषालाई पैँचो मागेर भन्दा हज्जार जिब्रा भएका शेसनागले पनि यस्तो अनुपम सुन्दरताको बर्णन गर्न सक्दैनन् ! जस्तोसुकै सुन्दर क्यामेराले पनि यो दृश्य जस्ताको तस्तै कैद गर्न सक्दैन । यो बतास , यो अस्ताउँदो सूर्यको रङ्ग , यो पोखरी , त्यो वास्तबिक मेन्छ्याम अनि पोखरीमा प्रतिबिम्बित मेन्छ्याम !तल देखिएका नीला डाँडाहरु , पूर्वतर्फ देखिने पाथिभरा र असंख्य डाँडाकाँडाहरु !! सिन्दुरे मकालु हिमाल अनि कता कता उडिरहेको सेतो कुहिरो !!! तिर्खाएका बेला अघाँउजी मोही पिएर तृप्त भएजस्तै यो दृश्य देखेपछि मन अतिसंतृप्त घोलजस्तै बन्यो । लाग्थ्यो मलाई अब केही पनि हेर्नु छैन । हामी रौसिएर अनेक पोजमा फोटो खिच्यौँ । हौसिएर हा-हा र हुर -हुर गर्‍यौँ । साँझ झपक्क पर्‍यो अनि उडाउला जस्तो बगेको बतासलाई चिर्दै होटलमा गयौँ , खाना खायौँ र सुत्नसाथ निदायौँ ।

भोलिपल्ट ब्युँझदा उज्यालो भइसकेको रहेछ । म हत्तपत्त बाहिर निस्किएँ । रुपाका साथीहरु त झोला बोकेर हिँडिहाले । म मुख धोएर फर्किँदा बल्ल रुपा उठिछिन् । हामीलाई उनीहरुले बाइ-बाइ गर्दै चिया सम्म नखाइकन कुदे । चियापछि हामी फेरी बिहानको किरणमा पोखरी हेर्न गयौँ ।हिजोको भन्दा फरक सौन्दर्यमा हाँसिरहेको थियो गुफा-पोखरी । संयोगले भेट भएका मेन्छ्याम एफ. एम.,तेह्रथुमका साथीद्वय सँग फोटो खिचेर हामी फर्कीयौँ । भेडा र चौरीका बथानमाझ फोटो खिच्दा- खिच्दै कुहिरो आएर झ्याप्पै छोपियो । हामी मेन्छ्याम डाँडा नगइकन चाउचाउ खाएर ओरालो लाग्यौँ । बाटैमा हुँदा हिजो आउँदा खाना खाएको होटलमा खाना पकाउन अह्रयौँ । बिविध गफ गर्दै आठ घण्टामा चैनपुर आइपुगियो ।यसरी २० घण्टे पैदल यात्रामा देख्नलाई धेरै सुन्दर दृश्यहरु देखियो तर आजसम्म पनि मनको क्यामराले कैद गरेको गुफापोखरीमा देखिएको मेन्छ्यामको छाँया मात्र याद आइरह्न्छ । सपनामा पनि म त्यही खोज्न कुदिरहेको देख्छु र फेरी पनि त्यो सुन्दर छाँया हेर्न म पुग्ने रहरमा छु ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *