बाल कथा : चाकु

~सुधा रिसाल शर्मा~

माघे संक्रान्ति आउन केही दिन मात्र बाँकी थियो । सख्खरको मगमग बास्नाले सुरी बिरालोको मन नै थामिएन । ऊ लुसुक्क बूढी बज्यैको भान्छा कोठामा पस्यो । वरिपरि हे¥यो । काँहाबाट यस्तरी मीठो बास्ना चलेको होला भन्दै खोज्न थाल्यो । त्यत्तिकैमा उसले एउटा ठूलो थालमा केही कुरा देख्यो । ऊ बिस्तारै थाल नजिक गयो । हात थालमा हाल्यो र खानेकुरा निकाल्न खोज्यो ।

खानेकुरा त हातमा आएन बरु सुरीको हात नै खानेकुरामा टाँसियो । एकै छिन अगाडि मात्र घरकी बू्ढी बज्यैले चाकु बनाउन सख्खर र पानी पकाएर बाक्लो पाग बनाएर थालमा खनाएकी थिइन् । त्यही बाक्लो पागमा सुरीको हात टाँसियो । ऊ कराउन पनि सकेन । करायो भने मानिसहरुले थाहा पाउछन् अनि लठ्ठीले हान्छन् भन्ने डरले ऊ थाल सहित त्यहाँबाट कुलेलाम ठोक्यो ।

सुरी बारीमा पुग्यो र लडीबुडी खेल्दै आफ्नो हात थालबाट झिक्ने कोशिश गर्न थाल्यो । पाग ज्यादै नै बाक्लो भएकाले उसले आफ्नो हात झिक्न नै सकेन । त्यसैले ऊ आफ्नो साथी पाटे काँहा गयो र भन्यो – “पाटे पाटे हेर न ! मेरो हात चाकुको थालमा नै टाँसियो नि !” सुरीको हात त्यसरी थालमा टाँसिएको देखेर पाटे हाँस्न थाल्यो । उसले हाँस्दै भन्यो – “खुब चोरेर चाकु खान गएको थियौ नि ! अब तिमी नै चोर हौ भनेर सबैले चिनिहाल्छन् नि !

यसरी पाटेले सुरीलाई जिस्क्याउन थाल्यो । ऊ सुरी नजिकै गएर हे¥यो । उसलाई पनि चाकुको लोभ लायो । अनि मनमनै भन्यो –“आ ! औलाले छोए मात्र त केही हुँदैन होला म औलाले अलि अलि चाकु निकाल्छु” यति भन्दै उसले आफ्नो औलाले चाकु निकाल्ने कोशिश ग¥यो । चाकु त आएन बरु उसको औला नै चाकुमा गाडियो ।

अब दुवै जना कराउन थाले । यसरी दुईटै बिरालो एकैपटक कराएको सुनेर मुसाहरु छक्क परे । अनि कुरा बुझन भनेर आ–आफ्नो दूलो बाहिर आए । एकै छिनपछि सबैकुरा बझिहाले अनि एकले अर्कालाई भन्न थाले – “देख्यौ त कहिल्यै पनि चोर्नुहुँदैन । अरुको खानेकुरा चोर्यो भने दुःख पाइन्छ । भनेको यही हो । यति भन्दै सबै मुसाहरु आ–आफ्नो दूलोभित्र छिरे ।

सुरी र पाटे भने रुँदै थालको चाकुबाट आफ्नो हात निकाल्ने कोशिश गर्न थाले ।

This entry was posted in बाल कथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *