निबन्ध : दुःखले छुँदा

~सुस्मिता नेपाल~

कहिलेकाहीँ दुःख पर्दा म बेस्सरी आत्तिने गर्छु । मनभित्र अनगिन्ती कुराहरूले किचेको अनुभव गर्ने गर्छु । संसार नै अन्धकार हुँदै गएको देख्न थाल्छु । मनभित्र अनगिन्ती तरङ्गहरू फैलिन थाल्छन् । कहिले बाहिर कहिले भित्र गर्न थाल्छु । केही गरे पनि मन शान्त नभएपछि घरको बरण्डामा गएर बस्छु । वरिपरिका वातावरणको अनुहार हेर्दा हेर्दै कतिबेला कतिबेला बाहिरी वातावरणले मेरो मन रमाउन थाल्छ । आफ्नो मन देखेर आफै छक्क पर्न थाल्छु ।

अस्तिको दिनमात्र आँधीहुरी र वषर्ाले वातावरण अस्तव्यस्त पारेको थियो । फुलेका फूलहरू भुइँभरि छरिएका थिए । फूलको हाँगाबाट आफू छुटिएर भुइँमा अलपत्र परेकोमा दुःखी भएका थिए । आँधीहुरी र वषर्ाले रूखहरूमाथि दुःख प्रहार गरेको थियो । चट्याङले पनि नमिठो थप्पड हानेको थियो । असिनाले रूखका हाँगाहरूका पातहरूलाई अलग्ग पनि पारिदिएको थियो । रूखका हातहरू भएर फैलिएका हाँगाहरू पनि नमज्जाले भाँचिदिएको थियो । कठै ! कति दुःखको सामना गर्नु परेको थियो यी रूखहरूले । घामको न्यानो स्पर्शले रूखहरू आफ्ना दुःखहरू भुलेर हावामा हल्लिरहेका, नाचिरहेका र हावाकै तालमा लय मिलाएर गाएइरहेका ! कति मिठो दृश्य ! यही दृश्यले मेरो मनमा एक किसिमको रमाइलो अनुभूतिको जन्म गराइदिन्छ – दुःखले थिचिएको बेलामा यी रूखहरू पनि रोएर बसेको भए के यिनीहरूले जीवनको आनन्दको उपभोग गर्ने अवसर पाउँथे र ? रूख हुनुको अस्तित्वको बोध गर्न पाउँथे र ? यी रूखहरूले त समयले दिएको चुनौतिको सामना गरेर दुःखमा विचलित नभई स्वभाविक जीवन बाँचेका छन् भने म किन दुःखमा आत्तिनु ?

आफूमाथि टाँगिएको आकाशमा मेरो मन पनि गएर टाँगिन्छ । आकाशको नीलो पवित्र मनभित्र मेरो मनका दुःखहरू सङ्लिँदै जान थाल्छन् । त्यहीबेला काला बादलहरूले आकाशको मनलाई ड्याम्म छेकिदिन्छ । एकछिन त म फेरि अाित्तन्छु । के फेरि आकाशको नीलो पवित्र मनलाई देख्न पो नपाइने भयो त ? होइन, आकाशका लागि यी दुःखका काला बादलहरू त क्षणिक हुन् । आफूमा स्थीर भएको निलिमालाई मनको क्यानभासमा सुन्दर चित्रहरूमा उतार्न बिर्सेको छैन । त्यस्तै दुःखका काला बादलहरूलाई पन्छाउँदै आफ्नो छातीभित्र खेलिरहेका ताराहरूको अनुहारलाई स्पष्ट देखाउन छाडेको छैन । जूनको उज्यालो प्रकाशलाई धर्तीसम्म ल्याउन छाडेको छैन । हरेक चुनौतिमा आकाशले आफ्नो जीवनको सही अर्थ लिएर बाँचेको छ र त आज आकाशलाई हेरेर मानिसहरूले पनि आफ्नो मनको दुःख भुल्ने गर्छन् । दुःखमा पनि रमाउने गर्छन् भने म मात्र किन दुःखी हुनु त ?

दुःखले मलाई तर्साएको बेलामा मन त त्यसै अाित्तने नै भइहाल्यो । दुःखले विभिन्न अनुहार देखाएको बेलामा के गर्नु पर्ने हो भन्ने कुरा पनि बिर्सिने रहेछ । दुःख पर्दा मानिसलाई असल साथी, हाम्रो दुःख सुन्न सक्ने असल मनहरू चाहिने रहेछ । त्यस्तै एकान्त ठाउँ पनि चाहिने रहेछ, जहाँ आफ्ना सारा पीर बगाउन सकियोस् । मनभित्र परेका अनगिन्ती दुःखका गाँठाहरूलाई फुकाउन सकियोस् ।

प्रकृतिले पनि दुःख पर्दा मानिसलाई सुख दिने रहेछ जसरी मलाई दुःख परेको बेलामा रूख र आकासले सुख दिए । दुःखबाट नअाित्तन मेरो प्रेरणा भएर मलाई नै मार्गदर्शन दिए ।

मलाई सानातिना दुःखले हत्तपत्त सताउन सक्दैनन् । रुवाउन पनि सक्दैनन् । तर आफूले माया र सहयोग गरेकाहरूले आफ्नै पछाडि बसेर दुःख दिएको थाहा पाउँदा त्यतिबेला भने मन साह्रै रुने रहेछ । मन आत्तिने पनि रहेछ ।

जीवनलाई बुझ्न मैले आदरणीय व्यक्तिहरूबाट धेरै कुराहरू सिकेकी छु । थुप्रै पुस्तकहरूको अध्ययन पनि गरेकी छु । जीवनको एउटा समयमा मेरो शिरमाथि दुःखको नमिठो चट्याङ पर्यो । मलाई त्यस चट्याङको सामना गर्न निकै कठिन भयो । त्यहीबेला मलाई मेरा आदरणीय व्यक्तित्वहरूले मायाले उठाउनुभयो । मलाई माया गर्ने मेरा आफन्तहरू, साथीहरू सबै सबैले मेरै दुःखमा मिसिएर मलाई सुख दिने काम गरे । त्यही समयमा मैले आदर गरेको व्यक्तित्वले मलाई यसरी सम्झाउनु भएको थियो, “मानिसको जीवनमा सधैँ एउटै समय रहिरहँदैन । सुखपछि दुःख आउँछ भने दुःखपछि पनि सुख आउँछ , जसरी दिनपछि रात हुन्छ र रातपछि दिन हुन्छ । अँध्यारो भएन भने उज्यालोको के अर्थ त्यस्तै उज्यालो भएन भने अँध्यारो को के अर्थ ? त्यसैले सुख भएन भने दुःखको बोध हामीलाई कसरी थाहा हुन्छ र ? यही कुराहरूको बोध गराउन जीवनले हामीलाई यसरीले शिक्षा दिएको हुन्छ । जीवनलाई राम्ररी विचार गरेर त हरे तिमी आफैले थाहा पाइहाल्छ्यौ ।”

के सुखैसुख भएको भए मैले जीवनका विविध कुराहरूको बोध गर्न पाउँथे र ? मैले गरेका मेरा सिर्जनाहरू दुःखमै हुर्केका हुन् । मैले दुःखको आँसुले लेखेका कुराहरू नै त मानिसहरूले मन पराउनुभएको छ । मलाई कुनै पनि कुराको सिर्जना गर्न दुःखले नै बढी प्रेरणा दिने गर्छ । साँच्चै दुःख हुनु नराम्रो कुरा पनि त होइन रहेछ ।

विद्यार्थीहरूलाई पढाउँछु । उनीहरूलाई पढाउँदा सुख दुःखका विषयहरू पनि पढाउने गर्छु । उनीहरूका अनुहारहरूको आकृति पनि पढ्ने गर्छु । यही अवस्थामा कुनै विद्यार्थी पढ्नमा साह्रै तेज हुन्छन् त कुनै साह्रै कमजोर । विद्यार्थीहरूले नचाहँदा नचाहँदै पनि पढ्न जान्ने र पढ्न नजान्ने विद्यार्थीहरूका बीचमा एक किसिमको खाडल पैदा हुने गर्छ । त्यसैले म यी विद्यार्थीहरूका बीच खाडल नहोस भन्ने कुराको विचार गरेर उनीहरूलाई जीवनको अर्थ बुझाउनतिर पनि लाग्छु । कमजोर विद्यार्थीलाई बढी ध्यान दिन थाल्छु र उनीहरूमा भएको दुःखको हीनताबोधलाई हटाउने कार्य गर्न थाल्छु । कमजोर विद्यार्थीहरूको दुःखको अनुहारले आफू दुःखी त हुन्छु तर त्यही दुःखबाट उनीहरूलाई शिक्षाले झक्िन पाउँदा सुखको अनुभूति पनि गर्ने गर्छु । के यहाँ पनि दुःखले अनुहार नदेखाएको भए मैले कमजोर विद्यार्थीहरूको दुःख हटाउन सक्थे होला ?

बालकहरू पनि सिर्जनाका सुन्दर फूलहरू हुन् । जब पीडाले रून्छन् तब ती बालकहरूलाई उठाउने मायाका हातहरू पनि हुन्छन् । त्यहाँ बालकहरूको रूवाइ मात्र नभएर मायाका हातहरू नभएको भए के यी बालकहरूले जीवनका सुन्दर फूलका रङहरूले सजिन पाउँछन् होला ? बालकहरूले खेलेको, हाँसेको कुदेको कुराहरू मनले रमाइलो अनुभूत गर्न सकियो भने त्यहाँ सुख हुन्छ त्यसो गर्न सकिएन भने दुःख त भइहाल्छ । सुखी हुन र दुःखी हुन पनि त मन कै खेल त रहेछ । मन निरास भएको बेलामा सुखको अनुभूति त्यति सजिलै कहाँ हुने रहेछ र ?

मन दुःखी भएको बेलामा घरमा पाहुना आउनुहुँदा मेरा सबै दुःखहरू कता भाग्छन् कता । त्यसबेला आएका पाहुनाहरू मेरो लागि भगवान् समान नै हुन्छन् । म आफ्नो दुःखमा होइन उनीहरूका कुराहरूमा भुल्ने गर्छु । रमाएर खानाहरू पकाउने गर्छु । त्यसबेलाका सबै कुराहरूले मेरो मनलाई सुखी बनाइरहेको हुन्छ । दुःख मेरो लागि त्यतिबेला भगवान सरह हुन्छ । के मेरो मनमा दुःख नभएको भए मैले यी कुराहरूको महसुस गर्न पाउँथेँ ?

अनाहकमा कसैले मलाई दुःख दिँदा छक्क पर्ने गर्छु । कुनै मानिसलाई मैले सधैँ राम्रो व्यवहार गर्दा पनि त्यही मानिसले मलाई नचाहिने कुरामा दुःख दिँदा भित्रभित्रै रूने पनि गर्छु । मनभित्रको आँसु पखाल्न म सङ्गीत सुन्ने गर्छु । सङ्गीतले मेरो दुःखको आँसु पखालिदिन्छ र मेरो मनलाई शान्त पारिदिन्छ । नाच्न सधैँ लजाउने म दुःख पर्दा सङ्गीतको तालमा खूब नाच्ने गर्छु । आफू सङ्गीतको तालमा भुलेको देख्दा आफै छक्क पनि पर्छु । त्यसपछि मानिसहरूले दिएका अनाहक दुःख चटक्कै बिर्सिन्छु र आफ्नो काममा रमाउन थाल्छु । दुःख मेरो हृदयमा जम्मा नभएको भए म सङ्गितको छेउमा पुग्न सक्ने थिइन होला । सङ्गीतलको हात समातेर नाच्ने पनि थिइन होला । अनाहकमा दिइएको दुःखले मलाई फेरि अर्को किसिमको सुखको अनुभूति गराइदिन्छ ।

हिजोआज दुःख मेरो साथी बनेको छ । दुःखले भिजेर आएकाहरूलाई मैले केही रूपमा भए पनि दुःखको अर्थ बुझाउन सकेकी छु । उनीहरूको मनको दुःख झक्िन पाउँदा मनमा केही रूपमा भए पनि शान्ति मिलेको छ । दुःख त हरेका मानिसको जीवनमा गुरु नै बनेर आएको जस्तो लाग्न थालेको छ । जब मेरो मनमा दुःख हुन्छ तब म कुनै मिठो सङ्गीत सुन्ने गर्छु । रचनाहरू सिर्जना गर्ने गर्छु । दुःखका अनुहारहरूले मनिसलाई कहिले रूवाउँछ त कहिले हँसाउँछ । दुःख पर्दा प्राय मानिसहरू अाित्तने गर्छन् । त्यही अाित्तने अवस्थाले नै मानिसहरूलाई नआत्तिने अवस्थाको सिर्जना पनि गर्ने रहेछ ।

(स्रोत : मधुपर्क २०६७ जेठ)

This entry was posted in निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *