नियात्रा : सिन्धुलीगढीको किल्लामाथि

~विमल पोखरेल~

सिन्धुली बजारमा रहेको बसपार्क त्यति गतिलो छैन । ग्वाड्डखोलाको छेउमा धुले र हिले बसपार्क बनाइएको छ । दर्जन जति बस पार्किङ गर्न मिल्ने भए पनि त्यसलाई व्यवस्थित नगर्दा यात्रुहरूले सहज सेवा पाउन सकेका छैनन् । नरपालिकाभित्रैको सार्वजनिक संरचना बनाउनतिर कसको ध्यान जाओस् घ् सिन्धुली बजार सम्म परेको ठाउँमा अवस्थित छ । बजारको पारीपट्टी खेतका फाँटहरू छन् । अब त खेतहरूमा पनि घडेरीको प्लटिङ शुरू भएको छ । कैयौं घरहरू बनाइएका छन् । बनाइँदै पनि छन् । माथिबाट हेर्दा बजार राम्रै देखिन्छ । शहरीकरणको योजना अनुसार घरहरू बनाइएका छैनन् । जथाभावी बनाइएका छन् । घरहरू बन्दै जाँदा बजारका समस्याहरू पनि बढ्दै जाने कुरा त नेपालका धेरै शहरबजारले झेल्दै आएका छन् ।

मंसिर ८ गते बिहान डाडीगुराँसेबाट बजार झरियो । अखिल (छैठौं) का नयाँ जिल्ला अध्यक्ष निलबहादुर बजु, दीप गोले, गंगा खड्का र म । बजार झरेपछि सिन्धुलीगढी हेर्न जाने सल्लाह भयो । मेरो प्रस्ताव थियो “कि हिंडेरै जाऊँ ।” ४ घण्टामा पुगिन्छ भने आउँदा गाडी चढौंला । तर साथीहरूले मानेनन् । ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी जान ठिक्क परेपछि साथीहरूले भने कि “त्यहाँ त जाडो हुन्छ ज्याकेट लगाउनुस् ।” मैले चाहिं स्वेटर लगाएँ । घाम लागेकाले स्वेटरले काम पूरा गर्ला भन्ने लाग्यो । बस चढ्ने ठाउँनेर हिंडेरै पुग्न परिहाल्यो । सिन्धुली सुन्तला र जुनारको लागि प्रसिद्ध भए पनि बजारमा पर्याप्त देखिएन । बरू तराईका विभिन्न ठाउँमा सिन्धुलीका सुन्तला भन्दै बेचिरहेका थिए । लाहानसम्म पनि सिन्धुली कै नाम सुनिन्थ्यो । जुनारको जिल्लामा गए पनि आधा दर्जन केरा किनेर खायौं । ढुंग्रेबासमा करिब ४५ मिनेट कुरेपछि बल्ल बस आयो । ढुंग्रेबासबाट ५ मिनेट उत्तरपूर्व सिन्धुली क्याम्पसको ठूलो भवन छ ।

जब हामी बस चढ्यौं, हामीले बेग्लै अनुभव गर्न थाल्यौं । कारण हो वीपी राजमार्गका घुम्तीहरू । ती घुम्तीहरू नेपालका राजमार्गमा कतै नभएका कलात्मक, खतरापूर्ण र नजिक नजिक छन् । जापानले बनाइदिएको त्यो बाटो एकतर्फी भए पनि मझौला खालका यात्रुबाहक बस सजिलै पार गर्न सक्छन् । धेरैजसो धुम्तीहरू पहाड खनेर बनाइएका होइनन् । तारजाली र सिमेन्टको पर्खाल उठाएर बनाइएका छन् । धुम्तीमाथि घुम्ती, धुम्तीमाथि घुम्ती । सुरक्षाको दृष्टिकोणले घुम्तीहरूलाई त्यति राम्रँे मान्न सकिंदैन । यदि घुम्तीहरू नहुँदा हुन त त्यो बाटोको सौन्दर्य नै रहँदैनथियो । ठाडै उकालोमा सिमेन्ट र ढुंगाका ठूलठूला पर्खाल खडा गरेर बाटो बनाइएको छ । ढल निकास, बाटोको छेउको बार उचित तरिकाले बनाइएको छ । ड्राइभरले भन्दै थिए कि –“यदि बार नहुँदो हो त यो बाटोमा गाडी चलाउन सकिने थिएन ।” दर्जनौं घुम्ती पार गरेर ठाडै उकालो चढ्नु पर्छ । उक्त बाटो बनाउँदा ढुंगा बालुवा ग्वाङखोलाबाटै ल्याइएको रहेछ । ग्वाङखोलाबाट ढुंगा बालुवा झिकेपछि माडी फाँट सुरक्षित बनेको छ । त्यो पहाड र ग्वाङखोलाको साइनो जोडेका तिनै ढुंगा र वालुवाले पनि हो । एकातिर आश्चर्यलाग्दो बाटो निर्माण भएको छ भने धान फल्ने फाँट पनि सुरक्षित भएको छ ।

हाम्रो गाडी गुडिरहेको थियो । साथी निलबहादुरले आफ्नो दुई मेगापिक्चलको क्यामेराबाट फोटो खिच्दै बसभित्र अगाडि र पछाडि गर्दै थिए । हुन त सिन्धुलीबजारबाट सिन्धुलीगढी जम्मा २२ किलोमिटर टाढा रहेछ । बसबाट बाटोका घुम्तीहरू हेरेर रमाइलो मान्दै गर्दा बस सोलाभञ्ज्यङमा पुगेछ । हामीलाई झर्न अनुरोध गरियो । बसबाट झरेपछि गढीतिरको पैदलयात्रा शुरू भयो । हुन त गढीसम्मै मोटरबाटो निर्माण गरिएको रहेछ । त्यहीबाटो हामी गढी दरबार पुग्यौं । उक्त दरबार सेनवंशी राज शुभसेनका छोरा माणिक सेनले निर्माण गरेका हुन् । सिन्धुलीगढीलाई सन् १७६२ मा गोर्खाली राजा पृथ्वीनारायण शाहका सेनाले कब्जा गरेका थिए । पछि त्यही किल्लाबाट अंगे्रजसँग गोर्खालीहरू लडाई लडें । ठूलो जंगल र माथि डाँडोमा रहेको दरबारका भग्नावशेष बाँकी रहेछन् । ईंट्टाहरूद्वारा निर्मित उक्त दरबार भत्किएको अवस्थामा छ । दरबारमा कोठै कोठा छन् । झन्डै ३ फिट चौडाईको गारो लगाइएको छ । भग्नावशेषमा घाँस उम्रिएका छन् । वरिपरीको क्षेत्रमा भने घाँस काटिएको थियो । दरबारको पूर्वपट्टी ४ वटा किल्लाहरू छन् । दरबारको भग्नावशेष अवलोकन गरेपछि हामी किल्लाहरूतिर लाग्यौं । दरबारको पूर्वतिर परेड खेल्ने ठूलो चउर रहेछ । चउरलाई माओवादीले पनि तालिमकेन्द्रको रूपमा प्रयोग गरेका रहेछन् । त्यो चउरभन्दा पर किल्ला छ । उक्त किल्लाको चाहिं जिर्णोद्वारा गरिएको छ । वरिपरी पर्खाल लगाइएको छ । पर्खालभित्र लुकेर गोली हान्ने ठाउँहरूको निर्माण गरिएको छ । अंग्रेजसँगको लडाइमा ढुंगा पल्टाएरै शत्रु तर्साउन उक्त भूगोलले साथ दिएहोला । उक्त किल्लाको अझ पूर्वपट्टी गढी संरक्षण अफिसको निर्माण गरिएको छ । त्यसैको नजिक एउटा मन्दिर निर्माण गरिएको छ । यद्यपि त्यो पुरानो मन्दिर चाहिं होइन । मन्दिरको छेउ हुँदै मािथ निस्केपछि मुख्य गढीमा पुगिन्छ । त्यहाँ जाने बाटोका सिंढीहरू राम्रैसँग बनाइएको छ । करिब १०० मिटर माथि उक्लेपछि त्यो गढीमा पुगिन्छ । गढीको पूर्वी छेउमा नेपालको ठूलो राष्ट्रिय झन्डा फहराइएको छ । लडाईंको किल्लामाथि राष्ट्रिय झन्डा फहराएको देख्दा यस्तो लाग्छ–नेपाली हुनुको गौरब यहाँ आएपछि मात्रै अनुभव भइरहेको छ । त्यो मुख्य किलामा ५० हजार लिटर भन्दा बढी पानी अट्ने टुयाङकी निर्माण गरिएको छ । उक्त ट्यांकी फराकिलो र गहिरो छ । पानीचाहिं थिएन । सबै भन्दा ठूलो किल्लामा त्यति गहिरो ट्यांकी बनाएर गाग्रोमा बोकेर पानी भर्ने काम सजिलो थिएन । तर देश बचाउनको लागि लडाईका पूर्वाधारहरू हाम्रा पुर्खाले बनाएका रहेछन् । हाम्रा पूर्खाहरूले लडाईंका पूर्वाधारहरू कस्ता कस्ता तयार गरेका थिए भनेर हेर्न एकपटक सबैजना सिन्धुलीगढी पुग्नुपर्छ । जंगलैजंगलको माथि टुप्पोमा बसेर अंग्रेजलाई ढुंगा र गोली बसाईन्थ्यो भन्ने कुरा पहिले पहिले सुन्दा सपना जस्तो लाग्थ्यो । तर त्यहाँ पुग्दा देखियो त्यो यथार्थै रहेछ ।
काठमाडौं उपत्यकामा रहेका मल्ल राजाहरूलाई सहयोग गर्न अंग्रेजले कप्तान किन्न लकको नेतृत्वमा सेना पठाएको थियो । तर उक्त सेनालाई पृथ्वीनारायण शाहका सेनाले त्यही गढीबाटै लडेर पराजित गरेको इतिहास पढ्न पाइन्छ ।

हरेक वर्षको कार्तिक २४ गते सिन्धुलीजिल्लाका राजनीतिक दल तथा संघसंस्थाहरूले विजय उत्सव मनाउँदा रहेछन् । यस वर्ष पत्रकार महासंघले कार्यमक्रम आयोजना गरेको रहेछ । सोलाभञ्ज्याङमा रहेको गढी जाने गेटमा झुन्ड्याइएको तुलमा विजय उत्सव सफल पार्न आव्हान गरिएको थियो । सिन्धुलीबजारमा पोष्टरहरू पनि टाँसिएको थियो । राष्ट्रिय झन्डाको छेउमा उभिएर त्यो पानी ट्यांकी, अंगे्रज आउने सिन्धुली माडीतिरको बाटो, त्यस ठाउँमा रहेका किल्लाहरू हेर्दा गौरवले छाती फूल्दो रहेछ । हाम्रा पुर्खा लडेको ठाउँ हेर्दा उनीहरूप्रति श्रद्धा जागेर आउँदो रहेछ । साथी निलबहादुर दीपले मोबाइलबाटै भए पनि फोटोहरू खिचिरहे । राष्ट्रिय झन्डालाई छोडेर हिंड्न मन लाग्दोरहेनछ । त्यो किल्लाबाट रामेछापका गाउँहरू देखिंदारहेछन् । सुनकोशी नदी चाहिं देखिंदोरहेनछ । सुनकोशी नदी त्यहींनिरबाट बग्छ भन्ने मात्रै हो । हामीले करिब २ घण्टा जति सिन्धुलीगढी दरबार, किल्लाहरू घुम्दै, सुन्दर हिमाल र जंगलका दृश्यहरू हेर्दै बितायौं र, छोटो बाटो सोलाभञ्ज्याङ झ¥यौं । जहाँबाट सिन्धुली बजार जाने बस चढ्नु थियो । बस आउन ढिला गरेकाले हामी आड भञ्ज्याङसम्म हिंडेर आयौं । आडभञ्ज्याङमा तीनसय वर्ष पुरानो ठूलो स्वामीको रूख छ । त्यो ठाउँ पनि एउटा किल्ला रहेछ । अंग्रेजहरू आक्रमण गर्न आउँदा गोर्खाली सेनाले त्यो स्वामीको रूखमा भएको अरिंगालको गोलोमा ढुंगा हाने त्यसपछि अरिंगालले अंग्रेजहरूलाई रोक्यो भन्ने कुरा पनि पढ्न पाइन्छ । यसरी अंग्रेजसँगको लडाईमा अरिंगालले समेत साथ दिएको रहेछ । गोलोमा ढुंगाले हानेपछि अरिंगालबाट जोगिने तरिका गोर्खालीलाई थाहा छँदै थियो । जंगलमा रहेको सिस्नोले समेत अंगे्रजहरूलाई पोल्यो र उनीहरू आत्तिए । यसरी अंग्रेजविरूद्ध लड्न अरिंगाल र सिस्नो समेत सहयोगसिद्ध भए । स्वामी रहेको ठाउँको पनि जिर्णोद्वार गरिएको छ । गेटमा काठको ठूलो ढोका राखिएको छ । काठको ढोका पार गरेपछि मात्रै स्वामीको फेंदमा पुगिन्छ । त्यहाँ बेन्चहरू समेत राखिएका छन् । हामीले पनि केही छिन आराम ग¥यौं । अब समय घर्की सकेको थियो । वीपी राजमार्गको धुम्तीहरू पार गर्दै सिन्धुलीबजार आउँदा साँझ परिसकेको थियो ।

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ६ – Dec. 15, 2011 – २०६८ मंसीर २८ गते, बुधबार)

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *