छन्द कविता : व्यवहार

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- मालिनी

सुजन र मनकारी गाँस बाँडेर खान्छ
कुटिल दमनकारी चैन भाँडेर जान्छ
फगत सुखविलासी द्रव्यमै फुत्त बिक्छन्
हिटलर अनुयायी अस्त्र हानेर टिक्छन् ।।

“जहर बमन गर्ने” सर्पको दैनिकी हो
“चरण नमन सेवा” चाकरीको छडी हो
चसचस तन घोच्दै मासुमै घुस्छ काँडा
परमिलन बिथोल्दै गिद्ध झैँ घुम्छ “भाँडा” ।।

झुट गफ चुटुवाले शब्दमै भर्छ बुट्टा
प्रगति नसहनेले इष्टकै तान्छ खुट्टा
बरु कुकुर त आफ्नो धर्मका निम्ति भुक्छ
तर कलुषित मान्छे ! स्वार्थका निम्ति झुक्छ ।।

कति लबज बढाई धक्कु लाएर बोल्छन्
कति त कप चियाको मूल्यमै राष्ट्र मोल्छन्
अति पतित र दम्भी गर्छ आफ्नै बखान
शठ मुलुक भएमा बन्छ “गाँडो जवान” ।।

अमल वसन जालो भिर्दछन् सर्मछाडा
जनक र जननी नै तोड्दछन् धर्मछाडा
अफल कसम खोक्छन् धूर्त नेता गफाडी
पद र नगद पाए भाग्दछन् राष्ट्र छाडी ।।

अति शिथिल र अल्छी आङ तानेर टार्छ
अपरिचित विरोधी पर्खिई “मेख” मार्छ
विचलित पशुजस्तै डुल्दछन् कामभोगी
हर पथिक “सुसारे” ठान्दछन् दीर्घरोगी ।।

त्रिभुवन सब आफ्नै खर्क ठान्छन् घमण्डी
“जप-नमन” नपाए बन्दछन् “उग्र चण्डी”
यदि कनक-हिराले व्यक्ति पुग्थ्यो त माथि
किन गरिब सुदामा कृष्णका पूज्य साथी ?

अति अवसरवादी अल्पिँदै खोज्छ दाउ
कमसल पल ताकी घाउमै थप्छ घाउ
सय हुल पछि लाग्लान् शक्ति-सम्पन्नतामा
तर अवनति देखे लुक्दछन् ती दुलामा ।।

ठग अनि अतिवादी वञ्चना मार्ग रोज्छ
हितकर जनवादी राष्ट्रमै स्वर्ग खोज्छ
त्यजित र विरहीले जन्म ठान्छन् “विषादि”
समयसित रमाई बाँच्दछन् कर्मवादी ।।

– नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *