कथा : सपनाको भ्रुण हत्या

~सिमाना आत्रेय~simana-atreya

सानोमा सबै सानै हुन्छन् । हो, ऊ पनि सानो बच्चा थियो गोठालो जाँदा । उसको काकाले उसलाई काँधमा बोक्नुहुन्थ्यो । उहाँको दुवै हातमा लौरा हुन्थे वस्तुभाउ धपाउन र ठेगान लगाउन । ऊ मज्जैले काँधमा बस्थ्यो । कहिलेकाँही पिङ खेलेको या कोक्रोमा हल्लेर बसेको याद आउँदो हो बेस्सरी मच्चिन्थ्यो काँधमै ।

झण्डै उछिट्टेर मरेन काकाले समात्न भ्याउनु भयो र मात्रै । पख् तँलाई अब बस्लास् नि काँधमा । दुई खुट्टा केलाई बनाइदेका भगवान्ले । खुरुक्क हिडँ । काकाले ठुल्ठुला आँखा पारेर हप्काएपछि ऊ पिल्पिलाउँदो अनुहार पारेर खाली खुट्टै हिँड्थ्यो । बगरैबगर खाली खुट्टा हिँड्नुपर्दा ऊ अइ्या आत्थु भनिराख्थ्यो । काका बाध्य भएर झपार्दै अब यस्तो नगरेस् है कान्छा । मेरो प्यारे भतिज भनेपछि टाउको मज्जैले हल्लाइदिन्थ्यो हुन्छ भनेर । अनि काका सन्तुष्ट भएर कहिले काखमा, कहिले काँधमा त कहिले बुई बोक्थ्ये ।

दिनहरु बित्दै गए आँफ्नै रफ्तारमा । ऊ गोठालो जाँदा काकाले, दाइले बजाएको बाँसुरीको धुन, मुरलीको धुन र बनपाखामा पातलाई सिठ्ठी जस्तो बनाएर मुखले बजाइने धुन उसका लागि प्रिय बने । भनौँ ऊ त्यही धुनमा आफ्नो प्राण देख्न थाल्यो । काका पनि उसलाई थरीथरीका धुन निकाल्न सिकाउँथे । ऊ सिक्थ्यो बडो मेहनत र लगनसाथ ।

ऊ ६ वर्ष नपुग्दै बाँसुरी, मादल, मुरली , खैजडी, पियानो, हार्मोनियम बजाउन र भजनका गीतहरु गाउनमा पोख्त भइसकेको थियो । पण्डितको नाती बहुत चलाख छ भन्थे सबैले मन्दिरमा भजन गाएदेखी । सबै सिकाउने उसका काका र हजुरबुबा थिए । हजुरबुबा गाउँका ठूला पण्डित । उसको बुबा लाउरे । नपुग्दो के थियो र । ऊ जे फर्माइस गर्थ्यो पुरा हुन्थ्यो । काका क्यापस पढेका । गाउँकै  हेडमाष्टर बन्ने सोच उनको । गाउँमा सम्पन्नशाली परिवार । त्यही परिवारको सदस्य ऊ ।

जब ऊ ६ वर्ष पूरा भो । उसलाई स्कुल भर्ना गरियो गाउँकै प्राथमिक विद्यालयमा । ऊ पढाइमा औसत थियो । जबजब कक्षा उक्लदैँ गयो तब ऊ पढाइको भारले थिचिदैँ गयो । ४ कक्षामा फेल भयो र कक्षा उकाल्नुपर्यो । उसले बल्लबल्ल प्राथमिक तह पुरा ग¥यो । जब उसको बुबा लाउरबाट फर्के । छोरालाई संगीतमा पोख्त देखेर खुशी भए । तर पढाइमा बल्लबल्ल पास फेल भएर ।

बुबाले उसलाई बोलाएर भन्नुभयो – तलाइँ पढ्न मन छैन । उसले छैनको संकेतमा टाउको हल्लायो । ल ठिक छ । १० कक्षा राम्रोसँग पास भएपछि मात्रै संगीत सिक्न पाइन्छ । नभए पाइदैँन के गर्छस् । उसको बालमनले यो मात्रै बुझ्यो कि धुन बजाउन १० कक्षा पास हुनैपर्छ । उसले निन्याउरो अनुहार पारेर हुन्छ भन्यो ।

ऊ विस्तारै पढाइमा पनि मन लगाउन थाल्यो । विद्यालयमा हुने साँस्कृतिक कार्यक्रममा उसको पुरस्कार सधैँ सुरक्षित । ऊ गाउँका हरेक साँस्कृतिक कार्यक्रमा प्रस्तुत भएर आफ्नो कला देखाउँथ्यो । उसको पढाइ पनि विस्तारै सुध्रिरहेथ्यो दिनप्रतिदिन ।उसको गायन र वाद्य कलाको गाउँमा खुबै चर्चा हुन्थ्यो । ऊबिना गाउँका कुनै पनि मन्दिरमा भजन बज्दैनथेँ । गीत, मादल घन्कदैनथे । एकचोटी ऊ ८ मा पढ्दै गर्दा जिल्लास्तरीय गायन प्रतियोगिता भयो र त्यसमा ऊ प्रथम भयो । वारी जमुना पारी जमुना गीत गाएर उसले सुनको जलप लगाएको ट्रफी भित्राएको थियो घरमा । गाउँको नाम र विद्यालयको नाम राखेको थियो उसले । कक्षामा प्रथम नभएपनि तेस्रोसम्ममा आउँथ्यो ऊ ।

दिनहरु बितिरहेकै थिए । त्यो सानो बच्चा अब बच्चा रहेन । किशोरअवस्थामा देखिन्थ्यो । जुँगाका रेखी राम्ररी नबसेको, धोक्रो हुदैँ गएको उसको स्वर, गम्भीरपना अनि केटीप्रतिको छड्के नजर नै काफी थिए । ऊ बच्चा रहेन भन्ने बताउनलाई । स्वभाविक हो मान्छे सधैँ बच्चा कहाँ रहन्छ र । उसलाई मनपराउने केटीहरु पनि थिए होलान् र उसले मनपराउने पनि । को थियो होला कुनै साथीले सुइँको मात्रै पाएको भए त्यसको हल्ला भुसमा आगो सल्के जसरी फैलने थियो । धन्न यस्तो सुन्नमा आएन ।

 अब ऊ १० कक्षामा पढ्ने भइसक्यो । काका उसको लागि पुस्तक लिन शहर गएका छन् । शहर कस्तो हुन्छ उसले देखेको छैन । सुनेको छ उसले झिलिमिली हुन्छ शहर । ए शहर त हाम्रो गाउँमा तिहार लागेको बेला जस्तो हुन्छ त्यस्तै होला सधैँ । आहा तिहार कति रमाइलो । जताततै सयपत्री, मखमली, लालुपाते अनि तिनैका वास्ना हररर । साँझमा सबैको घरमा पालामा बत्तीहरु चम्किरहने । देउँसी र भैलोले गाउँ कति रमाइलो । ऊ शहर यस्तै त होला भनेर चित्त बुझाउँछ ।

बाबु छोरा तँ ठूलो भइस् । अब नाचगान, भजनकीर्तन गाउने हैन पढाइमा मन लगाएर पढ । अब यही साल मात्रै हो । अनि एस. एल. सी दिएपछि शहर पठाउँछम् संगीत सिक्न । अब एकसाल पढ मात्रै । नत्र तेरो नतिजा राम्रो आएन भने संगीत विद्यालयले भर्ना लिदैँनन् । जोरीपारीले के भन्छन् पढाइ राम्रो भएन भने गाउन मात्रै जानेर हुन्न । कुलको इज्जत राखेस् छोरा ।

काकाले शहरबाट पुस्तक ल्याइदिए । उसले मन लगाएर पढ्यो । गाउँमा गीत घन्कदा उसको मन पनि घन्केकै हो तर ऊ यही साल मात्रै त हो नि भनेर पढाइमा दत्तचित्त भएर लाग्यो । उसको पढाइमा भएको उन्नतीले गुरुहरु खुशी थिए । सबभन्दा बढी उसको बुबा खुशी हुनुहुन्थ्यो । उसलाई पढाइमा मन नभए पनि संगीत सिक्न पाउने आशले उत्साह दिन्थ्यो पढ्नमा । उसले बडो मेहनतका साथ पढेर एस.एल.सी पनि दियो ।

आज एस.एल.सी को नतिजा आउने दिन । काका सबेरै उठेर शहर गइसके गोरखापत्र किन्न । ऊ एस.एल.सीमा के भइएला भन्दा पनि अब शहर गएर संगीत सिक्न पाइन्छ भन्ने कुराले निकै खुशी छ । ए प्यारे भतिज यता आइज त । काकाले उसको रिजल्ट हेर्दै भने ल तलाइँ बधाई छ । डिष्टिङ्सन ल्याएछस् । उसका बुबा धेरै खुशी देखिए । उसको पण्डित हजुरबा त स्याबास भनेर सुनाउन हिडिहाले गाउँमा खवर ।

बुबा म अब शहर गएर संगीत सिक्न पाउँछु है । उसले बुबालाई सोध्यो । उसको बुबा झसङ्ग भए । यति राम्रो पढेको छोरालाई कहाँ संगीत सिकाउनु जोरीपरीले के भन्छन् । तर उनले सम्हालिएर भने पाउँछस् पाउँछस् किन चिन्ता लिन्छस् । त्यसपछि ऊ विश्वस्त भयो र संगीत सिक्न पाउने खुशी बाँड्न साथीहरुको घरतिर लाग्यो ।

हेडमाष्टरले खुशीको खबर लिएर आए ऊ त जिल्ला टप भएछ भनेर ।  काका र बुबाले ठूलो भोज खुवाउने भए गाउँलेलाई भोलिपल्टै । बेलुका काका, बुबा, हेडमाष्टर र हजुरबुबा गफ गरिरहेको बेला उसले कसैले चाल नपाउने गरी ढोकामा उभिएर गफ सुनिरह्यो । किनकी गफ उसकै बारेमा भइराखेको थियो । बुबाले भने के गर्ने सर छोरो संगीत कि संगीत भन्छ । के पढाउने होला अब त्यसलाई शहर पठाएर । हेडमाष्टरले भने कहाँ संगीत पढाउने हो । यस्तो होनहार छ पढाइमा त्यसलाई डाक्टर बनाउनुपर्छ । गाउँमा डक्टर छैनन् सबै शहरबाट ल्याउनुपर्छ । डाक्टर पढ्ने तेजबी दिमाग छ । बरु फकाएर हुन्छ कि के गरेर हुन्छ संगीत त पढाउने हैन । बरु कि डाक्टर कि इन्जिनियर बनोस् ऊ । पाइलट बन्ने भन्यो भनेपनि नाँइ नभन्नु । तर संगीत पढाउनुहुन्न ।

बुबाले हुन्न मेरो छोरो संगीत नै पढ्छ भन्छन् कि भनेर सुनिराख्यो । उसको हजुरबा कुर्ले ।  म मर्नुभन्दा अगाडी मलाई नाती डक्टर भाको हेर्न मन छ । काकाले पनि डक्टर पढाउने कुरालाई जोड दिए । उसको बुबाले भने ठिक छ म त्यसलाई जसरी नि डक्टर नै पढाउने भए । आजसम्म सबैकुरा त्यसले भनेको पु¥याए । यो कुरा चाहिँ त्यसले मान्नैपर्छ ।

खै अरु के-के कुरा भयो उसले सुन्न चाहेन । उसलाई नराम्ररी चोट लाग्यो । ऊ रन्थनिदैँ उसको ओछ्यानमा पुग्यो । अब उसले संगीत सिक्न नपाउने भयो । जुन कुराको आशले पढाइ राम्रो गर्यो त्यही नपाउने भयो । बुबालाई गएर भन्न चाहन्थ्यो ऊ म संगीत पढ्छु । गायक बन्छु । म डाक्टर मरीकाट्टे बन्दिन ।

बिहान भयो । सबैजना खुशी छन् । गाउँलेहरु आएर कोही घरनजिकैको बारी सफा गर्ने, चुलो बनाउने, कोही तरकारी काट्ने, कोही दाउरा चिर्ने, कोही तातोपानी तताएर छिट्टै नै खसी मार हान्ने दाउमा छन् । एउटा मात्रै कहाँ हो र चारचारओटा खसी । गाउँभरिका मान्छे, वल्लोपल्लो सबै गाउँका मान्छेलाई खवर गरिएको छ । ऊ जिल्ला टप भएको खुशीयालीमा सबै गाउँ नै खुशी छ । सबैलाई काममा भ्याइनभ्याई छ । उसको कसैले ख्याल गरेकै छैन ।

जिल्ला शिक्षा अधिकारी आए एकाविहानै । उनले बधाई दिए । उनैले उसको बारेमा सोधेँ । जाऊ त कोठामै सुतिराखेको होला बोलाएर लिएर आऊ । उसको पुड्कु भन्ने साथी कोठामा गयो र खवर लिएर पुग्यो आत्तिएर उसले येति मात्रै भन्यो ऊ…………………. ऊ………………….ऊ……………………. । योभन्दा बेसी उ बोल्नै सकेन । आँखाबाट आँसु झारिराख्यो । त्यहाँ जिशिअ लगाएत उनलाई घेरेका मान्छेहरु हुर्रिदै पुगे उसको कोठामा । ऊ झुण्डिराखेको रैछ आमाको धोतीको पासो लगाएर । छामछुम गरे उसको धड्कन बन्द भइसकेको थियो । एकैछिनमा घर किरिया घरमा परिणत भयो । शोकका धुनहरु गुन्जिराखे उनका सम्झनामा ।

(स्रोत : सगरमाथाडेली डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.