संस्मरण : स्मृतिमा दुई परिदृश्य

~शार्दूल भट्टराई~shardul-bhattarai

भण्डार ! रामेछापको एउटा गाउँ । जिरीनाम्चे पैदल यात्राका क्रममा भेटिने विभिन्न रमणीय ठाउँहरूमध्ये एक । पहाडको काखमा भिरालो परेको फराकिलो चउर । चउर छेउछाउमा ससाना घरहरू ।

लक्ष्य त हाम्रो पहाडको टुप्पोमा रहेको देउराली पुग्ने थियो । बिहानको भात त्यहीँ खाने विचार गरेका थियौँ । तर हिँड्न सकिएन ।

रातोमाटोले लिपिएको सानो घर । सफा आँगन । आँगनको एक छेउमा भर्खरै माझेर टिलिक्कै टल्काइएका भाँडाहरू सुकाइएका छन् । घरका दायाँबायाँ फूलका बोटहरू । पिँढीको एक छेउमा सुन्दर ढङ्गले सजाएर राखिएको पसल । अर्को छेउमा साना दुईवटा बेन्च र एउटा टेबुल । होटल नै हो कि जस्तो पनि लाग्यो । त्यस घरका हरेक कुराले हामीलाई आकर्षित गरे । हामीले निर्णय गर्यौँ, भात यहीँ खानुपर्छ ।

हामी केहीबेर घरको आँगनमा उभियौँ । कोही देखापरेन । घरको ढोका खुलै थियो । ढोकाबाट चियाउँदै बोलायौँ तैपनि कोही बोलेन ।

को होला ? घर पछाडिबाट महिलाको स्वर सुनियो ।

एउटी महिला नुहाइधुवाइ गरेर घाममा कपाल सुकाइरहेकी रहिछन् । उनीसँगै दुईवटा बच्चा पनि थिए । हामीलाई देख्नेबित्तिकै ती महिला मुसुक्क हाँसिन् । हामी पनि प्रत्युत्तरमा मुस्कायौँ ।

हजुरहरूले के खोज्नुभएको होला ? उनले मीठो स्वारमा सोधिन् । उनको अनुहार हँसिलो हुँदाहुँदै अलिअलि सशङ्कित पनि देखिन्थ्यो ।

यहाँ भात खान पाइन्छ कि भनेर आएको । लोकबहादुर कटवालले भने ।

भात खान त पाइन्थ्यो तर … । उनको तर पछिको अर्थ सजिलै बुझिने खालको थिएन ।

हामी अलमलमा पर्यौँ । लोकबहादुरले लिखुदेखि बोकेर ल्याएको माछा र भात खान सुर्रिएका हामी तीनैजना खिन्न मानेर उभिइरह्यौँ । उनको बारीमा लहलह रायोको साग देखेपछि हाम्रो भोक अझै जागेको थियो । माओवादी युद्धको बेला भएकाले गाउँघरमा भात खान दिन पनि मान्छे डराउँथे । हामीले सोच्यौँ यहाँ पनि त्यसैको डर होला । तैपनि लोकबहादुर ती महिलालाई फकाइरहेका थिए ।

पकाउने चिजबिज नभएर त्यसो भन्नुभएको त होइन ? लक्ष्मण सापकोटाले सोधे ।

चिजबिज त सबै छ तर …..। महिलाले फेरि पनि तर जोडिन् । उनको आशय अघिको भन्दा अझै बढी नकारात्मक थियो ।

किन त्यस्तो गाह्रो मान्नुभएको ? अलिकति चामल दिनोस् । पकाउने भाँडा दिनोस् । यहीँ आँगनमै पकाउँला । तरकारी केही चाहिँदैन । यही माछा र भात खाउँला । लोकबहादुरले बिन्तीभाउ गरे ।

महिलाले खुसी हुँदै भनिन्, हजुरहरू आफैँ पकाउनुहुन्छ त ?

हुन्छ, हामी आफैँ पकाउँला । लोकबहादुरले भने ।

भात खान पाइने भयो भनेर हामीहरू बढी खुसी हुनुपर्ने तर हामीभन्दा बढी खुसी ती महिला देखिइन् । उनी भटाभट रायोको साग टिप्न थालिन् ।

खाना पकाउन लोकबहादुर आफैँ सक्रिय भए । लक्ष्मण र म घरअगाडिको चउरमा बसेर घाम ताप्न थाल्यौँ । लक्ष्मण भोकले निकै नै गलेझैँ देखिएका थिए । हामीले खाजा खाने विचार गर्यौँ । भात पकाउन लागेका कटवाल पकाएको माछाको प्लेट नै बोकेर चउरमा आइपुगे । हामी तीनैजना माछा र चिउराको स्वादमा रमायौँ ।

हजुरहरू के कामले, कताबाट आउनुभएको होला ? महिलाले शिष्ट पारामा सोधिन् । मैले आफूहरू बैङ्कका कर्मचारी भएको र सोलुको सल्लेरीमा काम सकेर जिरी हुँदै काठमाडौँ जान लागेको कुरा बताएँ । अलिअलि सशङ्कित देखिएको उनको अनुहार मेरो स्पष्टीकरणपछि उन्मुक्त देखिएको थियो ।

हाम्रो त कामै यही हो । यसो दुई चार पैसा कमाउने बाटो नै यही हो । जो पायो उहीलाई त भात पकाएर खान दिन पनि डर छ । हजुरहरूलाई देखेर त खुसी लाग्यो । उनले मनैदेखि खुसी प्रकट गरिन् ।

तपाईंका श्रीमान् के काम गर्नुहुन्छ नि ? लोकबहादुरले प्रश्न गरे । महिला अक्मकाइन् । उनको अनुहार मलीन देखियो । सकेसम्म जवाफ दिनु नपरे हुन्थ्यो भन्नेमा उनी थिइन् । तैपनि उत्साहहीन मुद्रामा भनिन्, के काम गर्नु, यस्तै घरबारीकै काम गर्नुहुन्थ्यो । अहिले त त्यही पनि छैन । खोइ, कहाँ जानुभएको हो, तीन महिना भइसक्यो… हामीलाई केही थाहा छैन ।

उनी निकै संवेदित देखिइन् । सशस्त्र द्वन्द्वको बेला भएकाले उनले सबै कुरा स्पष्टसँग भन्न अप्ठ्यारो मानेझैँ लाग्यो । हामीले पनि उनका श्रीमान्को बारेमा थप जिज्ञासा राख्न चाहेनौँ ।

बहिनीको नाम के नि ? केही समयको सन्नाटापछि मैले सोधेँ ।

मेरो नाम गैरी । उनले जवाफ दिइन् ।

जैरी ? लक्ष्मणले अनौठो मान्दै भने ।

जैरी हैन, गैरी । उनले अलि ठूलो आवाजमा भनिन् ।

ए !गैरी भन्ने पनि नाउँ हुँदो रहेछ हगि ? लोकबहादुरले भने ।

ती महिलाको नामको पनि एउटा कथा नै बनिसकेको रहेछ । उनी आफ्नो नामका बारेमा बेलीबिस्तार लाउन थालिन्, सानैमा मेरा बाबुआमाले राखिदिएको नाम त गौरी हो । तर गाउँका सबैले मलाई गैरी भनेर बोलाउन थाले । मेरो नाम गैरी होइन गौरी हो भनेर कतिलाई भनेँ तर कसैले पनि मलाई गौरी भनेर बोलाएनन् । सबै मिलेर मेरो नाम नै बिगारिदिए । नाम राखिदिने आफ्नै आमाबाबुले त गैरी भन्छन् अरूको के कुरा गर्नु ।

गौरी राम्रो नाम हो । भन्न त आठ वर्षकी कन्यालाई गौरी भनिन्छ । तर नामकरणका दृष्टिले नेपाली समाजमा यो नाम बहुप्रचलित छ । पार्वतीको एउटा नाम गौरी पनि हो । संस्कृतमा गोरी महिलालाई बुझाउने शब्द पनि गौरी नै हो ।

गौरीको नाम बिगारिदिएकोमा हामीलाई पनि नराम्रो लाग्यो । हाम्रो समाजको एउटा विशेषता मान्छेको राम्रो नामलाई नराम्रो बनाइदिनु पनि हो । रामलाई रामे, श्यामलाई श्यामे, कृष्णलाई कृस्ने, माधवलाई माधे भनेर नाम बिगार्ने चलन परम्परागत नै हो । त्यो मारमा गौरी पनि परिछन् । गैरी को ठाउँमा बरु गोरी भनिदिएको भए त हुन्थ्यो नि ! उनी अनुहारमा पनि गोरी नै थिइन् । हामीले चाहिँ उनलाई गौरी नै भन्यौँ । हामीले पहिलोपटक उनलाई गौरी भनेर बोलाउँदा उनले निकै नै खुसी मानेकी थिइन् ।

नाम थाहा पाएपछि लक्ष्मणलाई थर पनि थाहा पाउने उत्सुकता भएछ । माछा र चिउरा खाँदै गर्दा उनले सोधिहाले, अनि थरचाहिँ के हो नि ?

गौरीले अप्ठ्यारो मान्दै मसिनो स्वरमा भनिन्, विक ।

खानपिनमा तल्लीन लक्ष्मणले गौरीको उत्तरलाई ठम्याउन सकेनन् । उनले फेरि सोधे, थर के रे ?

लक्ष्मणले थरका बारेमा दोहोर्याएर प्रश्न नगरेको भए पनि हुन्थ्यो तर गरिहाले । दोस्रोपटक गौरीले अझ स्पष्ट गर्दै भनिन्, विश्वकर्मा ।

ए, हो र ? लक्ष्मणले थोरै आश्चर्य माने । लोकबहादुरले भने, खोइ, मलाई त पत्यार लागेन । मैले सबै कुरालाई सामान्य ठानिरहेको थिएँ ।

गौरीबाट अभिव्यक्त भइरहेको संस्कार, संस्कृति र व्यवहारका कारण उनको यो कुरालाई विश्वास गर्न लोकबहादुर र लक्ष्मणलाई निकै गाह्रै परेको थियो । आखिर जात त के नै हो र, जे हो मान्छेको मन नै हो । दु:खका धेरै पाटाहरू गौरीको जीवनमा छन् तर पनि उनी जीवन सङ्घर्षमा लागिरहेकी छन् । मनमा पीडा भए पनि उनको अनुहारमा त्यसको छाया भेट्न गाह्रै हुने रहेछ ।

हामीलाई साँझ बास बस्नका लागि शिवालय पुग्नु थियो । त्यसैले खाजा खाइनसक्दै भात पनि खाइहाल्यौँ । हामी तृप्त भयौँ । गौरीलाई धन्यवाद दियौँ । उनको घरमा बितेको तीन घन्टाको परिदृश्यलाई दिमागमा राखेर हामी बाटो लाग्यौँ ।

उकालो, निरन्तरको उकालो । हाम्रो हिँडाइ साह्रै अल्छीलाग्दो थियो । तैपनि हामी निकै माथि आइसकेका थियौँ । ठाडो खोला, लिखु खोला, किञ्जा बजार र बाम्तीबजार धेरै तल हराइसकेका थिए । भण्डार चउरलाई पनि हामीले निकै तल पारिसकेका थियौँ ।

कतै चिया खान पाइन्थ्यो कि ? मैले भनेँ । लोकबहादुर र लक्ष्मण पनि चियाकै तृष्णामा रहेछन् । देउराली अझै धेरै माथि उभिएर हाम्रो हिँडाइलाई गिज्याइरहेको थियो । देउरालीभन्दा तल एउटा होटल रहेछ । हामीले त्यहीँ चिया खाने विचार गर्यौँ ।

एउटी महिला आधा नाङ्गो बच्चालाई काखमा लिएर पिँढीमा बसिरहेकी रहिछन् । आँगनमा प्रवेश गर्नेबित्तिकै हामीले सोध्यौँ, चिया खान पाइएला ?

चिया नपाए के पाउनु त, हामी जाँडरक्सी बेच्ने मान्छे होइनौँ क्या रे । बाहुन हौँ हामी, सापकोटा बाहुन । ती महिलाले जवाफमा नभने पनि हुने कुरासमेत भनिन् ।

ए ! म पनि सापकोटा नै हुँ । लक्ष्मणले अलिकति आत्मीयता गाँस्ने ढङ्गले कुरा गरे, म पनि बाहुन नै हुँ । कुराकै सिलसिलामा लक्ष्मणले ती महिलाको नाम सोधे । आँगनमा उभिएको उभियै लक्ष्मण उनको परिवारका बारेमा समेत सोधपुछ गर्न थाले । महिलाले परिवारका बारेमा केही बताउन चाहिनन् । उल्टै हकारिन्, किन चाहियो अर्काको कुरा ?

चिया खाऊँ न त तीन कप, मैले कुराको प्रसङ्ग बदल्ने ध्येयले महिलातिर हेर्दै भनेँ । उनी बडो गरुङ्गो पारामा बल्लबल्ल उठिन् । होटलमा ग्राहक आएकामा उनमा कुनै उत्साह थिएन । उल्टै ठुस्किएझैँ थिइन् उनी ।

एउटा चियादानी । एउटा दिउरी । एउटा थालमा सात आठवटा सेल । एउटा कराईमा के हो कुन्नि त्यो । चाउचाउ र बिस्कुटका पोका । दुइटा बेन्च । एउटा टेबल । केही गिलास । केही चम्चा । केही प्लेट । यत्तिमै सीमित छ यो होटल ।

टेबुल फोहोर थियो, बेन्च पनि त्यस्तै । बसौँ कि नबसौँ गरी हामी बेन्चमा बस्यौँ । के के गन्हाइरहेजस्तो । पिँढीतिर हेर्यो धूलैधूलो । आँगनतिर हेर्यो टाटैटाटा । कतै पिसाबका टाटा, कतै दिसाका टाटा । आँगनलाई नै रछ्यान बनाएजस्तो । आँगनको छेउतिर भातका सिता छरिएका छन्, तरकारीका बोक्राहरू फालिएका छन् । पिँढीमा ओछ्याइएको गुन्द्री र त्यसमाथि बिछ्याइएका थाङ्नाहरूको गन्ध हामी बसेको ठाउँसम्म आइपुगेको छ । भाँडाहरू डढेका जस्ता काला न काला, राम्ररी नमाझेका वा माझ्दै नमाझेका जस्ता । जताततै झिँगा भन्किरहेका छन् । हामीलाई लाग्यो, बेकार चिया खान बसिएछ ।

उनी ठुस्स परेको अनुहार लिएर चिया पकाउन थालिन् । हामी सकेसम्म चाँडै त्यहाँबाट हिँड्ने मानसिकतामा थियौँ ।

होटललाई अलि सफा राख्नुपर्ने, लोकबहादुर प्याच्च बोले ।

यो कुनै मन्दिर हो र, यहाँभन्दा के सफा हुनु ? इच्छा लाग्ने आउँछन्, इच्छा नलाग्ने आउँदैनन् । यहाँ यस्तै हो । उनले ठाडो जवाफ फर्काइन् ।

त्यहाँको फोहोर र दुर्गन्धबाट उनकै अबोध बच्चासमेत प्रभावित थियो । बच्चाको शरीरमा एउटा मैलो भोटोबाहेक केही थिएन । त्यो पनि कम्मरमुन्तिर नाङ्गै । हामीले सुरुवाल लगाइदिन भन्यौ । उनी कराइन्, कसैले यो गर्दे, ऊ गर्दे भन्दैमा हुन्छ । आफ्नो छोरालाई छेरौटी लागेर कस्तो भइराख्या छ ।

त्यसो भए त पानी, झोल कुराहरू खुवाउनोस् । न्याना कपडाहरू लगाइदिनोस् । त्यसरी नाङ्गो राख्नु हुँदैन । हाम्रो सुझावप्रति उनले रत्तिभर चासो राखिनन् ।

छोरा रोइरहेको थियो । उनी छोरालाई फकाउने फुल्याउने काम पनि गरिरहेकी थिइनन् । काखमा हल्लाउने काम गरे पनि त हुन्थ्यो नि !उनी त्यति पनि गरिरहेकी थिइनन् ।

चिया बल्ल तात्दै थियो । हाम्रो छटपटाहट पनि बढ्दै थियो । चिया उम्लनै लागेको बेला बच्चाले भ्यार्र पारेको आवाज आयो । उसको पातलो दिसा वरपरसम्म छरपस्ट भयो । नजिकै चिया पाकिरहेको थियो । चियाका गिलास र अन्य भाँडाकुँडा पनि नजिकै थिए । उनले आफ्नो हातमा परेको दिसा थाङ्नाले पुछिन् । त्यही बेला चिया उम्लियो । उनी दिसा लागेकै हातले चिया चलाउन थालिन् । हाम्रो चियाप्रतिको तृष्णा तुरुन्तै मर्यो ।

भैगो, हामी चिया खाँदैनौँ, मैले भनें ।

तिमीहरूले नखाए अरू कसले खान्छ यो चिया ? उनले रिसाउँदै भनिन् ।

कसैले खाला नि, मैले थपेँ ।

उनी अझै रिसाइन् र चर्को स्वरमा कराइन्, चिया बना भन्ने अनि फेरि खान्न भन्ने ? के खोज्या तिमीहरूले ? चिया नखाए पनि पैसा नलिईकन म छोड्दिन क्यारे ।

उनी कुनै गम्भीर पीडामा भएजस्तो हामीलाई लाग्यो । उनको व्यवहार जे जस्तो भए पनि उनी स्वयम् आफ्नो जीवन सङ्घर्षमा थिइन् । उनी जीवनका दु:खहरूसँग कुस्ती खेल्दै थिइन् । उनको पीडा के हो बुझ्न नसके पनि उनको दु:खप्रति सहानुभूति राख्दै हामीले चियाको पैसा तिर्यौँ ।

सबै मान्छे उस्तै हुँदैनन् । जातले होइन, आआफ्नो मन, मस्तिष्क र चिन्तनले नै मान्छेलाई छुट्याउँछ भन्ने कुरालाई हामीले फेरि पनि अनुभव गर्यौं । विपरीत चरित्रका

यी दुई परिदृश्य पन्ध्र वर्षपछिसम्म पनि स्मृतिमा रहिरहेका छन् ।

प्रकाशित: असार ११, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *