पुस्तक समीक्षा : निर्मोहीको मोहनीमय कलम !

~इन्द्रकुमार श्रेष्ठ~

निर्मोही व्यास (खास नाम वेदव्यास न्यौपाने, जन्म : २००४ भदौ ९, कलैया, भवानीपुर,बारा), नेपाली साहित्यका एक विशिष्ट एवं बहुमुखी प्रतिभा हुन् । उनका काव्य, कवितासंग्रह, कथासंग्रह र उपन्यास प्रकाशित छन् । यीभन्दा पनि बढी संख्यामा चाहिं उनका यात्रा संस्मरणात्मक तथा स्मृति निबन्ध संग्रहहरू (आधा दर्जनभन्दा बढी) प्रकाशित छन् । (विद्यावारिधि पनि उहाँले, यात्रा साहित्य वा नियात्रा साहित्यमै गर्नुभएको हो ।) तीमध्ये यहाँ, उहाँको सम्भवामि युगे युगे नामको स्मृति–निबन्ध संग्रह को चर्चा गरेर पाठकहरूलाई जानकारी एवं मनोरञ्जन दिलाउने प्रयास गरिन्छ :

प्रतीक प्रकाशनबाट २०५३ सालमा प्रकाशित यस संग्रहमा, जम्मा बीसवटा त्यस्ता निबन्धहरू छन् । पहिलो निबन्ध (पहिलो जागिरको पहिलो तलब)–मा निर्मोहीले, २०२९ साल साउनमा बारा जिल्लाको उमजन नामको थारुबस्तीमा रहेको जनता हाइस्कूलमा पहिला सात महिना स्वयंसेवकको रूपमा काम गरेपछि ,बल्ल मासिक रु. १३० तलब पाउने गरी नियुक्ति लिएर पढाउँदाको मीठो र अनौठो अनुभव पस्केका छन् । नियुक्ति लिएपछि पहिलो महिनाको तलब माग्दा, अब दशैं आउन लागेकोले दुई महिनाकै एकैचोटि दिने भनिएपछि थुम्थुमिएर बसेका उनी, जमरे औंसीको अघिल्लो दिन भोलिपल्टको खुसी सम्झेर राम्ररी निदाउँदा पनि निदाउँदैनन् । पढाइमा रहनुपरेकोले अघिल्ला तीनवटा दशैं बुच्चै रहेका निर्मोही, “भोलि त पहिलो तलब लिएर घर जाने, आहा…भोलि यस बेला !!!” भन्ने सोचिरहेका हुन्छन् । भोलिपल्ट मुगलनियाँ हेडमास्टर यदुवंशी कृष्ण रायसँग पैसा माग्दा, नेपालीसेपालीजस्तो हलुका विषय पढाउँन जसले पनि सक्ने भएकोले उनलाई मास्टरी दिन अरूले नमान्दा नमान्दै पनि उनकै बलले नियुक्ति दिइएको तथा स्कूल अहिले ज्यादै गरिब भएकोले पैसा दिन नसकिने कुरा बताउँछन् । अझै, भर्खरै स्थापित स्कूलको हितका लागि सोच्नुपर्ने कुरा पनि भनेर आदर्शताको पाठ छाँट्न पनि बाँकी राख्दैनन् । उनले तलबका लागि हेडसरलाई निवेदन गर्दै गर्दा संयोगले बाह्रपन्ध्रजना विद्यार्थीका अभिभावकहरू पुस महिनादेखिको फि तिर्न पनि आइदिएकाले केही विद्यार्थीहरूको फि उठाउने मौका पनि निर्मोहीले पाउँछन्, र, अब त पक्कै पनि तलब पाइने भइयो भनेर मख्ख पनि पर्छन् । पैसा पनि चानचुन एघार सय उठेको हुन्छ । तर त्यति पैसा उठेर अरू छठ मान्ने थारु मास्टरहरूले आफूहरूलाई अहिले नचाहिने भन्दाभन्दै पनि हेडसरले, ‘माघ महीने मे मेरी शादी हाने वाली है, इसीलिए यह सभी मै लूंगा ,भनेर सबै पैसा कुर्ताको मास्लो गोजीमा हाल्छन् । अनि बिचरा निर्मोही, विद्यालय सञ्चालक समितिका सचिव ठोकरबाजीलाई गुहार्न जान्छन् । तर उनी प्रसिद्ध नर्तक भएकाले, नाचमण्डलीको नाइक्याइँ गर्न टाढाको कुनै गाउँमा गएको सुनेपछि , अध्यक्ष देवनारायण थारुलाई भेट्न जान्छन् । उनीचैं माछा मार्न खोलातिर गएकाले उतै गएर भेटे पनि कुनै आसलाग्दो कुरो हुँदैन । फेरि कोषाध्यक्ष काशीनाथ चौधरीेकहाँ गएर बिन्ती गर्छन् । बल्लतल्ल उनले भकारीबाट एक मन धान झिकी चलनचल्तीको बीसरुपियाँ मनका दरले एकजना अहिर बूढालाई बेचेर, उनीसँग पनि त्यतिखेर नगद नभएकोले दुई सेर घिउ लिई, त्यसलाई एउटा घंैटोमा हालेर उझिन्डोसमेतको व्यवस्था गरी निर्मोहीलाई बिदा गरिन्छ ।

दोस्रो निबन्ध देसू लालाको मसीमा, २०२६ सालमा निःशुल्क भोजनसहितको उच्च शिक्षा हासिल गर्ने सिलसिलामा हरिद्वारमा रहँदा त्यहाँका एकजना दयालु र मायालु देसू लाला भन्ने सामान्य किराना पसलेले निर्मोहको न्यून आर्थिक स्थिति रहेको थाहा पाएर त्यहाँ पढुन्जेल (२०२६ देखि २०२८)–सम्म सित्तैंमा मसी भरिदिएको मार्मिक प्रसङ्ग छ ।

तेस्रो निबन्ध मनको धोको मनैमा रह्योमा, २०३३ साल पुसमा कलैयाबाट एउटा साहित्यिक पत्रिका निकाल्ने रहरले गाँजिएर सूचना विभाग, काठमाडौंमा सोको दर्ता गराउनका लागि जाँदा, त्यसबारे प्रक्रिया अगाडि बढाउन सम्बन्धित कार्यालयमै सम्पर्क राख्न अमूल्य सुझाव पाई, गएको काम नभएपछि साहित्यिक व्यक्तित्वहरूलाई भेट्ने रहरले तानिएर निर्मोही, सिद्धिचरण र माधव घिमिरेलाई भेट्न सफल हुन्छन् । त्यसपछि उनलाई घुम्ने मेचमाथि अन्धो मान्छेजस्तो मनमोहक कविताका सर्जक भूपी शेरचनलाई पनि, जसरी भए पनि भेट्ने रहर जाग्छ । त्यस क्रममा उनी सोध्दै खोज्दै विभिन्न व्यक्तिका घर पुग्छन् । शेरचनको घर भन्नबित्तिकै भूपीकै होला भनेर गए पनि, त्यस घरबाट नमिठो प्रतिक्रिया पाउँछन् । बाटोको एउटा जँड्याहाले छातीमा मुड्की हान्दै, ‘भूपी शेरचन भन्या मै हुँ’ भन्दा उनी श्रद्धाविह्वल भएर नमस्कार गर्छन् । तर त्यहाँ रहेका केटाकेटीहरूमध्ये एकजनाले बलजफ्ती हाँसोलाई रोकेर उनलाई, उक्त व्यक्ति त्यो टोलको जँड्याहा भएको कुरा बताइदिन्छन् । बल्लतल्ल भूपीको घर पुग्दा उनकी छोरीले, काँधमा भिरिएको फ्याँङ्लो झोलासहितको पातलो दारको केटो देखेपछि हुलाकी ठानेर बुवाको चिठी ल्याएको ठान्छिन् । तर कवि भूपी भने घरमा हुँदैनन् । अनि अर्को अर्को गरी तीतीनपटक काठमाडौं गएको बेलामा पनि संयोगवश प्रिय कवि भूपीलाई नभेटेपछि ,निर्मोहीको मनको धोको मनमै रहन्छ । बरु, आफूले मन पराएका कवि लेखकहरूसँग साक्षात्कार गर्ने क्रममा कति फटाहाहरूले आफूलाई नै उक्त कवि÷लेखक भएको भनेर घोषणा गरिदिएपछि तिनीहरूसँग बेफ्वाँकमा परिचय गरेको कुरा सम्झँदा, निर्मोहीलाई अहिले पछुतो पनि लागेको छ ।

चौथो निबन्ध तर्पणका अँजुलीमा, २०३७ साल माघ २ गते राती कलैयाबजारको एउटा प्लास्टिकका जुत्ता–चप्पलको काठे पसलभित्रबाट आगो उठेर पूरै बजार नै भष्म भएको घटनाको बयान छ । त्यो भीषण आगलागीको कारक रहेको त्यस पसलमा, एसएलसीको तयारी गरिरहेका एकजना प्रहरी जवानले, परीक्षा अवधिभरि बजारिया कोलाहलबाट अलि टाढा एकान्त ठाउँमा रहेर अध्ययन गर्नका लागि आफन्तको त्यो पसलमा डेरा लिएका रहेछन् । पसल जिम्मा लगाएर घर जाने बेलामा, भित्रबाट राम्ररी चुकुल लाउनू भनेर अराएपछि ,आफू राती बाहिर निस्कन नपर्ने भएकाले बाहिरबाटै ताल्चा मारिदिएर जान पसलेलाई अनुरोध गरेर, बिजुली नआउन्जेलसम्म मैनबत्तीको उज्यालोमा पढ्दापढ्दै निदाएपछि सोही मैनबत्ती सकिँदै गएर जुत्ता–चप्पलसमेत सल्किंदै जाँदा ती परीक्षार्थी विद्यार्थीको पनि कोठाभित्रै कहालीलाग्दो गरी मृत्यु भएको हुन्छ । अन्य मानवीय क्षति नभए पनि, बन्द कोठाभित्र पिल्सिएर मृत्युवरण गर्न पुगेका ती युवक, आफैंले छवर्षअघि चिउँटाहा हाइस्कूलमा कक्षा ६ मा पढाएका पीपरपाती गाउँ बस्ने मुसलमान युवक मकसुद आलम अन्सारी रहेछन् भन्ने कुरा, पछि निर्मोहीले थाहा पाउँछन् । उल्लिखित संस्मरणात्मक शब्द, उनै युवकप्रतिको श्रद्धान्जलि हो ।

सपनाको संसारमा पाँचौं निबन्ध हो । यस निबन्धमा निर्मोहीले, आफू बीस वर्षजतिको उमेरमा स्नातक भएपछि विवाहको प्रसङ्ग उठेको र घरको आर्थिक स्थिति बलियो नभएकाले तत्काल बिहे नगरी पहिला पैसा कमाउने सल्लाह भएपछि , पहिलोपटक अन्नपसलेको रूपमा व्यवसाय चलाउँदा घाटा लागेर खुद्रा पसल चलाएको कुरा बयान गरिएको छ । खुद्रा पसल चलाउँदा, देश–विदेश घुमेको जेठो छोरो निर्मोहीलाई नै प्रमुख बनाइन्छ । तर उनलाई भने हिसाबकिताब केही पनि आउँदैन, न त सामानको भाउ नै । ग्राहकले बताएकै अमूल्य मूल्यज्ञानका सहयोगले सामान बेच्दा केही गरी ठग्यो भने उसैलाई पाप लाग्छ भन्ठान्ने निर्मोहीलाई, दुनियाँले ठगेर र उधारो लगिदिएर पसलै सुकाइदिने छाँट ल्याउँछन् । यता सानैदेखि गुलियो पापा खाने बानी परेका निर्मोही भने राती एक्लै हुँदा, आफ्नै पसलमा त्यत्तिका मिस्री,चकलेट, छोहरा इत्यादिका गुलिया पापाहरू भएपछि मन थाम्नै सक्दैनन् । अनि राती कविता रचना गर्दै, भएभरका पापाका भाँडाहरू रित्याउँदै जान्छन् । आखिर पसल डुब्छ । अनि त उनी हिंडेका हुन् थारु बस्तीतिर मास्टरी खान !

छैटौं निबन्ध सम्झना : श्रद्धान्जलि मा, युगकवि सिद्धिचरणलाई भेट्न जाँदा कविसाथी ऋषिराम न्यौपानेको प्रियतम काव्यसमेत थमाएपछि ,न्यौपानेबारे सोधखोज गर्दै युगकविले भोलि उहाँलाई पनि लिएर यतै भान्सा गर्ने गरी पाल्नुहोला भनी निमन्त्रणा गरेको, खुसीले भुइँमा न भाँडामा हुँदै न्यौपानेलाई सुनाउन हतारिएको, तर भोलिपल्ट युगकविकोमा जाँदा साहित्यिक गफमा भुलिएर, भूमिसुधार कार्यालय भक्तपुरका प्रमुख न्यौपानेलाई अफिस जान ढिला भएकोले बिदा हुन खोज्दा, युगकविले भान्सा नगराई सजिलै बिदा दिएको कुरा छ । भोकै हुनुपरेकोमा न्यौपाने, निर्मोहीलाई, उल्याएको भनेर गाली गर्छन् । निर्मोही नभनी धरै पाउँदैनन् ,“बूढा मान्छे ,उहाँले हामीलाई खान बोलाएको कुुरा परिवारलाई भन्नुअघि नै आफैं बिर्सनुभयो होला, के गर्ने त !” अर्कोपटक २०४२ साल पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा हेटौंडा सवारी भएका राजा र राजपरिवारका सदस्यलाई कविता सुनाउन निर्मोहीले फेरि सिद्धिचरणलाई भेट्छन् । कविटोलीलाई सैनिक अधिकृतले कज्याएर लाम लगाएर बिस्तारी हिंडाउँदै बीचबीचमा हाजिर पनि लिंदै गर्दा, धेरैबेर उभिन नसकेर ७३ वर्षीय युगकवि थचक्कै बसेका हुन्छन् ।

सातौं निबन्ध स्मृति–गङ्गामामा, हरिद्वारमा रहँदा त्यहाँको गंगा नहरमा एकजना नेपाली विद्यार्थी पौडी खेल्दा डुबेर मरेको कारुणिक घटना र हरकी पौडीमा सबै उमेर समुहका महिलाहरूले नाङ्गै नुहाउने गरेको अनौठो बयान छ ।

दुई यात्रा : दुई अनुभूति शीर्षकको आठौं निबन्धमा, बीरगञ्ज–कलैया बसयात्राको क्रममा एकदिन निर्मोहीले उभिरहेकी दुब्ली र रोगी–निन्याउरी देहाती महिलालाई आफू उठेर सिट दिएको, अलि पर पुगेपछि खाली भएको अर्को सिट तिनै महिलाका श्रीमान्ले रोकेर निर्मोहीलाई बसाउन खोजेको, तर, अर्को कुनै दिन पनि उसै गरी बसमा उभिएकी एउटी सभ्य, शिक्षित र धनीमानी लाग्ने महिलालाई सिट दिंदा नाइँनुइँ केही नगरी खुसी भएर बसेकी, अनि, अलि पर खाली भएको २ वटा सिटमा हतारहतार ती युवतीले आफ्ना श्रीमान् र भाइलाई बसाएकी–परस्परमा विपरीत कुराको चर्चा छ । ती दुई घटनाबाट निर्मोहीलाई, शिक्षा, सुन्दरता, सभ्यता र मानवताको पाठशाला कहाँ होला ? भन्ने कुराले सताइरहन्छ ।

नवौं निबन्ध, पारिजात : अँजुलीभरि भरिमा, २०३३ साल पुसमा कवि भूपीलाई भेट्न खोज्दा हैरान भएर असफल भएकै भोलिपर्सिपल्ट सायद, पारिजातलाई भने सजिलै भेटेको, उहाँको हस्ताक्षर पाएको र पछि २०४८ साल कात्तिक २ गते (दशैंको टीकाको भोलिपल्ट) पारिजात कलैयामा आएको, टीका लाइमाग्न खोज्दा उनलाई त्यो परम्परा मन नपर्ने भन्दै, टीका नलाइदिएको प्रसङ्ग छ ।

दशौं निबन्ध जे भयो राम्रै भयोमा, त्यही तलब नपाएको (यसै संग्रहको पहिलो निबन्ध) थरोट स्कूलमा भएका पढाइलेखाइसँग सम्बन्धित कुराहरू छन् । त्यहाँ, गणेशचौथीका दिन शिक्षक विद्यार्थी भएर चकचन्ना (द्यौसीजस्तो) खेलिने, प्रत्येक शनिवार विद्यार्थीद्वारा शनिश्चरा पुजिने, खोलामा बाँध फुटे वा बाढी आएमा माछा–गँगटा मार्न बिदा दिइने, स्कूल आउँदै नआएका विद्यार्थीहरूलाई पनि पास गराउनुपर्ने ‘सनातन परम्पराहरू’ हुन्छन् ।

एघारौं निबन्धमा जननेता मदन भण्डारीसँग कलैयामै भेट भएको प्रसङ्ग छ । त्यहाँ, भण्डारीसँगै मोदनाथ प्रश्रित दम्पती पनि आएका हुन्छन् । निर्मोहीको रचना पढ्ने गरेका भण्डारी, निर्मोहीभन्दा दुई महिना मात्र जेठा भएको कुरो पनि खुल्छ ।

बाह्रौं निबन्ध पुस्तक चोरीमा, हरिद्वारमा बस्दा ऋषिकुल विद्यापीठको शैक्षिक, प्रशासनिक क्रियाकलाप ठप्प भएपछि त्यहाँको समृद्ध पुस्तकालयबाट पुस्तक चोरी हुने गरेको कुरा वर्णित छ । साथीहरूको लहैलहैमा लोभिएर एकदिन साँझपखको बेला निर्मोही पनि झ्याङझुङ र काँडाघारीसित संघर्ष गर्दै पुस्तकालय भवन पुग्छन् । अभ्यस्त साथीहरू, खै कताबाट कता पस्छन् थाहै हुँदैन । निर्मोही पनि यसो अन्दाज लगाएर, एउटा हलमा पस्छन् । त्यहाँ त विद्यार्थीहरूलाई चिरफारको प्रयोगात्मक ज्ञानका लागि अस्पतालबाट ल्याएर राखिएका बेवारिसे मुर्दाहरू पो हुन्छन् ! अनि आङ जुरुङ्ग भएर सर्वाङ्गका रौं ठाडा पार्दै, कालोनीलो मुख लाएर थर्थराउँदै, पसिनाले निथ्रुक्ंिकदै र अत्तालिएर चिच्याउँदै बिजुलीवेगले झ्यालबाट हाम्फालेर काँडैकाँडाको झ्याङस्याङ केही नभनी कुदेको कुद्यै एकैसासमा छात्राववासमा आइपुग्छन् ।

तेह्रौं निबन्ध, कमल फूल भमराले छायो (शीर्षक अलि नमिलेको हो कि !), खोजपूर्ण छ । आफूले अढाइ वर्षमै पढेको सचित्र नेपाली ठूलो वर्णमालाका लेखक नीलहरि शर्मा ढकाल र पछि दराजमा भेटेको छोरीलाई अर्ती भन्ने पुस्तकका लेखक पनि उनै रहेको पाएपछि ,निर्मोहीलाई ढकालबारे चासो जाग्छ । संयोगले ढकालज्यूकी भतिजी मनोहारादेवी नेपाल छिमेकमै रहेकोले उनीसँग जिज्ञासा राख्छन् । पछि २०४० साल कात्तिकमा बीरगञ्जमा, वयोवृद्ध नीलहरि शर्मासँग भेट भएर धन्य हुन्छन् । त्यही माघमा ढकाल (जन्म ः१९५९ साल)–को मृत्यु हुन्छ । उनका प्रकाशित पुस्तकहरू जम्मा २१ वटा रहेछन् । २०५० सालमा निर्मोही, ढकालको जन्मथलो सिन्धुलीको डाढी गाउँमा बुर्कुसी मारेर पुग्छन् । त्यहाँका केही वृद्ध व्यक्तिहरूबाट, स्व. नीलहरिका रचनाहरू मुखाग्र सुन्न पाई त्यसलाई नोट गर्न पनि निर्मोही भ्याउँछन् ।

चौधौं निबन्ध मनैभरि फूल फुल्योमा, २०४८ साल असार ३० गते तनहुँ भानुतीर्थको यात्रा सकेर बारीफाँट गाउँ नाघेपछि आइपुगेकोको एउटा आँपे बगैंचानजिकैको छाप्रोमा भोकले रन्थनिएर पुग्दा, त्यहाँकी ७० वर्षे वृद्धा आमाले निर्मोहीलाई छोरासरह माया गरी, पहिला सुपारे आँप र पछि उनीसँग भएको जम्मा दुई कोसा मुंग्रे केरामध्ये एउटा कोसो केरा खुवाएको मार्मिक कुरो छ । किनेर खाएको भन्ठानेका निर्मोहीले पैसा लिन कति कर लाउँदा पनि, आमैले पैसा लिन्नन् ।

पन्ध्रौं निबन्धमा, बारा र रौतहट जिल्लाका पाँचवटा हाइस्कूलमा पालैपालो पढाउँदा ताकका केही तीतामीठा अनुभवका कुराहरू र सोह्रौं निबन्धमा बिराटनगरनिवासी बालकृष्ण पोखरेललाई अर्का साहित्यिक मित्र रमेश गोर्खालीसमेत भएर भेटेको रमाइलो प्रसङ्ग छ ।

सत्रौं निबन्ध कहिले आउला हँ त्यो दिन ? मा, कलैया भवानीपुरस्स्थित सिद्धेश्वर संस्कृत विद्यालयका प्राचार्य पं. श्री वेदानन्द झाको जिम्मा लाइएर १६ वर्षको उमेर र फुकिढले ज्यान लिएर, हरिद्वारमा पुगी त्यहाँ अनेक सास्ती खेपेर अढाइ वर्ष बस्दा, त्यस ठाउँबाट आफूले ठूलो उपलब्धि हासिल गर्न सकेको (आफ्नो नाम वेदव्यास न्यौपानेबाट निर्मोही व्यास बनाएको, राष्ट्रभक्तिको भावना बढेको, पहिलोपटक साहित्यिक रचना छपाएको) कुराको चित्रण छ ।

अठारौं निबन्ध अर्पण हजुर्मा ग¥याँ खोजपूर्ण छ । यसमा निर्मोहीले एक दिन आफ्नो घरमा मोतीरामको प्रह्लाद भक्तिकथा पाएपछि ,त्यसको समर्पण पृष्ठमा भएको…श्रीमान् महाराज मोहन विक्रम साहदेव समर विजयी चरण कमलेसु.. भन्ने पदावलीले उनलाई बढी तान्छ । उल्लिखित मोहन विक्रम शाह भारतको विहार चम्पारणको रामनगरका हुन्छन् । किन मोतीरामले उक्त पुस्तक उनलाई समपर्मण गरेछन् त भनी त्यसको रहस्य पहिल्याउने इच्छा उनमा पलाउँछ । अझ, निर्मोहीसँग भएको सुब्बा ऋद्धिबहादुर मल्ललिखित उपन्यास शर्मिष्ठामा पनि उनै मोहन विक्रमलाई समर्पण गरिएको पढ्न पाएपछि त झनै उनलाई खुल्दुली जाग्छ । त्यही खुल्दुलीबाट तानिएर २०४५ सालमा स्व. गोपालसिंह नेपालीबारे सोधखोज गर्न मित्र राजवसँग बेतिया गएका बेला, दुवैजना चम्पारण पनि पुग्छन् । त्यहाँ रामराजा मोहनविक्रम शाहका नाति मधुकरविक्रम शाहसँग भेट भएपछि , ती दुवै पुस्तक पल्टाई देखाइदिएर, आफूहरू आउनुको कारण बताउँछन् । तर मधुकरले, ती मोहनविक्रम अघिपछिका दुईजना भएको कुरा बताइदिएपछि ,आफ्नो जिज्ञासा शान्त पार्न, त्यस दरबारमा रहेका पुराना कागजपत्र हेर्ने इच्छा व्यक्त गरे पनि, सो अनुमति नमिलेपछि दुवैजना खिस्रिक्क हुँदै फर्कन्छन् ।

उन्नाइसौं निबन्ध नितान्त व्यक्तिगत छ । २०३० सालमा, बीरगञ्जनजिकैको भारतीय बजार रक्सौल पुगेपछि एउटा राम्रो पसलमा आफूलाई चाहिएको लुंगी हेर्दा अति नै मन परेको तर त्यसको मोल भारु १५ भनिएपछि आफूसँग भारु १४ मात्र भएकोले, पसलेसँग १४ मै माग्छन् । पसले उनको कुरै सुन्दैन । भोलि पैसा लिएर आउन्जेल अरूलाई नदिनू भन्दा पनि हुँदैन । अनि नेपालीहरूको इमानदारी जाँचिहेर्न रु. १ उधारो दिनू भनी निकैबेर हत्ते गरेपछि पसलेले रु.१ बाँकी राखेरै उक्त लुंगी दिन्छ । भोलिपल्ट रु.१० गाडीभाडा तिरेर, पसलेलाई रु.१ पु¥याउँन जाँदा पसले छक्क पर्छ र पैसा नलिने भन्छ । उल्टो ऊ चिया पियाउन खोज्छ । तर निर्मोही, नेपालीको स्वाभिमान गिराउन चाहँदैनन् । व्याकरणिक अशुद्धि नै भए पनि रक्सौलमा नेपालीमा लेखिएको सूचना (कुनै किसिमको दिक्कतको लागि स्टेशन अधीक्षकसंग सम्पर्क गर्नूस्: यसको अर्थ, यात्रीलाई कुनै किसिमको दिक्दारी वा दुःख–कष्ट भोग्न मन लागेमा स्टेशन अधीक्षकसँग सम्पर्क गरे हुन्छ , भयो ।) पढ्न पाउँदा उनलाई निकै खुसी लाग्छ ।

पुस्तकको अन्तिम निबन्ध माहाटड, चल खाए…मा उही विना तलब काम गरेको बारा जिल्लाको उमजन गाउँस्थित विद्यालयमा पढाउँदा, त्यहाँ आफू बस्दा अनुभव गरेको सुताइ तथा खानपीनबारे बयान गरिएको छ । सुत्दा, पाहुनाहसँगको अडबाङ्गे सुताइ र तिनको बाघे घुराइ, खानपीनमा प्रायः छिप्पिएको घिरौंला र मोटो चामलको गोरुदाँते भात, कहिले तरकारी त्यै पनि नपाउँदा गँगटा र शंखेकीरा पकाइएको बेला नुनतेलसँग जसोतसो दुई गाँस टिपेर रात काट्नुपरेको, कहिले रजस्वला भएकी थरुनीले पकाएको र पहिलोपल्ट पस्केर दिएपछि फेरिचैं दिन नहुने भएकोले उनैका श्रीमान्द्वारा थपिएको भात खाएको—यस्तै यस्तै कुराहरू छन् ।

निर्मोहीको लेखाइले जो–कोहीलाई पनि मोहनी लगाउँछ । उनको लेखाइमा हास्य रसको जताततै प्रयोग छ । त्यसलाई उनले जबर्जस्ती र कृत्रिम रूपमा नगरी, अत्यन्त सहज र स्वाभाविक रूपमा गरेका छन् । यात्राका वर्णन हुन् या निजी भोगाइ हुन्–उनले पाठकलाई पनि आफूसँगै हिंडाउँछन् । झर्रा शब्दहरूले शैलीलाई चित्ताकर्षक त बनाएकै छन् ,त्यसमाथि सुहाउँदिला उखान टुक्का तथा सान्दर्भिक सूक्तिहरूले पाठकहरूको पठनस्वादलाई झनै चखिलो र रसिलो बनाउँछन् । पहिलोपटक, उनको यो एउटै पुस्तक मात्रै पढ्ने हो भने पनि पाठक उनको लेखाइबाट लोभिनुसम्म लोभिन्छ ।

उनको कलमबाट कुँदिएका यस्तैयस्तै लेखाइहरूले पाठकहरूसमक्ष आउने अवसरहरू पाइरहून् र, हामीचाहि निरन्तर पढिरहन पाऊँ । प्रणाम निर्मोहीको मोहनीमय कलमलाई !

– कमलाकुञ्ज, ओखलढुंगा ।

(स्रोत : सौर्य दैनिक)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *