कविता : माकुरो र माकुराहरु………..

~गणेश खड्का~Ganesh Khadka

उहिले……………..नै
धे………….रै पहिला
जुगौं……………अघी
यहाँ,
भव्य जाल फिंजाएर बसेको
ठू ……..लो माकुरो थिएछ
बडेमानको – भिमकाय
पित्तलभूँडे माकुरो ,
मैले देखिन, मैले भोगिन
भेटें त ईतिहासका पानाहरुमा
देखें त टुँडिखेलकुनाका शालिकहरुमा
त्यो जूँगामूठे माकुरो
क्रुर थियो रे – निरकुंश थियो रे
त्यो अत्याचारी माकुरो
जाल फिंजाएर
बसी -बसी शिकार गर्थ्यो रे
त्यो शौखिन माकुरो -त्यो हुकुमी माकुरो
सय साल उकालो बाँच्यो रे
त्यो चिरन्जिबी माकुरो ।

समयको घोडा दौडमा
ईतिहासको एउटा कालखण्ड
आंशिक भोगें , केही देखें मैले
उही स्थान – उस्तै बातावरण
त्यही दृश्य -त्यस्तै परिवेश
अर्को माकुरो आयो
आहारिसे माकुरो-डाहाडे माकुरो
फेरी स्वरुप दुरुस्तै -उस्तै
माकुराको जालो झन् बर्जेलिप भयो
त्यो माकुरो झन् निर्दयी बन्यो
सोझा-सिधा, निर्दोष-निरिह
किथ्राहरु – फट्याङ्ग्राहरु
कठौरीहरु – पुतलीहरु
जालमा पर्दैरहे
बिलासी माकुरो,तानाशाही माकुरो
सुती-सुती माकुरे राजमहलमा
आहार गर्दै गयो, मोटाउँदै गयो
त्यो शोषक माकुरो
त्यो सामन्ती माकुरो ।

पुरानो माकुराको सेखपछि
ब्रिद्द माकुराको अवसानपछि
अहिले,
यहाँ-
पुरानो रित फेर्ने बहानामा
पुरातन जालो काट्न भनेर
थुप्रै नयाँ माकुराहरु आसिन छन्
एउटा होइन – दुइटा होइन
धे……रै, अनुहार फेरिएका माकुराहरु
नयाँ – नयाँ ढङ्गका,रङ्गका
नौलो – नौलो डिजाइनका
जालोहरु बुन्न
अभ्यस्त छन्-तल्लिन छन्
स्थान उही – दृश्य उस्तै
बातावरण त्यही – परिवेश त्यस्तै
तर,……अहँ ,-
जालो झन् बिस्तारित भएकोछ
जालो अझै फैलिएकोछ
तल-माथी,दाँया-बायाँ,अगाडि-पछाडी
सर्वत्र ढाकेकोछ माकुराको जालोले
माकुराहरु मोटाउँदैछन् पूर्ववत: ।

माकुराहरु अल्छे हुन्छन्- कामचोर हुन्छन्
माकुराहरु श्रम गर्दैनन्
बरु, श्रम शोषण गर्छन्
माहुरीहरु कडा परिश्रम गर्छन्,- अन्तत: लुटिन्छन्
माकुराहरु जालो बुन्न मात्र सिपालु हुन्छन्
माहुरीहरु जालोमा पर्छन् – पारीन्छन्
माकुराहरु भ्रमको जालो बुनेर
षड्यन्त्रको पासो थापेर रुँगिरहन्छन्
निर्दोष किटपतङ्गहरु – माहुरीहरु
भुसुनाहरु – छिचिमीन्द्राहरु
जालमा फँसीरहन्छन् – शिकार बनिरहन्छन्
यी शिकारी माकुराहरु – यी जाली माकुराहरु
जालमा पारीरहन्छन् – शिकार गरिरहन्छन्
थाहा छैन ,-
कत्ती लामो आयु लिएर आएका छन्
यी भूईँफुट्टा माकुराहरुले
समयको कुन प्रहारले
प्याट्ट फुटाइदिने हो
थिलिपितिली हुनेगरी
आन्द्रा-भूँडी छ्यालब्याल हुनेगरी
यी लबस्तरा माकुराहरुको
ढाडिएको अलकत्रे भूँडी
अनि, रमिता हेर्नेछ
लोकले – जगतले
यिनिहरुको सक्कली हविगत ।।।

२३ मंसिर २०६७
भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड ( सेसेल्स )

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.