कविता : लाल ख्वामित्

~निभा शाह~Nibha Shah

लाल ख्वामित महाराजकी
जय होस्, ख्वामित !

लाल ख्वामित !
तिमीलाई देवता बनाउन
थुप्रै लाल ‘सीता’हरू जले
तब न तिमी
लाल देवता भयौ ।

लाल ख्वामित !
तिमीलाई लाल मालिक बनाउन
थुप्रै ‘लाल दास’हरू मरे
तब न तिमी
लाल मालिक भयौ ।

त्यसैले त भनिरहेछौँ
लाल ख्वामित
तिमी लाल देवता हौ
तिम्रो लाल देवत्वमा
कोही मरेर सहिद भए
कोही जिउँदै सहिद भए ।

लाल ख्वामित !
तिम्रो लाल देवत्वमा
जो मरेर सहिद भए
ती तिम्रो
लालभित्तामा
‘कृष्ण सेन’ बनेर टाँसिएका छन् ।

लाल ख्वामित !
जो तिम्रो
लाल देवत्वमा
जिउँदै सहिद भए
ती तिम्रो
लाल दरबारको
लाल पेटीमा
अपांग बनेर घिसि्रएका छन् ।

हो, यस्तै छ
तिम्रो लाल देवत्वकरण ।

तिम्रो लाल देवत्वकरणमा
तोरी छर्ने नरु
तेल खाने अरू
ग्वालो बस्ने नरु
दूध खाने अरू ।

हो, यस्तै यस्तै थुप्रै
तिम्रो लाल देवत्वमा जन्मिएका
जुकाहरू चुसेका चुस्यै छन्
रगतहरू चुसेका चुस्यै छन् ।

यही चुस्ने र चुसाउने
तिम्रो ‘लाल फ्युजन’मा
तिमीले लगाएको
माओको मुखुन्डो
छिनछिनमा
च्यातिएको च्यातियै छ ।

र,
तिमी
लाल ‘लुई सोह्रौँ’ बन्दै छौ ।

लाल ख्वामित महाराजकी
जय होस् ख्वामित !
लाल ‘लुई सोह्रौँ’ महाराजकी
जय होस् ख्वामित ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ५१४)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.