पौराणिक बाल कथा : वल्मीकोदरस्थसर्प

~उमाशङ्कर द्विवेदी~

कुनै नगरमा देवशक्ति नाम गरेका राजा बस्दथ्ये । उनको छोराको भुँडीमा एउटा सर्प बस्दथ्यो । उदरस्थ त्यस सर्पको कारणले त्यो राजकुमार दिन प्रतिदिन दुब्लाउँदै गएर क्षीण हुँदै गइरहेका थिए । असल असल वैद्यहरूको शास्त्रीय विधिको उपचार तथा औषधिले पनि नछोएर राजकुमार स्वस्थ्य हुन सकिरहेका थिएनन् । अन्त्यमा राजकुमार आफ्नो जीवनबाट निराश भएर विरक्त भई आफ्नो राज्य स्वेच्छाले त्याग गरेर विदेश गए । त्यहाँ कुनै नगरमा उनी भिक्षाटन गरेर आफ्नो जीविका चलाउन थाले तथा रात परेपछि त्यहि अवस्थित एउटा विशाल देवालयमा विश्राम गरेर आफ्नो समय व्यतीत गर्न थाले ।

जुन नगरमा राजकुमार निवास गर्दथ्ये त्यस नगरका राजाको नाम बलि थियो । बलि राजाका दुईवटी तरुणी छोरीहरू थिए । सूर्योदयको बेला दुवै प्रतिदिन पिताको पाउमा ढोग्दथ्ये । एकदिन एउटीले पिताको चरणस्पर्श गरेर भनी– महाराजको जय होस्, हजुरकै कृपाले म सम्पूर्ण सुखभोग गर्न पाउँछु । अर्कीले भनी– महाराज, म आफ्नो कर्मफलको कारण सुखभोग गर्न पाउँछु । अर्की छोरीको कुरा सुनेर राजा रनक्क रिसाएर मन्त्रीहरूलाई आदेश दिए– मन्त्रीहरू हो, यस कटुभाषिणी कन्यालाई लगेर कुनै अज्ञात परदेशी केटोसित बिहे गरिदेउ । त्यहाँ यसले आफ्नो कर्मफल स्वयं भोगोस् । राजाको आदेशानुसार मन्त्रीहरूले त्यस कन्यालाई लगेर केही धन दिएर देवालयवासी त्यस राजकुमारसित बिहे गरिदिए । राजपुत्रीले पनि सहर्ष त्यस पतिलाई देउता झैं स्वीकार गरेर त्यहाँबाट अर्को राज्यमा गई हालिन् ।

अर्को राज्यको एउटा नगरमा गएर एउटा पोखरीछेउमा रोकिइन् । त्यहाँ पतिलाई स्थानको सुरक्षामा नियुक्त गरेर आफ्ना केही सेवकहरूका साथ घ्यू, तेल, तरकारी, नुन आदि दैनिक व्यवहारका वस्तुहरू किन्न भनेर बजारतिर गइन् । घरायसी सामलहरू किनेर फर्किंदा राजकुमार एउटा दुलोमाथि सिरानी गरेर सुतिरहेको पाइन् । आश्चर्यको कुरा के थियो भने मस्त निद्रामा सुतिरहेका राजकुमारको मुखबाट एउटा अज·को सर्प आफ्नो विशाल तथा डरलाग्दो फण काढेर वायुपान गरिरहेको थियो । त्यसभन्दा पनि अर्को आश्चर्यजनक कुरा थियो राजकुमार जुन दुलोमाथि सिरानी गरेर सुतिरहेका थिए त्यस दुलोबाट पनि पहिलो सर्पभन्दा विशाल तथा भयड्ढर सर्प निस्केर आफ्नो विशाल तथा डरलाग्दो फण काढेर वायुपान गर्दै थियो । ती दुईवटा सर्पहरूलाई देखेर राजकुमारी भय तथा कौतुहलताले अतालिइन् ।

उता, परस्पर एक अर्कालाई देख्नेबित्तिकै दुईटै सर्पहरूका आँखा क्रोधले राता भए । दुलोवाला सर्पले राजकुमारको पेटमा रहेको सर्पसित भन्यो– हरे दुष्ट, सर्वा· सुन्दर यस राजकुमारलाई तिमीले बिनसित्ति किन दु:ख दिएको, पाजी ?

त्यस सर्पको कुरा सुनेर राजकुमारको मुखस्त सर्पले क्रोधाभिभूत भएर प्रश्न गर्‍यो– तिमीले नि फटाहा, दुलोभित्र रहेको स्वर्णमुद्राले भरिपूर्ण दुईटा गाग्रोलाई किन दूषित गरेका छौं, चोर ? दुलोवाला सर्प रिसले रनथनिंदै भन्यो– हरे दुष्ट, पुरानो काँजी र कालो सस्र्युलाई पिनेर तातो पानीका साथ पिलाइ दिंदा तिमी मरिहाल्छौं भन्ने ओषधि कसैलाई थाहा छैन र ?

त्यस सर्पको यसप्रकारको कुरा सुनेर उदरस्थ सर्प पनि रिसले बम्किंदै भन्यो–तातो तेल वा उम्लिरहेको पानी दुलोमा खन्याइदिंदा तिमी मरिहाल्छौं भन्ने कुरा कसैलाई थाहा छैन र ? रूखको ओतमा लुकेर राजकन्याले तिनीहरूका त्यस्तो मर्मोद्घाटक कुरा सुनिरहेकी थिइन् । सर्पहरूको कुरा सुनेर सोहीअनुसार पुरानो काँजी तथा कालो सस्र्यु पिनेर तातो पानीका साथ राजकुमारलाई पिलाइ दिइन् । त्यस उपायले गर्दा राजकुमारको उदरस्थ सर्प तत्काल मर्‍यो तथा राजकुमार पूर्ण स्वस्थ्य भयो । त्यसपछि राजकुमारीले दुलोनजिकै चुल्हो बालेर पानी उमालिन् तथा उम्लिरहेको पानी दुलोभित्र खन्याइदिइन् । यस उपायले गर्दा दुलोभित्रको सर्प पनि तत्काल मर्‍यो । सर्प मरिसकेपछि राजकुमारीले दुलो खन्न लगाएर त्यहाँ रहेको स्वर्णमुद्राले भरिपूर्ण दुईटा गाग्रो झिकिन् । यसप्रकारले पूर्ण स्वस्थ्य पति तथा प्रचुर धन लिएर

आफ्नो पिताको घर फर्किइन् । राजकुमारीलाई यसप्रकारले घर फर्किआएको देखेर उनका माता पिता खुशीले द·दास भई छोरीलाई आदर सत्कारका साथ घरमा भित्र्याए । यसप्रकार आफ्नो पूर्वसञ्चित कर्मफललाई प्राप्त गरेर राजकुमारी आफ्नो पतिका साथ आनन्दपूर्वक जीवनयापन गर्न थालिन् । राजालाई पनि छोरीको कर्मफलमाथि विश्वास भयो । त्यसैले भनिएको छ–

परस्परस्य मर्माणि ये न रक्षन्ति जन्तव ।
त एव निधनं यान्ति वल्मीकोदरसर्पवत् ।।

अर्थात् आपसको रहस्यहरूलाई जसले गुप्त राख्न सक्दैन त्यो दुलो तथा पेटमा रहेको सर्पहरू झैं विनष्ट भएर जान्छ ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in पौराणिक कथा, बाल कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *