निबन्ध : बिँडो थाम्ने हतार

~युवराज नयाँघरे~

निधारका मुजामा बितेका वर्षहरूको खित्का।

त्यो अनुहारमा धेरै-धेरै कुराको तह। आँखाले अटेसमटेस हेरेका दृश्यहरू। कानले सुनेका अथाह शब्दहरू। छातीले धड्किएका अपार अनुभूतिहरू।

यो बूढो मान्छे।

निधारमा, गालामा, कञ्चटमा खुम्चेको मासु। नाकमा मोटो चस्मा छ। उसले खेलेको आँगनमा हरेक कुरा बदलिएका छन्। फेरिएको मौसममा फुलेका पोथ्रा र इन्द्रेणीको छाया छ।

कुनै बेलाको यो गाउँ अब शहरको केन्द्रमा आसिन छ।

यो घरमा छन्- तीन जना।

मैले यी तीनै जनाको अनुहार एक-एक गरी पढेको छु। यिनको एउटै समयका पाङ्ग्रामा पिनिएको धुलोमा कोरिएका तस्वीर हेरेको छु।

तानातान र दगुरादगुरले आँगनमा रणसङ्ग्राम पनि एक-दुई दिन बिराएर भइरहन्थ्यो। केटाकेटी भए पनि रिस भने उमेर भन्दा ठूलै र चर्कै हुँदोरहेछ।
छोरा र बुहारी छन्।

बूढा छन्।

नयाँ पुस्ताको रूपमा अरू दुई नाति-नातिना छन्।

यो घरमा निकै पटक पाइला हालेको छु मैले। शहरको माझमा रहेको यो घरमा जीवन र सोचको आ-आफ्नै घडी घुम्यो। मुसलधारे झरी पनि असमयमा पर्‍यो। टन्टलापुर घाम पनि चर्कियो।

मैले घरलाई हेरिरहेँ।

घरका छाना फेरिए। आँगन भिन्नै भयो। पेटी फरक भयो। भर्‍याङ नौलो बन्यो। बरण्डा अर्कै खालको बन्न पुग्यो।

मेरा आँखाले घर बन्यो नयाँ-नयाँ।

त्यो बूढो घरको बाहिरी रङरूपका लागि छोराले आफ्नै प्रयासमा अर्कै शैलीको बनाए। मैले हेर्दाहेर्दै घरको बाहिरी कलेवर बदलियो, नवीन र शक्तिशाली भयो।

‘बा, घर त राम्रै हुँदो छ’, म ओहोरदोहोर गर्दा भन्थेँ।

‘अँ, अँ’, बाको जवाफ यत्ति सुन्थेँ।

घरलाई टेको दिएर बाहिरका खाँबा नौला बनाएछन् छोराले। रेलिङमा पनि नयाँ थपिए रङहरू। बारबेरमा पोतपात पारेर अरू अडिलो बनाएको पनि देखेँ। बाँसका भाटा खप्टाएर सिमेन्टीले लिपिएको थियो।

हेर्दाहेर्दै नयाँ भयो घर त पूरै।

बलेँसीमा तप्प-तप्प खस्ने पानीले भित्तोमा लेउ उम्रिन दिएन। सोते पाइपबाट पानी भेला पारेर एकै पटक खोल्सोमा पुग्यो छानाको पानी।

घरको बाहिरी अनुहार हरेक छिन भयो नौलो र आकर्षक।

‘अब त पत्याउनै नसक्ने गरी बेग्लै भयो घर त’, बालाई भनिरहेको थिएँ म।

‘अँ, अँ’, मैले प्रतिक्रिया यत्ति पाएको थिएँ।

आँगनमा नाति-नातिना सुरु-सुरुमा साइकलमा हुँइकिएका देखिन्थे। तानातान र दगुरादगुरले आँगनमा रणसङ्ग्राम पनि एक-दुई दिन बिराएर भइरहन्थ्यो। केटाकेटी भए पनि रिस भने उमेर भन्दा ठूलै र चर्कै हुँदोरहेछ।

वरिपरि फलफूलको बगैँचा र बारबेर। आँगन पनि फराकिलो। साइकल हुँइक्याउन र दगुराउन कुनै बाधाबिघ्न छैन। एकदमै सजिलो र सुविधाजनक।

घरलाई सुरुमा त बाले बनाएथे।

यो घरका बारेमा कति धेरैले कति वृतान्त कहे। काठका, झ्यालका, छानोका, खाँबोका र भर्‍याङका बारेमा मानिसहरूले घन्टौँ समय दिएर बोले। म पनि त यही बाटो गरी पूर्व र पश्चिमका चोकतिर जाने गर्छु अनि समयका मुजा बोकेका बूढाबूढीबाट घरको वर्णन सुन्छु।

उनीहरूले परिश्रम गरी घरको बयान गर्छन्। त्यो बयानमा हुन्छ अथक श्रमको चर्चा।

घर निकै सुन्दर भयो।

‘बा, घर त पूरै नयाँ बन्न पुग्यो’

‘अँ, अँ’

यत्ति थोरै शब्दमा मेरो त्यत्ति धेरै खुलदुलीको उत्तर आइरहेको थियो।

नयाँ जस्तै भयो घर। पुरानो घरमा भेटियो आधुनिकता र नवीनताको अँगालो। पाँच/छ महिनामा पुरानो घरले छाया छोडेरै भागेजस्तो देखियो। नौलो हाँसोमा पुरानो घरको ओठ खित्काएको लाग्यो।

बाटो हिँड्नेहरूका आँखामा घरको पुनर्जन्म वा पुनरागमन भयो।

‘बा, अब त छोराबुहारी बस्लान् है घरमा!’- मैले एक दिउँसो सोधेको थिएँ।

‘अँ, अँ’, बाले मोटो चस्मालाई पुछेर घरतिर निहालेर हेरी बोलेका थिए।

म बजार जाऊँ वा गोधूलिको हाट। पूर्वको चोक वा पश्चिमको तरकारी बजार। दक्षिणतिरको माछा बजार वा उत्तरतिरको सरकारी अड्डा। मेरा आँखाले यो घरछेउ भएर पाइला घिसार्नुपर्छ।

यो घर पनि प्रकृतिका सबै स्वादबाट आलोकित भयो।

हो, म जस्तै। म कहिले खित्काएर यो घरछेउबाट लम्केँ। म कहिले लजाएर यो घरछेउबाट हिँडेँ। म उदास भएर पनि गएँ यही घरछेउबाट। म पुलकित भएर पनि गएँ यही घर नजिकैबाट।

समयका धारिलो प्रहारले बाका निधारमा खनजोत गर्न छोडेन।

म यो घरछेउबाट खलखली पसिना चुहाउँदै हिँडेँ। म यो छेउको आडैबाट सिउसिउ हुँदै कठ्याङ्ग्रिँदै लम्केँ। म झरीमा रुझी-रुझी गएँ, घरनिरैबाट। म हुण्डरीमा तर्की-तर्की यही घरतिरबाट दगुरेँ।

घर ठिङ्ग थियो।

बापछि छोराबुहारीको लगन थपियो घरमा। यिनले आँगनमा कुचो लाएको देखियो। भित्तोमा सेतो चुना र खैरो रङले पोतपात गरेको देखियो।

नयाँ जस्तै भयो घर। पुरानो घरमा भेटियो आधुनिकता र नवीनताको अँगालो। पाँच/छ महिनामा पुरानो घरले छाया छोडेरै भागेजस्तो देखियो। नौलो हाँसोमा पुरानो घरको ओठ खित्काएको लाग्यो।
कति जतनले रङ दलेका! कति ख्याल गरी-गरी बुट्टा जोगाएका भित्तोका! मैले साँझ-बिहान त्यता जाँदा देखिरहेँ। मैले राति वा मध्याह्नतिर त्यता लम्कँदा देख्न पाएँ निरन्तर।

‘बा, घर त धपक्कै बल्यो’, म मुग्धिएर सोध्थेँ।

‘अँ, अँ’, यत्ति दुई शब्दमा खुसीको लहर आयो बाका मुखबाट।

घर भिन्न भयो हेर्दाहेर्दै। नसोचेको परिवर्तन ओर्लियो घरमा।

माकुराका जाला थिए- झ्यालका डण्डीमा। भँगेराले सिन्कासिन्की हालेर गुँड बनाएका गुजुल्टा देखिन्थे, दलानका चेपमा। सर्पले फेरेका काँचुली भित्तामा झुण्डिएका देखिन्थे, असरल्ल। वर-पीपलका स-साना पोथ्रा छानामा उम्रिएका देखिन्थे, जताततै। कुशका मुठा वर्षौंदेखि कोच्चिएका थिए, दैलामास्तिर।

छ/आठ महिनामा यी सबै कुरा हटे।

फोहोर हट्यो। सुग्घर भयो घर। चमक आयो घरको मुहारमा। बाटो हिँड्नेहरूले अनौठो टकले आँखा हुर्‍याए, त्यतातिर। नयाँ खालको घर देखेर आँखामा सन्तोष सजाए।

घरमा हरेक कुरा साटियो। साटिनु भनेको हरेक कोणबाट जिउँदोजाग्दो हुनुरहेछ।

छाना खसेर असारे झरी खसिरहेको थियो चेपबाट। अब यो पनि रोकियो। कब्जा फुक्लेर चुइँचुइँ चुइँकिन्थे झ्यालका फग्लेटाहरू, अब यो पनि थामियो। बार्दलीमा मक्किएका काठमा रसाउँथ्यो पानी, अब त्यो पनि छेकियो।

म दिनको दुई खेप त्यो बाटो हिँड्थेँ। हरेक पटक घरमा आएको रूपान्तरण हेरिरहेको थिएँ गजब मानी-मानी। घरले पाएको नयाँ रूपमा मेरा प्रश्न र उत्तरका बुँदामा बहस गरिरहेकै थिएँ।
घर बलियो देखियो अति नै।

‘बा, घर त भनेजस्ते भयो नि!’

‘अँ, अँ’, उही आयो, उस्तै आयो बाको जवाफ।

घरका चारै सुरमा बकैना थिए, किम्बु थिए र आँपका झ्याम्म-झ्याम्म बोटहरू थिए। घाम नपसेर हैरानी थियो। छोरा-बुहारीले तिनका हाँगा काटे। बरण्डासम्म पस्न पुगेका तिनका हाँगा छिमलेर उज्यालो र फराकिलो वातावरण बनाए, आँगन। नरिवल र सुपारीका पुराना बोट हटाए। नयाँ रोपेर भरिभराउ पारे। करेसामा फूलका नयाँ बिरुवा रोपेर आलोकित पारे।

अब त जति पनि घाम खेल्ने भयो। अब सधैँ उज्यालो हाँसिरहने भयो। पात झरेर फोहोरको डङ्गुर हुने आँगन सुकिलो देख्न पाइयो।

केटाकेटीहरू ल्यापटप बोकी बस्न थाले आँगनमा। जाडोको पहार ताप्न बा पनि लौरो लिएर अँगेनामै रमाउन थाले।

म यो सबै हेरिरहेको थिएँ।

कस्तो घर, कस्तो भयो! यति कुराले पटक-पटक मनमा ओहोरदोहोर गरिरह्यो, एकनासले। आँखामा नजानिँदो उल्लासको हजार फूलको आभा मगमगाइरह्यो।

अस्तिसम्म झार उम्रिएका थिए, बरण्डाका काठे लहरमा। अहो, हिजोआज त गमलामा फूल! अस्तिसम्म लेउ लहलहाएका थिए, दलिनका काठमा। अहो, हिजोआज त लहरै लहराको बेरबार!

हो, घरले रूपै फेर्‍यो। चमकै फेर्‍यो।

‘बा, घर त नचिनिने भो नि!’

‘अँ, अँ’, हातका पुस्तकबाट आँखा हटाएर मलाई उत्तर दिए बाले।

म दिनको दुई खेप त्यो बाटो हिँड्थेँ। हरेक पटक घरमा आएको रूपान्तरण हेरिरहेको थिएँ गजब मानी-मानी। घरले पाएको नयाँ रूपमा मेरा प्रश्न र उत्तरका बुँदामा बहस गरिरहेकै थिएँ।

केही दिनअघि छोराले केही कर्मी लगेर छानोनिरको चुहिने प्वाल टालिरहेको देखेँ। बाँसका भर्‍याङ हालेर उक्केका कीला र भाटाले भित्ताका डोरी हटाएर तारले कसिरहेको पनि देखेँ।

तिनको तन्मयता मैले छातीमै राखेँ।

घर अब साँच्चिकै बलियो भयो। घरमा सुविधा थपियो। सुरक्षा सजियो घरमा। घर त अब अर्कै परिचयले घेरियो बिस्तारै।

चिटिक्क भयो घरको बाहिरी अनुहार।

म त बिहान पनि हेर्थें। बेलुकी पनि आँखा एकछिन हुर्‍याएर लम्कन्थेँ। यो दोबाटोको घरमा आँखा पुग्थे र परेलीमा खुसीका झिल्का उड्थे।

अब भित्र पसौँ।

एकदिन घर छेउको आँगनमा थिएँ। छोरा र बाबु छलफल गरिरहेका थिए। बा गड्केर बोलिरहेका, छोरा चुपचाप भुइँतिर हेरिरहेका।

अर्को दिन पनि त्यस्तै देखेँ।

मुजा परेका बा, अब झन् मुजा परेका अनुहारले कोठामा पसेर बोल्न थालेछन्।

घरभित्र पसौँ है त अब!

कति वर्षदेखि घरका भित्ता लिपिएका थिएनन्। बुहारीले लिपपोत गरिन्। पुराना-पुराना बोरा र ट्याङ्का हुर्‍याइदिइन् उनले। जतासुकै बार च्यातेर हालिएका प्वाल उनले टालिदिइन् सर्लक्कै।

घाम पसाउन खोलिएका धेरै दुलादुली छोपिन् बुहारीले। धूलो र कीराकीरी रोकिए अब।

‘के गरेका, के गरेका!’, बाले मलाई भेट्नेबित्तिक्कै भनिहाले।

मैले प्रश्न गर्नै परेन। मेरो जिज्ञासा ओर्लिन नपाउँदै बाको उत्तर आउन थाल्यो। मभित्र प्रश्न उठ्नै पर्दैनथ्यो- उत्तर ओर्लिहाल्थ्यो सरक्कै।

उमेर, ज्ञान र संस्कारले सम्पन्न बा। चेतनशील, उद्यमशील र कर्मशील पनि त्यत्तिक्कै बा। अनि उहाँसँग कसरी पर बस्न सक्थेँ म! फुर्सदमा घरभित्रै पसिहाल्थेँ।

‘अनौठो हुँदै छ, अनौठो’, बाले मसँगको भेटमा बोलिहाले।

अनौठो म भेटिरहेको थिइनँ। कतैबाट पनि देखिरहेको थिइनँ। कुनै कोणबाट पनि छक्क पाइरहेको थिइनँ।

एक-दुई दिन बिराएर पस्नुपर्थ्यो घरमा। नत्र बा आफैँ खोज्दै बाटोसम्म आइपुग्थे। अझ बेलुका उनी पर्खिरहेकै हुन्थे।

‘हजुरलाई म दिँदै दिन्नँ’, बुहारीले कीला उखेलेर ढोकाका कागज झिक्दै थिइन्। ‘म त मान्दिनँ’, बा पनि गड्किरहेकै थिए। हिजो बुहारीले बा सप्ताह सुन्न गएको मौका छोपी दक्षिणपट्टिको कोठाको भित्तोबाट सबै कीला उखेलिछन्।
अनि बोलिहाल्थे- ‘हिजोअस्ति देखिनँ नि!’

‘अलिक कामको चटारोमा थिएँ’, मैले भनेको थिएँ।

‘घोर उल्का हुँदै छ, घोर उल्का!’, बाले लट्ठी टेकेर बाटो लाग्नुअघि भनेको सुनेँ मैले।

एक छिन घोत्लिएँ- घोर उल्का कसले, कताबाट र कहिले-कहिले ल्याइरहेको रहेछ घरमा – मैले पो किन नदेखेको होला – मैले कस्तो नभेटेको त –

दर्ुइ दिन अघि छोरो र बाबुको गल्फती भएको देखियो। बा लट्ठी उज्ज्याएर बोलिरहेका थिए। मलिन अनुहारमा उभिइरहेकै थियो छोरो।

अलिक पर नाति-नातिना साइकलमा घचेटाघचेट गरिरहेकै थिए। लड्ने र लडाउने खेलमा कमी भएको थिएन।

धेरै फेरफार भयो घरभित्र।

किताबका पुराना खात हटाइयो। चिम हटाएर ठूला र उज्याला सेता बल्ब हालिए। वर्षौं पुराना र थोत्रा पर्दा हटे। नयाँ र उज्याला पर्दा झुण्डिए। दलिनका चेपमा कोच्चिएका पुराना कपडा हुर्‍याइयो।

परेवाका गुँड हटाइयो। धानको भकारी हट्यो। प्लास्टिकका ठूलठूला डिब्बामा सोझै चामल राखियो। यसो गर्दा रासोबासो हट्न गयो- पुतली र साङ्लाको।

मूल कोठाको खाँबोलाई धमिराले खाएर भुइँभरि धूलैधूलो खसाल्थ्यो। बुहारीले इनामेलले पोतेर खाँबो उज्यालो पारिन्। धमिराको ओखती गरिन्, गज्जबले।

‘काँ छ र घरको ताल!’, बाले मलाई एकाएक भने।

मैले सुनेँ उनको तातो रिसको एक गुजुमुज्ज। त्यो ताल किन आएन, कसरी आएन?

यी केही खुल्दुलीमा म पर्न थालेको थिएँ। भित्रैदेखि खसखस भइरहेकै थियो। अब त मैले कुनै प्रश्नै राख्नै पर्दैनथ्यो। बाका ओठ खुलिहाल्थे एकाएक।

म आँगनमा उभिएको थिएँ- चर्काचर्की सुनेँ अनि मास्तिर उक्लिहालेँ फटाफट।

‘हजुरलाई म दिँदै दिन्नँ’, बुहारीले कीला उखेलेर ढोकाका कागज झिक्दै थिइन्।

‘म त मान्दिनँ’, बा पनि गड्किरहेकै थिए।

हिजो बुहारीले बा सप्ताह सुन्न गएको मौका छोपी दक्षिणपट्टिको कोठाको भित्तोबाट सबै कीला उखेलिछन्।

साँझ बा आएर हेरे- भित्ताका कागज, झोला, पात्रो, सबै हटेछन्। बुहारीले सबै कीला झिकेकोमा उनी भित्रैदेखि मुर्मुरिए। रिस राम्रैसँग उठेथ्यो। दाह्रा किट्दै, उठेको रिसलाई च्युँडो मुसारेर थामथुम पारे।

राति बाले निकै मुस्किलसँग फेरि कीला ठोके- तिनै पुराना डोब छाम्दै अनि तल खसालेका पात्रो, फोटो, झोला झुण्डाइहाले। बल्ल जीतको सास फेरे बूढाले।

भोलिपल्ट बुहारी तल्लो तलाबाट माथि उक्लिन्- दूध बोकेर बालाई दिन।

उनी अवाक् भइन्।

हिजो दिनभरिको मिहिनेत बालुवामा पानी भयो। उनी रिसले चुर भएर आफ्ना पतिसामु पुगिन्।

साँझसम्म फेरि निकै मिहिनेतसाथ बूढाले ठोकेका कीला उखेलेर फेरि कोठा सरक्क सफा पारिन्।

म त उनीहरूले बोकेका औजार जुध्न सक्छन् कि भनी निकै आत्तिएको थिएँ। तर्क र सिद्धान्तका अनेक सिङ ठोक्किन सक्छन् कि भनी निहालिरहेकै थिएँ।
कोठाका हरेक ठाउँमा पोकापन्तुरा, बिजुली पानीका बिल-रसिद र प्लास्टिकका झोला जताततै झुण्डिरहकै थिए। बुहारीले बिस्तारै एकपछि अर्को कीला उखेल्दै सामानहरू र्‍याक, तह र दराजमा थन्काइरहेकी थिइन्। कति कागज त फाइल गरी थान्कोमान्को लगाइन्।

अर्को दिन फेरि बा कीला ठोकेर छाता अड्काउँथे।

बुहारीले छातालाई दराज, खाट र टेबलमुनि थन्काइदिन्थिन्। रोक्ने र छेक्ने काम भइरह्यो … भइरह्यो।

भान्सामा त्यस्तै रहेछ।

जहाँसुकै कीलैकीला। भित्तामा कीला नभएको ठाउँ थिएन। झुम्रा पनि तुर्लुङ्गिएका थिए, जतासुकै। भुइँ पोत्ने पोताहा नि अड्काइएका थिए, अनेक कीलामा। कति ठाउँमा तीसौँ वर्ष पुराना पत्रिकाका टुक्रा झुण्डिएका थिए। सिन्काका मुठा र कपालमा लाउने राता लाछी त्यत्तिक्कै झुण्ड्याइएका रहेछन्। ती त रङ उडेर देखिएथे, अर्कै स्वरूपका- काला न काला, लेसिलो र जब्बर।

कराई र चियादानी झुण्डेका। कप्टेरा र हाँडी तुर्लुङ्गिएका छन् काँटीमा। तेजपातका बिटो र कुचो पनि झुण्डिएका छन्, लामाछोटा कीलामा।

बुहारीले ती सबै हटाएर भुइँतिर थान्कोमान्को लगाइन्। र्‍याक, घर्रा र भान्साको दराजमा मिलाएर राखिन्। कोठा अलिक हेरूँ-हेरूँ लाग्दो भयो। निकै उज्यालो भयो।

भान्सामा झन् बढी सामान कीलामा झुण्डिएका थिए। अचारका शिशीहरू डोरीले घाँटीमा बाँधिएर झुण्डिन पुगेका थिए। चुलेसी अड्काउन पनि कीलै। गोलभेँडा पोल्ने जाली पनि कीलामै अड्काइएको छ। चिया छान्ने जाली, मूला कोर्ने कोरेसो, सेल पकाउने बुलाकीसहितको ताई भाँडो पनि कीलैमा।

बुहारीले यी सबैलाई कीलाबाट मुक्ति दिइन्।

कीला उखेलेर सबै सामान तह-तह मिलाएर राखिन्। सबै तर्ल्याङ्तुर्लुङ् हटाएर भान्सा कोठालाई व्यवस्थित पारिन्, राम्रो बनाइन्, आधुनिक तुल्याइन्।

ठूलो र टाँडेघर यो। फेरि कोठा पनि निकै नै।

दक्षिणतिरका सबै कोठाबाट कीला उखेलेर बुहारी लागिन्, उत्तरतिरका कोठातिर। लामै समय उनले भान्सामा खर्चेर सबै जब्बर र कठोर कीला उखेली छाडिन्। यता बाले उत्तरका सबै झिकिएका कीलाका डोब छाम्दै नयाँ कीला ठोक्दै दक्षिणतिर लागे।

ती दुबैको भेट भो- घरको मूल कोठाको खाँबोमा।

उनीहरू एकअर्कालाई थाहा नदिई बिहान, राति आ-आफ्नो काम गरिरहेथे तर यो मूल खाँबोमा दुबैको भेट भो, मध्यदिउँसो।

‘बा, बाहिर सफा त भो अब भित्र पनि सफा हुनुपर्‍यो’, बुहारीले आँट गरेर भनिन्।

‘होइन, कीलामा झुण्ड्याउन सजिलो भा’ छ। उहिलेको चलन, यसरी काँ हुन्छ र मास्न!’, बाले जुलुमसँग बोले।

म आज धेरै दिनपछि त्यहाँ पुगेको थिएँ। बाझाबाझ हुने देखेर मूल कोठामै गएँ।

दुबैले हातमा ससाना हतियार च्यापेका छन्। बाको हातमा कीला ठोक्ने ह्याम्मर थियो। बुहारीको हातमा कीला झिक्ने औजार छ। दुबै आ-आफ्नो काममा जुटे।

‘यसरी जाँसुकै कीला ठोकेर…। घर फोहोर हुन्छ। झन् लाउँछन् मुसा र साङ्लाले गुँड!’, बुहारीले कीला उखेलिन् पूर्वपट्टिको।

‘कीला हुँदा जे पनि ल्याएर यसो झुण्ड्याउन कति सजिलो हुन्छ। जजमानले ल्याइदिएको सिदा, तेलको भाँडो, केराको काइँयो झुण्डाउन कति सजिलो हुन्छ’, बाको तर्क यस्तो सुनियो।

मैले सुनिरहेँ दुबैका कुरा।

म त उनीहरूले बोकेका औजार जुध्न सक्छन् कि भनी निकै आत्तिएको थिएँ। तर्क र सिद्धान्तका अनेक सिङ ठोक्किन सक्छन् कि भनी निहालिरहेकै थिएँ।

‘अब यो घर मेरो हो। अब मैले यसलाई व्यवस्थित पार्नुपर्छ’, बुहारीको आवाज आयो।

‘यो घर मैले बनाएको। मेरो सेखपछि मात्रै तिमीहरूले आफ्नो भन्न पाउँछौ’, बाको बोली पनि लर्तरो थिएन।

एउटा कुनामा कीला ठोकिरहेको आवाज थियो, अर्को कुनामा कीला उखेलिरहेको आवाज पनि आइरहेकै थियो।

मूल खाँबोमा उभिएर मौन थियो- चन्द्रराज उपाध्याय। बुहारीको पति र बाको छोरो हो- चन्द्रराज।

यो लाचार उपाध्याय हो- आजको नेपाली!

०००

(स्रोत : थाहा खबर डट कम )

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.