अनूदित कविता : शोक–गीत

~कात्यायनी~
अनुवाद : सङ्गीत श्रोता

बस्, यस्तै यस्तैमा बितिगयो
एक बारको जिन्दगी !

न लेख्न सकियो कुनै महान् काव्य
न हुन सकियो पाठकको आँखाको नानी
न पाउन सकियो वरिष्ठ समालोचकको लाडप्यार
आफ्नो त
बस्, यस्तै यस्तैमा बितिगयो
सारा जिन्दगी !

माया गरियो एक सामान्य मान्छेले जस्तै
भातभान्सा जुटाइयो
तिहुन–तरकारी किनमेल गरियो
पूरै जिम्मेवारीपूर्वक
सम्पूर्ण आक्रोशहरूसहित
सहभागी भइयो महँगीविरुद्धका जुलुसहरूमा
कर्तव्य सम्झेर पुगियो मजदुर–हडतालहरूमा

बनाउन सकिएन
एक शान्त र आरामदायी अध्ययन कक्ष
जब एक उत्कृष्ट कविता
लेख्नुपर्ने समय थियो
त्यो विशेष मौकामा पनि
लेख्दै हिंडियो पर्खालभरि नाराहरू
जब लेख्नुपर्ने थियो
आफ्नो समयको सबैभन्दा चर्चित आख्यान
लेख्दै हिँडियो हडतालसम्बन्धी पर्चा ।

बस्, सामान्य नै रहियो अन्त्यसम्म
र त भइयो यस्तै असफल
आफ्ना सबै विलक्षण बुद्धि–बर्कतहरू
मानवताको सेवामा सुम्पियो
र, हुन सकिएन महान् ।

अब लेख्ने छैन
कुनै गन्यमान्य कविले
एउटा शोक–गीत
मेरो मृत्युपछि
बस्, यस्तै हुनेछ
एउटा कठिन
जीवन कथाको
सुखान्त !

This entry was posted in अनूदित कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *