कविता : अस्तित्व सोच

~गोविन्द वर्तमान~Gobinda Adhikari 'Bartaman'_1

मेरा क्रोधहरू सकिएपछि
अन्यायमाथिका
मेरा प्रतिक्रियाहरू सकिनेछन्
अपराधहरूमाथि
मेरो आक्रोश पुग्ने छैन
त्यसबेला म स्वयं सकिनेछु

म सकिएपछि घामका किरणहरूले बनाउने अर्बौँ छायाँहरूमध्ये
घट्नेछ एउटा छायाँ
उज्यालो संसारको एउटा चेत सकिनेछ

म असाध्य माया गर्छु
मानिसका प्रेम र करुणाहरूलाई
उत्सवमा उठ्ने हात
र हावामा हल्लिने पताकाहरूलाई
प्रसन्न हुँदा उज्यालो
र खिन्न हुँदा अँध्यारो
प्रकाश र छायाँका भेदहरूजस्ता
मानिसका आवेगहरूलाई
म भएसम्म म प्रेम गर्नेछु निरन्तर
तर, जब सकिनेछु म
सकिनेछ अँध्यारो र उज्यालोको भेद

जब म सुन्न छाडेर बोल्नमात्र थाल्छु
म सकिनेछु
जब म आफैँलाई मात्र वास्ता गर्छु
म सकिनेछु
म सकिएपछि
संसारबाट एउटा अनुराग सकिनेछ
एउटा अनुरागबाट आउने
अर्को अनुराग सकिनेछ
केही अनुरागहरूको यात्राबाट पुगिने
प्रेमको गन्तव्य सकिनेछ
कसैले थाहा नपाए पनि
केही अधुरो हुनेछ संसार
जब म सकिनेछु

जब सकिन्छु म
एक्काइसौँ शताब्दीको यान्त्रिकताविरुद्ध
एक्काइसौँ शताब्दीकै ढुंगो उज्याएर
एक्काइसौँ शताब्दीको व्यापारलाई
हिर्काइरहने एउटा जीवन सकिनेछ
अथवा मुनाफाखोरीको खोरविरुद्ध
शब्दहरू खेलाइरहने एउटा निब सकिनेछ
फूलहरू सकिने छैनन्
तर सुगन्धको एउटा हिस्सा सकिनेछ

थुप्रै आन्दोलनहरू बाँकी रहे पनि
प्रेयसीलाई स्पर्श गर्दा
एउटा व्यक्तिमार्फत लोकले अनुभव गर्ने
एउटा आनन्द सकिनेछ
केही चुम्बनहरू सकिनेछन्
केही शुभकामनाहरू सकिनेछन्
केही उच्छवासहरू सकिनेछन्
यसरी म एक्लो सकिनेछु
तर मसँगै थुप्रै सुन्दरताहरू सकिनेछन्

पेन्टिङ : कलाकार गणेशकुमार जिसी ।
पेन्टिङ : कलाकार गणेशकुमार जिसी ।
यसबेला जब म आफ्नो अस्तित्व सोच्दैछु
म सकिएको छैन
तर सकिएका छन् भावनाका आदिम रूपहरू
अस्थिपञ्जरझैँ हाँस्ने
मञ्जनको विज्ञापनका दाँतहरू छन् वरिपरि
गणितका सूत्रहरूले बाँधिएका
हृदयहरू छन् वरिपरि
यही उपस्थितिको बीचमा
जोगाएर आफ्ना ऊर्जाहरू
सकेसम्म जोगिने प्रयत्नमा छु
यदि म जोगिइनँ भने
मसँगै सकिनेछन्
मजस्ता अर्बौँ मानिसहरू ।

(कवि तथा निबन्धकार गोविन्द वर्तमान (२०१७–२०६९) ‘मूल्याङ्कन’ मासिकको सम्पादक-सदस्य रहिसकेका पत्रकार समेत हुन् । वर्तमानका कविता विभिन्न पत्रपत्रिकामा फुटकर रुपमा प्रकाशित छन् । उनका ‘सोह्र साँझहरु’ र ‘हरियो साइकल’ निबन्धकृति प्रकाशित छन् ।)

(स्रोत : ‘मूल्याङ्कन’ मासिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.