संस्मरण : म रोएको त्यो दिन

~विवशकुमार सेजुवाल~bibash-kumar-sejuwal

बार र गते भुसूक्कै बिर्सिएको रहेंछु । आज त्यो दिनलाई सम्झिएर ल्याउँदा मलाई भावनाको पहिरोमा छोपिएको झै अनुभूति हून्छ । जब सेती–महाकालीमा साँस्कृतिक पल्टनहरुको ओइरो थियो त्यतिबेला ती साँस्कृतिक पल्टनहरुसँगै नाच्दै–गाउँदै महाकालीको दोधारा–चाँदनी र सेतीको रामारोशन, बिनायक, छःतारा जस्ता ठाँउहरुमा हामीले जनताहरुलाई नयाँ साँस्कृतिक जागरण पैदा गर्न खुट्टाका पैतला खियाउँदै कहिले देउडामा त कहिले छलियामा, कहिले होरीमा त कहिले पुत्लामा नाचिरहेका हुन्थ्यौ । पार्टीको रणनीति पनि बदलिदै थियो । सेती–महाकालीमा त्यतिबेला ३ कम्पनी साँस्कृतिक पल्टनहरु थिए । तीमध्ये विसु साँस्कृतिक कम्पनी कालीकोटतिर लागेको थियो । अपिसैपाल साँस्कृतिक कम्पनी बझा¨–बैतडीतिर लागेको थियो । हामी चुली कम्पनीका सम्पूर्ण साँस्कृतिककर्मीहरु तराइको भू–भागमा नयाँ साँस्कृतिक जागरण पैदा गराउन कैलाली, कञ्चनपुर, बर्दियाका भू–भागमा हिंडिरहेका थियौ ।

पार्टीको तत्कालीन केन्द्रीय कमिटीको बैठक रोल्पाको चुनुवाङ्मा सम्पन्न भएको थियो । त्यो बैठकको कार्यनीतिले देशदेखि विदेशसम्म चर्चा पाएको थियो । राजनैतिक रुपले हाम्रो पार्टीले सात राजनैतिक दलहरु सँग १२ बुँदे समझदारी गरेको थियो । फौजी रणनीतिको हिसाबले रणनैतिक सन्तुलन र प्रत्याक्रमणको पहिलो योजनाको सफलतापछि रणनैतिक प्रत्याक्रमणको दोश्रो योजना ढाडमा टेकेर टाउकोमा हान्ने ल्याएको थियो । सेती–महाकालीमा रहेका विभिन्न जनवर्गीय संगठनबाट सैन्य फर्मेशनमा प्रवेश गर्ने क्रम जारी थियो । हामी साँस्कृतिक कर्मीहरुमा पनि त्यो भाग परेको रहेछ । हामीलाई जानकारी भएको थिएन । पछि अखिल नेपाल जनसाँस्कृतिक महासंघको क्षेत्रीय संयोजक क.एम.बी सर्वहाराले पार्टीको निर्णयलाई सार्वजनिक गर्दै सैन्य फर्मेशनमा जाने कलाकारहरुको नाम घोषणा गर्नु भयो । त्यसमा थुप्रै विवादहरु प्नि उत्पन्न भए । हामी १९ जना कलाकारलाई सैन्य फर्मेशनमा लैजाने निश्चित भइसकेको थियो । त्यही समयमा पार्टी क्षेत्रीय सदस्य क.सरद्सिंह भण्डारीले हामीसँग बसेर छलफल गर्नु भयो र उत्पन्न भएका विवादहरुलाई समाधान गर्नु भयो अनि कलाकारहरुमा एउटा उत्साह छायो ।

हामी सम्पूर्ण सेनामा जाने साँस्कृतिककर्मीहरु गीता बोगटी (क.संगीता)को कमाण्डमा ०६२ मंसिरतिर सरुवाको पत्र लिएर सेती–महाकालीका साँस्कृतिक पल्टनवीच बिछोडिंदै थियौ । त्यतिबेला हामीलाई एउटा गिटार उपहार दिने चाजोमाजो मिल्दै थियो । साँस्कृतिक टोलीमै बस्ने साथीहरु हामीलाई बिदाइ गर्ने समयको पर्खाइमा हुनुहुन्थ्यो । समय पनि नजिंकिदै थियो । त्यो दिन खिमडीले पनि आफ्नो उज्यालो अनुहारमा हाम्रो विदाइको खबरले होला निराशाको वादल उनिरहेको जस्तो अनुभूति हुन्थ्यो । ठुलीगाडले पनि आफ्नो सुसाइलाई फेरे जस्तो लाग्थ्यो । कहिंकतै हामीलाई भलाकुसारी नगरी विदाइ गर्ने सुरमा त छैन ? मनभित्र उकुसमुकुस पलाइरहेको थियो । हाम्रो त्यो बिदाइपछिको यात्रा गण्डक क्षेत्रतिरको थियो । त्यसैले पनि हाम्रो दोस्रो भेट हुन्छ या हुँदैन भविष्यमै आधारित थियो ।

जब घडीको सुइले बिहानको ११ बजायो अनि हाम्रो विदाइको प्रक्रिया नजिकै आइसकेको थियो । म मनमनै सोच्दै थिएँ–हामी आजको दिनदेखि औपचारिक रुपमा साँस्कृतिक आन्दोलनको भुमिकाबाट टाढिंदै छौं । बन्दुकको छेउमै बसेर भए पनि दुश्मनको विरुद्धमा संगीतका धुनहरु बजाउन भने छोड्ने छैनौं, म यस्तै कल्पना गर्दै औपचारिक विदाइको कार्यक्रममा पुगें । विदाइ शुरु भयो । क.राकेशले आफ्नो बाँकी रहेके कलाकार साथीलाई साथमा लिएर एक लाइनमा बस्नु भएको थियो । हामी सैन्य फर्मेशनमा जाने कलाकारहरु एक लाइनमा थियौं । बिदाइ गर्नु भन्दापूर्व उहाँले उद्घोषण गर्नु भयो–“साथीहरु आज हामी हार्माेनियमका धूनहरुसँगै रमाएका साथीलाई बन्दुकको मोहोरीसगै रमाउन पठाउँदै छौ । हाम्रो लडाइ अझै घनीभूत हुँदैछ र अब आउने युद्धमा हामी सबैले जानु पर्ने पनि हुन सक्छ । क.प्रमोद, क.नेपाल, क.सर्मिला, क.मिसालाका सपना पूरा गर्न साथीहरु सफल हुनुहुनेछ । संकल्प पूरा गर्ने चिनोका रुपमा हामी गिटार उपहार दिन्छौं र युद्धमोर्चामा नहार्ने नझुक्ने शुभकामना दिन्छौ” भनेर दाइ राकेशले भन्दा हामी सबैका आँखाका कोषहरु आँशुले भरिएका थिए । परेलीहरु पुछ्दै हामीले केही समय भलाकुसारी ग¥यौ ।

त्यो विदाइको क्षणले हामीलाई नमीठो अनुभूति भएको थियो । सबै साथीका आँखामा नुनिला आँसुका ढिका छरपस्टैै झरिसकेका थिए । त्योभन्दा अलिअगाडि साँस्कृतिक पल्टनकै योद्धा क.प्रमोद, क.नेपाल, क.मिसाला जस्ता होनहार योद्धाले सैन्य फर्मेशनमा अग्रपङ्क्तिमा रहेर वलिदानमा नाम लेखिसकेका थिए । हामी १९ जना कलाकार पनि फेरि ती महान् योद्धाका सपनालाई पूरा गर्न जाँदै छौं । ६ बर्षसम्म साँस्कृतिक फिल्डमै रमाइयो । हार्माेनियम, मादल, गिटारको धुनसँगै नाचियो । अबदेखि बन्दुक, बारुद, गोली र तोपका गर्जनहरुमा गिटार, मादल र हार्माेनियमका सुर मिलाउनु पर्नेछ । यी हाम्रा अन्तरमनका सुनामीहरु थिए । हाम्रो टोली सैन्य फर्मेशनमा जानुपूर्व मलाई क. राकेशले लेख्नु भएको गीत गुनगुनाउन मन लाग्यो । मैले त्यहाँँ सबै साँस्कृतिककर्मीहरुवीच मैले आग्रह गरें । हामी सबै बसेर यो गीतलाई गाऊँ भनेर भन्दा विदाइको नमीठो क्षणलाई एकछिन बिट मार्दै थियौं । हामीमा उठेको भावनाको वेगलाई खुम्च्याउँदै सबै कलाकारले स्वरमा स्वर मिलाई गीत गाउने जमर्को गर्दै गर्दा दाइ राकेशले हार्माेनियमको अगाडि बसेर भन्नु भयो–“अब हाम्रो फेरि भेट हुन्छ, हुदैन, क.प्रभात, क.प्रमोद, क.नेपाल जस्ता योद्धाहरु हाम्रो साँस्कृतिक फिल्डबाट बिछोडिइसक्नु भएको छ । त्यसैले अब एकछिन दिवशजीसँग अन्तिमपल्ट गीत गाऊँ है” । अनि मैले विदाइको नमीठो क्षणलाई पचाउँदै गीत गाएँ, हामीले गाएको गीत यस्तो थियो–

हातको राइफल भुइँमा खस्दा
मुट्ठी उठाई विदाइ भन्दै
गोली लागी तिम्रै काखमा
अन्तिम घडी छट्पटाउँदै गर्दा
म मरें भने
म ढलें भने
ए ऽऽऽ सगरमाथा यो बमको झोला तिमीलाई नासो भो
ए ऽऽऽ मुक्तियुद्व यो रातो रगत तिमीलाई उर्जा भो
यो रक्तिम झण्डा तिमीलाई जिम्मा भो ।
एण्डिजमाथि चट्याङ् पर्दा
सगरमाथा ब्युँझ्यौ तिमी
दुश्मनहरुले छाती चिर्दा
अविचलित भयौ तिमी
आस्था छ अजम्मरी विशाल छ छाती तिम्रो
बन्नै पछ्र्र प्यारो हिमाल सिङ्गो संसार जित्ने गरी
बर्सिदैनन् फुलहरु
बन्दुकको नालबाट
ढल्न सक्छन् योद्धाहरु
लाखौंलाख एकै साथ

राकेश दाइले गीत लेखे झैं हामी पनि भोलि युद्धमोर्चामा ढल्यौं भने आखिर देश र जनताको मुक्तिको निम्ति ढल्नेछौ तर आन्दोलनबाट गद्दारी गरी कहिल्यै पनि पछि फिर्ने छैनौ भन्ने कसम खाएँ । यी तेजिला र स्पातिला कलाकार अनुहारहरुलाई छोडेर जाँदा कस्तो कस्तो अनुभूति भयो । पीडा त अभैm झेल्न बाँकी नै छ जस्तो अनुभूति भयो ।

हामी सबै कलाकारहरुले भलाकुसारी गरिसकेपछि विदाइको क्षण पनि आयो । हामी सैन्य फर्मेशनमा जाने कलाकारहरु एक लाइनमा उभिएका थियौं र उतापट्टि राकेश दाइ थालीमा अवीर राखेर सहयात्रीको बथानअगाडि उँभिराख्नु भएको थियो । आँखामा हेर्दा सबैका आँखा रसाएका थिए । मैले त्यहाँँ केही पनि बोल्न सकिन । राकेश दाइले मेरो निधारमा अवीर लगाउँदै विदाइ गर्दा च्याप्प अंगालोमा कस्दै भन्नु भयो–“दिवश भाइ तपाईं युद्धमा जाँदै हुनुहुन्छ, आफ्नो हातको बन्दुक नछोड्नु होला म पनि हार्माेनियम र मादल छोड्ने छैन” । राकेशले अङ्गालो छोड्दा मलाई साँस्कृतिक फिल्डबाट नै छुटेको जस्तो अनुभूति भयो । मेरो शरीरका नसा पूरै गल्न थाले । भावनालाई थाम्न नसक्दा शरीरको रक्तसञ्चार नै बन्द भएको जस्तो भयो । शरीर पूरै झम्झमाउन थाल्यो । मैले सोंचें यो नमीठो बिछोडको क्षण अन्तिम पटक मात्र हो । हाम्रो मुक्तियात्राको अभियानका सहयात्रीहरु माझ म अझै पनि दौडिरहेको छु ।

हुन त त्यो क्षण, त्यो दिन मेरो जीवनको पहिलो साँस्कृतिक मोर्चाबाट विदाइ क्षण थियो । तर अब त्यो दिन फेरि फर्कने छैन लागेको थियो तर संजोगले २०६६ जेष्ट १० गते अखिल नेपाल जनकलाकार संघको राष्ट्रिय सम्मेलनमा फेरि सहभागी हुन पाएँ । त्योबेला दाइ राकेशसँग भेट भयो । मैले मेरो पहिलो कविला सङ्ग्रह अमरदीप बलेको छ प्रकाशनमा भरखर ल्याएको थिएँ । दाइ राकेशले वधाइ दिदै भन्नु भयो–“तपाईं कला सँस्कृतिका क्षेत्रमा हुनुपर्ने मान्छे सेनामा कसरी जानु भयो” । हुन त लडाइंको हिसाबले सबै मोर्चा एउटै थिए तर पनि म कलाकार हुने मान्छे थिएँ । पछि पश्चिमको यात्रा गर्दा एउटै गाडीमा भयौ । मसँग उहाँले सबै दुःख–सुखका भावना सुनाउनु भयो । उहाँको गीतको एलबम निकाल्ने धोको रहेछ । मैले भनें– अहिले एल्बमभन्दा पनि तपाईको संस्मरणको सङ्गालो निकाल्नु पर्छ किनकि उहाँका युद्धकालका केही संस्मरण मैले पढेको थिएँ जो असाध्यै चाख लाग्दा थिए । राकेशले पनि मलाई कवितामा विकास गर्दै जान भन्नु भयो । बितेका दिनहरु त फर्कने छैनन् तर जब युद्धका कष्टकर दिनहरुलाई नियालेर हेर्ने गर्छु मलाई उद्विग्न भावनाले छुन्छन् । म रोएको त्यो दिन घरीघरी क्यानभासको रिल बनी मेरो दिमागमा घुुम्छ । सोंच्छु आउने भविष्यका दिनहरु यस्तै कालजयी र बिर्सनै नसकिने दिनहरु हुने छैनन् । म त्यो खिमडीको बस्तीमा गएको बर्ष फेरि एकपटक पुगें । त्यहाँ घाइते सहयोद्धा–जसको एउटा खुट्टा नै छैन–क.संजयलाई भेटें । मैले सम्झें हामी हिंजो मात्र जस्तै खिमडीबाट छुट्टिंदा आफ्नो सिङ्गो शरीर लिएर युद्धमोर्चामा गएका थियौ आज संजय जस्ता घाइते र अपाङ्ग त धेरै छन् तर तिनको वैचारिक दृढता भने मभन्दा हजारौं गुना बढी छ । मैले म रोएर विदा भएको त्यो ठाउँमा घाइते योद्धा क.संजयसँग भलाकुसारी गर्दा एक पटक फेरि आँसु चुहाएँ । उहाँलाई केही समय बोकेर लिएँ । मेरा आँसु घाइतेको पीडा देखेर रोकिंदै रोकिएनन् । मलाई त्यो बस्तीतिर हेरेर भन्न मन लाग्यो–हामी हिंजो युद्धमोर्चामा जाँदा खुसीका आँसु लिएर गएका थियौं तर आज फर्किंदा दुःखका आँसु उपहार लिएर आएका छौ । कताकता युद्धको उपलब्धि गुम्न आँटेको छ । युद्धका हिंजोका नायक पनि गुमाउँदै गएको अनुभव भएको छ । क्रान्ति पूरा गरेर देश र जनताका दुःखकष्ट, पीडावेदना समाप्त पार्ने सपनाहरु गुम हुन लागे झैं छ र उल्टै घाइते, अपाङ्ग, बेपत्ता, सहिद र पूर्णकालीन कार्यकर्ताका कहिल्यै न ओभाउने आँसु र वेदनाहरु थपेर आएका छौं जस्तो लाग्छ । म त्यो युद्धमा विदा भएर जाँदाको दिनको गौरवको क्षण र यो घाइतेसंग भेट भएको आजको दिनको दुईवटा क्षणलाई दाँजेर हेर्छु र यो भूमिमा नियालेर सोंच्छु कहाँ पुग्ने सपना बोकेका थियौं हामी र कहाँ आइपुग्यौं । भावविभोर भएर एकपटक अतीतलाई सम्झन्छु, सपनाहरुलाई सम्झन्छु र हेर्छु यी घाइते सञ्जयलाई अनि मनमनै संकल्प गर्छु, सर्वहाराको सपना कहिल्यै पनि भुल्ने छैन ।

(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *