कविता : म, अक्षर र मेरो कविता

~अशेष मल्ल~ashesh-malla

अक्षरहरूको युद्धमा
मैले शब्द बुन्न नसक्दा
कविता
अधुरो भएको छ
ठीक अहिलेको
भयग्रस्त वर्तमान जस्तो ।
चौबाटोमा उभिएको
अन्योल बटुवा
उभिएको उभियै छ
मेरो कविता जस्तो
न यता न उता
आफ्नै युद्धले थकित
मेरो सपना ।
क्रुद्ध अक्षरहरू
चिथोर्दै भन्दैछन्
कति पछार्छस् कागजका छातीमा मलाई ?
म अनुत्तरित कवि
भावनाका लहरबाहेक
के छ र मसँग
खेप्न सक्दिन
अक्षरहरूका विद्रोह
अब मेरो कविता
कहाँ गएर सकिन्छ
कविताको मृत्यु
के यसरी पनि हुन्छ
मलाई थाहा थिएन ।
बाध्य छु
अक्षरहरूसँग सम्झौता गर्न
असङ्ख्य गोमन पीडाले
आहत मनसँग
न शब्द छन्
न वाक्य
न धुन
न राग
न रङ
अमूर्त अमूर्त भावहरू
अक्षरकै सहाराले
बिउँझन्छन् सिर्जनामा
म कवि
व्यर्थैको अहंले मात्तिएको छु
नत्र
मेरा कविताहरू किन
बेवारिस
पछारिन्थे घुर्‍यानमा
यत्रतत्र ।
मलाई थाहा छ
अक्षरहरू ठोक्किएर
भत्किए पर्खालहरू

भित्रिए उज्यालाहरू
अँध्यारा अँध्यारा चोक, गल्लीहरूमा
के बादल फाटेका होइनन्
कविताका प्रहारले ?
निख्खुर काला बादल
पराजित भए कविताका बज्रहरूले
अहिले पछारिएर अर्धचेत
समयको झापड खेप्दै छ कविता
म थकित कवि
निरीह कलमलाई सोध्दैछु
तिमी थाक्यौ कि म ?
कि यो वर्तमान ?
निःशब्द
मौन
एउटा गर्त
म, कलम र अक्षरहरूमाझ
सायद
अन्योलग्रस्त वर्तमान
पर्खिरहेछ
एउटा अर्को कविता ।

(स्रोत : मधुपर्क २०६५ माघ)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *