लघुकथा : व्यस्त

~कात्यायन~dhanwantari-mishra-katyayan

– कुरा अनिष्टकारी भू-कम्प पछिको हो | सबैजना व्यस्त देखिन्थे | कोही चाऊ-चाऊ खोज्नमा व्यस्त थिए त कोही चाऊ-चाऊ लुकाउनमा | कोही राहत बाँड्नमा व्यस्त थिए त कोही राहत खोस्नमा |

– कोही भू-कम्पले भत्किन लागेको घर कसरि भत्काउने भनेर चिन्तित थिए, त कोही नभत्किएको जिर्ण घर कसरि भत्काएर “रातो-कार्ड” लिने भन्ने गृह-कार्यमा व्यस्त थिए |

– उध्दार टोलीहरू मरेका र जिउँदा लासहरू निकाल्नमा व्यस्त थिए त पुरिएकाहरू अन्तिम स्वास लिनमा व्यस्त थिए | र, कोही भत्किएका लजहरूबाट निर्वस्त्र निकालिएका लासहरूबाट पहिला सुनको सिक्री र औंठी निकाल्ने कि मृत-सुन्दरीहरूको कोमल-अंगहरू छुने चिन्तामा व्यस्त थिए |

– संविधान-सभाका माननीय सभासद्हरू अन्त-राष्ट्रिय सभागृह भित्र त्रि-पाल लुछा-लुछ गर्नमा व्यस्त थिए |

– अनि रास्ट्रिय दलका सम्पूर्ण शिर्षस्त नेताहरू भू-कम्प-पश्चात आउने अन्त-राष्ट्रिय सहयोग कसरि अंशबंडा गर्ने भनेर सर्वदलीय सहमति गर्नमा व्यस्त थिए |

– अब उसलाई लाग्छ, – यसरि विश्व नै व्यस्ततामय भएको बेलामा आफ्नो देशले पनि अवश्य नै काँचुली फेर्नेछ !

२०७३/०२/१०
चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *