एकाङ्की : पीडा एक : भाका अनेक

~नन्दलाल आचार्य~

पात्रहरू : सूत्रधार, सन्तोष, युवती, युवक र अधबैँसे आइमाई

(सुनसान सडक क्षणभरमै मान्छे नै मान्छेले भरिन्छ । कतै सडक रक्ताम्य छ, कतै सडक कालाम्मे छ । कतै सडक सुक्खा छ, कतै पानीले हिलाम्मे छ । एक्कासि सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ । दर्शक बढ्दै जान्छन् । एकप्रकारले सडक जाम हुन्छ ।)

सूत्रधार : आदरणीय दर्शकवृन्द, सडकमा नै आज सबथोक हेरौँ । सडकमा नै सबथोक चिनौँ । सडकमा नै सबथोक देखाऔँ । सडकको व्यथा सडकमा नै बुझौँ । सडकको गीत सडकमा नै गाऔँ र मनमा सुन्दर आकाङ्क्षा भित्र्याऔँ । कर्ममा पारदर्शिता देखाऔँ । भोलिका पुस्ताका निम्ति यही सडकमा हिँड्ने पूर्वाधार आजै बनाऔँ ।

सन्तोष : (सामान्य कपडामा असामान्य चित्राङ्कित पोशाक पहिरिएको छ । उसले लगाएको कपडामा ठूलासाना सडक छन् । सडकका किनारमा रूखविरुवा छन् । हरियाली फाँटहरू देखिन्छन् । कतैकतै सुन्दर महल र बगैँचाहरू अङ्कित छन् ।) म नामको सन्तोष हुँ । त्यसैले सन्तोषी मुद्रामा (पोशाकतिर औँल्याउँदै) म आफ्नो दिनचर्या चलाइरहेको थिएँ । म अँझै पनि कतैकतै सडके ठिटो नामले पुकारिन्छु तर पहिलेको सडके ठिटो र अहिलेको सडके ठिटोका बीच तपाईंहरू आकाश र पातालको फरक पाउनुहुन्छ । (त्यतिकैमा एकजना युवती उसलाई ठेल्दै अघि सर्छे र जोडजोडले बोल्न थाल्छे ।)

युवती : फरक, यहाँ हरेक कुरामा फरक छ । फरक हिमालमा छ । फरक पहाडमा छ । फरक तराई/मधेसमा छ । त्यसैले फरक यो सडके ठिटोमा हुनु कुन ठूलो कुरो भयो । समय तात्यो । फलाम त तातेपछि पग्लिन्छ भने समय तातेपछि असम्भव सम्भव हुन्छ तर म किन परिचयविहीन भएँ ?

सन्तोष : असम्भवलाई सम्भवमा रूपान्तरण गर्न यस सडकलाई क्षत विक्षत पार्न पाउनु हुन्न । (आक्रोशयुक्त स्वरमा) म सडके ठिटो हुँ । म नै सडकको गीत हुँ । ममाथि कत्रो बज्रपात परेको छ, त्यसको कल्पना आजसम्म कसैले गरेको छ ? अहँ छैन । सुन्नुहोस्, यस सडकले नौलो युग भेट्ने आशमा बज्रपात सहेको छ । यस सडकले समाजलाई नयाँ रूपमा रूपान्तरित भएको भेट्ने आशमा कालाम्मे हुन तयार भएको छ । अब यस सडकमा सज्जनले पनि सर्तक भएर हिँड्नुपर्छ । यस सडकमा सज्जनको सचेत दृष्टि परे दुर्जनले पाइला राख्न तर्सिनुपर्छ । म त्यो सज्जन मनको खोजीमा छु ।

अधबैँसे आइमाई : एइ सडक ! खबरदार ! प्रत्येक शब्द तौलिएर बोल् । तँ यस समयको साँचो इतिहास होस् । तेरा छातीमा अनगिन्ती पीडाहरू सलबलाइरहेका छन् । तेरा अङ्गप्रत्यङ्गमा थुप्रै उपलब्धिहरू नाचिरहेका छन् । तँ सज्जन र दुर्जनको कुरा गर्छस् । मैले तेरै छातीमा टेकेर मान्छेको मलमुत्र खानुपरेको छ । म बोक्सी हुँ रे ! मसँग अलौकिक शक्ति छ रे । म ……. म कलिला नानीहरूको मुटुकलेजो खान्छु रे । म लैना गाईभैँसीको दूध चुस्छु रे । (अट्टहासका साथ हाँस्दै) एइ सडक ! यस सडकमा उभिएर मेरो विगत सुनिरहनुभएका दर्शक महानुभावहरू ! मसँग यस्ता तागत पनि छन् अरे । मलाई मन नपरेको मान्छेलाई क्षणभरमै बिरामी तुल्याउन सक्छु रे । हो, म कहिले कालो बिरालो बनेर सुतेका मान्छेको खुन चुस्न सक्छु रे । हो–हो, तपाईंहरू पत्याउनुहुन्छ ? यदि पत्याउनुहुन्छ भने मेरो घोषणा पनि सुनिदिनुस् । म आज यसै सडकबाट घोषणा गर्छु : मलाई मन नपर्ने मान्छेका विरुद्ध मेरो अलौकिक शक्ति लगाउँछु । सबैलाई यही सडकमा नाङ्गेझार पार्छु ।

युवक : भन्नुस्, तपार्इं कसमाथि के प्रहार गर्नुहुन्छ ?

अधबैँसे : मसँग त्यस्तो अलौकिक क्षमता हुँदो हो त सबैभन्दा पहिला यस देशलाई सामन्तीहरूको मागी खाने भाँडो बनाउन दिने थिइनँ । हरेक सामन्तीलाई सडकछाप बनाइदिन्थेँ । हरेक भ्रष्टाचारीको मनमा ढ्याङ्ग्रो बजाइदिन्थेँ । म र मजस्तै मरनीदेवी तथा वसन्तीदेवी झालाई बोक्सीको आरोपमा मलमुत्र कोच्याउने पारखण्डीलाई यही सडकमा ताण्डवनृत्य देखाउन बाध्य पार्दिने थिएँ । अँझै भनुँ भने यस भूमिलाई सुस्ताका नाममा, कालापानीका नाममा, दश गजाका नाममा सीमाना हराउन दिन्नथेँ । मेरो भूमिलाई साँगुरिन दिन्नथेँ । म सामान्य जनताको असामान्य रोदन सुनेर पनि, बुझेर पनि बुझ पचाएर पटक्कै बस्ने थिइनँ । (खुइय्य गर्दै शान्त मुद्रामा) तर के गर्नु ? अहिले न मसँग त्यत्रो अलौकिक शक्ति छ न जनसमर्थनको लहर तर म मैरै ठाउँमा अडिरहन्छु । एकदिन लामो जनलहर मेरो पछिपछि हुनेछ । त्यसदिन पाखण्डीहरूको शिर निहुरिनेछ ।

युवती : (अघि सर्दै) एइ सडक, म पनि मनको पीडा पोख्छु । आदरणीय महानुभावहरू, मेरो पनि कुरा सुनिदिनुस्, मनमा गुनिदिनुस् र सक्नुहुन्छ भने सान्त्वना दिनुस् । नसकेमा अपमानचाहिँ नगर्दिनुस् ।

युवक : मौकामा मनको मैलो धुनुपर्छ । मैलो धुन आइतबार पर्खिनु पर्दैन । बहिनी, जोखना हेर्ने र साइत पर्खिने संस्कारलाई हामीले बिदा गरिसक्यौँ । त्यसलाई पुनर्जीवित गर्ने चेष्टा नगर्नुस् । आफ्ना मनका कुरा सडकभरि फिँजाउनुस् । आउनुस्, यही सडकमा समाधान खोजौँ । सडकभरि समस्या जन्मियो, सडकमै समाधान खोजौँ ।

युवती : (रुन्चे स्वरमा तर खुसी हुँदै) धन्यवाद ! धन्यवाद ! धन्यवाद दाइ ! आज मैले यही सडकमा दाइ भेटेँ । अब म निश्चिन्त भएर मेरो विगतको तमतमाइलो पाटो उल्टाउनेछु । म ढुक्क छु । म खुसी छु । आखिर सडक नै रमाइलो संसार रहेछ । मन रमाएको यस मौकामा नरमाइलो कुरो खोल्न मलाई गाह्रो परिरहेको छ ।

युवक : आखिरमा सत्यको भागमा तीतो नै पर्न आउँछ । तीतो भाग सिध्याएपछि पाइने मीठो आनन्ददायक हुन्छ ।

युवती : (केही गम्भीर भएर) म मरनीदेवी र वसन्तदेवी त भइनँ तर उस्तै पीडाको घाउ बोकिरहेकी छु । मनभित्र पीडा लुकाएर फुस्रो हाँसोको टेकुवामा मेरो संसार थेगिएको छ । म अक्षरश: सत्य बक्दै छु । धमिलो मेरो विगत अबका छोरीबुहारीले खप्न नपरोस् । म कसैकी बुहारी र कसैकी पत्नी बन्न आइपुग्दा ठूलो धर्मसङ्कटमा थिएँ । मनका धनी मेरा बाबुआमाले मेरा श्रीमान् र सासूससुरालाई धनले खुसी पार्न सक्नु भएन । दाइजो नल्याएको निहुँमा मैले अनगिन्ती शारीरिक र मानसिक पीडा खप्नुपर्यो । (गहभरि आँसु पार्दै) एकदिनको कुरा हो, दाइजो नपुगेकै बहानामा श्रीमान्ले मेरो शरीरमा मटितेल खन्याएर सलाई कोर्न थालेँ । म फुत्किएँ । अँझै फुत्किरहेकी छु । म कहाँ छु न श्रीमान्लाई थाहा छ न आमाबुबालाई । आज दाजुसँग भेट्……. (गला अवरुद्ध हुन्छ । उनी ओझल पर्छिन् ।)

युवक : (उत्साहित हुँदै) बहिनीका कुराले मनमात्र छोएन, रोयो पनि । मेरो पनि उस्तै बयान छ । मनमा नै लुकाएको छु ।

सन्तोष : कृपया सुन्दर मनमा कुरूप कुरा लुकाउने काम नगरौँ । पोखौँ, आजै पोखौँ ।

सूत्रधार : हो, जो सुन्दर छ, सुन्दर हुन खोज्छ र सुन्दर भएर यस संसारलाई सौन्दर्ययुक्त बनाउन खोज्छ, उसले कुरूपतालाई ओकल्नुपर्छ र विसर्जन गर्नुपर्छ । मनमस्तिष्कबाट कुरूपताले राजीनामा दिनुपर्छ । हो, आज हामी त्यसकै लागि यस सडकमा उभिएका छौँ । सुन्दर सपना बोकेर अप्ठ्यारा भञ्याङहरू उक्लिरहेका छौँ । विकट ओरालीहरूतर्फ पनि ओर्लिरहेका छौँ । समथर मैदानमा विश्वासका पाइला टेकिरहेका छौँ । हामीलाई हिमालको हिउँ जत्तिकै मैदानको मलिलो प्यारो छ । मुक्तिनाथको जत्तिकै श्रद्धा जानकीको छ । हाम्रा लागि सबभन्दा प्रिय कुरो अखण्ड मन, विचार र मुक्तिपथ हो ।

युवक : म चार हातपाउ भएको सद्दे मान्छे हुँ । मान्छेले मान्छेलाई मानवकै रूपमा हेर्नुपर्छ भन्ने सिद्धान्तको पक्षपाती हुँ । मसँग पुख्र्यौली सीप छ तर आर्जित सीपको पनि कमी छैन । म कपडा सिलाउँछु र पञ्चेबाजा पनि बजाउँछु । आइपरे खुकुरीकर्द बनाउँछु र जुत्ताचप्पल पनि सिलाउँछु तर समाजका कतिपय शुभकार्यमा सहभागी हुनबाट म नै वञ्चित छु । समग्रमा म दलित कहलाउँछु ।

युवती : हजुर, कुरोको चुरोचाहिँ के हो ?

युवक : एकदिनको कुरो हो । धनवीरको घरमा गोरु मरेछ । तीन दिनपछि सिनो फाल्न डाकिएँ । सबै मिली फालौँभन्दा म नै उल्लु बनाइएँ । सबै मिले मद्दत गर्ने तर एक्लै सिनो फाल्ने काम गर्न नसक्ने जनाउ दिएँ । त्यसपछि म गाउँनिकाला गरिएँ । ठूलाबडा भनाउँदाहरूको पैतालाको धूलो बन्न नमान्दा आफ्नै मौलिक हकबाट वञ्चित गरिएँ ।

सन्तोष : (केही उत्साहित हुँदै) थरिथरिका नाम छन् मेरा तर मसँग पनि मुटु चुँडिने पीडा छ । मैले मेरो पीडालाई मुटुमै पटुकाले कसेको छु । मलाई लागिरहेछ मैले पनि पटुका खोल्नुपर्छ र पीडाको घाउ देखाउनुपर्छ । यहाँ पीडकभन्दा पीडित बढी छन् । (उच्च स्वरमा) मुठीभरका पीडकलाई तिनका कर्तुत सम्झाउने धृष्टता मैले गरेँ । स्वेदश पराधीन हुन थाल्दा मुक्तिका लागि संंघर्ष गर्नुपर्छ भनेँ । अङ्ग्रेज विरुद्ध लड्दालड्दै वीरगति प्राप्त गर्ने सत्तरी बर्से भक्ति थापा, नेपालको अस्तित्वलाई सर्वस्व ठान्ने अमरसिंह र वीर बलभद्रहरूको वीरताको उज्यालो पाटो स्मरण गराउँदामा म ढोँगी साबित भएँ । (एकक्षण घोरिन्छ ।)

युवती : भन्नुस् दाइ, भन्नुस् । सबभन्दा पहिले आफ्नै गीत गुनगुनाउनुस् । त्यसपछि सबैको गीत गाउनुस् अर्थात् सडकको गीत गाउनुस् ।

युवक : हो, हिजोदेखि आजसम्म यसरी नै आइयो, उसरी नै आइयो तर भोलिदेखि एउटा ठोस तवरले हिँड्न पाइयोस् । तसर्थ भन्ने कुरा थाँती नराखौँ ।

सन्तोष : मैले प्रस्टसाथ भनेको थिएँ, ‘जसले जन्मभूमिप्रति प्रेम प्रदर्शित गर्दैन, त्यो जतिसुकै धनवान् र ज्ञानवान् भए पनि आफ्नो जातिको आदर, सम्मान र प्रेमको पात्र हुन सक्दैन । ऊ आफ्नै जीवनकालमा बन्धुवर्गद्वारा अपमानको दृष्टिले हेरिन्छ । मरेपछि पनि उसको निन्दा हुन्छ ।’ मैले यसो भनिरहँदा सुन्नेमध्ये केहीको मनमा चिसो पसिसकेको थियो । सङ्कुचित मनोवृत्तिबाट माथि उठेर राष्ट्रिय एकता, भ्रातृत्व र देशभक्तिका लागि कलम हुनेले कलम उठाउनुपर्छ र आवाज हुनेले आवाज दिनुपर्छ । अन्यायअत्याचारको समूल नष्टका लागि तन, मन र वचनले कर्म गर्नुपर्छ भन्ने मेरो विचारलाई नाजायज ठानियो । जो चुपचाप अन्याय सहेर र पीडा खपेर बस्छ, ऊ सरासर समाजको अपराधी कहलाउँछ । मेरो यस ठहरलाई आतङ्ककारीको नीति ठानियो ।

सूत्रधार : त्यसपछि के भो ?

सन्तोष : त्यसपछि धनवीरले मलाई पक्रायो । मलाई मानसिक र शारीरिक यातना दिइयो । म बाध्य भएँ धनवीरको विरुद्धमा लाग्न । यसैले जेल सजाय काटेर घरको सट्टा वन पसेँ । जनताको पक्षमा भएको लामो जनयुद्धको महासङ्ग्राममा सामेल भएँ । धनवीरेजस्ता जनताका दुस्मनको पछि लागेको फुर्को हटाएँ । सामन्ती संस्कारका ढाँचाहरू परिवर्तन भए । सङ्घीय लोकतान्त्रिक नेपालका वास्तविक मालिक हामी पौने तीनकरोड नेपाली भयौँ तर अँझै दु:खको दह, आँसुको पोखरी र रगतको नदी कायमै छ । चोखो रूपमा भन्नुपर्दा हामी, हामी भएर रमाउन पाएका छैनौँ ।

सूत्रधार : विचार थरिथरिका आउँछन् । असन्तुष्टि जन्मिन्छ र जन्माइन्छ । असन्तुष्टि छ तर सन्तुष्टिमा परिणत गर्न सकिएको छैन । हो, त्यसैका लागि विचार मन्थन आवश्यक छ । मन माझामाझको खाँचो छ ।

सन्तोष : हो, हामीले आफ्नो मनले बाँच्न पाएका छैनौँ । अर्काको इसारा र सङ्केतमा पाइला चाल्नुपरेको छ । अँझै पनि हाम्रो मनबाट सामन्ती कुसंस्कारको रहलपहल छँदै छ । निर्माणको पक्षमा हातगोडा चलाउनुपर्ने बेलामा अर्कालाई छिर्के लगाउन हामी व्यस्त छौँ । अर्काको खुट्टा तानेर आफू अघि बढ्नुलाई विजय सम्झिन्छौँ । अँझै पिछडिएका वर्गले राहत महसुस गरिरहेका छैनन् । मनपरीतन्त्र जन्मिरहोस् र सङ्क्रमणकाल लम्बिरहोस् । देश दण्डहीनतामा अल्झिरहोस् भनेर एक झुन्ड दृश्य अदृश्य रूपमा लागिरहेका छन् । तसर्थ म पनि दृश्य अदृश्य रूपै सडकसडकमा देखा परिरहेको छु । मैले निर्दोष जनताको आँसुको बह बुझेको छु र ज्ञातअज्ञात हजारौँ सहिदले दिएका बलिदानको बदला लिने सपथ खाएको छु ।

सूत्रधार : आखिरमा केका लागि सहिदले ज्यान चढाए ? आज बुझ्नुपरेको छ । जनताको साँचो व्यवस्था ल्याएर हरेक मनमस्तिष्कमा उज्ज्वल विचार सम्प्रेषण गराएमात्र नयाँ नेपालको निर्माण हुन्छ ।

युवक : हो, आजका युवाहरू उज्ज्वल विचारले कर्मपथमा अग्रसर हुनुपर्छ । उनीहरूले सङ्कुचित मानसिकताबाट बाहिर निस्किने प्रयत्न गर्नुपर्छ । तसर्थ सके अँध्यारो पाटोलाइसदाका लागि बिदा गर्न अग्रसर बनौँ, नसके हिजोको अँध्यारो युगलाई निरन्तरता नदिऊँ ।

सूत्रधार : इतिहासले धिकार्ला कि र सहिदको रगतले सराप्ला कि भन्ने त्रास मनमा पाल्नु आवश्यक छ ।

सन्तोष : हिजो गोरेटो, घोरेटो र कच्ची बाटाहरू प्रशस्त थिए । मेरो शरीरमा छापिएका जस्ता थुप्रै सुन्दर नालीबेली थिए । यी सब कुरामा विकास ल्याउनुपरेको छ । जटिलतालाई सरलतामा ढाल्नुपरेको छ । सरलतालाई सुगमतामा परिणत गर्नुपरेको छ । यसैका लागि म यहाँहरू सामु आइरहेको छु–आइरहेको छु ।

सूत्रधार : (सन्तोष, युवती, युवक र अधबैँसे आइमाई सूत्रधार नजिक उभिन्छन् । उनीहरूलाई औल्याउँदै सूत्रधार बोल्दै जान्छ ।)
आदरणीय दर्शकवृन्द ! जनताको युद्धले सार्थक मोड लियो तर सार्थक गन्तव्यमा पुगेको छैन । जनताको युद्ध थामिएको छैन । जनुयुद्धले परिवर्तन र रूपान्तरणका धेरै मोड कुइनेटाहरू छिचोलिसकेको छ । हरेक जनतालाई आफ्नो हकअधिकारका निम्ति होसियार बन्न चेतना दिएको छ । आज आएर जनयुद्धको आवश्यकता थियो भन्ने कुरा हरेक वर्गमा महसुस भएको छ ।
(सन्तोषलाई अघि सार्दै) राम्रो काम गर्न खोज्दा सन्तोषजस्ता युवकलाई आतङ्ककारीको बिल्ला राज्यले बोकाएको प्रमाण हाम्रा सामु छ ।
(युवतीलाई अघि बढाउँदै) अठारौँ शताब्दीको जस्तो सामन्ती सोच र द्रव्यपिचासी प्रवृत्तिले पीडित बनाइकी यस्ती सुकुमारीहरू आज पनि हरेक घरपरिवारमा रगतको आँसु पिएर धर्म थामिरहेका छन् । दाइजो सामाजिक कलङ्क हो । यो भनिदने कसले त ?
(युवकलाई अगाडि उभ्याउँदै) आज पनि यस्ता युवकहरू दलित भएका छन् । दलित त त्यो हो, जो भ्रष्टाचार गर्छ र जनताको रक्षकका नाममा भक्षणको काम गर्छ । अब त्यस्तालाई चुलाचौका बार्नुपर्छ । निम्न स्तरका कामचाहिँ कुनै वर्गको पुख्र्यौली पेसा हो भन्ने ठान्नु अपराध हो । यो अत्याचारबाहेक अर्थोक केही होइन । यहाँ दलित कोही छैन । हैन, छ भन्ने हो भने त्यस दलितले समाजका निन्ति अनिष्टकारी कार्य गरेको हुनुपर्छ ।
(अधबैँसे आइमाईलाई अघि सार्दै) बोक्सीको आरोपमा दानवीय व्यवहार लादिएकी यी नारी यस युगकी चेतना हुन् । अबका नारी कमजोर हुनु हुन्न । नरले नारीमाथि अत्याचार थोपर्दै आएको यस समाजमा एउटी नारीले अर्की नारीको हकअधिकारमा अङ्कुश लगाउनु घोर आपतिको विषय हो ।
यस माटोमा कर्म गरेर सुन फलाउने दृढ सङ्कल्प गरौँ । सडकमा यी र यस्तै अनगिन्ती कलङ्क जन्मिएका थिए तर अब जन्मिन दिनुभएन । सडकमा यी र यस्ता क्रन्दन र रोदनका गीतहरू गुन्जिरहेका थिए तर अब गुन्जिन दिनुभएन । पुर्खाहरूको त्याग, सहिदहरूको सपना र जनताको चाहना पूरा गर्न आजैदेखि नयाँ अध्याय सुरु गरौँ । कम्तीमा पीडा एकै थरीका तर भाका अनेक थरीका भएकाहरू सबै एकजुट बनौँ र पीडकलाई सबक सिकाउँदै यो अत्याचारको अध्यायलाई इतिहास बनाऔँ । जहाँबाट उठ्न चाहन्छौँ, उठौँ । (हातेमालो गर्दै) आउनुस्, नयाँ सोच, नयाँ विचार र नयाँ उमङ्गका साथ नयाँ नेपालको धर्ती टेकौँ ।

(सबैले ताली बजाउँछन् । उनीहरू विजयी मुस्कानका साथ गर्विलो पाखुरी उठाउँदै अभिवादन टक्र्याउँछन् ।)

(०६५/०२/१३)

(स्रोत : रचनाकारको नाटक/एकाङ्की सङ्ग्रह “युग उचाल्ने अक्षरकर्मीको अवसान” बाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *