बाल कविता : डाँफे चरी

~रञ्जुश्री पराजुली~Ranjushree Parajuli

डाँफे चरी भन्छन् जसलाई त्यो हो पंक्षीराजा
रमाउँदै बस्छन् डाँफे हिमाली क्षेत्रमाझ
दुई खुट्टा दुई आँखा दुई कान यिनका
रङ्चङ्गी सप्तरङ्गी प्वाँखे लुगा यिनका ।

प्वाँखे रङ्गी यिनका लुगा औधी राम्रा हुन्छन्
हिउँ पर्दा जाडो हुँदा बाक्ला प्वाँखले ढाक्छन्
यिनलाई देख्दा पर्यटक ज्यादै खुशी हुन्छन्
अर्को वर्ष यिनलाई हेर्न फेरि आउँछु भन्छन् ।

सप्तरङ्गी सिउरले बाबा डाँफे रम्म
सिउरबिना भएपनि आमा डाँफे टन्न
बाक्लो हिउँ जाडो याम यिनलाई केही हुन्न
हिउँका कडा चिसोले यिनलाई छुँदै छुन्न ।

हिमालको टाकुरामा डाँफे कावा खान्छ
रमाउँदै पर्यटक ट्रेकिङतिर जान्छ
डाँफे चरी नेपालको गौरव हो जान
यही नै हो नेपालको सुन्दरता र सान ।

डाँडाकाँडा पशुपंक्षी नेपालको नाम
यसैले नै राखेको छ हाम्रो ठूलो मान
खोजी गर, स्याहार गर यी हुन् हाम्रा गौरव
फाली नासी यिनलाई नबनाऊ रौरव (नर्क) ।

(स्रोत : केटाकेटीअनलाईन डट कम)

This entry was posted in बाल कविता and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *