हरिहर तिमिल्सिनाका बीस छोकहरु

~हरिहर तिमिल्सिना~

महान् बन्ने भए इच्छा सुनौला सिर्जना गर
श्रम-त्याग-तपस्याले बन्दछन् सृष्टि सुन्दर ।
त्यसका निम्ति मान्छेले साधना गर्नुपर्दछ
बर्सिन्नन् अन्नका दाना, बिउ नै छर्नुपर्दछ ।।

स्वादे जिब्रो सधैँ गर्छ स्वादकै निम्ति ‘उद्यम’ !
स्वादकै निम्ति मान्छेले गर्छ ‘यत्न-पराक्रम’ !
‘खा खा’ भन्दछ ‘जिब्रो’ले, ‘नखा’ भन्दछ ‘स्वास्थ्य’ले
जित्यो भने त जिब्रोले हार्दो रहेछ स्वास्थ्यले ।।

राम्रो भाषणभन्दा हो राम्रो बानी महान् कुरा
राम्रो भाषण गर्नेले अत्याचार गरे ठुला ।
काम लाग्ने भए मात्रै सिद्धान्तको महत्त्व छ
के काम बिजुली त्यस्तो जो हुँदैन प्रकाशित ।।

लडे पनि उठी हिँड्ने व्यक्ति गन्तव्य भेट्दछ
धेरै प्रयत्नले मात्रै आविष्कार भए सब ।
प्रयत्नैले हुने गर्छन् उज्याला परिवर्तन
विनाप्रयत्नले टेक्यो चन्द्रमा कसले ? भन !

जो छन् कायर ती मान्छे सजिलो मात्र रोज्दछन्
समुद्रमा पसी मोती साहसी मात्र खोज्दछन् ।
ठुलो लक्ष्य भए पर्छ ठुलै कष्ट उठाउन
हिमाल चढ्छु भन्नेले हिमालै पर्छ उक्लिन ।।

वाष्पीकरण भै पानी बन्छ बादलको जल
छानिँदै सङ्लिँदै बन्छ धर्तीको जल निर्मल ।
वाष्पीकरण भैदिन्थ्यो, सङ्लिन्थ्यो यदि मानिस
हुन्नथ्यो झगडा, मान्छे बाँच्न सक्थ्यो खुसीसित ।।

फेरिँदैन नि चाहेर इतिहास कुनै पनि
अतीतबाट सिक्ने हो, सिक्न चाहे सिकिन्छ नि ।
भविष्य भोग्न मिल्दैन, राम्रो होस् – कामना गरौँ !
वर्तमानै छ यो मुख्य – यहीँ बाँचौँ, यहीँ मरौँ !

तुरुन्तै हुन सक्दैन सम्पुर्ण परिवर्तन
सुस्त सुस्त हुने गर्छ रुपान्तरण-सिर्जन ।
मालीले सिन्चिने गर्छ बिरुवामा सधैँ जल
फल्ने वेला भए मात्रै फल्दछन् त्यसमा फल ।।

सबैभन्दा ठुलो बल
समाजमा ठुलो हुन्छ – ‘पैसा’ ‘इमान’को बल
र त्योभन्दा ठुलो हुन्छ – ‘प्रतिष्ठा’ ‘ज्ञान’को बल
त्योभन्दा नि ठुलो हुन्छ – ‘सत्ता’ ‘शासन’को बल
हो ‘आत्मबल’ नै किन्तु सबैभन्दा ठुलो बल ।

स्मृतिगौरव
भोग्न चाहन्न मान्छेले जिन्दगीमा कुनै दुख
नचाहे पनि उ भोग्छ दुख, हुन्न सधैँ सुख
गर्व गर्दा भने मान्छे सम्झन्छ नि तिनै दुख
भोग्दाका दुख नै बन्छन् मान्छेका स्मृतिगौरव ।

घमन्ड नगरौँ व्यर्थै
पैसाले बलले मात्रै मिल्ने भए त जिन्दगी
करोडौँ वर्ष बाँच्दा हुन् बलशाली, धनीजति
घमन्ड नगरौँ व्यर्थै – मृत्यु बस्छ सबैसित
सदा सदा सदा बाँच्ने जुनी छैन कसैसित ।

विश्वास र अन्धविश्वास
अन्धविश्वास होला के ? होला विश्वास भन्नु के ?
सदियौँदेखि यो प्रश्न चल्दै छ नि अझै हरे !
पाएर तथ्यको ज्ञान मान्नु ‘विश्वास’ सुन्दर
विनाज्ञान सही ठान्नु ‘अन्धविश्वास’ बन्दछ ।

सुख र स्वतन्त्रताको सम्बन्ध
ज्यान होस्,सान होस्,राम्रो गास बास कपास होस्
स्वस्थ होस् मस्त होस् प्राणी, स्वस्थ-स्वच्छ बतास होस्
भोज होस् मोज होस् टन्न,पुर्ण सम्पन्नता रहोस्
मान्छे खुसी हुँदै हुन्न – न्याय- स्वतन्त्रता नहोस् ।

सिक्ने मानिसको गुरु
जन्मैदेखि हुने गर्छ सिक्नुको जिन्दगी सुरु
आकाश, धरती, मान्छे, हावा, पानी सबै गुरु
खुल्छन् ज्ञान जहाँबाट फुल्छन् चैतन्यका तरु
ती प्रत्येक कुरा हुन्छन् सिक्ने मानिसका गुरु ।

तुच्छ मानिसको जुनी
जोसङ्ग जे कुरा हुन्छ उ त्यही व्यक्त गर्दछ
बैगुनीले कुरा काट्छ, गुनीले ज्ञान छर्दछ
कुरा काटेर अर्काको, द्वेष पालेर बैगुनी
बित्छ ईर्ष्या र कुण्ठामै तुच्छ मानिसको जुनी ।

तुच्छ मानिसको जुनी
जोसङ्ग जे कुरा हुन्छ उ त्यही व्यक्त गर्दछ
बैगुनीले कुरा काट्छ, गुनीले ज्ञान छर्दछ
कुरा काटेर अर्काको, द्वेष पालेर बैगुनी
बित्छ ईर्ष्या र कुण्ठामै तुच्छ मानिसको जुनी ।

जिन्दगी ‘मुख्य सत्य’ हो ।
प्राय: मान्छेहरु भन्छन् – “मृत्यु अन्तिम सत्य हो
डराउ मृत्यु सम्झेर, बाँकी क्षणिक सत्य हो ।”
म ठान्छु तर यो मृत्यु ‘सानो, क्षणिक’ सत्य हो
मुख्य हो जिन्दगी नै यो, जिन्दगी ‘मुख्य सत्य’ हो ।

मृत्यु र जीवन
प्राय: मान्छेहरु भन्छन् – “मृत्यु अन्तिम सत्य हो
डराउ मृत्यु सम्झेर, बाँकी क्षणिक सत्य हो ।”
म ठान्छु तर यो मृत्यु – ‘सानो क्षणिक सत्य’ हो
मुख्य यो जिन्दगी नै हो, ‘जिन्दगी’ मुख्य सत्य हो ।

‘म’-‘नै’ हो मुख्य कारण
तीव्र सक्रियता हुन् वा निष्कृयता, अतिकृया
धर्म हुन् अथवा पाप, क्रिया हुन् वा प्रतिक्रिया
मान्छेका कर्मको मुख्य संचालक त हो मन
सप्रिने-बिग्रने मान्छे ‘म’-‘नै’ हो मुख्य कारण ।

चिन्ता, चिता र चिन्तन
‘चिन्ता’ हुन्छ ‘चिता’जस्तै, चिन्ताले त्रास बढ्दछ
जिन्दगी डढ्छ चिन्ताले, चिताले लास डढ्दछ
‘चिता’ बन्छ सधैँ चिन्ता गरेनौँ यदि ‘चिन्तन’
चिन्ता त्यागेर मान्छेले गर्नुपर्दछ चिन्तन ।

-सुडाल-९, भक्तपुर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छोक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *