बाल कथा : बीरबलकी छोरी र बाघको दूध !

~अज्ञात~

अकबर बादशाहको दरवारमा बीरबलको प्रवेश भएपछि अरु सभासदस्यहरुको महत्व नै घट्न थालेको थियो । अकबर बादशाहले बीरबललाई अरु सभासदस्यहरुलाई भन्दा बढी चाहन्थे र विश्वास गर्थे । साथै उनी बीरबलको सम्मान पनि गर्थे । अकबर बादशाहको दरवारमा एउटा हिन्दूले यति ठूलो स्थान पाएको कुरा अरु सभासदस्यहरुलाई मनपरेको थिएन । उनीहरु कसरी बीरबललाई पन्छाएर आफूहरु अगाडि आउने भन्ने कुरामा चिन्तित थिए ।

कुन बेला मौका आउँछ र त्यस मौकामा बीरबललाई तल झारेर वा मारेर फेरि आफूहरु पहिलेकै स्थानमा आउन सकिन्छ भन्ने ताकमा ती सभासद्हरु सधैं रहिरहन्थे । एक दिन उनीहरु सबै मिलेर एउटा योजना बनाए । यस योजनामा उनीहरुले बादशाहको एकजना रानी र एक जना वैद्यलाई पनि साथ लिए । उनीहरुले रानीलाई आफू बिरामी भएको कुरा बादशाहलाई भन्न लगाए भने वैद्यलाई रानीको रोग बाघको दूध खुवाएपछि मात्र निको हुन्छ भन्ने कुरा भन्न लगाए ।

सभासद्हरुको योजनाअनुसार रानी बिरामी भएको बहाना गर्न थालिन् । रानीलाई अनेक उपचार गरियो तर निको भएन । आखिरमा त्यही योजनामा सामेल भएको बैद्यलाई देखाउन लगाइयो । उनले रानीको रोग बाघको दूध ख्वाउन सकेमा मात्र निको हुनसक्छ भने ।

अकबर बादशाहले यो कुरा सभासद्हरुको सभा बोलाएर उनीहरुको बीचमा राखे– ‘रानी धेरै दिनदेखि विरामी भइरहेकी छिन् । उनको रोग बाघको दूध ख्वाएको खण्डमा मात्र निको हुन्छ भनेर बैद्यले भनेको छ । त्यसैले बाघको दूध जसरी भए पनि ल्याउनु पर्यो । बाघको दूध ल्याउनेलाई ठूलो इनाम दिनेछु ।’

बादशाहको कुरा सकिँदा नसकिँदै सबै सभासद्हरुले एकै स्वरमा भने– ‘महाराज, हामीमध्ये बुद्धिमान व्यक्ति त बीरबल नै हुन् । यो काम उनले बाहेक अरु कसैले गर्न सक्दैन । त्यसैले बाघको दूध ल्याउनको लागि उनैलाई पठाउनुपर्छ ।’

अकबर बादशाहले बीरबललाई बाघको दूध ल्याउन आदेश दिए ।

बीरबल पनि बाघको दूध ल्याउनको लागि केही दिन विदा लिएर त्यहाँबाट हिँडे । तर अब कसरी बाघको दूध ल्याउने भन्ने कुरामा उनी पनि चिन्तित हुनथाले । बीरबल चिन्तित भएको देखेर उनकी छोरीले सोधिन्– ‘बुबा तपाईं किन चिन्तित देखिनुहुन्छ ? त्यस्तो समस्या के आइपर्यो ?’

बीरबलले पनि दरवारमा भएको सम्पूर्ण कुरा आफ्नी छोरीलाई बताए ।

बीरबलको कुरा सुनिसकेपछि उनकी छोरीले भनिन्– ‘बुबा तपाईं चिन्तित नहुनुस्, म यसको समाधान निकाल्छु । तपाईं ढुक्क भएर बस्नुस् । बादशाहले दिएको समय सकिइसकेपछि पनि तपाईं दरवार नजानुस् ।’

बीरबलले पनि छोरीले भनेजस्तै गरे ।

यता दरवारमा भने सभासद्हरु बीरबल जंगलमा बाघको दूध लिन जानेछन् र उनलाई बाघले मार्नेछ, त्यसपछि दरवारमा आफूहरुको स्थान पहिलेको जस्तै हुनेछ भन्ने कुरामा ढुक्क भइरहेका थिए ।

महारानी पनि झन्झन् विरामी भएको बहाना गर्न थालिन् । तर बीरबललाई दिएको समय सकिइसक्दा पनि उनी दरवारमा हाजिर भएनन् । अकबर बादशाहले बीरबललाई बोलाउन उनको घरमा दूत पठाए ।

दरबारबाट बीरबललाई बोलाउन आएको दूतलाई उनकी छोरीले भनिन्– ‘मेरो बुबा सुत्केरी भएर बसिरहनुभएको छ । अहिले उहाँ सुत्केरी कोठाबाट निक्लने बेला भएको छैन । त्यसैले सुत्केरी अवस्थाबाट निक्लनु भएपछि उहाँ आफैं दरवारमा हाजिर हुन जानुहुनेछ । यो कुरा बादशाहलाई भनिदिनु ।’

दूतले पनि दरवारमा गएर यही कुरा भन्यो । दूतको कुरा सुनेर सभासद्हरु र बादशाहलाई पनि आफ्नो भूल महसूस भयो ।

साभार : अकबर-वीरबल कथाहरु, नवयुवा मासिक, पूर्णाङ्क ५७

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.