पौराणिक बाल कथा : हात्तीको झुन्ड र खरायोको बथान

~उमाशङ्कर द्विवेदी~

कुनै वनमा चतुर्दन्त नाम गरेको हात्ती आफ्नो परिवारका साथ झुन्डमा बस्दथ्यो । त्यस वनमा लामो समयसम्म खडेरी परेको हुनाले सम्पूर्ण पोखरी, झील, खाल्डाखुल्डी तथा पानीका अन्य मुहानहरू सुकेर गए । यस्तो विकट अवस्थामा हात्तीका ससाना बच्चाहरू पिउने पानी नपाई तिर्खाले मरणसन्न हुन थाले तथा कतिपय साना बच्चाहरू त मरे पनि । यो अवस्था देखेर एक दिन झुन्डका जम्मै हात्तीहरू युथपति छेउ गएर बिन्ति बिसाए– देव, तिर्खाले धेरै गजशावकहरू मरणसन्न अवस्थामा पुगिसकेका छन्, अझ केही गजशावकहरू त कालकलवित पनि भइसके । अत: कुनै यस्तो जलाशयको खोजी गरौं जसको पानी खाएर तृप्त तथा स्वस्थ हुन सकौं । हात्तीहरूको झुन्डको यस प्रकारको कुरा सुनेर धेरैबेरसम्म घोरिएर विचार गरी युथपतिले भन्यो– निर्जन वनमा समथर भूमिमा एउटा अतिविशाल जलाशय रहेको छ, जुन पाताल ग·ाको पानीले सदैव परिपूर्ण रहन्छ । अत: यस समस्याको समाधानको लागि त्यसै जलाशयमा जाऔं ।

युथपतिको यस प्रकारको कुरा सुनेर हात्तीको त्यो विशाल झुन्ड तत्काल त्यै जलाशय भएको ठाउँमा जानका लागि हिंडे । पाँच दिन र पाँच रातसम्म अटुट रूपमा हिंडेपछि बल्ल अपेक्षित जलाशयसम्म पुग्न सके । त्यस जलाशयको सग्लो, निर्मल तथा मीठो पानी देखेर आक्रान्त रहेका झुन्डका हात्तीहरू जलाशयमा प्रवेश गरी आफूखुशी जल विहार तथा रमाइलो मानी यथेष्ट पानी खाएर जलाशयबाट बाहिर निस्के । त्यस जलाशयको चारैतिरको डिलमा खरायोहरूका असङ्ख्य दुलोका जालो रहेको थियो । हात्तीहरू जलाशयबाट बाहिर निस्केर डिलमाथि हिंड्न थालेपछि तिनीहरूको गर्‍हुँगो पाइतलामुनि खरायोका ती दुलाहरू कुल्चिएर विनष्ट हुन पुगे जसको कारण खरायोका असङ्ख्य शिशु तथा प्रौढ खरायोहरू अकस्मात् असमयमा काल कलवित हुन पुगे । झन् हात्तीहरू आफ्नो पहिलेको वासस्थानमा फर्केर न गई त्यहीं नजिकैको ज·लमा स्थायीरूपमा बस्न पो थाले । हात्तीहरूको यो चाला देखेर खुट्टा भाँचिएका, घरवारविहीन, शिशुहरूको मृत्यु भएकाहरू खरायोहरू आँखाबाट बलिन्द्रधारा आँसु बगाउँदै यस प्रकारको प्रलड्ढारी विनाशबाट बच्न के गर्ने भन्ने कुराको विचार गर्न एक ठाउँमा भेला भएर विचार गर्न थाले–अब यस्तो आपत्को बेला के गरौं ? अब त हात्तीको भुन्ड यहाँ दिनहुँजसो आउने छन् किनकि अर्को कुनै पनि जलाशयमा पानी छैन । अब आत्मरक्षाको लागि के गरौं ? एउटा खरायोले भन्यो–यस्तो विकट र काबु बाहिरको स्थितिमा हामीले यो ठाउँ नै परित्याग गर्नु बेस हुनेछ । उसको कुरा सुनेर अर्को खरायोले भन्यो–होइन साथीहरू, बाबु बाजेदेखिको आफ्नो थलो चटक्कै छाडिदिनुहुँदैन । बरु हामीले कुनै उपायले हात्तीहरूलाई तर्साएर यहाँबाट धपाउने प्रबन्ध गर्नुपर्दछ । हुन सक्छ हाम्रो त्यस उपायले तर्सेर हात्तीहरू यहाँबाट भागून् । नीतिमा पनि भनिएको छ–

निर्विषेणापि सर्पेण कर्तव्या महती फटा ।
विषं भवतु मा वास्तु फटाटोपो भयड्ढर: ।।

अर्थात् विष न भएको सर्प पनि आफ्नो फण उठाएर फ्वाँ–फ्वाँ गरेर तर्साएरै आत्मरक्षा गर्दछ । फणको भयड्ढरताले मात्र पनि शत्रुहरूलाई भयभीत पार्न पर्याप्त हुन्छ । त्यस खरायोको यस प्रकारको कुरा सुनेर अर्को खरायोले भन्यो–यदि त्यसो हो भने हामीले लम्बकर्ण नाम गरेको खरायोलाई हात्तीको नाइकेलाई तर्साउन पठाउनुपर्दछ । किनकि लम्बकर्ण वाक्यपटु हुनाको साथै दूतको कामको लागि पनि उपयुक्त छ । त्यस हात्तीको कुरा सुनेर अन्य हात्तीहरूले पनि त्यसको अनुमोदन गरे । अन्त्यमा लम्बकर्ण खरायोलाइ त्यहाँ पठाउने निर्णय भयो । लम्बकर्ण युथपति छेउमा गएर एउटा अग्लो ठाउँमा चढ्यो र आसनमा राम्ररी बसिसकेपछि हात्तीको नाइकेलाई सम्बोधित गर्दै भन्यो–अरे दुष्ट हात्ती, यसरी निशड्ढ भएर चन्द्रमाको जलाशयमा कसरी पस्ने आँट गर्‍यौ ? अब आइन्दा यस्तो धृष्टता कदापि नगर्नू । तिमीहरू यहाँबाट अविलम्ब फर्किजाऊ । खरायोको कुरा सुनेर हात्तीको नाइकेले छक्क पर्दै सोध्यो–ओहो, यस प्रकार कुरा गर्ने तिमी को हौ ?

खरायोले भन्यो–म लम्बकर्ण नाम गरेको खरायो हुँ । म चन्द्रमण्डलमा निवास गर्दछु । मलाई चन्द्रदेवले दूत बनाएर पठाएका छन् । खरायोको कुरा सुनेर गजराजले आदरपूर्वक भन्यो–हे खरायो, भगवान् चन्द्रमाले के सन्देश दिएर पठाएका छन्, छिटो भन्नुस्, जसको छिटै पालन गर्न सकियोस् ।

खरायोले भन्यो–हिजो तपाईं सपरिवार गएर धेरै खरायोहरूलाई कुल्चेर मारिदिनुभएको छ । त्यस जलाशयको छेउछाउमा मेरा परिवारहरूको वासस्थान छ भन्ने कुरा तपाईंलाइ थाहा थिएन ? यदि तपाईं सपरिवार जीवित रहन चाहनुहुन्छ भने कहिले र कुनै पनि प्रयोजनका लागि त्यस जलाशयमा न आउनुहोला । भगवान् चन्द्रदेवको यही आदेश छ ।

खरायोको कुरा सुनेर तर्सिदै हात्तीले सोध्यो–भगवान् चन्द्रदेव कहाँ छन् ?

खरायोले भन्यो–तपाईंले गरेको संहारबाट बचेका खरायोहरूलाई सान्त्वना दिनका लागि यस बेला त्यसै जलाशयमा बसेका छन् । उनले नै मलाई दूत बनाएर यहाँ पठाएका हुन् ।

हात्तीले भन्यो–यदि यस्तो कुरा छ भने चन्द्रदेवको मलाई दर्शन गराऊ । म उनलाई प्रणाम गरेर अन्यत्र जानेछु ।

खरायोले भन्यो–तपाईं मसँग एक्लै आउनुस्, म तपाईंलाई उनको दर्शन गराइदिन्छु । हात्ती हिंड्न तयार भएपछि खरायोले रातिको समय हात्तीलाई साथमा लिएर जलाशयको किनारमा लगी पानीमा चन्द्रमाको छाया देखाइदियो र भन्यो–लौ, हेर्नुस्, उहाँ नै भगवान चन्द्रदेव हुनुहुन्छ, जो जलमा समाधिस्थ भएर बस्नुभएको छ । तपाई शान्त भएर केही पनि नबोली टाढैबाट नमस्कार गरेर फर्किजानुस् । यदि तपाईंले केही पनि बोल्नुभयो र उहाँको समाधि भ· भयो भने क्रोधित भएर श्राप दिनुहुनेछ जसको कारण तपाईंको समूल नाश हुनेछ । खरायोको कुरा सुनेर तर्सिएर हात्तीले पानीमा देखिएको चन्द्रमाको छायालाई चन्द्रदेव ठानी कुनै विघ्न नपरोस् भनेर टाढैबाट नमस्कार गरी फेरि कहिले पनि फर्केर न आउने अठोट गरी त्यहाँबाट फक्र्यो । हात्ती त्यहाँबाट फर्केर गइसकेपछि खरायोहरू सुखपूर्वक आफ्नो दुलोमा बस्न थाले । त्यसैले भनिएको छ–

व्यपदेशेन महतां सिद्धि: सञ्जायते परा ।
शशिनो व्यपदेशेन वसन्ति शशका: सुखम् ।।

अर्थात् महान् व्यक्तिको नाम मात्र ग्रहण गर्नाले मात्र पनि ठूलो कामको सिद्धि हुन सक्छ जस्तो कि चन्द्रमाको नाममात्र लिनाले खरायोहरू सुखपूर्वक बस्न थाले ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in पौराणिक कथा, बाल कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *